Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारएकता गुम्न नदिने पहल

एकता गुम्न नदिने पहल


सूर्यप्रकाश सुवेदी पथिक

०६२/०६३को राजनीतिक परिवर्तनपछिको शान्तिकालमा लिने नीति र भावी दिशाका बारेमा माओवादी पार्टीमा आएको भीषण वैचारिक बहस र दुई लाइन संघर्षको सही हल गर्ने विचार, विधि र कुशलताको कमीले यसलाई एक राख्न सकेन । पहिलो संविधानसभाको अन्त्यसँगै पार्टीमा दुई चिरा भयो । मोहन बैद्य किरणको नेतृत्त्वमा नेकपा – माओवादी र क प्रचण्डको नेतृत्त्वमा एकीकृत नेकपा माओवादी । यी दुई धाराका माओवादी दोस्रो सविधानसभाको निर्वाचनमा दुई अलगअलग कार्यनीति (बहिस्कार र सहभागिता) सहित प्रस्तुत भए । र, दुबैले आशातित सफलता हासिल गर्न सकेनन् । असफलताले यी दुवै पार्टीभित्र अझ बढी आन्तरिक अन्तरविरोध जन्मायो । यसको पटाक्षेप पनि सुखद बनेन । किरण नेतृत्वको माओवादीभित्र रहेको अतिवादी धारा बिप्लवको नेतृत्त्वमा अलग्गियो । त्यस्तै प्रचण्ड नेतृत्वको माओवादीभित्रको घोर दक्षिणपन्थी धारा कम्युनिष्ट आन्दोलनलाई धारे हात लगाउँदै नया शक्तिको नाममा आन्दोलनबाट पतन हुन पुग्यो ।

यही परिवेशमा नेपालको भावी क्रान्तिको दिशाका बहस पुनः नया ढंगले माओवादीभित्र उठ्न थाल्यो । दोस्रो सविधानसभासम्म आइपुग्दा पुँजिवादी जनवादी क्रान्ति मुलतः मौलिक रुपमा पूरा भएको र अबको गन्तब्य समाजवाद रहेको बुझाइमा एकरुपता बन्दै गयो । समाजवादको कार्यदिशा पुरानो रुसी, चिनियाँ वा अन्य देशको यान्त्रिक नक्कल होइन अहिलेको विश्व परिवेशसँगै नयाँ र मौलिक हुने र यसको अन्वेषण गर्ने समान समझदारी पनि विकसित भयो ।

भावी समाजवादी क्रान्तिका लागि शक्ति संचय र घुमाउरो कार्यनीति अवलम्बन गर्नुपर्ने समान बुझाइका साथ पुनः माओवादी आन्दोलनलाई एक पार्ने अभियान चल्यो । तर, विडम्बना किरण कमरेड अन्तिम समयमा यो अभियानबाटपछि फर्कनु भयो । क बादलको नेतृत्त्वमा आफ्नो पार्टीको दुई तिहाइको शक्तिसहित क प्रचण्डको नेतृत्त्वको माओवादी पार्टीसँग एकता सम्पन्न भयो । यो एकतामा विगतमा कतिपय अवस्थामा छरिएका माओवादी आन्दोलनका ससाना भंगालाहरु पनि समाविष्ट हुन् पुगे । विप्लव र बाबुरामको पार्टीबाट बिद्रोह गरेर क्रमशः एकतामा आउने र माओवादी आन्दोलनलाई शक्तिशाली बनाउने प्रक्रियाको पनि शुरुवात बन्यो ।

नयाँ निर्माण गरिएको नेकपा (माओवादी केन्द्र) व्यवस्थित बन्दा नबन्दै स्थानीय चुनाव र संसदीय चुनावमा हाम्फाल्नुपर्ने समय आयो । पार्टी एकता तलसम्म व्यवस्थित भएका थिएनन, माओवादी इतिहासको समीक्षा र भावी कार्यदिशाको निरुपण भएको थिएन । मनोविज्ञान एक पार्ने र जिम्मेवारी अझै ठोस भएको थिएन । केन्द्रीय समिति निर्माणमा भद्रगोल गर्दै चार हजार पुगेको थियो । यही आन्तरिक भद्रगोले अवस्थाका बीच नेकपा एमालेसँग बैचारिक राजनीतिक सांगठानिक सवालमा मिहीन बहस छलफलबिनै पार्टी एकता गर्ने लक्ष्यसहित संसदीय चुनावमा एक भएर सहभागी भयो । यो चुनावमा कम्युनिष्टको भारी विजय भयो । करिव दुई तिहाई नजिकको उपस्थिति संसदमा रह्यो । क. केपी शर्मा ओलीको नेतृत्त्वमा मजबुत सरकार निर्माण भयो । अन्तरिमकालको लागि मोटो बैचारिक सहमति गरेर र नयाँ कार्यदिशा र नेतृत्त्व आगामी महाधिवेशनमा सहमतिमै गर्ने सहमति गर्दै उत्साहपूर्वकरुपमा एकता सम्पन्न भयो । यो नेपालका कम्युस्टिहरुको करिव सत्तरी सालको इतिहासको उत्कर्ष थियो ।

एकता पश्चात पार्टी र सरकार संचालनका यी बर्षहरु जति उत्साहजनक हुनुपर्ने थियो त्यति भएनन् । पार्टी एकता गर्दा गरिनुपर्ने न्युनतम छलफल र बहस नभई गरिएको एकताको दण्ड यी दिनहरुमा पार्टी र सरकारले भोग्नुपर्ने अवस्था आइपरेको देखिन्छ । एकता अहिलेसम्म पूर्ण हुन नसक्नु र सरकारका राम्रा कामको समेत स्वामित्व पार्टीले लिन नसक्नु यसका उदाहरण हुन् ।

माओवादी र एमालेको एकता नपत्याइएको परिघटना हुन् । सशस्त्र संघर्षबाट राजनीतिक सत्ता कब्जा गर्ने विचार बोकेको र तदनुरुप १० बर्षसम्म जनयुद्धको हिंसात्मक रुप मुख्यरुपमा अवलम्बन गरेको माओवादी जसले माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दथ्यो र शान्तिपूर्ण रुपले समाज परिवर्तको बिचार बोक्ने र बहुदलीय जनवादलाई आफ्नो पथप्रदर्शक माने एमालेबीच यति छिट्टै एकता हुने परिकल्पना सीमित केही नेताहरु बाहेक अरु कसैले पनि सोच्नै सकेका थिएनन ।

विगत बीस बर्ष यता मुस्किलले केही समय सरकार र अन्य मोर्चामासँगै भएपनि बाँकी समय एकापसमा अत्यन्त तिक्तता र दुश्मनीपूर्ण सम्बन्ध भएकाले पनि पार्टी एकताको धारणा बनाउन सक्ने बिषय थिएन । तत्कालीन संसदीय चुनावमा बिजयी बन्ने लालसाले बिना बैचारिक तयारी भएको एकतालाई पूर्ण गर्न र यसलाई मजबुत गर्दै एकापसमा रुपान्तरण गर्न नेताहरुले लामो र कष्टसाध्य बाटो हिड्नु पर्दथ्यो । अझ त्यसमाथि यो एकतालाई बिल्कुलै मन नपराउने  बिदेशी शक्ति केन्द्र र प्रतिगामीहरु एकताको शुरुवाती दिनदेखि यसलाई तोडफोड र बिग्रह पार्न अनेकौं षडयन्त्र गर्दै आएका थिए । यो एकता बच्ने स्पस्ट आधार भनेको बैचारिक राजनीतिक नै हुन्छ । अन्य कारण महत्वपूर्ण भएता पनि सहायक नै हुन्छन ।

पुँजिवादी जनवादी क्रान्ति मुलत सम्पन्न भएको र अब समाजवादको लागि सबै प्रयत्न बढाउने र यसको लागि नयाँ कार्यदिशाको अन्वेषण गर्ने मोटो समझदारी देखिन्छ । विगतमा नेकपा एमालेले अवलम्बन गरेको बहुदलीय जनवाद र माओवादीले लिएको माओवाद र एक्काईसौ शताब्दीमा जनवादको विकास सम्बन्धी प्रस्तावलाइ परिमार्जन गरी महाधिवेशनसम्म जनताको जनवाद अङ्गीकार गर्ने साझा सहमति भयो । दुई अध्यक्षतात्मक नयाँ संगठनात्मक प्रयोग हुनुले पनि एकताको जटिलता नै देखाउँथ्यो । यसबीच ससाना कुराहरुमा पनि गुटहरुले आआफ्नो स्वार्थमा निर्णय तान्ने र तन्काउने चुनौती थप विकसित भएका थिए । गुटहरुको स्वार्थले पनि पार्टीले आफ्नो स्वतन्त्र निर्णय गर्ने क्षमता गुमाउँदै गयो । औपचारिक पार्टी वैठकभन्दा गुट वैठकमा नेताहरु रमाउने प्रवृति बढ्दै गयो । यस्तो विषम परिस्थितिमा मुख्यतः दुई अध्यक्षको बलियो एकता, सुझबुझ र दुरदृष्टि आवस्यक हुन्थ्यो । एकताको आवश्यकता अलि परसम्म छ भन्ने बुझाइ बिकसित पार्न व्यवस्थित भेला प्रशिक्षण लगायतका कामहरुको तीव्रता दिनु पर्दथ्यो । दुर्भाग्यवस दुई अध्यक्षमा नै यसबीचमा असमझदारी देखापर्यो ।

सरकारलाई पार्टीको स्पष्ट मार्गचित्र दिन नसक्नु यसबीचको मुख्य कमजोरी हो । कतिपय बेला पार्टीले दिएका केही राम्रा निर्देशन पालना गर्दा परिणाम सुखद छ । तर कतिपय निर्देशनहरु पालनामा कमी देखिएका छन् । जसले अन्तरविरोध यो स्तरमा देखिनुमा एकहदसम्म निर्णायक भूमिका खेलेको छ । संघ , प्रदेश र स्थानीय सरकारमा रहेका प्रतिनिधिहरुमा क्रमश पार्टीको आदेश पालनाको क्षयीकरण हुँदै गएको छ । सरकारमा गएका र बाहिर बसेका नेताहरुमा एकप्रकारको अस्वस्थ प्रतिस्पर्धा, मनमुटाव बढ्दै र झाँगिदै गएको र यसले अनावश्यक रुपमा पार्टीमा सैद्धान्तिक जामा पहिरिने खतरा बढेको देखिन्छ । यसबीच एमसीसी, सीमा विवाद, भ्रष्टाचार, राजनीतिक नियुक्ति लगायतका विषयलाई सामना गर्ने सवालमा पार्टीमा एकरूप बुझाईमा काफी अन्तर देखा पर्दै गयो ।

नेकपा अहिले पार्टी र सरकार संचालनमा देखिएका नोकरशाही र अराजकतावादी चिन्तनका कारण फुटको डिलमा उभिएको महशुस हुन्छ । दुई अध्यक्ष दुई वटा शक्तिशाली ध्रुव खडा गरी दुई लाइन संघर्षमा हेलिएको आभास हुन्छ । यस्तो बेलामा आम सदस्य पार्टी, सरकार र राष्ट्रको स्थिति कस्तो हुने हो भन्नेमा चिन्तित देखिन्छन । अहिले फुट होइन एकताबद्ध पार्टीको चाहना उनीहरुमा प्रबल बनिरहेको छ । भाइचारा पार्टी, हितैषी छिमेकीसहित नेपाल र नेकपालाई माया गर्ने सबै शुभेच्छुकले पनि यही चाहना राख्दै सुझावहरु दिइरहेका छन् ।

यही परिवेशमा गृहमन्त्री एवम पार्टीका प्रभावशाली सचिवालय सदस्य क राम बहादुर थापा बादलले जनता, राष्ट्र, पार्टी कार्यकर्ता र एक हदसम्म भाइचाराहरुको भावना समेतको ख्याल गरेर पार्टीको रुपान्तरण र यसको बलियो एकताको पक्षमा खुलेर लाग्नु सुखद रहेको छ । पार्टीको नोकरशाही र अराराजकतावादमाथि विजयी बन्न पार्टीलाई संस्थागत संचालन गर्ने र नव उदारवादमाथि विजयी बन्दै देशलाई समाजवाद तर्फ विकास गर्न मुख्यतः दुई अध्यक्षको बलियो एकता र समझदारी मुख्यरुपमा आवश्यक रहेको तर्फ उहाँको जोड देखिन्छ । नेकपाको फुटले नेपालका कम्युनिष्ट क्रान्तिकारीको हातबाट अहिले प्राप्त भएको जति पनि पहल गुम्ने र यसको सिधा फाइदा देशी बिदेशी प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरुले लिने हुँदा अहिले पार्टीलाई फुटबाट बचाउनु अति आवश्यक रहेको ठम्याई रहेको देखिन्छ ।

अहिले दुवै अध्यक्षको जीत र उहाँहरुको नेतृत्त्वमा महाधिवेशनसम्म यो पार्टीलाई पुर्याएर विचारमा समृद्धि र क प्रचण्डको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्माण गरेपछि मात्र एकताको पहिलो चरणको अभिभारा पूरा हुने र यसले मात्र नेकपाका सबै नेता कार्यकर्ता र आम वामपन्थी जनसमुदायको मनोभावना अभिव्यक्त हुने देखिन्छ । समय घर्किएको छैन, सबैले ठण्डा भएर सोचौं !

यो पनि पढ्नुहोस
केन्द्रीय समितिलाई आयोजकमा बदल्दा निकास निस्कन्थ्यो कि ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार