Techie IT
×
गृहपृष्ठबिचारकेन्द्रीय समितिलाई आयोजकमा बदल्दा निकास निस्कन्थ्यो कि ?

केन्द्रीय समितिलाई आयोजकमा बदल्दा निकास निस्कन्थ्यो कि ?


महेश्वर दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य हरिबोल गजुरेलले प्रचण्डलाई अध्यक्ष पदबाट राजीनामा दिने अनौठो प्रस्ताव सुझाउनु भएछ । पार्टीका वहुमत सदस्यहरुले प्रचण्डलाई एकल अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक बनाउनका लागि भनिरहेको र केपी ओलीले पनि पछिल्ला दिनमा कार्यकारी अध्यक्षका लागि लेखेर नै अधिकार किटान गर्ने कुरा भनिरहनुभएको बेलामा आफूलाई सधैं प्रचण्ड निकट बताउने गजुरेलले प्रचण्डलाई अध्यक्ष पद छाड्नका लागि किन भन्नुभयो ? केपीलाई नैतिक दवाव दिन वा अरु कुनै तर्क र विकल्प दिन यस्तो सुझाव दिइएको हो भने पनि त्यसले राम्रो गर्दैन । यसका कारण पनि छन्,

१. किनभने यो विवाद र समस्याबाट भाग्ने कुरा हो । यसले पलायनतातिर लैजान्छ । यो लडाईं एक्लो प्रचण्ड वा साविक माओवादीको लडाई मात्र होइन । साविक नेकपा एमालेको लामो समय नेतृत्व सम्हाल्नुभएका झलनाथ खनाल र माधवकुमार नेपालको समेत साथ छ अर्का अध्यक्ष प्रचण्डलाई । खनाल, नेपाल लगायतले यसलाई विचार र विधिमै आफूहरु लडिरहेको बताइरहनुभएको बेलामा घुर्की लगाउने या नैतिक दवाव दिने कुरा उठाउँदा प्रचण्डको केवल अध्यक्ष पदको अधिकार नदिएकाले मात्र झगडा भएको सन्देश जाँदैन र ?

२. फेरि यो एकता दुई पृष्ठभूमि भएका दुई ठूला कम्युनिस्ट पार्टीहरुबीचको हो । एउटा पृष्ठभूमिबाट आएका मुख्य कमाण्डरले मैदान छाड्दा त्यो प्रवृत्तिका नेता तथा कार्यकर्ताहरुको मनोबल पनि ह्वात्तै घटाउँछ । दुई मुख्य कार्यकारी पदमध्ये अध्यक्ष वा प्रधानमन्त्री लिने कुरा सही हो । प्रधानमन्त्री लिने शर्तमा प्रचण्डले अध्यक्षबाट राजीनामा दिने कुरा सही नै हो । महाधिवेशन नहुँदै र यति ठूलो अन्तरसंघर्षका बेलामा दुवै पद छाड्दा, लड्ने मुख्य आधार नै छाडेर पलायन बनाउने तरिका कुनै पनि मानेमा सही होइन । पार्टी एकता गराएर बीचमा कमाण्डर नै पलायन हुने वा अन्तिम लडाईं लड्ने कुराले सही निकास दिदैं दिदैंन । पद छाडेर लड्ने कुरा हो भने त झन् त्यसले अस्वस्थ लडाई पो गराउँछ । मिल्नसक्ने सम्भावनाको ढोका नै बन्द गराउँछ । पूरै आत्मसमर्पण या मिल्न नसक्ने विन्दुमा पार्टीलाई पु-याउँछ ।

३. विधानले दुई जना अध्यक्षको व्यवस्था गरेको छ । सहमतिले सरकार र पार्टी चलाउनका लागि प्राथमिकता दिइएको छ । यदि सहमति भएन भने वहुमतले निर्णय गर्ने विधानमा अधिकार दिइएको अवस्थामा एउटा अध्यक्षको असहमति वा असहयोगमा अर्का अध्यक्षले निर्णय गर्नसक्ने अवस्था छ । अर्का अध्यक्ष केपीको अनुपस्थितिमा पनि अध्यक्ष प्रचण्डको अध्यक्षतामा वैठक बसेर निर्णय भइरहेका पनि छन् । यदि प्रचण्डले राजीनामा दिने हो भने प्रचण्डको यो अधिकार कटौती हुन्छ । आफूलाई वैचारिक नेता भन्ने पाका नेता हरिबोल गजुरेलले यस्तो कच्चा कुरा किन गर्नुभएको होला ?

४. बुधवार केही पत्रकारहरुलाई बोलाएर आफूहरु पदका लागि होइन, लेनिनवादी संगठनात्मक विधिमा चलेर समाजवादी यात्रामा जानका लागि पहल गरिरहेको सचिवालयका चार सदस्यहरुले बताउनु भयो । पार्र्टीको वैचारिक नेतृत्वमा सरकार चलाउनुपर्ने कुरा उठाउनु भयो । परिवर्तनको पक्षमा जाने र विधिमा पार्टीलाई चलाउनु पर्छ भन्नेहरुले यसलाई विरोध गर्नुपर्ने कारण छैन । अन्तिमसम्म बल गरेर पार्टीलाई एकताबद्ध बनाउने र समाजवादी यात्रामा लैजानका लागि पहल गरिनुपर्छ ।

५.  महाधिवेशन चैत्रमा गर्ने टुङ्गो लागिसकेको छ । महाधिवेशन गर्नुपर्ने महत्वपूर्ण दायित्व नेतृत्वको छ, अझ खासगरी अध्यक्षद्वयको छ । एकातिर सरकारको नेतृत्व गर्नुपर्ने र समाजवादी क्रान्तिका लागि वैचारिक आधार र नयाँ विधिको निर्माण गर्नुपर्ने भएकाले दुवै ठाउँमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भ्याउने अवस्था हुँदैन । यसैले महाधिवेशन हाँक्ने मुख्य जिम्मेवारी दिएर प्रचण्डको संयोजकत्वमा अहिले रहेको केन्द्रीय समितिलाई आयोजक समितिमा बदल्दा कस्तो होला ? यसले साँप पनि मर्ने र लट्ठी पनि नभाँचिने अवस्था बन्नसक्छ । यसो गर्दा केपीले अध्यक्ष पद छाडेको सन्देश पनि नजाने हुन्छ । प्रचण्ड केवल संयोजक पदमात्र हुनुहुने छ, अध्यक्ष हुनुहुने छैन । यसो गर्दा पार्टी एकता पनि बच्नसक्छ । सही कार्यविभाजन हुन्छ ।

६. नेता गजुरेलको प्रस्ताव अनुसार त प्रचण्डको व्यवस्थापन होइन पलायन हुन्छ । विधिको खोजी र नेतृत्वको भूमिका केवल जुँगाको लडाईं रहेछ भन्ने गलत सन्देश जान्छ । प्रचण्ड अब पात्र मात्र होइन, एक प्रवृत्तिका रूपमा खडा हुनुभएको छ । आफूलाई विधि पक्षधर प्रवृत्तिको रुपमा प्रचण्डहरु आउनु भएको बुधवार पत्रकार अन्तरक्रियामा स्पष्ट पार्नुभएको छ । जहाँ खनाल, नेपाल जस्ता खारिएका पाका नेताहरूको साथ छ भने ओली एकल रूपमा अघि बढ्न खोज्ने एकमनावादी, स्वेच्छाचारी प्रवृत्ति हुनुभएको सावित हुँदै गएको छ । ओली र प्रचण्ड अब नेकपा पार्टीमा दुई प्रवृत्तिको रुपमा टकराइरहेको बेला, विधिमा चल्नुपर्छ भन्नेहरुले मैदानबाट भाग्न सल्लाह दिएर पलायनको बाटो रोज्नु कदापी सही हुँदैन । जिवन्त पार्टीमा युद्ध मैदानबाट भाग्ने छुट कुनै पनि नेता वा कमाण्डरलाई हुँदैन ।

७. केही दिनअघि बीबीसी नेपालीसँगको कुराकानीमा नेता गजुरेलले पार्टीमा जारी विवाद अन्त्य गर्न एकपक्षीय युद्धविरामका रूपमा प्रचण्डले राजीनामा दिए ओली दवावमा पर्ने र नैतिक दवावमा परेर समस्या समाधान दिन वाध्य हुने जिकिर गर्नुभयो । ‘सत्य युग’ को काल्पनिक राजनीतिमा सिवाय यस्तो हुन सक्दैन । किनभने ओली यसरी दवाव महसुस गर्ने, दायित्ववोध गरेर सबैलाई रिझाएर, सबैलाइ समेटेर सबैको नेता हुने चरित्रका नेता हुनुभएको भए हाल नेकपाको सरकार र दलको यो हविगत नै हुने थिएन ।

८ नेकपामा नेतायुद्ध होइन, नीति र विधि स्थापनाका लागि जारी वर्तमान युद्धमा अब कमाण्डरलाई मैदान खाली गराउन होइन, यसलाई व्यवस्थित रूपमा निकास दिन गजुरेल तहका नेताहरूको भूमिका हुनुपर्छ । जनयुद्धकालको एकतर्फी युद्धविरामसँग ओली र प्रचण्डको जारी विवादलाई तुलना गर्ने गजुरेलको विश्लेषण राम्रो साहित्य सिर्जनाका लागि ‘प्लट’ हुनसक्छ तर नेकपा विवाद अन्त्यको ‘रोडम्याप’ हुन सक्दैन ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस