सेना
आफ्नो राष्ट्रलाई विदेशी आक्रमणबाट जोगाउने र भोैगोलिक अखण्डताको रक्षा गर्ने उद्देश्यले, राष्ट्रद्वारा सङ्गठित्, मानिसहरूको सशस्त्र समूह, फौज, पल्टनलाई सेना भन्ने गरिएको पाइन्छ । मानव इतिहासको सबै कालखण्डमा, विश्वका अधिकांश देशहरुमा सेनाको अस्तित्व रहेको छ ।
राष्टद्वारा गठन गरिएको सेनामा विधिवत प्रवेश गरेर सैनिक तालिम प्राप्त गरी त्यसप्रकारको सेवामा सेवारत व्यक्तिहरू सैनिक हुन् । सेना संस्था हो, सङ्गठन हो । सैनिक व्यक्ति हुन् । सैनिक भन्नाले ‘व्यक्ति’ हरु भन्ने अर्थ बुझ्नुपर्दछ ।
इतिहासदेखि आजसम्म आइपुग्दा सैनिक सङ्गठनमा असंख्य मानिसहरुको आवद्धता भइसकेको छ र यो क्रम अझै जारी छ । सामान्यतः नागरिकहरु आफ्नो देशको राष्ट्रिय सेनामा भर्ति भएर देश रक्षा गरिरहेका हुन्छन । यदाकदा कुनै राष्ट्रले छिमेकी र बिदेशी युवालाई आफ्नो राष्ट्रिय सेनामा अल्पकालीन र दीर्घकालीन सेवामा नियुक्त गर्नसक्छ । इतिहासदेखि नै मानिसहरु आफ्नोबाहेक छिमेकी वा अर्काे टाढाको देशको सेनामा भर्ति भएर सैनिक सेवा गरिरहेका छन् । यसप्रकारको दृष्टान्त नेपालमा र अन्यत्र पनि पाउन सकिन्छ ।

नेपालमा
बि.सं. १८०१ असोज १५ गते तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह नेतृत्वको सेनाले कान्तिपुर राज्य अधीनको नुवाकोट बिजय गरेपछिबाट नेपालको पुनःएकीकरण सुरु भएको हो । त्यसअघि आजको नेपाल करिब ५२ अलग ससाना राज्यमा बिभाजित थियो । ती ससाना अलग राज्यका अलग सेना थिए । तिनीहरु आपसमा युद्ध लडिरहन्थे । सामान्यतः आआफ्नो राज्यको भूमिमा बसोबास गर्ने पुरुषहरु आफ्नो देशको सेनामा आवद्ध भएर अर्काे छिमेकी राज्यका सेनाविरुद्ध लड्दथे । कुनै कारणबस एक राज्यको मानिस अर्काे राज्यको सेनामा काम गर्न जानुपर्ने परिस्थिति आएमा उनीहरु सपरिवार अर्काे राज्यमा बसाइ सर्न बाध्य हुन्थे ।
पृथ्वीनारायण शाह राजा नुहँदै उनका पिता नरभुपाल शाहका पालामा गोरखाले नुवाकोट आक्रमण गर्दा गोरखाली सेनाका सेनापति काजी जयन्त राना पनि थिए । सो युद्धमा गोरखाको हार भयो । हारको कारण सेनापति जयन्त रानामाथि लगाइयो र काजी पदबाट हटाइयो । निरास भएर जयन्त राना सपरिवार गोरखा छाडेर कान्तिपुरका राजा जयप्रकाश मल्लको शरणमा गए । जयप्रकाश मल्लले जयन्त रानालाई नुवाकोटको सैनिक कमाण्डर दिए । पृथ्वीनारायण शाह राजा भएपछि नुवाकोट जयन्त राना र शंखमणि रानालाई हराएर गोरखाले कव्जा गर्यो । जयन्त राना जीवित पक्रिए र देवीघाटमा उनको छाला काढेर, चरम यातनाका साथ प्राण लिइयो । शव कुकुर र गिद्धलाई खुवाइयो ।
पदच्युत भएर पनि, अपमान गरिए पनि आफ्नो देशको सेना छाडेर छिमेकी देशको सेनामा जानेको अवस्था जयन्त रानाको जस्तेै हुनेछ भनेर अरु सैनिकलाई सन्देश दिनु पृथ्वीनारायण शाहको भित्री उद्देश्य थियो । नभन्दै जस्तोसुकै अपमान खेपेर पनि धेरै गोरखाली सैनिक अरु देशका सेनामा भर्ति हुन गएनन् ।
गोरखा राज्यको लगातारको बिस्तारसं“गै बि.सं.१८३९ मा भएको चौबीसीसँगको युद्धमा पर्वतका सेनापति बलिभन्जन मल्ल र लमजुङदरबारका भारदार भक्ति थापालाई गोरखाली सेनाले जीवित पक्राउ गरे । शत्रु सेनाको कव्जामा परेपछि बलिभन्जन मल्लले पानी पनि पिएनन । गोरखाली सेनाको कव्जामा रहेकै अवस्थामा उनले देहत्याग गरिदिए । यता अमरसिंह थापा (पछि बडाकाजी पद पाएका) को प्रयासमा भक्ति गोदार थापाले गोरखाली सेनामा रहेर काम गर्न सहमति जनाए । तर, उनलाई ढाक्रेमै सीमित राखियो । बि.सं.१८४६ मा सुबेदार शिवनारायण खत्रीको नेतृत्वमा जुम्ला राज्य कव्जा गर्नमा अतुलनीय वीरता देखाएपछि गोरखाली सेनामा भक्ति थापालाइ सुबेदार पद दिइयो । पछि उनी सर्दार भए । अर्काे राज्यको मानिस जतिसुकै वीर, इमान्दार र समर्पित भए पनि जिम्मेवार पद नदिने त्यसबेलाका राज्यको नीति हुन्थ्यो । फलतः सैनिक योद्धाहरु अर्काे राज्यको सेनामा जान हतार गर्दैन थिए ।
गोरखा वा नेपाल राज्यमा यो नीति धेरै लामो समय रहिरहेन । बि.सं.१८६३ मा भीमसेन थापा शक्तिशाली भएपछि गोरखा वा नेपालका धेरै योग्य सैनिक प्रतिभाहरु निराश भए । अब नेपाली सेनामा योग्यता होइन निकटता र नाता हावी हुन थाल्यो । बि.सं.१८७२–७३ को नेपाल अंग्रेज युद्धपछि धेरै नेपाली योद्धाहरु पञ्जाबका महाराजा रणजीत सिंहको सेनामा भर्ति हुन बिदेशिए । यसको नेतृत्व बडाकाजी अमरसिंहका छोरा भुपालसिंह थापा, अर्जुनसिंह थापा र अमरसिंहका छोरीतर्फका नाति बलभद्र कुँवरले गरे । बलभद्र कुँवरसँग उनका मामाहरु भुपालसिंह थापा, अर्जुनसिंह थापासहित धेरै नेपाली गएको इतिहास लेखकहरुले उल्लेख गरेका छन् ।
पञ्जाबका महाराजा रणजीत सिंहले नेपाली मुलका सैनिकको अलग्गै कम्पनी खडा गरेका थिए । बि.सं.१८७६–७७ मा बलभद्र कुँवरसहितका नेपाली पञ्जाबतर्फ लागेको र पञ्जाबी सेनाको नेपाली मुलका युवा सम्मिलित सेनाको नेतृत्व बलभद्र कुँवरले गरेका थिए । पञ्जाबको सेनामा बलभद्र कुँवरको पद नायक थियो । अमरसिंह थापाका छोराहरुको पद कप्तान थियो । तत्कालीन पञ्जाबको राजधानी लाहौरबाट बलभद्र कुँवरले आफ्नो देैनिक तलब रु.१०।, कप्तान दर्जाको रु.७, र सुबेदार पदको रु.२ भएको, आफूहरुसँग करिब तीन सय नेपाली मूलका सैनिक भएको व्यहोरा उल्लेख गरेर नेपालमा पत्र पठाएको चर्चा पाइन्छ । नेपाली युवाहरु बिधिवतरुपमा बिदेशी सेनामा भर्ति हुन थालेको लिखित जानकारी यसपछि मात्र पाइन्छ ।
रणजीत सिंहले ठूलो संख्यामा सैनिक सङ्गठन गरेका थिए । उनको सेनामा शिख समुदायका मात्र थिएनन, इस्लाम, हिन्दुका अन्य समुदाय पनि थिए । नेपाली, काँगडाका डोगरा क्षेत्री, चन्द, ठकुरी, पनि थिए । इष्ट इण्डिया कम्पनीका सेनामा तालिम गरेर दुई चार लडाईका अनुभव भएकालाई रणजीतसिंहले केही धेरै तलव दिएर आफ्नो सेनामा राखेका थिए ।
नेपाल अंग्रेज युद्धमा नेपाली सेनाले देखाएको वीरताबाट प्रभावित भएर अंग्रेज सेनाका कमाण्डर जनरल अक्टरलोनीले आफ्नो सेनामा नेपाली मूलका युवालाई भर्ति गर्ने उपाय सोच्न थालेका थिए । उनको दृष्टिकोणमा हिन्दुस्तानी मूलका सेनाभन्दा नेपाली मूलका सेना छरिता, इमान्दार र बढी लडाकू क्षमताका छन् भन्ने थियो । फलतः उनले नेपालको पश्चिम क्षेत्रका कमाण्डर जनरल अमरसिंह थापासँग सन् १८१५ मे १५ मा गरेको सन्धिमा नेपाली जवानहरुलाई हिन्दुस्तानी सेनामा भर्ति गर्न सकिने शर्त समाबेश गरेका थिए । नेपाल र अंग्रेजबीचको युद्ध विधिवत समाप्त हुनुअघि नै अंग्रेजले नेपाली युवा समेटेर, प्रथम, द्वितीय, नेर्सरी र सिरमौर बटालियनहरु खडा गरिसकेको नेपालको सैनिक इतिहास (२०४९, शाही नेपाली जङ्गी अड्डा, पृ.२२८) मा उल्लेख छ ।
बडाकाजी अमरसिंह थापाले किन र कसरी नेपाली युवालाई अग्रेज सेनामा भर्ति हुन दिने सन्धिमा हस्ताक्षर गरे ? यसबारेमा थप अध्ययन भएको पाइदैन । तर, त्यसबेलाको नेपाल सरकारले नेपाली सेनालाई विदेशी सेनामा भर्ति हुने अनुमति दिने कुनै निर्णय गरेको थिएन । युद्ध सकिएपछि नेपाल दरबारको भारदारी गुट, पक्षधरता र त्यसबाट मिलेको निराशाबाट बलभद्र कुँवर, भुपालसिंह थापा लगायतका योद्धाहरु पञ्जाबकेशरीका सेनामा गएका थिए । भीमसेन थापा शक्तिमा छउन्जेल नेपाली युवाहरु लुकेर, राज्यबाट छलिएर अंग्रेज सेनामा जाने गर्दथे । तीमध्येका धेरैले नेपाल सरकारको डरले भारतीय भूमिमा सपरिवार बसोवास गर्न थालेका थिए ।
बि.सं.१९०३ बाट शक्तिमा उदाएका जङ्गबहादुर कुँवर राणाले नेपाली सेनाको नेतृत्व गरेर भारतमा भएको बिद्रोह दबाउन गए तर उनले नेपाली युवालाई अङ्ग्रेज सेनामा भर्ति हुन जान दिने निर्णय गरेको पाइँदैन । बि.सं.१९३३ मा जङ्गबहादुर कुँवर राणाको मृत्युपछि श्री ३ महाराज बनेका उनका भाइ रणोद्वीपसिंह कँुवर राणाको पालामा बि.सं.१९३५ ताका बेलायतस्थित भारतको इष्ट इण्डिया कम्पनी सरकार र अफगानिस्तान सरकारबीच बिवाद बढेर युद्धको सम्भावना नजिकिएपछि बेलायतका भारतस्थित भायसराय लर्ड लिटनले नेपालमा रहेका रेजिडेण्टमार्फत् केही हजार रिक्रुटको माग गरे ।
नको माग अनुरुप एक हजार रिक्रुट छनौट गरी सुगौली पठाइयो । तर, सुगौलीबाट तीन सय जनामात्र भारत पठाइयो बाँकी नेपाल फर्किएका थिए । विधिवत नेपाली युवालाई नेपालमै छनौट गरी विदेशी सेनामा जागिर खान पठाइएको यो नै पहिलो घटना थियो ।
पछि उनै रणोद्वीपसिंह कुँवर राणाको पालामा बि.सं.१९४२ मा नेपाल सरकारले नेपाल भूमिमै बेलायत सरकारलाई आवश्यक पर्ने रिक्रुट भर्ति केन्द्र खोल्न दिने आसयको पत्र पठाएर विधिवत अनुमति दिएको थियो । त्यस यता बेलायत र भारतको राष्ट्रिय सेनामा नेपाली युवाको भर्ति नेपाल भूमिमा नै छनौट गर्ने कार्य निरन्तर भइरहेको छ । बेलायत र भारतले नेपाललाई सैनिक भर्ति केन्द्र बनाइरहेका छन् ।
यहाँनेर ध्यानदिनुपर्ने कुरा के छ भने पृथ्वीनारायण शाह नेतृत्वमा नेपालको पुनःएकीकरणमा योगदान गर्ने ब्राम्हण, खस क्षत्री, दलित समुदायका मानिस बेलायत र भारतीय सेनामा न्यून संख्यामा सहभागी हुं“दै आएका छन् । राई, लिम्बु, मगर, गुरुङ लगायतका जनजाति समुदायका मानिसलाई बेलायत र भारतले आफ्नो सेनामा प्राथमिकता दिदै आएको छ । यसबारेमा अलग्गै चर्चा गरिनु उपयुक्त हुनेछ ।
विश्वका केही देशमा सैनिक भर्तिको नियम
बिश्वका अरु केही देशले आफ्नो बाहेक अरु देशका सेनामा भर्ति हुनेबारेमा नियम बनाएका छन् । तीमध्ये फ्रान्स, बेलायत, दक्षिण अफ्रिका, जर्मनी, अष्ट्रिया, इजरायल जस्ता देशले आफ्ना युवा वा नागरिकलाई बिदेशी सेनामा काम गर्न रोक लगाएका छन् । ती देशले यदि आफ्ना नागरिक अरु देशका सेनामा भर्ति भए नागरिकता रद्द गरिदिने छन् । राज्यका सुबिधाबाट वञ्चित गरिनेछ ।
भारतले नेपाल, भुटान, तिव्वतका शरणार्थीलाई आफ्नो सेनामा भर्ति गर्दछ तर आफ्ना नागरिकलाई अरु देशका सेनामा भर्ति हुन अनुमति दिएको छैन ।
अमेरिकाले आफ्नो देशमा बसोबासको अनुमति पाएका अरु देशका नागरिकलाई सेनामा भर्ति गर्दछ । तर, आफ्ना नागरिकलाई अरु देशको सेनामा भर्तिको अनुमति दिएको छैन । तर, इराक र अफगानिस्तानमा अमेरिकी सेनाले नेपाल लगायतका देशका युवालाई सुरक्षा सेवामा करारमा नियुक्त गरेर युद्धमोर्चामा नखटाएता पनि आन्तरिक सुरक्षा र सैनिकको सहयोगीका रुपमा परिचालन गर्दै आएको छ ।
अष्ट्रेलियाले पनि आफ्नो सेनामा मित्रराष्ट्र मानेका देशका नागरिक भर्ति गर्दछ । इजरायलले यहुदी जुनसुकै देशका र यहुदी बंशका नागरिकलाई सेनामा भर्ति गर्दछ । न्युजिल्याण्डले अमेरिका, अष्ट्रेलिया, क्यानडा र बेलायतका नागरिकलाई सेनामा भर्ति गर्ने नियम बनाएको छ । त्यहाँ पाँच वर्ष बसेका जुनसुकै देशका नागरिक सेनामा भर्ति हुन पाउने नियम छ । बेल्जियम, आयरलैण्ड, लक्जेम्बर्गले युरोपका जुनसुकै देशका नागरिकलाई सेनामा भर्ति गर्दछ । वहराइनले अरब मुलुक र पाकिस्तानी नागरिकलाई सेनामा भर्ति लिन्छ ।
मोनाको नामक देशले राजदरबारको सुरक्षाका लागि बिदेशी नागरिक सम्मिलीत सेना नै खडा गरेको छ । ब्रुनाइले पनि बिदेशी नागरिक वा सैनिकबाट राजपरिवारको सुरक्षा व्यवस्था गरेको छ । नर्वेले आइसलैण्डका युवालाई सेनामा भर्ति लिने गर्दछ । सर्वियाले सर्वियन भाषा बोल्ने जुनसुकै देशका नागरिकलाई सेनामा भर्ति गर्दछ । भ्याटिकनमा क्याथोलिक इसाई समुदायको मात्र एउटा अलग सैनिक दस्ता छ । यसको इतिहास पाँच सय वर्षभन्दा लामो छ ।
बेलायतका राजा हेनरी द्वितीयले १२ औं शदीमा देशभित्र आपूmबिरुद्धको आन्तरिक बिद्रोह दबाउन बिदेशी सैनिकलाई उपयोग गरेका थिए । अर्का बेलायती राजा जर्ज तृतीयले अमेरिकी बिद्रोह दबाउन जर्मन मुलका नागरिकलाई भाडाका रुपमा उपयोग गरेका थिए । आज पनि बेलायतले आफ्ना पूर्व उपनिवेश अथवा कमनवेल्थ मुलुक र नेपालका युवालाई राष्ट्रिय सेनामा भर्ति गर्दै आएको छ । अमेरिकाले सेप्टेम्बर ११, २००९ को घटनाअघि अमेरिकी बिमानस्थलको सुरक्षा कार्य निजी सुरक्षा निकायलाई दिएको थियो ।
मारिनुअघि लिवियाका राष्ट्रपति कर्णेल मौमर गद्धाफीले अफ्रिकी देशका युवालाई बिद्रोह नियन्त्रण गर्न भाडाका सैनिकका रुपमा भर्ति गरेर परिचालन गरेका थिए । भारतको, हाल पाकिस्तानमा पर्ने पञ्जाबका तत्कालीन राजा रणजीत सिंहले नेपाली युवालाई भर्ति गरेर, अफगानिस्तानका राजाबिरुद्ध जनताले गरेको बिद्रोह दबाउन खटाएका थिए ।
सन्दर्भ नेपालकै
मध्यकालमा युरोपमा नियमित जस्तै युद्ध भई रहन्थ्यो । त्यहाँ राष्ट्रले गठन गरेको सेनाबाहेक ठेकेदार मातहत पनि सेना हुन्थे । ती ठेकेदारले पैसा लिएर आपूm मातहतका सेनालाई युद्धमा पठाउँदथे । खटाउँदथे । सैनिकलाई न्युन तलव दिन्थे । सैनिक बनेर युद्ध पेशा बनाएका मानिसहरु बाँच्नका लागि मर्न–मार्न बाध्य हुन्थे । कतिपयले ठेकेदार मातहतका त्यसप्रकारका सेनालाई भाडाका सैनिक पनि भन्ने गरेको पाइन्छ ।
मेरो यस स्तम्भमा यसअघिका लेखमा नेपालका तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री र सर्वाेच्च प्रधानसेनापति जङ्गबहादुर कँुवर राणाले आफैं नेतृत्वमा इष्ट इण्डिया कम्पनी सरकारलाई गरेको सैनिक सहयोग, रणोद्वीपसिंह कँुवर राणाले बेलायतलाई गरेको सैनिक सहयोग, चन्द्रशमशेर जबरा र जुद्धशमशेर जबराले बेलायतलाई गरेको सैनिक सहयोगका सन्दर्भहरु उल्लेख गरेको छु । सैनिक सहयोग गरेर जङ्गबहादुर कुँवर राणाले नेपालको भूमि हात पारे, यो सकारात्मक कदम थियो । रणोद्वीपसिंह, चन्द्रशमशेर र जुद्धशमशेरले बेलायती तक्मा र पाउण्डस्टर्लिङ कमाए । उनीहरुबाट नियुक्त भएका कमाण्डरले पनि केही धन कमाए । त्यो फरक प्रकारको सैनिक ठेकेदारी थियो । हो ।
उपरोक्त सन्दर्भ र बिषयकाबारेमा अझ थप चर्चा गर्न सकिन्छ । नेपालले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति सैनिकका रुपमा नेपाली सेनालाई बिश्वका बिभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ खटाउदै आएको छ । यसलाई कतिपय टिप्पणीकारले नेपालले संयुक्त राष्ट्रसंघलाई सैनिक भाडामा लगाएको भनी बुझेको पाइन्छ, यसमा आजै बहस नगरौं !
अन्तमा
प्रविधिको विकासले विश्व एउटा गाउ“ं बनेको छ । संसार सां“घुरिएको छ । हामी र हाम्रो सैनिक संरचना, सोच, स्तर, कार्यसम्पादन र संवेदनशीलता भने पृथ्वीनारायण शाहको भन्दा पहिलाको छ । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी :
बिचार