Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

पार्टी एकता जोगाउने पहल


आआफ्ना इगो र तुष्टि पूरा गर्न पार्टी विभाजनको कालकुट विष पिउन पनि नसक्ने, जुट्न एकताको रसायनरुपी अमृत पनि फेला पार्न नसक्ने निकै असमञ्जस्यको अवस्थाका बीच सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड अघोषित युद्धविराम गरेर ‘टाइम किलिङ’ गरेर शक्ति सञ्चय गर्न व्यस्त देखिएका छन् । एउटै पार्टीका समान हैसियतका अध्यक्षहरु कहिले तारन्तार भेट्दा र कहिले आक्कलझुक्कल भेट्दा पनि हेडलाइन समाचार बन्नुपर्ने नियतिका बीच मिडियाका लागि न्युजमेकर बन्ने बाहेक पार्टीको आन्तरिक समस्याको समाधानका सूत्र दिन असफल भइरहेका छन् । झलनाथ खनाल, माधव नेपाल लगायतका शीर्ष नेताहरु पनि न चुप बस्न सकेका छन् न त मसक्क आँटेर वारपार गर्न नै सकिरहेका छन् । पार्टीको मूल र शीर्ष नेतृत्व नै न मरिजाने न त गरिखाने गरी कुहिरोका काग बनिरहेका बेला मध्यमार्गी उपाय र निकास खोज्न दोस्रो तहका नेता र कार्यकर्ताहरु आक्रामक रुपमा सक्रिय हुन थालेका छन् । पार्टी स्थायी समितिको डेढ महिने वैठक र बीचबीचमा बस्ने सचिवालय वैठक नै अनिर्णयको बन्दी हुँदै जाँदा सचेत नेता र नेतृत्व पङ्क्ति आफै अग्रसर भएर पार्टी एकता पनि जोगाउने, शीर्ष नेतृत्वको नाक पनि राखिदिने मध्यमार्गको खोजीमा तल्लिन हुँदै जान थालेका छन् । यसले नेकपाको सम्भावित विभाजनमा विश्रामको सम्भावना बढाएको छ ।

शीर्ष नेताहरु देखिएनन् गम्भीर

सत्तारुढ नेकपाको आन्तरिक विवाद समाधानमा पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड लगायत शीर्ष नेताहरुकै फरकफरक अडान समस्या समाधानको तगारो बन्दै गएको देखिएको छ । पार्टी एकता बचाएर सरकारले जनताको सेवा गर्न पाएको युगीन अवसरलाई जोगाउनु पर्छ भन्नेमा शीर्ष नेताहरुकै भाषण तथा काम र व्यवहारमा एकरुपता देखिइरहेको छैन । खासमा शीर्ष नेताहरु नै एकता जोगाएर बलियो हुँदै अघि बढ्ने भन्दा पनि आआफ्नो इगो साँध्न पार्टीमा च्याँखे दाउ थापिरहेको अवस्थामा देखिएका छन् । शीर्ष नेताहरुका बीचमा पार्टी एकताको रक्षाका लागि हुनुपर्ने स्तरको गाम्भीर्यता नै देखिएको छैन् ।

२०५६ मा तत्कालीन नेकपा एमाले फुट्दा होस वा नेपाली काँग्रेसमा आएको विभाजन होस वा माओवादीमा आएको विभाजन वा मधेशवादी लगायतका साना ठूला दलहरुमा आएका सबै विभाजनहरु मुलतः नेताहरुको तुष्टि पूरा गर्नका खातिर भएका थिए । विडम्वना अहिले शीर्ष नेताहरुको आआफ्नो अडानको आलोकमा नेकपामा पनि नेता एकता भङ्ग गर्ने एकाङ्की यात्राका लागि तम्तयार झैं देखिएको अवस्था छ । ताबा भन्दा पहिला बिँड ताते जस्तो अहिले प्रमुख नेताहरु भन्दा ज्यादा देशभरका आम कार्यकर्ता र दोस्रो, तेस्रो तहका नेताहरु नै पार्टी एकता जोगाउने र सरकारलाई सफल बनाउने गरी सक्रिय भूमिका खेलिरहेका छन् ।

जुमुराउँदै बादलको मध्यमार्गी धार

कुनै घोषित रणनीति र समूहका रुपमा देखा नपरेको भए पनि गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलले पार्टी एकता जोगाउन निभाएको दृश्य अदृश्य भूमिकाका कारण मुलतः पूर्व माओवादीहरुको कित्ता पार्टी एकता जोगाउने र सरकार तथा पार्टीलाई सफल बनाउने मध्यमार्गी धारका रुपमा उदाउँदै गएको छ । राजधानीमा हालै सम्पन्न भएको पूर्व क्रान्तिकारी माओवादीहरुको भेलामा नेता बादलले पार्टी एकता जोगाएर अघि बढ्ने रोडम्याप दिएका थिए । दुई दर्जन बढी पूर्व माओवादी नेताहरुको अनौपचारिक भेलामा नेता बादलले शीर्ष नेताहरुको आफू केन्द्रीत इगो र दम्भका कारण देश गम्भीर संकटमा परेको इतिवृतान्त प्रस्तुत गरेका थिए । पार्टी एकता बचाउने र समाजवादी यात्रामा जाने सरकारको लक्ष्य शीर्ष नेताहरुको एकाङ्की भूमिकाकै कारण संकटमा पर्ने खतराबारे नेताहरुलाई बताएका थिए ।

शीर्ष नेताहरुको आफूलाई पार्टीको नीति र विधिभन्दा माथि राख्ने गलत प्रवृत्ति र फरक मतलाई निषेध गर्ने प्रवृत्तिले समस्या बढाएको र परिस्थिति जटिल बन्दै गएको विश्लेष्ण सुनाउँदै नेता बादलले समस्याको समाधान निषेध नभई सहमतीय आधारमा हुनुपर्ने धारणा राखेका थिए ।

सबै प्रवृत्तिलाई मिलाएर सरकारको पुनर्गठन गर्ने, पार्टीभित्रका सबै प्रवृत्तिहरुलाई योग्यता, क्षमता र योगदानका आधारमा सबै तहका कमिटीहरुमा राखेर काममा क्रियाशील बनाउने, प्रदेशहरुमा काम गर्न नसकेका मुख्यमन्त्रीहरु बदल्नेदेखि मन्त्रीमण्डल नै पुनर्गठन गर्ने र सहमतिमा नै समस्याको निकास खोज्ने अग्रसरताबाटै विद्यमान संकट टार्न र अग्रगामी यात्रा तय गर्ने गरी साझा रोडम्याप एकता जोगाउने आधार हुनेमा नेता बादलले उक्त भेलामा प्रष्ट पारेका थिए ।

दुईतिर फर्केर आपसमा बाझिरहेका दुई अध्यक्षले नै मुख्यतः आपसमा सहमति गरेर निर्णय लिनुपर्नेमा पूर्व क्रान्तिकारी माओवादीहरुको भेलाले जोड दिएको थियो । कसैले कसैलाई दबाबमा हटाउने नभई अध्यक्षद्वयको आपसी सहमतिमा एक/एक जनाले एक/एक मुख्य पद लिएर जिम्मेवारी सम्पादन गर्नुपर्नेमा भेलाले जोड दिएको थियो ।

नेकपाको सबै समस्याको साङ्गोपाङ्ग समाधानका लागि अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनमा पुनः अध्यक्षमा नउठ्ने र आगामी निर्वाचनपछिको सरकारमा पनि दावी नगर्ने प्रतिवद्धता जनाएकाले यसकै आधारमा टेकेर जानसकेमा भावी नेतृत्वको प्रश्न पनि हल गरिन सकिने रोडम्याप उक्त भेलामा नेता बादलले प्रस्तुत गरेका थिए । ओलीले आगामी महाधिवेशनपछि सरकार र पार्टी नेतृत्वबाट बिदा लिने र त्यसपछि पार्टी र सरकारको नेतृत्व प्रचण्डले लिने आपसी सहमति नै अहिलेको संकट समाधानको प्रस्थानविन्दु हुनेमा नेता बादलले स्पष्ट पारेका थिए ।

यस्तै भेलाले नेतामुखी वर्तमान विवादलाई नीतिमुखी बनाउनमा जोड दिइएको थियो । विगतका सकारात्मक पक्षलाई समेटेर महाधिवेशनमा कार्यदिशा बनाउनु पर्ने सवालमा पनि पूर्व माओवादीहरुको भेलाले जोड दिएको थियो । पार्टीको आगामी कार्यदिशा समृद्ध बनाउनेतिर वर्तमान विवाद/बहस मोडनुपर्ने र व्यक्तिमुखी विवाद सिफ्ट गर्दै कार्यदिशा स्पष्ट र समृद्ध बनाउनुपर्नेमा भेलाले पहल गर्ने निष्कर्ष निकालेको थियो ।

विद्यमान कोरोना भाइरस महामारीलाई सामान्य आँकलन नगर्न र यसले राष्ट्रिय विपत्ति निम्त्याउने भएकाले कोरोना कहरको भयावह स्थितिका माझ जोरीपारी हँसाउने गरी पार्टीभित्र अन्तरकलहमा नलाग्न भेलामा सहभागी नेताहरुले शीर्ष नेतृत्व र नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

नेताहरुको अडान एकातिर र कोरोना महामारीका कारण जनताको अवस्था अर्कातिर भइरहेको वर्तमान अवस्थामा परिस्थिति सरकार र पार्टीको काबु बाहिर जाने अवस्थालाई मध्यनजर गरेर शीर्ष नेताहरु नै पार्टी एकता जोगाउँदै समाजवादको यात्राका तयारीमा केन्द्रित हुनुपर्नेमा उक्त भेलाले एकमतले जोड दिएको थियो ।

दुई अध्यक्षहरुले नै आआफ्नो कार्यशैली बदलेर आफैभित्र रुपान्तरण गर्ने हो भने समस्याको समाधान हुने निष्कर्षमा पनि उक्त भेला पुगेको थियो । मुलतः अध्यक्ष ओलीले आफ्नै विगतको कार्यशैली फेर्ने र ओली इतर समूहले पनि ओलीलाई थप एकपटक सच्चिने मौका दिने हो भने पार्टीभित्रको संकट समाधान हुने रोडम्यापमा पूर्व क्रान्तिकारी माओवादी भेला एकमत जस्तै देखिएको थियो ।

ओलीले असन्तुष्ट पक्षलाई र असन्तुष्ट पक्षले ओलीलाई आपसमा निषेध गर्न छाडेमा मात्रै पनि एकातिर पार्टी एकता जोगिने र अर्कोतिर आम कार्यकर्ता र जनतामा निराशा र पलायनको रोग नफैलिनेमा भेलाले जोड दिएको थियो । अहिले जुनसुकै कारणले ओलीलाई हठात हटाए वा उनी हटे पनि आम रुपमा भारतले नयाँ नक्शा प्रकरणका कारण हटाएको सन्देश जाने भएकाले त्यसमा सबैजना सचेत हुनुपर्ने निष्कर्ष पनि उक्त भेलाको थियो । पार्टी एकता जोगाएर, सरकारलाई सफल पार्ने र जनतामा निराशा थपिन नदिने गरी नेता बादलले लिएको लाइनमा अहिले देशैभरका नेता, कार्यकर्ताहरु सहमत हुँदै आएको अवस्था छ ।

जुट्दै वैठकमा

यो समाचार तयार पार्दासम्म केही समय सम्वादहीनतामा पुगेका दुई अध्यक्ष आआफ्ना सहयोगीका साथ पुनः वार्तामा बस्न थालेका छन् । आआफ्ना अडानबाट टसको मस नभए पनि सहयोगीहरु बदलेर दुई अध्यक्षले आपसमा एक कदम पछि, दुई कदम अघि बढ्न संकेत देखाएका छन् । असन्तुष्ट पक्षबाट अध्यक्ष प्रचण्डले ‘जता मल्को उतै ढल्को’ गर्ने प्रवृत्तिलाई काखी च्यापेर हिंड्न छाडेपछि सहमति, निकास र एकताका नयाँ आधार निर्माण गर्न केही सहज भएको संकेत देखिदैछ । यसअघिका पछिल्ला दुई वार्तामा वरिष्ठ नेता झलनाथ खनालका साथमा प्रचण्डले समकक्षी ओलीलाई सहमतिका लागि नयाँ पहल गर्न दबाब दिदै आएका छन् । यसलाई सकारात्मक पहल मानिएको छ । यसरी हेर्दा अब शीर्ष नेतृत्वको अगुवाइमा भन्दा पनि दोस्रो, तेस्रो धाराको कप्तानीमा नेकपाको सम्भाव्य विभाजन टर्ने सम्भावना बढेको छ । पार्टीलाई एकताबद्ध गरेर समाजवादी यात्रामा जाने आशा बढाएको छ । समयबद्ध साप्ताहिकबाट

यो पनि पढ्नुहोस,

नेकपामा बिचौलिया निर्णायक

नेकपाको बहस : गुटको सुदृढीकरण कि पार्टी निर्माण र समाजवाद गन्तव्य ?

प्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई सधैं काखमा राख्नैपर्ने ?

दुई अध्यक्षलाई उक्साउने, जुधाउने र लडाउने को हो ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट