Techie IT
×
गृहपृष्ठबिचारराजकुमार चेपाङ, वन्यजन्तु संरक्षण र नेपाली सेना

राजकुमार चेपाङ, वन्यजन्तु संरक्षण र नेपाली सेना


सेनाले नागरिकको बाच्न पाउने न्युनतम अधिकारको सम्मान गर्नुपर्दछ । सैनिकहरुबाट जिम्मेवार भूमिका निर्वाह हुनुपर्दछ । सैनिकको समयसापेक्ष नागरिक दायित्वप्रतिको चेतनास्तर अभिबृद्धिमा नेतृत्वको ध्यान जानेछ । देशका अरु राजकुमारहरुले नेपाली सेनाबाट जीवनहरण हुने त्रास होइन, सहारा पाउने आशा गर्न सक्नुपर्दछ । नेतृत्व हिरो हुने र सैनिकहरु राणाकालीन परिवेशमै सीमित रहेर पेन्शन पकाउने ध्याउन्नबाट मुक्त हुनुपर्दछ । गाली र आलोचनाबाट पाठ सिक्छौं भन्ने नेतृत्व र तल्लोतहका सैनिकमा संकल्प हुनुपर्दछ । तब मात्र आगामी दिनमा नेपाली सेनालाई जनस्तरमा आदर र सम्मान प्राप्त हुने वातावरण निर्माण हुनेछ ।

 

नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले यही साउन १ गते जंगी अड्डामा ‘दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७’ को शुभारम्भ गर्दै ‘सैेनिक सङ्गठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्य मान्यता थप मजबुत बनाइ बिशिष्ट सैनिक चरित्र निर्माण गर्दै लैजाने उद्देश्य’ का बारेमा प्रवचन प्रवाह गरिरहदा, चितवन राष्ट्रिय निकुञ्ज इलाकाभित्र छाक टार्ने वाध्यताले घुंगी (स–साना खोला, ताल, सिमसारमा पाइने किरा, जीव) टिप्न गएका चितवनको राप्ती नगरपालिका २, मिलनटोलका २४ बर्षीय राजकुमार चेपाङ, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको बटुकदल गणका सैनिकले दिएको चरम यातना र कुटपिटबाट साउन ७ गते मृत्युवरण गरेको आरोपसहितका समाचार संचार माध्यमहरुमा प्रकाशन/प्रसारण भइरहेका छन् ।

नेपालमा निकुञ्ज र वन्यजन्तु आरक्ष

राणा र राजाहरु काठमाडौंको जाडो छल्ने र वन्यजन्तुको शिकार गरेर मनोरन्जन गर्ने उद्देश्यले हरेक सालको हिउंदमा चितवन, रोैतहट लगायतका तराईका घना जङ्गलमा सेना, श्रीमती र रखैलको लस्करसहित जान्थे र महिनौं मस्ती गर्दथे । हज्जारौं दुर्लभ वन्यजन्तुको शिकार गर्दथे र जाडो सकिएपछि काठमाडौं फर्किन्थे । यही शिकारलाई व्यवस्थित गर्न चितवनमा गैंडा गस्ती स्थापना गरिएको थियो । बिसं २०१८ अर्थात सन् १९६१ मा यसको पुनर्गठन गरियो । बिसं २०२९ मा वन्यजन्तु संरक्षण ऐन लागू गरियो र बिसं २०३० मा शाही चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो । नेपालको हिमाल, पहाड र तराई क्षेत्रमा विद्यमान जैविक विविधताको प्रतिनिधित्व हुने गरी त्यसपछि नेपालका विभिन्न क्षेत्रमा आठ राष्ट्रिय निकुञ्ज, चार वन्यजन्तु आरक्ष र चार संरक्षण क्षेत्र स्थापना गरिए ।

विश्वमै अति महत्व राख्ने तर क्रमशः विलय हुँदै गएका हात्ती, गैंडा, बाघ, हिउं“चितुवा, गोही, अर्ना, हिमाली कालो भालु, नीलगाई, कस्तुरी, चमेरा र बिभिन्न ४० फरक किसिमका चरा, १३ किसिमका घस्रने जन्तुहरु, उभयचर, फट्याङ्ग्रा र दुर्लभ वनस्पति नेपालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु, वन्यजन्तुबाहेक प्राकृतिक वातावरणका साथै भू–दृश्यहरुको संरक्षण, व्यवस्थापन एवम् उपयोगका लागि पनि महत्वपूर्ण छन् । संरक्षणको कामलाई खलल नपारी मनोरन्जन, शैक्षिक, बैज्ञानिक प्रयोजनका लागि पनि यी संरक्षित क्षेत्रहरु उपयोगी हुनसक्छन । भइरहेका छन् ।

केही वर्षअघिको साइटिस प्रतिवेदनमा उल्लेख भए अनुसार विश्वमा बार्षिक करिब २० अर्ब अमेरिकी डलर बराबरको दुर्लभ वन्यजन्तुका अङ्गहरुको व्यापार हुन्छ, जसमध्ये ३० प्रतिशत अर्थात करिब छ अर्ब अमेरिकी डलर बराबरको भने अबैध हुने गर्दछ । विश्वव्यापी रुपमा दुर्लभ मानिने वन्यजन्तुको अवैध व्यापारमाथि प्रतिवनध लगाउने अन्तर्राष्ट्रियस्तरको महासन्धि ‘साइटिस’ सन् १९७५ को जुलाइ १ बाट लागू भएको छ । नेपालले उक्त महासन्धिमा सन् १९७५ को सेप्टेम्बर १६ मा हस्ताक्षर गरेर उक्त सन्धिप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको थियो ।

दुर्लभ वन्यजन्तु र प्राकृतिक वातावरणको संरक्षणका लागि निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रको स्थापना भएपछि अर्थात बिसं २०३० देखि तिनको सुरक्षामा नेपाली सेना कार्यरत छ । नेपाल सरकार, वन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज निर्देशनालयका कर्मचारीसगको समन्वयमा नेपाली सेनाले संरक्षित इलाकाभित्र मानिसहरुको विना इजाजत प्रवेशमा रोक लगाउदै आएको छ । संरक्षित क्षेत्रभित्र लुकेर सशस्त्र रुपमा आउने वन्यजन्तु तस्करहरुको सामना गर्दै सेनाले ती क्षेत्रको संरक्षणको जिम्मेवारी वहन गरेको छ । यसक्रममा तस्करबाहेक निकुञ्ज, वन्यजन्तु आरक्ष वा संरक्षित क्षेत्रको आसपास बसोवास गर्ने स्थानीय बासिन्दाहरुसंग पनि समयसमयमा नेपाली सेनाको आमनेसामने हुन्छ । विवाद हुन्छ । विवादले झैझगडाको रुप लिन्छ र कैयौंपटक मृत्युका घटना पनि भएका छन् ।


निकुञ्ज वा वन्यजन्तु आरक्ष सुरक्षामा खटिएका सैनिकले संरक्षित इलाकामा नियमित गस्ती गर्दछन् । अनाधिकृत मानिसलाई निषेधित इलाकाभित्र पसेर, बोटबिरुवा वा रुख कटान गर्न, कुनै कार्यक्रम गर्न, होहल्ला गर्न, संरक्षित वन्यजन्तु समात्न वा मार्न नदिनु सेनाको जिम्मेवारीभित्र पर्दछ ।

सेनाले वा निकुञ्ज प्रशासनले निषेधित भनी तोकेको क्षेत्र वा इलाकाभित्र वरपरका मानिसहरु दाउरा लिन, घरपालुवा पशुलाई घांस लिन, काठ काटन, वन्यजन्तुको शिकार गर्ने उद्देस्यले लुकेर वा जबर्जस्ती प्रवेश गर्न खोज्दछन । स्थानीय धेरै मानिसहरु ग्यास खरिद गर्न सक्दैनन् । उनीहरु जंगलको सुकेको दाउरा बटुलेर दैनिक जीविका चलाउंदछन । जङ्गलमा कुहिएर जाने दाउरा सैनिकको आखा छलेर घर ल्याउनु उनीहरुको बाध्यता हो, विवसता हो ।

घरमा पालिएका पशु जंगलमा चराउनु, तिनलाई चाहिने घास जङ्गलमा लिन जानु उनीहरुको दैनिकी हो । स्थानीयले घांस पनि निकुञ्जका सैनिकको आंखा छलेर, लुकेर, चोरेर ल्याउनु पर्दछ । सैनिकले देखेमा कारवाहीको भागी हुनुपर्दछ । यी काम स्थानीयको जीविकासग सम्बन्धित छ । राजकुमार चेपाङ यही जीविकाको बाध्यतामा थिए । निकुञ्ज आसपास बस्ने धेरै चेपाङको घर छैन । जमीन छैन । जागिर छैन । वनजंगल चाहारेर गिट्ठा भ्याकुर, कन्दमुल, माछा, घुँगी, जंगली च्याउ खोजेर छाक टार्नु उनीहरुको वाध्यता हो । आजभन्दा ठीक आठ वर्ष एक महिनाअघि अर्थात बि।सं।२०६९ असार ७ मा काठमाडौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकमा चितवनको कविलास ७, चौकिडाडामा बिषालु च्याउ खाएर आमा, बाबु र तीन दाजुको मृत्यु भएर सहाराविहीन भई नाङ्गै, भोकै छाप्रोभित्र अङ्गेनासामु लडिरहेका दुई वर्षे बालक चोकमान चेपाङको तश्वीर छापिएको देखेर ती चेपाङ बालकलाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले पालनपोषणको जिम्मा लिएर प्रशंसा कमाएका थिए । घरवारविहीन चितवनका धेरै चेपाङ आज पनि सहाराविहीन छन् ।

दाउरा र घांस लिनबाहेक केही मानिस लुकेर निकुञ्जभित्र जान्छन । ती मानिस निकुञ्जमा संरक्षण गरिएका दुर्लभ वन्यजन्तुको शिकार गर्दछन् । तिनको महत्वपुर्ण अङ्ग बिश्वबजारमा महंगो मूल्यमा किनबेच हुन्छ । केही पेशेवर चोर शिकारीहरु यस काममा दिनरात लागिरहेका हुन्छन । त्यस खालका चोरी कार्यलाई रोक्नु निकुञ्जमा तैेनाथ सैनिकको जिम्मेवारी हुन्छ ।

कहिलेकहीँ दुर्लभ वन्यजन्तुको अबैध शिकार गर्ने पेशेवर चोरी शिकारीमा संलग्न मानिसहरुले निकुञ्ज आसपासका स्थानीयलाई पैसाको प्रलोभन दिएर निकुञ्जभित्र पठाएर आफ्नो काम गर्न लगाउन सक्छन । त्यसखालका क्रियाकलाप रोक्नु निकुञ्ज प्रशासन र सेनाको दायित्व हुन्छ ।

यही साउन १ गते सेनाको चरम यातना र कुटाइबाट ७ गते मृत्युवरण गरेका भनिएका चितवनका राजकुमार चेपाङ वन्यजन्तु चोर शिकारी थिएनन् । उनलाई पेशेवर चोर शिकारीले प्रयोग गरेको प्रमाण पनि सेनासंग छैन । उनी मरेर, कुहिएर जाने घुं“गी टिपेर, पकाएर खाने उद्देश्यले निकुञ्ज प्रवेश गरेका थिए । समाचारमा उल्लेख भए अनुसार खानका लागि, बांच्नका लागि, जीविकाका लागि बाध्यतावस निकुञ्जभित्र जानैपर्ने अवस्थामा गएका निरीह, निशस्त्र, गरिब राजकुमार चेपाङको निकुञ्ज सुरक्षामा खटाइएको राष्ट्रिय सेनाले निर्दयताका साथ दिएको यातना र कुटाईबाट प्राण गएको छ । राजकुमारको प्राणहरणसँगै उनीसं“ग आश्रित श्रीमती र काखे छोरी बेसहारा वनेका छन् । आमा, बाबु पुत्रविहीन बनेका छन् ।

संचारमाध्यमले उल्लेख गरेको आरोप यदि सत्य हो भने यसबाट केही गम्भीर प्रश्न उठेको छ:  के मानिस/नागरिकको जीवन बांच्न पाउने अधिकारभन्दा वन्यजन्तुको सुरक्षा ठूलो हो ? के सेनाले निकुञ्जभित्र प्रवेश गर्ने नागरिकलाई यातना दिन र हत्या गर्न सक्छ ? संरक्षित क्षेत्र वरपरका जनताको जीवन सुरक्षालाई खलल नपु-याइकन वन्यजन्तु संरक्षण गर्न सकिंदैन ? रक्षा मन्त्रालय, वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज निर्देशनालय र नेपाल सरकारले यसबारेमा प्रष्ट पार्न आवश्यक छैन ?

नेपाली सेना

माथिको चर्चा गरिरह“दा लेख्नेै पर्दछ मुख्य कुरा नेपाली सेनाले व्यारेकभित्र अध्ययनको बाताबरण वनाएको छैन । अनुसन्धानको वाताबरण वनाएको छैन । नेपाली सेना ‘हस’ बहादुर उत्पादनमा व्यस्त छ । सेना देशमा पेन्सनमा आश्रित जनशक्ति उत्पादन गरिरहेको छ । समाजमा, देशमा, बिश्वमा उत्पादनशील क्षेत्रमा, सिर्जनाको क्षेत्रमा, आविष्कारको क्षेत्रमा काम लाग्ने जनशक्ति सेनाले उत्पादन गरेको छैन । देशका लागि योग्य जनशक्ति उत्पादनमा सेनाको ध्यान छैन ।

गाउघरमा खेती किसानी र पशुपालन गरेर आत्मनिर्भर रहेका अर्थात जीविका चलाउन सक्षम युवा सेनामा प्रवेश गर्छ । ऊ बूढो भएर निवृत्त हुन्छ । सेवामा छउन्जेल र निवृत्तपछि पनि अर्थात जीवनभर ऊ राज्यको तलब/पेन्सनमा आश्रित हुन्छ । सैनिक मात्र होइन उसका परिवार पनि । सेनाबाट निवृत्त भएर निस्कदा सैनिक खेती किसानी गर्न पनि अयोग्य र असक्षम हुन्छ । सैनिक वनेपछि ऊ गाउंबाट शहरमा बसाइ सर्दछ । आत्मनिर्भरबाट परनिर्भर बन्दछ । नेपाली सेनाले उत्पादन गर्ने भनेको सलाम गर्न र दैलोको पाले बस्न योग्य सेक्युरिटी गार्डमा बिक्ने जनशक्ति मात्र हो । अर्दली बस्न योग्य सैनिक उत्पादनमा मात्र सेनाको रुचि छ । सेनाले केही संख्यामा सवारी चालक (ड्राइभर) जनशक्ति पनि उत्पादन गरिरहेको छ ।

यो तीतो यथार्थ हो । तर, नेपाली सेनाको नेतृत्वले शरम महसुस गरेको छैन । सैनिक नेतृत्वलाई आजसम्म ग्लानीवोध छैन । सेनाले नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्न सकेको छेैन । प्रश्न गर्नसक्ने, जिम्मेवारीबोध गर्ने, देश र जनताको सेवा, सुरक्षा र सम्मान गर्ने, नागरिकको बांच्न पाउने, प्रकृतिप्रदत्त मानव शरीरप्रति उत्तरदायी बन्ने जनशक्ति उत्पादन गर्न सकेको छैन । मातहतका सैनिकलाई मानवअधिकारको न्यूनतम ज्ञान दिइएको छैन । दुःखका साथ भन्नैपर्दछ : ठूलालाई सलाम गर्नुपर्छ र साना वा निम्नलाई गुलाम ठान्नु पर्दछ भन्ने राणाकालीन मानसिकता नेपाली सेनामा आज पनि विद्यमान छ । मानवीय संवेदना नेपाली सेनामा रत्तिभर रहेनछ । सेना केवल बर्दी धारण गरेका मानिसहरुको झुण्ड मात्र रहेछ ।

पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले सहाराविहीन चेपाङको उद्धार गरेर प्रशंसा कमाएको दशक नवित्दै यातना र पिटाइबाट अर्का वयस्क चेपाङ युवाको जीवनहरणको गम्भीर आरोप नेपाली सेनामाथि लागेको छ । सेनामा नक्कली शैक्षिक प्रमाणपत्र र आर्थिक अनियमितता जस्ता बिकृतिमाथि निर्मम प्रहार गरेर केही सुधारको संकेत देखाएका वर्तमान प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामाथि नागरिकको जीवनहरण गरियो भनेर लगाइएको यो गम्भीर आरोप हो । सेनाले थालेको आन्तरिक छानविनले चेपाङको जीवन फर्कदैन, तर मृतकका परिवारले न्याय पाउन सके भने सेनापति थापाको निष्पक्षता र कार्यक्षमताको इतिहासमा अव्वल मूल्याङ्कन हुनेछ । यसमा ध्यान जान सकोस, शुभकामना छ ।

साउन १ देखि ८ गतेसम्म नेपाली सेनाले दोस्रो आचारसंहिता सप्ताह मनाएको छ । यसअघि गत वर्ष साउनमा पनि यस्तै सप्ताह आयोजना गरिएको थियो । संचारमाध्यमहरुलाई विज्ञप्तिमार्फत सैनिकलाई आदर्श र नैेतिकवान वनाइएको समाचार प्रवाह गरिएको थियो । तर, नेपाली सेनाका यस खालका प्रायोजित कार्यक्रमहरु नतिजामुखी होइनन्, ढोंगी हुन्छन् । देशको ढुकुटी रित्याउने र सस्तो लोकप्रियतामा रमाउने त्यसको अन्तर्य हुने गर्दछ ।

पछिल्लो चितवन घटनाले यस सत्यको पुष्टि गरेको छ ।

अन्तमा

सेना देशको जीवन्त सङ्गठन हो । सैनिक जागिरे हुन् । सेनाले कोर्रा युवालाई राष्ट्रिय सेनाको जिम्मेवार सदस्य बनाउ“दछ र राष्ट्रिय हितको सम्बद्र्धन र संरक्षणमा खटाउंदछ । केवल बर्दी लगाउनु र हतियार बोक्नु मात्र सैनिक बन्नु होइन । मन, वचन र कर्मले देश र जनताको सेवा र सुरक्षा गर्नु सैनिकको कर्तव्य हो । प्राकृतिक प्रकोपबाट सिर्जित बिपद्बाट पीडित जनताको सेवा र सुरक्षामा सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा नगरिरहन सकिन्न । तर, वन्यजन्तु संरक्षण होस वा सैनिक बर्दीको दुरुपयोग रोक्ने अभियान होस । सेना सडक र जङ्गलमा परिचालित भएर निरीह नागरिकमाथि गरेका अभद्र व्यवहार र उसले दिएको चरम यातनाबाट नै २४ बर्षीय राजकुमार चेपाङको मृत्यु भएको आरोप होस । यदि यो आरोप सत्य भइदियो भने चेपाङ परिवारको मात्र बिचल्ली हुँदैन, नेपाल एकीकरण गर्न सफल नेपाली राष्ट्रिय सेनाको शाख जनताको नजरमा धुलिसात हुनेछ । पुनः जनस्मरणमा सलाम, मलाम र गुलामको राणाकालीन शव्द व्युँतिने छ । सानालाई ऐन र ठूलालाई चैनको नीतिले निरन्तरता पाइरहेको आभाष हुनेछ ।

सेनाले नागरिकको बाच्न पाउने न्युनतम अधिकारको सम्मान गर्नुपर्दछ । सैनिकहरुबाट जिम्मेवार भूमिका निर्वाह हुनुपर्दछ । सैनिकको समयसापेक्ष नागरिक दायित्वप्रतिको चेतनास्तर अभिबृद्धिमा नेतृत्वको ध्यान जानेछ । देशका अरु राजकुमारहरुले नेपाली सेनाबाट जीवनहरण हुने त्रास होइन, सहारा पाउने आशा गर्न सक्नुपर्दछ । नेतृत्व हिरो हुने र सैनिकहरु राणाकालीन परिवेशमै सीमित रहेर पेन्शन पकाउने ध्याउन्नबाट मुक्त हुनुपर्दछ । गाली र आलोचनाबाट पाठ सिक्छौं भन्ने नेतृत्व र तल्लोतहका सैनिकमा संकल्प हुनुपर्दछ । तब मात्र आगामी दिनमा नेपाली सेनालाई जनस्तरमा आदर र सम्मान प्राप्त हुने वातावरण निर्माण हुनेछ । जोरपाटी, काठमाडौं । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस