Techie IT
×
गृहपृष्ठबिचारओलीमय एमाले : एमालेको चोक्टा र ‘बा’मालेको काट्टो

ओलीमय एमाले : एमालेको चोक्टा र ‘बा’मालेको काट्टो


च्रित्र पतन :

भारतका प्रख्यात साहित्यकार मुन्सी प्रेम चन्दले लेखेका छन्, ‘अपमानको निगल जाना चरित्र–पतन की अंतिम सीमा है ।’ अर्थात, जसले आममानिसले गरेको अपमानलाई पनि निल्न सक्छ, त्यसको चरित्र पतनको अन्तिम सीमा हो । केपी ओली नेपाली राजनीतिका त्यस्तै पात्र हुन् । ओली राष्ट्रियता, जनतन्त्र विरोधी त्यस्तै खलपात्र हुन् । केही थान प्रतिगामी साइबर स्यालहरुको गोयबल्स प्रचारको भरमा पतन भएको चरित्रलाई रफु गर्न अन्तिम पटक प्रयास गरिरहेका छन् । ओलीको चारित्रिक पतन यहाँभन्दा पर हुन सक्तैन । यसर्थ ‘आइ लब यु केपी बा’ नारा, तथाकथित ‘फादर अफ दी नेसन’को पगरी आफैले प्रायोजन गरेको भक्तजनहरुबाट ओडाइएका छन् । बादशाह नाङ्गै भएको अंग्रेजी कथा झैं उनलाई नाङ्गो छु भन्ने थाहा छ । तर कथा अनुसार आम मानिसलाई भ्रम दिन अन्तिम पटक प्रयासमा छन् । अहिले हुन गैरहेको कुनै महाधिवेशन हैन फगत नाटक र नौटंकी नै हो । रामलिला हो जहाँ ओलीका हनुमानहरुले ओलीभक्ति देखाउने छन् । वास्तविक अर्थमा नारायणी किनारमा ‘ओलिवेसन’ वा ‘बा’धिवेन’ हुँदैछ ।

मुर्दाशान्ति :

एमाले अर्थात, ‘बा’मालेको बाधिवेशन आजदेखि सुरु हुँदैछ । तर बामालेको अधिवेशनमा कुनै उत्साह, रौनक छाएको छैन । देशभरका करिव ९५ प्रतिशत बढी प्रतिनिधिहरु ओली गुटका लाहाछापेहरु छानिएका छन् । त्यतिले नपुगेर ओलीले एक सयबढी नन्दीभृङ्गीलाई बाधिवेशन प्रतिनिधि मनोनित गरिसके । कथित एमालेलाई ओलीमय बनाउन कुनै कसर अब बाँकी छैन । माओवादीबाट गएकाहरु ओली गुटमै हेलिएका छन् । तिनीहरु ओलीले दिए खाने नत्र टुलुटुलु हेरेर बस्ने स्थितिमा छन् । तिनीहरु करिव एक सयको हारहारीमा ओलीको आशिर्वादमा महाधिवेशन प्रतिनिधिमा परेका छन् । तिनलाई ओली गुटले मरमसला जस्तो गरेर छानेका छन् । एकदमै न्युन संख्यामा मात्र ओलीको कथित झिनो विरोधीहरु छन् । राजनैतिक कार्यदिशा, रणनीति, कार्यनीतिको अभावमा यो अधिवेशन कुम्भमेला भन्दा फरक हुनेछैन । पञ्चभेला या पञ्चर्यालीकै निरन्तरतामा हुनेछ । यसैत बामाले, राष्ट्रिय राजनीतिलाई सम्बोधन गर्ने कुनै नीतिगत मुद्धासम्म नहुनु अनौठो भएन । पार्टीलाई हाँक्ने सांगठानिक आधार पनि विधिसम्मत हुने छाँट छैन । यसरी पार्टीमा फरक विचार शैलीका प्रतिनिधिहरु नछानिँदा यो अधिवेशनमा मुर्दा शान्ति छाउनु पहिलो कारण हो ।

ओली भर्सेज नक्कली :

एमाले यतिखेर साँचो अर्थमा ‘बा’माले हुँदैछ । यतिखेर ओली भर्सेज को ? भन्ने नै छैन । सम्भवतः ओली भर्सेज गर्न नक्कली उम्मेद्वार पनि भेटि रहेका छैनन् । तर यसैबीच पार्टीको केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा पत्रकार सम्मेलनमार्फत उपाध्यक्ष भिमबहादुर रावलले गरेका छन् । तर, रावलले आफ्नो उम्मेद्वारी टिकाउँछन, टिकाउँदैनन् यसै एकीन छैन् । बरिष्ठ उपाध्यक्षको निम्ति मोलतोल गर्न अध्यक्षको दावी गरेकोमा धेरैले शंका गरेका छन् । कथमकदाचित अध्यक्षमा नाम फिर्ता लिएनन् भनेपनि यिनले झिनो मत ल्याएर पराजित हुनुको विकल्प छैन । यसर्थ ओलीको विरुद्ध रावलको उम्मेद्वारी करौंती उम्मेदवार जत्तिको पनि रहने सम्भावना छैन । रावलले नाम फिर्ता लिए भने त एक्लो दौडमा ओली प्रथम विजेता नै हुनेछन् । घनश्याम भुसालको हरिविजोक त हेरिनसक्नु कै हुनेछ । कांग्रेसमा झैं चिरिन्जीवी वाग्ले, भिमबहादुर तामाङ जत्तिको बन्ने हिम्मत यिनले गर्ने छाँट छैन । यो दोस्रो कारणले पनि बाधिवेशन विना अर्थको पञ्चभेला जस्तै हुनेछ ।

चोक्टा र काट्टो :

दशबुँदे सहमति गरेर एमालेमा घुसेका दश भैयाद र पूर्व माओवादीहरु यतिखेर बिलखबन्दमा छन् । एमालेमा चोक्टा खान भनेर गएका यिनलाई बामालेको काट्टो खाएर फर्खनु पर्ने नौबत आउनेवाला छ । देशभरीबाट यिनको पक्षमा आउने प्रतिनिधिको संख्या नगण्य र झिनो छ । यस्तो बेलामा यिनको कदकाँटी अनुसारको पद मिलान हुने सम्भावना टर्दै गएको छ । ओलीको तजबिज र हुकुम आदेश नभएसम्म संकटै संकट छ । एकाध दश भैयादहरुले ओलीमा आत्मसमर्पण गर्दा केही हातलागे गनिमत नत्र त यिनको भविष्य अन्धकारमा धकेलिने छ ।

बामाले गणित :

यता इश्वर पोखरेल र रामबहादुर थापाको ठेगान मिलाउन गाह्रो छ । पोखरेललाई बरिष्ठ उपाध्यक्ष दिनु पर्ने वाध्यतामा थापालाई राख्ने ठाउँ उपाध्यक्ष मात्रै हो । रावल यहिँ आएर तीन बल्ढ्याङ खानेछन । रावलको उम्मेदवारी बरिष्ठमा हावा खाँदामात्र अध्यक्षमा दर्खास्त पर्ने हो । त्यो पनि रावलको विगतको पेण्डुलम प्रवृत्तिले यसै भन्न सकिन्न । आफ्नो विचारमा आधा घण्टासम्म अड्न नसक्ने यिनको प्रवृत्ति छ । थापाबाहेक लेखराज भट्ट, टोपबहादुर रायामाझी, मणि थापाको कदकाँटी अनुसारको पद दिनु ओलीलाई यसै हम्मे छ । पूर्व माओवादी ओलीको आशिर्वाद बाहेक आउने सम्भावना पनि छैन । यसैले उनीहरु सर्वसम्मतको रटान लगाएर बसेका छन् । ओली पाल्सी तरुप हालेर सबैलाई झुक्याउन सफल भैराखेका छन् । बत्तीमा छिचिमिरा रमाए झैं सबै रमाएका छन् ।

यस्तै दश भैयादमध्ये अष्टलक्ष्मी शाक्यलाई जेष्ठ कम्युनिष्ट मञ्च वा सल्लाहकार नामको ‘बृद्धाश्रम’मा पठाए अमृत बोहराको घर फिर्ती होला । युवराज ज्ञवालीलाई अनुशासन आयोगमा थन्क्याए तीन भैयाद ठेगान लाग्लान । ‘बैगुनी केटो’ योगेश भट्टराईले ओलीमा समर्पण गरेवापत खाइपाइ आएको केही पाउलान । तर घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, भिम आचार्य, सुरेन्द्र पाण्डेलाई थन्क्याउने कुनै मेलोमेसो छैन । यसरी दश भैयाद तितरवितर हुनेछन् । यिनले छापामार शैलीले महाधिवेशनमा हमला बोल्लान भन्ने त छँदैछैन । ओली गुटको बामाले गणितले भागा गर्दा शेषफल यस्तै निस्कन्छ ।

ओलीलाई ‘बा’को हैसियत दिने विश्णु पौडेल वा शंकर पोखरेललाई महासचिवमा नलगि भएको छैन । तर, सुवास नेम्बाङ, प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, विश्णु रिमाल, निरु पाल, किरण गुरुङ, गुरु बराल, खगराज अधिकारी, देवराज घिमिरे, बिन्दा पाण्डे, राधा ज्ञावाली, पद्मा अर्याल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, छविलाल विश्वकर्मा, राष्ट्रपति पुत्रीसहित दर्जन बढी ओलीकणलाई ओलीको दायाँबायाँ राख्नु त्यत्तिकै जरुरी छ । पूर्व माओवादी, दश बँुदेका एकाध भैयाद र ओलीकणलाई १५ पदाधिकारीमा मिलान गर्न ओलीलाई फलामकै चिउरा चपाउनु सरह हुनेछ । ओलीले मुख खोलेका छैनन् । पत्रकार सम्मेलनमा मुख त खोले तर, पुरै पाल्सी कुरा गरेर सबैलाई ओली आश्रित बनाइ दिए । सबैले ओलीतिर फर्केर थुक निल्दै बस्ने बनाइ दिए । ओलीको पत्रकार सम्मेलनको भाषाले ओलीबाहेक कसैको पनि अर्थ नरहेको हेक्का गराई दिए ।

बामाले बटुक :

यसकारण यो पार्टी ‘केपी ओली आइ लब य’ु ‘थिम‘मा ओलीमय बामाले हुन पुगेको हो । ओली बामाले जनमा ओली ‘राजनेता‘ र ‘फादर अफ दी नेसन’ ‘बा’ भएका छन् । कम्युनिष्ट पार्टीका सिद्धान्तकारहरुलाई एक हदसम्म प्राधिकारसम्म हुने छुट छ । तर ओली भने बामालेका प्रमुख ’पादरी‘ नै भए । यिनले बप्तिासा नगरुन्जेल कोही पनि बामाले बटुक हुनेछैनन् ।

अरण्यरोदन :

जम्बो केन्द्रीय समितिमा पर्ने कुरा त हटियाकै मण्डी जस्तो हुनेछ । बढी बोलकबोल गर्नेले मण्डीमा भागशान्ति पाउनेछ । सामाजिक सञ्जालका भित्ताहरुमा कथित एमाले कणले केन्द्रीय सदस्यको गुहार लगाएका छन् । तर यो उनीहरुको घाटमा पुगेर अरण्यरोदन गरे जस्तो मात्रै हो । यसकारण पनि बामाले अधिवेशनको पूर्वसन्ध्यामा पनि मुर्दा शान्ति छाएको छ ।

बामालेले अधिवेशनको रौनक ल्याउन गैंडाको सहारा लिँदा पहिलो गाँसमै ढुंगा परेजस्तै भयो । बेलुन, रिङ टोन, ड्रोन क्यामेर जे उडाए पनि, अनेक उपाय निकाल्दा पनि महाधिवेशनको लहर आउने छाँट छैन । सामाजिक सञ्जालमा खिल्ली उडाएको हेर्दा त बामालेको भविष्य नारायणी नदी किनारमा विसर्जन गरेर फर्के जस्तै हुनेछ ।

काट्टो र काट्टे :

हिन्दू धार्मिक संस्कारमा मृतकको नाममा गरिने संस्कारलाई काट्टो भनिन्छ । मरेको एघारौं दिनमा मृतकका उद्वेश्यले खुवाइने भोजन तथा दान गरिने वस्तुको नाम काट्टो हो । बलैले खानुपर्ने तुच्छ खाने कुरा काट्टो हो । बिरालाको बिष्टालाई पनि काट्टो भनिन्छ । एघारौं दिनमा मृतकका नाउँमा दिएको अन्न हसुर्ने अर्थात काट्टो खानेलाई काट्टे भनिन्छ । त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द ‘काट्टे बाहुन’ हो ।

तर, राजनैतिक संस्कारमा काट्टो खाने र काट्टे हुने गुन्जायस हुन्न । राजनीतिले जहिल्यै पनि वैचारिक विद्रोहको माग गर्दछ । एमालेमा दुइवटा विद्रोह भैसकेको छ । पहिलो विद्रोह अशोक राईहरुले गरे । दोस्रो विद्रोह माधव नेपालहरुले गरे । यसरी एमालेमा भुलेभड्के बाहेक राजनैतिक मनुवाहरु अब छैनन् । यसैले एमाले रामनामी दर्शनको गैंडावादी बामाले भएको हो । यसर्थ त्यहाँ रहेकाहरु तुच्छतापूर्वक पनि पदमा बस्ने कसरत गर्छन् । राजनीतिमा मागेर काट्टो खाने काम कसैले गर्दैन र काट्टे बन्ने भनिने त काम गर्दैन । तर, बामालेमा यो सब आदर्श नै हुन्छ ।

bhawanibaral@gmail.com

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #amale, #breaking


तपाईको प्रतिक्रिया दिनुहोस