Techie IT
×
गृहपृष्ठबिचारनेपालीलाई भारतीय सेनामा कहिलेसम्म पठाइरहने ?

नेपालीलाई भारतीय सेनामा कहिलेसम्म पठाइरहने ?


 

सन् २०२० को जुन १५ अर्थात गत असार १ गते नेपालका दुई छिमेकी देश भारत र चीनका सैनिकबीच लद्दाख उपत्यकाको गल्वानमा भएको भिडन्तपछि लगत्तै अर्काे साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले रुसको भ्रमण गरेर थप २.४ अर्ब अमेरिकी डलरको नयाँ युद्धक विमान खरिदको सम्झौता गरेका छन् । भारतले रुससँग पहिल्यै एस–चार सय मिसाइल डिफेन्स प्रणाली खरीदका लागि ५.४३ अर्ब अमेरिकी डलरको सम्झोैता गरिसकेको थियो ।

भारतले रुससँग शक्तिशाली हतियार खरिदका लागि हतारमा सम्झौता गरेपछि धेरैले भारत र चीनबीच युद्ध हुनसक्ने अनुमान गर्दै आएका छन् । प्रतिस्पर्धी भारतले रुससँग अर्बौं डलरमा शक्तिशाली शश्त्र खरिदको सम्झोैता गरेको समाचारबारे चीन जानकार छ । उक्त समाचारप्रति लक्षित गर्दै हङकङ बस्दै आएका चीनका रक्षा मामला विज्ञ एवम् सैन्य मामलाका विश्लेषक सङ जोनपिङले भनेका छन्, भारतले धेरै मूल्यका हतियार किन्न सक्छ तर युद्ध लड्ने वास्तविक क्षमता वा सैनिक मनोबल किन्न सक्दैन ।

हो ! युद्ध लड्न आधुनिक र शक्तिशाली हतियार आवश्यक पर्दछ । तर जतिसुकै शक्तिशाली हतियार भएता पनि युद्धमा विजयका लागी आफ्ना सैनिकमा मनोबल चाहिन्छ । युद्ध लड्न र विजय हात पार्न आवस्यक पर्ने सैनिक मनोबल भारतीय मुलका सैनिकमा निकै कमी छ । यो कुरा चीन राम्रोसँग जान्दछ । बिश्लेषक जोनपिङको भनाइ भारतीय मुलका सेैनिकको मनोबलमाथि लक्षित छ ।

युद्धका लागि शक्तिशाली हतियार र सैनिकको मनोबलसँग आवश्यक तेस्रो अपरिहार्य कुरा मित्र देशको सहयोग पनि हो । अर्थात् मित्र बल पनि हो । प्राचीन भारतका सैन्य चिन्तक कौटिल्यले कार्यकुशलता, योग्यता, वेतन आदि समेतलाई आधार मानेर सेनालाई छ फरक प्रकारमा बाडेका छन् । ती छ प्रकारका सेना, मौेल, भृतक, श्रेणी, मित्र, अमित्र र अटवी हुन् । उपरोक्त छ फरक प्रकारका सैनिकमध्ये युद्ध हारजितमा मित्र (देशका) सेनाको पनि धेरै ठूलो भूमिका हुन्छ । रामायणको राम–रावण युद्धमा रामको विजयमा मित्र सेनाको साथ थियो । महाभारतको कुरु क्षेत्रको युद्धमा ठूलो संख्याका सैनिक मात्र होइनन् कौरव र पाण्डव पक्षका सेनापतिहरु नै मित्र सेनाका थिए । पहिलो र दोस्रो महायुद्ध, युरोपका ठूला युद्ध मित्र सेनाकै कारण परिणाम उल्टिएका उदाहरण अनेकौ छन् ।

प्राचीनकालदेखि नेपालले पनि साना–ठूला युद्ध लड्दै आएको छ । इतिहासमा नेपालले लिच्छवीकालदेखि छिमेकी देशलाई सैनिक सहयोग दिदै आएको पाइन्छ । अर्थात नेपालले छिमेकी देशलाई मित्र मानेर युद्धमा सहयोगार्थ पटकपटक मित्र बल पठाएको छ । नेपालले छिमेकी देशलाई दुई प्रकारबाट सैनिक सहायता दिएको छ । पहिलो, नेपाल राष्ट्रले सङ्गठित गरेको राष्ट्रिय सेना खटाएर । दोस्रो, नेपाली युवा मित्र देशको राष्ट्रिय सेनामा भर्ति हुन पठाएर । यी दुई सहयोगमध्ये यस अध्यायमा यहाँ नेपालको राष्ट्रिय सेना छिमेकी देशमा मित्र सेनाका रुपमा खटाइएका सन्दर्भबारे चर्चा गरिएको छ ।

नेपालको सैनिक इतिहास (तुलसीराम वैद्य र अरु, जंगी अड्डा, २०४९, पृ.१२) का अनुसार लिच्छवी राजा नरेन्द्रदेवका पालामा सन् ६४७ तिर चिनियाँ दुत वाङ छेन भारत कन्नौजका राजा हर्षवर्धनको दरवारमा अतिथिका रुपमा पुगेका थिए । राजाले चिनियाँ दुतलाई धेरै सम्पत्तिसहित विदा गरे । तर, राजाका सेनापति अरुणास्वले दुतलाई दिएको सबै सम्पत्ति लुटे । राजालाई मारेर आफैं शासक बने । चिनियाँ दुत मुस्किलले भागेर नेपाल आए । यो समाचार पाएर चीनले छिमेकी देशसँग सैनिक सहयोग मागेर कन्नौजमाथि आक्रमण गरेको थियो । सो युद्धमा तिव्वतबाट १२ सय सेैनिक पठाएको थियो । चीनका राजालाई नेपालका राजा नरेन्द्रदेवले छ हजार घोडचढी मित्र सैनिक सहयोगार्थ पठाएर अरुणास्वको हत्या गर्न, कन्नौज कव्जा गर्न सफल भएका थिए ।

त्यस युद्धमा चीनका सैनिक कम थिए । तिव्वती सेना १२ सय मात्र थिए । यदि नेपालका मित्र सेना थिएनन् भने चीन विजयी हुन कठिन थियो । नेपालले पठाएको मित्र सेनाले नैे निर्णायक युद्ध लडेका थिए । इतिहासमा नेपालले विदेशमा सैनिक सहयोग पठाएको पहिलो लिखित प्रमाण पाइने यही सैनिक सहयोग हो ।

सन् १७५७ पछि भारतमा शक्ति आर्जन गर्न सफल बेलायतको इष्ट इण्डिया कम्पनी सरकारविरुद्ध भारतीय मूलका सैनिक, पूर्व राजा रजोैटा एवम् जनताले सन् १८५७ मा गरेको विद्रोह नियन्त्रण गर्न तत्कालीन श्री ३ महाराज, प्रधानमन्त्री र प्रधानसेनापति जंगबहादुर कुंवर राणा २४ हजार भन्दा बढी सशस्त्र सैनिकसहित आफैं गएर अग्रेजविरोधी विद्रोह नियन्त्रण गर्न सफल भएका थिए । जंगबहादुर कुँवर राणा नेतृत्वको नेपाली सेनाको सहयोगमा भारतमा अंग्रेज उपनिवेस थप बलियो भएको थियो ।

सन् १९१४ देखि १८ सम्म भएको पहिलो विश्वयुद्धमा भारतमै रहेको बेलायतलाई नेपालले १५ हजार सशस्त्र सेैेनिक र ३७ हजार पाउण्ड स्टर्लिङ रकम समेत सहयोग गरेको थियो । नेपाली सेनाले पहिलो विश्वयुद्धमा विश्वका विभिन्न इलाकामा गएर अंग्रेजका विपक्षी खासगरी जर्मन सैनिकविरुद्ध युद्ध लडेका थिए । जर्मन सैनिकविरुद्धका निर्णायक युद्धमा नेपाली सेनाले जर्मन सैनिकलाई पराजीत गरिदिएका थिए । फलतः युद्धमा बेलायती गठबन्धन विजय भएको थियो ।

सन् १९१९ मा पहिलो विश्वयुद्धको समाप्ती लगत्तै बेलायत र अफगानिस्तानबीच युद्ध नजिकिएको थियो । अफगानिस्तानलाई सोभियत संघले सैनिक सहयोग दिने वचन दिएको थियो । पहिलो विश्वयुद्धमा बहादुरी देखाएको नेपाली सेनाको युद्धकौेशलबाट परिचित बेलायतले नेपाल सरकारसँग सैनिक सहयोग माग ग¥यो। तत्कालै नेपालका राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले करिब तीन हजार नेपाली सेना पठाए । नेपाली सेना हाल पाकिस्तानमा पर्ने अबोटावाद र नौसेरामा तेैनाथ गरिए । कुनै कारणवस सोभियत संघले अफगानिस्तानलाई सैनिक सहयोग गरेन । नेपाली सेनाको वीरताबाट परिचित अफगानिस्तान सरकार नेपाली/गोर्खाली सेनाबिरुद्ध लड्नुअघि नै अंग्रेज सरकारसँग सन्धि गर्न वाध्य भयो । नेपाली सेनाको अथवा मित्र बलको सहयोगले यस मामलामा अंग्रेज सरकार युद्ध नगरिकन नै अफगानिस्तानसँग आफ्ना माग पूरा गर्न सफल भएको थियो ।

 


सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धमा नेपालले भारतमा उपनिवेस बनाएको बेलायतलाई आठ हजार सशस्त्र सैनिक सहयोग गरेको थियो । दोस्रो विश्वयुद्धमा नेपाली सेनाले बेलायतका विपक्षी जर्मन र जापानका सैनिक बिरुद्ध युद्ध लडेका थिए । दोस्रो विश्वयुद्धमा नेपाली सैनिक जापानविरुद्धका अधिक मोर्चामा विजय भएका थिए । दोस्रो विश्वयुद्धमा पनि बेलायतको गठबन्धन विजय भएको थियो ।

सन् १९४७ मा बेलायतको उपनिबेशबाट स्वतन्त्र भएर भारत र पाकिस्तान अलग र स्वतन्त्र देश बनेपछि काश्मिर र हैदरावादको विवादले भारत र पाकिस्तानबीचको सम्बन्ध बिग्रियो । भारतमा शान्तिसुरक्षा कायम गर्न गम्भीर समस्या प¥यो । भारतका तत्कालीन प्रधानमन्त्री पं. जवाहरलाल नेहरुले भारतमा आन्तरिक सुरक्षा कायम गर्न नेपालसँग सेना पठाइदिन अनुरोध गरे । नेपालका तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराले ग्यारिजन ड्युटीका लागि भनेर जनरल शारदाशमशेर जबराको नेतृत्वमा १० हजार (५०० संख्याको २० पल्टन) नेपाली सेना ४ अगष्ट १९४७ मा भारत पठाएका थिए । नेपाली सेनाले भारतको हेैदरावाद, कलकत्ता, देहरादुन, राँची, रामगढ लगायतका स्थानमा शान्ति सुरक्षा कायम राख्न भारत सरकारलाई सहयोग गरेको थियो ।

चीन, बेलायत, भारतलाई दिएको सैनिक सहयोगबाहेक विश्वका द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्न नेपालले नेपाली सेना विश्वका विभिन्न स्थानमा सन् १९५८ देखि आजसम्म निरन्तर खटाइरहेको छ । करिब एक लाख ३५ हजार नेपाली सेैनिक शान्ति सैनिकका रुपमा सहभागी भएका छन् ।

नेपालले संयुक्त राष्ट्रसंघ र बेलायत, चीन, भारतजस्ता शक्तिशाली देशलाई सैेनिक सहयोग गरेको भए पनि नेपाल आफैंले आफ्नो अस्तित्वरक्षाका लागि लडेका युद्धमा मित्र सेनाको साथ पाएको छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा नेपालको पुनःएकीकरणअघिका नेपाल सरहदभित्रका राज्यबीचका युद्धमा मित्र सेनाको आदानप्रदान धेरै हुन्थ्यो । पृथ्वीनारायण शाहले पुनःएकीकरणका युद्धमा भक्तपुरलाई सैनिक सहयोग गरेको केही सन्दर्भलाई अपवाद मान्ने हो भने उनले मित्र राज्य बनाएर सके आफैंले सैेनिक सहयोग लिने तर अरुलाई नदिने नीति बनाएका थिए । साथै उनले आफूविरुद्ध विपक्षी राज्यहरु नमिलुन भन्नेतर्फ निकै ध्यान दिएका थिए । उनको नीति थियो छिमेकी राज्यलाई सकेसम्म आफ्नो पक्षमा पार्नु, नसके आफुविरुद्ध परिचालन हुनबाट तटस्थ राख्नु । उनको प्रयासका वावजुद लमजुङ, पाल्पा र पर्वत नेतृत्वका चौबीसी राज्यका सेनाको गठबन्धनले मिरकासिमका बंगाली सेना र अंग्रेज कप्तान किनलक नेतृत्वको सेनालाई पराजीत गर्न सफल गोर्खाली सेनालाई पटकपटक पराजित गरेका थिए । तसर्थ मित्र सेनाको बल र शक्ति के कति हुन्छ भन्नेमा गोर्खाली/नेपाली सेना राम्ररी जानकार थियो र छ ।

एकीकरणकालीन नेपाल सरहदका स–साना राज्यसँगका युद्धबाहेक नेपालले तत्कालीन स्वतन्त्र राज्य तिव्वतलाई एक्लै युद्ध लडेर पटकपटक पराजीत गरेको थियो । नेपालसँग पराजीत भएपछि तिब्बतले चीनसँग सैनिक सहयोग मागेको थियो । बहादुर शाहको नायवीकालमा बि.सं १८४९ मा नेपालले तिव्वत र चीनका संयुक्त सेनासँग रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो युद्ध लडेको थियो । शक्तिशाली चीनसँगको युद्ध लड्नुअघि नेपालले भारतमा शक्ति बढाइरहेको इष्ट इण्डिया कम्पनी (अंग्रेज) सँग सैनिक सहयोग मागेको थियो । तर, प्राप्त भएन । नेपाल एक्लैले चीनको आक्रमण रोकेर वेत्रावतीको सन्धि गरेको थियो ।

बि.सं.१८७२–७३ को नेपाल–अंग्रेज युद्धअघि नेपालले चीन, तिव्वत र भारतका त्यसबेलासम्म स्वतन्त्र रहेका पञ्जावको शिख, मराठा लगायतका मित्रसँग सैनिक सहयोग मागेको थियो । मुख्तियार भीमसेन थापाको पत्र लिएर ग्वालियरमा पं.पद्ममणी शर्मा तथा खरिदार पृथ्वीबिलास पन्जाव र मराठा शासकसमक्ष गएका थिए । तर, नेपालले कुनै छिमेकीबाट सैेनिक सहयोग पाउन सकेन ।

एकीकरणकाल र राणाकालपछिको सरकारले छिमेकी देशबीचको युद्धमा मित्र बल भनेर सशस्त्र सेना सहयोग गरेको छैन । तर त्यसयता आजका दिनसम्म नेपाली युवाहरु छिमेकी देशका राष्ट्रिय सेनामा भर्ति भएर अर्काे छिमेकी देशविरुद्धको युद्धमा परिचालित भइरहेका छन् । नेपालले बि.सं.२००७ पछि असंलग्न र तटस्थ नीति लिएको छ तर आफ्ना युवा एउटा छिमेकी देशका सैनिक बनेर अर्को छिमेकी देशविरुद्ध लडिरहेका छन्, मरिरहेका छन् । प्रतिपक्षमा हुँदा विदेशी सेनामा भर्ति बन्द गर्ने उदघोष गर्दै आएको कम्युनिष्ट पार्टीको संसदमा करिव दुई तिहाई मत हुँदा पनि हिजो आफैंले उठान गर्दै आएको जल्दोबल्दो विषयप्रति नेकपा सरकार र संसद मौन रहनु आश्चर्य छ ।

मित्र सेना पाउन नसकेको तर निरन्तर मित्र सेना पठाउँदै आएको नेपालको सन्दर्भ भन्दा चीन र भारतको सन्दर्भ फरक छ । चीन सकेसम्म युद्ध नगर्ने यदि युद्ध गर्नैे परेमा छिमेकी देशका सेनाको सहयोग नमाग्ने र आपूmविरुद्ध छिमेकी देशका सेनालाई र विश्वका शक्तिशाली देशका सेनालाई तटस्थ राख्ने रणनीतिमा छ । अर्काे छिमेकी भारत छिमेकी देशसँग सैनिक सहयोग माग्छ तर पाउने अवस्थामा छैन । हाल भारतीय सेनामा नेपाली र नेपाली मुलका भारतीय युवा समेत कार्यरत छन् । पछिल्लो दिनमा भारतले विदेशी सैन्य विज्ञलाई गुप्तरुपमा भारतीय सैेनिक सल्लाहकार नियुक्त गरेको चर्चा छ । भारतले दक्षिण एशियाका साना छिमेकी देशवाहेक रुस, अमेरिका र युरोपियन मुलुकबाट शक्तिशाली हतियार र विज्ञ सैनिक सहयोग माग गरिरहेको छ । यो एकप्रकारको मित्र सेना वा बलको खोजी हो ।

भारतलाई चीन र पाकिस्तानसँग निरन्तर युद्धमा अल्झिरहनु परेको छ । तसर्थ भारत विश्वकै सबैभन्दा धेरेै मूल्यका शक्तिशाली हतियार किन्ने देश हो । विगत १० वर्षमा भारतले विश्वमै सबैभन्दा धेरै मूल्यको हतियार किनेको स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले उल्लेख गरेको छ । सन् २००० यता भारतले बिदेशबाट ५१ अर्ब अमेरिकी डलर र रुसबाट मात्र ३५ अर्ब अमेरिकी डलरको हतियार किनेको छ । तर, भारतले सोचे अनुरुप मनोबल र मित्र बल पाउन सकेको छैन । यही सत्यलाई मध्यनजर गर्दै चीनका सैन्य विज्ञले भारतको विदेशी हतियार मोह र भारतीय सेनाको युद्ध लड्ने मनोबल बारेमा सटिक टिप्पणी गरेका हुन् ।

भारत अंग्रेज र इस्लाम अतिक्रमणअघिको भारतीय सैन्य नीतिप्रति झुकाव त राख्दछ तर तदनुरुप सैन्य नीति अवलम्वन गर्न सकिरहेको छैन । उसले महङ्गो विदेशी हतियारप्रति मोह राखेको छ तर आफ्ना सेनाको मनोबल र मित्र बलको भूमिकाप्रति नजरअन्दाज गरिरहेको छ । त्यसैले भारत सैन्य मामलामा शक्तिशाली विपक्षीसँग निरन्तर असफल बनिरहेको छ । ऊ अझै असफल दिशातर्फ नै अग्रसर छ ।

दुःखको कुरा ! भारत जसरी तेस्रो देशको ‘मित्र बल’ पाउन असफल छ त्यसरी नै नेपाल आफ्नै देशका युवालाई ‘मित्र बल’ के कतिन्जेल बनाइरहने ? भन्ने सवालमा रनभुल्ल छ । अन्योलमा छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार