Techie IT
×
गृहपृष्ठबिचारगोर्खा भर्ति र अवको विकल्प

गोर्खा भर्ति र अवको विकल्प


मोहन थापा

यही असार २६ गते शुक्रबार बिहान गोरखा, आरुघाट गाउ“पालिका मान्बुका ३६ बर्षीय सम्बर गुरुङको भारत अधीनस्थ काश्मिरको रजौरी जिल्लाको नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाले प्रहार गरेको गोली लागेर मृत्यु भएको छ । उनी विगत १८ बर्षदेखि भारतीय सेनामा कार्यरत थिए ।

यसअघि यही असार ८ गते भारत अधीनमा रहेको जम्मु काश्मिरको नौसेरा क्षेत्रमै भारतको सीमा रक्षा गर्दागर्दै, भारतीय सेनामा कार्यरत गुल्मी घर भएका ३७ बर्षीय दीपक कार्कीको पाकिस्तानी सेनाको गोली लागेर मृत्यु भएको थियो । एक महिनाको समयावधिमा दुई नेपाली युवाले भारत–पाकिस्तान सीमा विवादमा ज्यान गुमाएका छन् ।

गत मंसीरमा गोरखाको रिप गाउ“का २५ वर्षीय युवा अर्जुन थापा मगरले जम्मु काश्मिरमै भारतीय सैनिक बनेर भारतको सीमा बचाउन प्रयासरत रहेकै अवस्थामा ज्यान गुमाएका थिए । सम्बर गुरुङ, दीपक कार्की र अर्जुन थापामगर मात्र होइनन् भारतको समवेदनशील र विवादित सीमा क्षेत्रमा दोहोरो गोलावारीमा परेर ज्यान गुमाउने भारतीय सेनामा कार्यरत नेपाली युवाको संख्या धेरै छ ।

दक्षिणी छिमेकी देश भारतको छिमेकी चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यान्मार, नेपाल, भुटानसँग तीतो सम्बन्ध छ । यीमध्ये छिमेकी देश चीन र पाकिस्तानसँग सीमा विवाद जटिल छ । भारतको चीन र पाकिस्तानसँग पटकपटक युद्ध समेत भएको छ र सीमा इलाकामा तैनाथ सैनिकबीच नियमितजस्तै सशस्त्र र निशस्त्र झडप भइरहन्छ ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वतन्त्र भारतको राष्ट्रिय सेनामा नेपाली युवाहरु कार्यरत छन् । भारतीय राष्ट्रिय सेनामा गोर्खा पल्टनका ३९ बटालियन (गण) छन् । हरेक बटालियनमा आठ सय ५६ दरबन्दी हुन्छ । भारतमा इन्दिरा गान्धी प्रधानमन्त्री छदा भारतीय सरकारले शिखविरुद्ध सेना परिचालन गरेको र सो घटनाबाट रुष्ट शिख सैनिकबाट प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि त्यसबाट पाठ सिकेर भारतले नेपाली युवा मात्र सम्मिलित गोर्खा बटालियनमा भारतीय मूलका युवासमेत मिसाएको छ । तथापि भारतीय सेनाको गोर्खा बटालियनका अलावा नेपाली युवा भारतीय राष्ट्रिय सेनाको वायु सेना, नेभी, आसाम रायफल्स लगायत अधिक निकायमा कार्यरत छन् । भारतीय राष्ट्रिय सेनामा हाल ४० हजारभन्दा बढी संख्यामा नेपाली युवा कार्यरत छन् । यो बाहेक करिब २५ हजार भारतमै बसोवास गर्दै आएका नेपाली मूलका भारतीय युवाहरु भारतीय राष्ट्रिय सेनामा कार्यरत छन् ।

भारत विविधतायुक्त देश हो । भारतमा हज्जारौं वर्षदेखि फरक जाति, धर्म, सम्प्रदाय, भेषभुषा, रहनसहन र परम्परा मान्दै आएका मानिसहरुको वसोवास छ । भारतको राष्ट्रिय सेनामा भारतका प्रायः सबै क्षेत्र र जातजातिहरुको सहभागिता छ । तर, पनि शिख र गोर्खाली युवालाई भारतीय राष्ट्रिय सेनामा विशेष प्राथमिकता दिइन्छ । शिख र गोर्खाली युवाले भारतमा बेलायती शासन छदादेखि नै भारतमा भएका युद्ध, आन्तरिक विद्रोह र अन्य जटिल परिस्थितिमा अतुलनीय साहस एवम् वीरता प्रदर्शन गर्दै आएका छन् । स्वतन्त्र भएदेखि नै भारतले निरन्तर छिमेकी देशसं“ग सीमा विवादमा सैन्य आक्रमण र प्रत्याक्रमणको सामना गर्दै आएको छ । भारतका यी सबै संकट, युद्ध र साना ठूला सशस्त्र झडपमा भारतका तर्फबाट शिख र गोर्खाली युवालाई अग्रमोर्चामा खटाउने गरिन्छ । स्वतन्त्र भए यता भारतले चीन र पाकिस्तानविरुद्ध लडेका हरेक युद्धमा हजारौं गोरखाली वा नेपाली युवाले भाग लिएका छन् र धेरैले ज्यान गुमाएका छन् । युद्ध घोषणा नभएको हालको परिस्थितिमा पनि नेपाली युवाले ज्यान गुमाइरहेका छन् ।

सीमा समस्या भारतको हो । चीन र पाकिस्तानको वैमनस्यता पनि भारतसँग हो । तर, भारतीय सीमामा गोली चल्दा नेपाली युवाले ज्यान गुमाइरहने राणाकालीन परिस्थिति गणतन्त्र नेपालमा पनि यथावत छ । हामी सबैलाई थाहा छ नेपाल र पाकिस्तान मित्र देश हुन् । नेपाल र चीन त झन् छिमेकी र निकटका मित्र देश हुन । नेपालको पाकिस्तानसँग सीमा समस्या छैन । राजनीतिक वैरभाव छैन । सैन्य दुस्मनी पनि छैन । चीन छिमेकी र सीमा जोडिएको देश हो तर पनि चीन र नेपालबीच सीमामा कुनेै वैरभाव छैन । सैन्य दुस्मनी छैन । चीन र पाकिस्तानसँग नेपालको कुनेै विवाद छैन । तर, पनि नेपाली युवा चीन र पाकिस्तानी सेनासँग सशश्त्र आमनेसामने भइरहेका छन् ।

मार्न उद्यत छन् र मरिरहेका छन् । यसको ठीक विपरीत छिमेकी भारतले नेपालको सीमा मिचेको आवाज विगत केैयौं वर्षदेखि चर्काे रुपमा उठिरहेको छ । नेपाली युवाहरु नेपालको सीमा सुरक्षामा परिचालन हुन ढिला भइरहेको विषयमा नेपाली जनमत परिपक्व बन्दै गएको छ । के अब पनि भारतीय सीमा रक्षामा नेपाली युवाको समर्पणलाई चुपचाप सहिरहने हो त ? नेपाल सरकार अझै नदेखे झैं गरेर आँखा चिम्लेर बसिरहने हो र ?

वैदेशिक रोजगारीका सिलसिलामा आज नेपाली युवा विश्वका कैयौं देशमा कार्यरत छन् । सुरुमा बेलायतको इष्ट इण्डिया कम्पनीका सेनामा र तत्कालीन पन्जावका महाराजा रणजितसिंहका सेनामा मात्र जागिरे नेपाली युवाहरु हालका दिनमा बेलायत र भारतबाहेक फ्रान्स, इटली, संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सेनामा पनि भर्ति भएका छन् । सिंगापुर र अरबका देशमा सुरक्षा कार्यमा संलग्न छन् । तर, ती देशका सेना र सुरक्षा निकायमा कार्यरत नेपाली युवाले पछिल्ला केही वर्षयता नेपालका मित्र देशका सेनाविरुद्ध परिचालन हुनु परेको छैन । बेलायत, फ्रान्स, इटली, अमेरिका, सिंगापुर र अरब प्रायद्वीपको सन्दर्भ नेपालको भारत, पाकिस्तान र चीनको सन्दर्भ भन्दा निकै फरक छ । यो फरक अति संवेदनशील पक्ष हो । यो संवेदनशीलतालाई नेपालले आत्मसात गर्न सक्नुपर्दछ । भारतीय सीमा रक्षामा नेपाली युवाको ज्यान जाने घटनालाई रोक्न अब तत्कालै नेपाल सरकारले सुरक्षित पहलकदमी लिनु पर्दछ ।

नेपालीहरु बिश्वका अरु देशमा झैं भारतमा पनि जुनसुकै सेवामा काम गर्न सक्छन । भारतीय सेनामा पनि काम गर्न सक्छन । तर विश्वका जुनसुकैे देशले अन्य सेवा र सैन्य सेवाबीचको फरक महसुस गरेको हुन्छ । सैन्य सेवाको संवेदनशीलतालाई आत्मसात गरेको हुन्छ । गरिरहेका छन् । यो संवेदनशीलतालाई भारत सरकारले पनि आत्मसात गरोस् भन्ने हाम्रो अपेक्षा हो । सीमा जोडिएका छिमेकी देशका युवालाई आफ्नो सीमा रक्षार्थ अर्काे देशविरुद्ध परिचालन गर्नु सैन्य सेवाको संवेदनशीलतालाई आत्मसात नगर्नु हो । पहिलो बिश्वयुद्ध, दोस्रो बिश्वयुद्ध र भारत–पाकिस्तान बिभाजित भएपछि भड्किएको हिन्दु मुस्लिम दङ्गामा भारतमा रहेका तत्कालीन सरकारको अनुरोधमा पठाइएका नेपाली सैनिकलाई ग्यारिजन ड्युटीमा मात्र खटाउने शर्त थियो । हिन्दु जाति र नेपालबिरुद्ध परिचालन नगर्ने भद्र सहमति थियो । अवका दिनमा नेपाल सरकारको तत्परतामा भारत सरकारसँग नेपाली युवालाई भारतीय राष्ट्रिय सेनामा भर्ति गर्ने र युद्धमा खटाउने सन्दर्भमा अलग्गै वार्ता हुन जरुरी छ । भारतीय सेनामा भर्ति हुन पठाउने नेपाली परिवारसँग नेपाल सरकारले बिस्तृत छलफल गर्न आवस्यक छ । भारतीय सेनामा नेपाली युवाको भर्तिका सम्बन्धमा नेपालका बौद्धिक वर्गबीच, विश्वबिद्यालयहरुमा र संसदमा बहस गरिन आवस्यक छ ।

नेपाल सरकार र भारत सरकारबीच गोर्खा भर्ति र सैनिक परिचालनका सन्दर्भमा तत्कालै वार्ता हुनु पर्दछ । सर्वप्रथम त भारत सरकार र नेपाल सरकारबीच भद्र सहमति हुनु सबैको हितमा छ । वहालमा रहेका नेपाली मूलका भारतीय सैनिकलाई चीन र पाकिस्तानसं“गको सीमामा अबका दिनमा खटाइने छैन भनेर भारत सरकारले नेपाललाई बचन दिनुपर्दछ र पालन गर्नुपर्दछ । यो बुँदामा भारत सरकारले सहमति जनाएको अवस्थामा मात्र भोलिका दिनमा नेपाली युवालाई भारतीय राष्ट्रिय सेनामा भर्ति हुन अनुमति दिने वा नदिने भन्ने निर्णय नेपाल सरकारले गर्नुपर्दछ । अन्यथा नेपाल एक्लैले एकतर्फीरुपमा नेपाली युवाको भविष्यका बारेमा निर्णय लिन सक्नुपर्दछ ।

यो नै नेपाल सरकारका लागि आजको अन्तिम विकल्प हो । नेपाली युवाको अकाल मृत्यु टार्ने र नेपालले छिमेकी देशबीचको विवादमा तटस्थ रहने नीतिको इमान्दार परिपालन पनि हो । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार