यदि सबै कुरा पार्टी एकताको मर्म र भावना अनुसार चलिदिएको हुन्थ्यो भने अहिले सिङ्गो नेकपा पङ्क्ति असारे व्यस्ततामा रहेका देशभरका जनताको खेती किसानी कर्महरुका साथमा जोडिएको हुन्थ्यो । कोरोना भाइरस संक्रमणको महामारीमा परेका जनताको सुख दुःखका बीचमा पार्टी जोडिएको हुन्थ्यो । बाढी, पहिरो, डुबान तथा कटानको प्राकृतिक विपत्तिबाट प्रताडित जनताको पङ्क्तिसँगै नेकपाको देशभरको जनशक्ति जोडिएको हुन्थ्यो । त्यसले जनताका बीचमा नेकपाको नयाँ शक्ति र ऊर्जा प्रवाह गर्दथ्यो ।
तर, जे नहुनु पर्ने थियो, त्यही यथार्थ भइदिंदा नेकपा अहिले जनताको पीडा एकातिर, सरकार अर्कोतिर अनि पार्टी आन्तरिक कलहमा केन्द्रीत भइरहेका छन् । सत्तारुढ नेकपाले अहिले जुन नियतिमा आफ्नो पार्टी जीवन चलाइरहेको छ, त्यसले जनताको ठूलो पङ्क्तिमा पार्टी र सरकारप्रति जनताको भरोसा र विश्वासमाथि शङ्का उब्जाइ रहेको छ । जनता सङ्कटमा परेका बेला, प्रकृतिले नै आम मनुष्य जीवनलाई नै परिवर्तन र एकताका लागि निर्देशित गरिरहेका बेला दुई तिहाई बहुमतको जनादेशले सत्तामा पुगेको नेकपा आन्तरिक समस्यामा रुमल्लिनु निश्चिय नै दुःखद विडम्वना हो ।
स्थिति कतिसम्म दयनीय छ भने पार्टीको नसुल्झिरहेको आन्तरिक कलहले पार्टी बिभाजन उन्मुख भइरहेका बेलामा जनतामा निराशा छ भने स्वयं सरकारमा रहेका मन्त्रीहरु नै ढुक्कसँग कार्य सम्पादन गर्न फिल्डमा उत्रन सकेका छैनन् । केही साताअघि प्रधानमन्त्री केपी ओलीले नै मन्त्रीपरिषदको अनौपचारिक वैठकमा मन्त्रीहरुलाई पार्टीभित्रको विवादका बारेमा को कता लाग्ने हो कित्ता क्लियर गर्नु भन्ने उर्दीले स्वयम् सरकारमा रहेका मन्त्रीहरु नै कुहिरोको काग बनिरहेका छन् । राज्यको आर्थिक वर्ष समाप्तिको असारमा, मानो रोपेर मुरी फलाउने किसानको असारे महिनामा, जनता कोभिड १९ को कहरमा पिसिएको दुःखको यो बेलामा यसरी राज्यसत्ता संचालन गरिरहेको दल र उसको सरकार यसप्रकारका घर झगडामा उल्झिनु भनेको जनादेशको अपमान र आफ्नो मूल जिम्मेवारीबाट विमुख भएको उदाहरण नै हो ।
पार्टी स्थायी समितिको वैठकका एजेण्डाहरुलाई वारपार नगरी पटकपटक स्थगित हुनु र सरकार र पार्टीको झगडा सतहमा आउनुले नेकपाको पार्टी पङिक्तमात्रै होइन, आमजनतामा नै व्यापक निराशा बढेको छ । यस परिस्थितिमा पार्टीले शीघ्र आन्तरिक समस्या सुल्झाएर जनताको सेवामा पार्टी र सरकारको सम्पूर्ण शक्ति र सार्मथ्य केन्द्रित गर्नुको विकल्प छैन ।
पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा पनि यी सब विवादलाई थाती राखेर आफ्नोे निर्वाचन क्षेत्र चितवनका बाढी पीडित जनतासँग गएर एक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कम्तीमा सकारात्मक सन्देश प्रवाह गरे । उनले जनताको दुःखमा आफू पनि साथमा छु भन्ने सन्देश दिन आफू मतदाताहरुका बीचमा आइपुगेको विभिन्न मञ्चहरुमा स्पष्ट पारे ।
स्थानीय जनतासँगका साक्षात्कारका फरक फरक मञ्चहरुमा उनले पार्टीभित्र आफू र अर्का अध्यक्ष ओलीलाई उक्साउने, जुधाउने र लडाउनेहरुसँग आफू सचेत रहेको मात्रै बताएनन, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने गरी आफूले पार्टी एकता विरोधी कुनै कृत्य नगरेको र नगर्ने प्रतिवद्धता पनि जनाए ।
दुई अध्यक्षकै बीचको पदीय जिम्मेवारी र काम गराइका मतभिन्नता लगायतका मुद्दामा विवादित र विभाजनउन्मुख नेकपाको आन्तरिक कलहमा आगोमा घिउ थप्न खोज्नेहरुसँग कम्तिमा आफू सचेत रहेको अध्यक्ष प्रचण्डले पछिल्लो चितवन भ्रमणका क्रममा स्पष्ट पारे । उनले आफै अगुवा भएर जनताको पीर मर्काका वीचमा पार्टी पनि हाजिर छ भन्ने सन्देश पनि दिए । सत्तारुढ दलका कार्यकारी अध्यक्षका हैसियतमा उनले यस्तो अभियान देशभर सञ्चालन गर्नुपर्छ ।
यसप्रकारको काम र व्यवहार सिङ्गै पार्टी पङ्क्तिबाट हुन जरुरी थियो । अझै पनि पार्टीले यस्तो शैली र व्यवहारका साथ जनतासँग जोडिन सके त्यो झन् उत्तम हुनेछ । किनभने नेकपाका लागि यो जनताको सेवा, आराधना र सम्मान गर्ने मुख्य घडी हो । चुनावताका दलहरुले, नेताहरुले जनता खोजे जस्तो, अहिले जनताले नेताहरु र सरकार खोजेको बेला हो यो ।
एकतामा नै बल हुन्छ र विवादका कारण हुने कुनै पनि विभाजन आफैमा विनासको बाटो हो भन्ने विवादित दुवै पक्षलाई राम्रोसँग हेक्का रहेको तथ्य हो । त्यसैले कुनै पनि पक्षले एकाङ्की मनोविज्ञानका आधारमा पार्टी एकताविरोधी कुनै पनि जोखिम मोल्नु हुँदैन । यहाँ गुटको सुदृढीकरण र पार्टी विधि, पद्धति र नीतिको निरन्तर क्षयीकरण गर्ने मूल नेतृत्वको वारम्वारको भुलले नै नेकपालाई यो स्तरको समस्याको खाडलमा पु¥याएको हो ।
समस्याभित्रै समाधानका सूत्र पनि हुन्छन भन्ने पनि नेकपाका शीर्ष नेताहरुलाई थाहा छ । आमकार्यकर्ता र जनताको शुभेच्छा पार्टीको एकता र सरकारको प्रभावकारिता वृद्धिका पक्षमा छ भन्ने पनि सत्य पनि शीर्ष नेतृत्वलाई राम्रोसँग थाहा छ ।
त्यसैले अब सुरु हुने स्थायी समितिको अवरुद्ध वैठकमार्फत सत्तारुढ नेकपाले अब पार्टी एकताको सुदृढीकरण तथा सरकारको कार्यशली परिवर्तन र प्रभावकारिता वृद्धिका लागि नयाँ दिशा निर्देश गर्न सक्नैपर्छ । यसको कुनै पनि विकल्प छैन ।
नेकपा आन्तरिक समस्याको यो उच्च विन्दुमा आइपुग्दाको कोबाट के के गल्ती कमजोरी भए र ती कमीकमजोरीहरु किन बढोत्तरी गतिमा रहे भन्ने कुरा मूल नेतृत्वले ठण्डा दिल दिमागले पुनर्समीक्षा गर्नैपर्छ । मुलतः पार्टी एकताका दुई सारथी दुई अध्यक्ष नै हुन भने अहिलेका पार्टीदेिख सरकारको डेलिभरीमा देखिएका सबै समस्याको निकास दिने दायित्व पनि दुई अध्यक्षकै हो । यसमा सडकमा शक्ति देखाएर वा मेरो गोरुको बाह्रै टक्का गरेर दुबै अध्यक्षले लक्ष्य चुम्न सक्ने छैनन् ।
नेकपामा वर्तमान विसङ्गत स्थितिको कारक र कारणबारे प्रचण्डको चितवनका पछिल्ला अभिव्यक्तिहरुले पनि एकखालको सङ्केत गरेको छ । अहिले शीर्ष नेताहरुको महत्वाकाङ्क्षामा बेमौसमी मलजल गरेर नेताहरुलाई फुटाउने र आफ्नो स्वार्थको रोटी सेक्ने तत्व पार्टीभित्रै हावी रहेको भन्ने प्रचण्डको स्वीकारोक्तिले दिएको मूल शिक्षा के हो भने दुई अध्यक्षले नै त्यस्ता स्वार्थीहरुको घेराबन्दी तोड्न सक्नुप¥यो । आफू गलत मानिसहरुबाट घेरिने र आपसमा नै जुधेर जनता, कार्यकर्ताको भावनामा ठेस पु¥याउने गल्ती कम्तिमा अब नदोहो¥याउनेतर्फ पहिले दुई अध्यक्ष र शीर्ष नेतृत्व सचेत र रुपान्तरित हुनैप-यो ।
माथिदेखि तलसम्म सबैको पहिले रुपान्तरण अनि एकता, एकतामाथि झन् बलियो र सुदृढ एकता नै नेकपा र समयको आजको आवश्यकता हो । यसका लागि अब बस्ने स्थायी समिति वैठक एक कोसेढुङ्गा बन्न सक्नुपर्छ । नेकपाले देश र जनताका सामु पुरा गर्नुपर्ने युगीन कार्यभारहरु बिर्सेर आफैमा सधै लडाई गरेर सुनौलो समय र मौका गुमाउनु हुँदैन ।
सरकारमा रहेकाहरुले बुझनै पर्छ कि सरकारको मोर्चा जनतालाई संकटका बेला सेवा गरेर जनताको मन जित्ने मामलामा कमजोर छ । पाँच वर्षे सत्ता अवधि पाएको सरकारले जनताको मन जित्ने गरी काम गर्न, सुशासन दिन र पार्टीको चुनावी घोषणापत्र र प्रतिवद्धता पूरा गर्नमा नै अब सम्पूर्ण ध्यान केन्द्रीत गर्नुको विकल्प छैन । पार्टी एकताका बाँकी कार्यभार पूरा गरेर अब पार्टी एकता, संगठन र शक्तिलाई थप बलियो बनाउनमा नै सबै नेताहरुको ध्यान जान ढिलो भयो भने पार्टी एकताले पूर्णता पाउने छैन ।
यी सबै कामगर्न दुई अध्यक्षले पार्टी एकताको सुरु दिनको धरातलमा फर्कने, त्यो एकताको परिवेश संझने र अघि बढ्ने आँट गर्न सक्नुपर्छ । दुबै अध्यक्षले पार्टीको नीति र विधिसम्मत अग्रयात्राका लागि आफूलाई रुपान्तरण गर्नुपर्छ । व्यक्तिको महत्वाकाँक्षाको व्यवस्थापन होइन, नीति, विधिको कार्यान्वयनमा चल्ने चलाउने पद्धतिमा दुई अध्यक्ष फर्कन तयार भए भने गुटको होइन, पार्टीको शक्ति र सरकारको प्रभावकारिता वृद्धि हुने निश्चित छ ।
जनतामा व्याप्त निराशा, आशंका र आक्रोशलाई त पुनः विश्वासमा बदल्ने रुपान्तरित र एकीकृत पार्टी शक्तिले नै हो । यो कुरा दुबै अध्यक्ष र शीर्ष नेता तथा सरकारमा रहेका सबैले संझेर सोही अनुसार अघि बढेमा मात्रै पनि समस्याभित्रै समाधान भेटिने पक्का छ । समयबद्ध साप्ताहिकबाट
क्याटेगोरी :
बिचार
ट्याग : #breaking