Techie IT
×
गृहपृष्ठबिचारनेकपाको यात्रा : गोरु भन्दा गाढा अगाडि !

नेकपाको यात्रा : गोरु भन्दा गाढा अगाडि !


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्पन्न भएपछि जारी स्थायी कमिटि बैठक साउन २ गते सम्मका लागि स्थगित भएको छ । देशमा मनसुनी वर्षाले गर्दा ठूलो जनधनको क्षती भएकाले गर्दा दुःख पिडामा परेका जनताको उद्धार र सेवा गर्न भन्दै बैठक स्थगित भएको हो । नेकपा कार्यकारी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृह जिल्ला चितवन गएका कारण प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि तीन दिनसम्म प्रचण्डको भेटघाट भएन । प्रचण्डले चितवन पुगेर आफुले हतारमा निर्णय गरेको भए पार्टीमा ठूलो दुर्घटना हुने सक्ने थियो भन्ने अभिब्यक्ति दिएका छन् । साथै प्रचण्डले पार्टीका शुभचिन्तक, कार्यकर्ता र पत्रकारसामू केही तत्व कहिले प्रधानमन्त्री र कहिले आफुलाई उचाल्न सक्रिय रहेको पनि बताए ।

गाढा अगाडि गोरु पछाडि

संसदीय राजनीतिमा सरकार भन्दा पार्टी महत्वपूर्ण र ठूलो मानिन्छ । कुनै पनि ब्यक्तिलाई चुनावमा उम्मेदवार बन्नका लागि टिकट दिने कि नदिने ? जनताका बिचमा जाँदा चाहिने एजेण्डा तथा प्रतबद्धतापत्र कस्तो तयार पार्ने ? पार्टीको अध्यक्ष, महासचिव वा अन्य जिम्मेवारीमा कसलाई लैजाने ? कसलाई संसदीय दलको नेता चयान गर्ने ? कसलाई प्रधानमन्त्री वा समानुपातिक सांसद बनाउने ? आदि जस्ता निर्णयहरु पार्टीले नै गर्छ । संसदीय राजनीतिमा दल भन्दा ठूलो केही र कोही पनि हुँदैन । प्रधानमन्त्री र मन्त्रीहरुले पनि पार्टीको निती, बिधि, पद्धती, सिद्धान्त र अनुशासन पालना गर्नै पर्छ । पार्टीको चुनावी एजेण्डा बिपरित काम गर्ने, आफुखुशी, एकलौटी निर्णय गरेर जनता, देश र दललाई नै दलदलको भासमा पुर्याउँने जो कसैलाई पार्टीले जिम्मेवारीबाट हटाउन सक्छ । जसरी अहिले सांसद सरिता गिरीलाई जसपाले सांसद पदबाट हटाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्यो, त्यसैगरी जुनसुकै पार्टीले आफ्नो दलका तर्फबाट सार्वजनिक महत्वका पदमा पठाएका ब्यक्तिलाई जिम्मेबारीबाट फिर्ता बोलाउन सक्छ, पाउँछ र बोलाउँछ ।

अहिले सत्तारुढ नेकपाको स्थिती पनि त्यस्तै देखिन्छ । नेकपाको बहुमत सचिवालय सदस्यहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन् । प्रधानमन्त्री स्वेच्छारी ढंगले चल्दै सरकार र पार्टीको बदनाम गरेको अधिकाँश नेकपाका नेताहरुको ठहर छ । नेकपाको सचिवालयले समस्याको समाधान निकाल्न नसकी स्थायी कमिटी डाकिएको हो । यद्यपी स्थायी कमिटी यतिबेला स्थगित छ र धारणा राख्ने अधिकाँश स्थायी कमिटी सदस्यहरुले ओलीको दुबै पदबाट राजीनामा मागेको स्थिती छ ।

फेरि यहीबेला नेपालका लागि चिनीयाँ राजदुत यान्छीले नेकपाका नेताहरुसँग भेटघाट गरेपछि ओलीको राजीनामा ‘बटम लाइन’को माग भनिएको एजेण्डा भने स्थगित हुने आँकल राजनीतिक बृत्तमा ब्यापक चर्चा छ । केपी ओलीको राजीनामाको एजेण्डा साउन २ गते बस्ने नेकपाको स्थायी कमिटि बैठकबाट ब्याक भयो भने ओली झन आफुलाई शक्तिशाली भएको ठान्ने छन् र स्थायी कमिटिलाई पनि झन पेल्ने गरी अघि बढ्ने छन् । पार्टी भित्र म नै सर्बैसार्वा हुँ भन्ने केपी ओलीको अहंकार, दम्भ झन बढ्ने छ र उनले अर्का अध्यक्ष प्रचण्डलाई भुसुनो जत्ति पनि भाउ दिने छैनन् !

दुनियाँमा अल्पमतले बहुमतलाई धम्क्याएर, झुकाएर र पेलेर अघि बढेको संसदीय दलको पछिल्लो उदाहरण कहिँ छ भने त्यो नेपाल नै हो भन्ने पछिल्लो राजनीतिक घटनाक्रमले नजिर स्थापना गरिदएको छ । यो स्थितीलाई आम सर्वसाधारण जनताले बुझ्ने भाषामा भन्नुपर्दा गोरु भन्दा गाढा अगाडिको संज्ञा दिँदा बढो सन्दर्भीक होला ।

सडकमा नेकपाको मुठभेड गराउने मनस्थिती

पछिल्लो बिकसित राजनीतीक घटनाक्रम अनुसार जव कार्यकारी अध्यक्ष प्रचण्ड लगायत बुहमत सचिवालय सदस्यबाट केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनु पर्ने माग जोडतोडले उठ्यो तव केपी ओलीको पक्षमा सडकमा केही कार्यकर्ताको झुण्ड देखियो । कोरोनालाई चुनौती दिँदै काठमाडौंबाट सुरु भएको उक्त झुण्ड बालुवाटारको रसद पानीमा देशका बिभिन्न सहरमा पनि देखिए । कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका सचिवालय सदस्यहरुले उक्त जुलुस तत्काल रोक्न प्रधानमन्त्रीसँग आग्रहसमेत गरे ।

यसबाट के प्रस्ट हुन्छ भने नेपालको नयाँ नक्सा जारी गरी राष्ट्रियताको पक्षमा दर्बिलो भएको कार्ड फ्याँक्दै पार्टीभित्रै अल्पमतमा परेका ओली र उनको गुटले सडकमा प्रचण्ड पक्षका कार्यकार्तासँग झडप गराउने र उल्टै आफ्नो पक्षमा सडकबाट सहानुभूति प्राप्त गर्ने । यसरी ‘तैँले सके तँ गर मैले सके म गर्छु’ भन्ने शैलीमा कम्युनिष्ट पार्टीहरु आपसमा भिड्दा त्यसको फाइदा भने अन्य पश्चगामी शक्तिहरुले लिने गरेको नेपालको ७ दशक लामो कम्युनिष्ट आन्दोलनमा देखिँदै आएको तीतो यथार्थ हो ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस