Techie IT
×
गृहपृष्ठबिचारएमाले हैन एमारले

एमाले हैन एमारले


भवानी बराल

न्वारनमा ए.मा. र ले. :

मुलतः नेकपा एमाले नेकपा ‘ए.मा.र ले’. पार्टी हो । साहना प्रधान र मनमोहन अधिकारी (साली–भेना)ले चलाएको पार्टी नेकपा (माक्र्सवादी) र नेकपा माले मिलेर बनेको पार्टी नै आजको नेकपा एमाले हो । पहिलो जनान्दोलन (०४६) पछि यी दुई पार्टी मिल्दा ‘एकीकृत माक्र्सवादी र लेनिनवादी’ कोष्ठभित्र राखिएको थियो । यो नै दर्तावाला नाम थियो । माक्र्सवादी र माले मिलेर बनेको भएकाले माक्र्सवादीहरुले आफ्नो अस्तित्व देखाउनैको लागि ढिपी गरेर बीचमा ‘र’ घुसाएका थिए । उता मालेजनले पनि माक्र्सवादीको ‘मा’ र लेनिनवादीको ‘ले’ परेकै हुनाले नाममा उती झुत्ती खेलेनन् । रह्यो कुरो ‘र’ को एमारले भन्दै जाँदा कालान्तरमा अपभ्रंस भएर एमाले हुने कुरोमा मालेजन ढुक्क थिए । आखिर भयो पनि त्यस्तै । एमारले नाम न्वारन भएको भए पनि सजिलोको लागि एमाले भन्न थालियो । एमालेमात्रै भनिनुमा पनि माक्र्सवादीको पतन पनि जिम्मेबार छ । यसको चर्चा तल गरिनेछ ।

हुद्धा बेगरका जर्नेल :

उतिखेर माक्र्सवादीमा घनटाउके नेता थिए । मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधिकारी, बलराम उपाध्याय, कमल कोइराला आदि । तर, तिनका पछाडि कार्यकर्ता थिएनन् । माक्र्सवादीमा देश विदेश कहलिएका एक से बढकर एक दारी जुंगा फुलेका, तालु खुइलिएका नेता थिए । संजोगबस बहुदल आइदियो तर तिनलाई फसाद प¥यो । राजनीतिको बेडा तार्ने माझीको जोगाड थिएन ।

उता मालेमा एक से एक बटारिएका कार्यकर्ता थिए । नेता त मालेमा पनि थिए । जेल नेल भोगेका, बाह्र हण्डर चौबीस थप्पड भेटेका तर एउटै तरेलीका । दारी जुँगा फुली नसकेका, तालु खुइली नसकेका गधा पच्चिसी उमेरमात्रै कटेका । माक्र्सवादीमा जर्नेल जस्ता नेता हुद्धा सुन्ना । मालेमा बटारिएका हजारौं हुद्धा तर कण्ट्रोल कमाण्ड गर्ने जर्नेल नास्ती ।

यस्तैमा माक्र्सवादीहरुलाई माले पार्टी बिदुर बूढाले ढल्कँदो उमेरमा स्याहार गर्ने कलकलाउँदी कान्छी श्रीमती भेटे जस्तै भयो । अझ नारायणी नदीमा ढुंगा खेलाउँदै जाँदा शीलाजित भेट्टाए जस्तै पनि भयो । माक्र्सवादी र मालेको ढिलो नगरी लगन जु-यो र नेकपा एमारले (एकीकृत माक्र्सवादी र लेनिनवादी) पार्टी बन्यो । यसरी एमारलेको हनिमुन जम्यो । माक्र्सवादीका धेरै बूढाहरुले इहलीला समाप्त नहुन्जेल स्याहार सुसार पाए । पद तथा गोपनीयताको शपथ खाए । अहिलेको जस्तो ‘भो त्यो पर्दैन’ भनेनन् । शपथ खुवाउनेले ‘हि….हि…’ पनि गरेनन् । मनमोहन प्रधानमन्त्री नै भए । भरतमोहन कैयौं पटक अर्थमन्त्री, उपप्रधानमन्त्री भए । अन्य मन्त्रालय पनि भ्याए । साहना प्रधान पनि मन्त्री भइन । बलराम उपाध्याय लगायतका मान अनुसारको सम्मान पाए । कमल कोइराला राजदूत भए । अर्थात भए भरका माक्र्सवादी टाउकेले दज्र्यानी जर्नेली पाए ।

माक्र्सवादीको पतन :

एमाले धेरै गुट मिसिएको महागुट हो । मुक्ति मोर्चा गुट, हर्रेबर्रे, रातो झण्डा, दंगाली, झापाली भंगालाहरु यसमा थिए । पछिल्लो भंगालो माक्र्सवादी हो । यो गुटका सदस्यहरु कमल कोइराला बाहेक यतिखेर दृश्यमा देखिन्नन । उनी पनि एमालेको ओली गुटभन्दा भिन्न छुट्टी बसेका छन् । धेरैजसोले महायात्रा तय गरिसके । यसरी एमालेमा पछिल्लो पटक आएका माक्र्सवादीहरु छैनन् भन्दा पनि हुन्छ । यसर्थ एमालेमा एकीकृतको ‘ए’ र माक्र्सवादीले घुसाएको ‘र’ को कुनै अर्थ छैन ।

यतिखेर एमालेमा ‘ले’हरु मात्र बाँकी छन् । अर्थात् नेकपा (ले) लेख्नु उचित हुन्छ । उसो त अहिलेको एमालेमा ओली मात्र छन् भन्दा पनि हुन्छ । अस्ति फागुन २८ गतेदेखि ओलीले पाँडे पजनी सुरु गरिसकेका छन् । अदालतले ब्युँताएको एमाले यतिखेरसम्म छैन । यस मानेमा यो पार्टीको नाम नेकपा (ओ) हुनु युक्तिसंगत हुन्छ । कथंकदाचित माधव नेपाल समूहसँग पुनर्एकता भइहाल्यो भने माधव नेपालको ‘मा’ र ओलीको ‘ओ’ राखेर नेकपा (माओ) राख्नु अनुचित हुन्न । माओ पुच्छर गाँस्दा चीनको सद्भाव बढ्न सक्छ । एमालेको पुनर्एकताको भाव पनि आउँछ । दुवै नेताको खप्पर जोडिएर मित लगाए सरह हुनेछ । झगडा, टण्टा फसाद खत्तम हुनेछ । कम्युनिस्ट आन्दोलनमा पुरानो माओ विचारधारा परिमार्जन नयाँ नौतुन माओ (माधव–ओली) विचारको प्रादुर्भाव पनि होला भन्ने हाम्लाई लाइरा’छ !


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस