Techie IT
×
गृहपृष्ठबिचारएमालेको पुनर्एकता : फगत सपना

एमालेको पुनर्एकता : फगत सपना


भवानी बराल

सेटिङमा फैसला :

फागुन २३ गते सर्बोच्चको फैसलाले नेकपा (नेकपा)लाई विभाजन गरेसँगै राष्ट्रिय राजनीतिमा आएको तरंग अझै व्यवस्थापन भइसकेको छैन । सत्तारुढ दललाई विभाजन गर्ने, पूर्वरुपमा फर्काउने हदको फैसलाले स्वयम् सत्तारुढ दललाई नराम्रोसँग विभाजन मात्र गरेको छैन यसले अन्य दलमाथि पनि उत्तिकै प्रभावित गरेको छ । यसले अन्ततः बहुदलीय प्रतिष्पर्धामा आधारित लोकतान्त्रिक व्यवस्थाको संवैधानिक मान्यतामाथि पनि प्रश्न उठाएको छ ।

फैसला संविधानको भावना र मर्म विपरीत छ । जसले पार्टी स्वतन्त्रताको मूल मर्ममाथि खड्ग प्रहार गरेको छ । संसद पुनःस्थापनाको फागुन ११ गतेको फैसलाको क्षतिपूर्ति स्वरुप पछिल्लो फैसला आएकोले फैसलामा सेटिङले काम गरेको पुष्टि हुन्छ । जसको पटाक्षेप गएको जेठ ७ गतेको दोस्रो संसद विघटनको दुर्घटनाले प्रमाणित गरेको हो ।

ल्याङल्याङ नीति :

फागुन २३ गतेको फैसलापछि नेकपाको एक घटक माओवादी केन्द्र त करिवकरिव पूर्व रुपमा फर्कियो तर अर्को घटक एमालेमा ठूलै संकट देखा परेको छ । ओली इतर खनाल–नेपाल समूहले नेकपा एकीकरण पूर्व ०७५ जेठ २ गतेको संरचनामा नफर्केसम्म समानान्तर समूह सञ्चालन गर्दै आइरहेको छ । उनीहरुको यो अडानले राष्ट्रियसभा (बागमती, लुम्बिनी) को निर्वाचनसहित सुदूर पश्चिम, कर्णालीमा सरकार कायम राख्ने र गण्डकी सरकारको परिवर्तनसम्मको घटनालाई अन्जाम दिइसकेको छ ।

यसरी एउटै पार्टीभित्र दुई धार प्रस्ट हुँदा पनि एमालेका दोस्रो पुस्ताका नेताहरु एकोहोरो पार्टी एकीकरणको रटान लगाइ राखेका छन् । यसले एमालेका दुवै समूहको राजनैतिक भविष्यलाई ताकमा पु-याएको छ । यस्तो ल्याङल्याङे नीतिले एमाले पंक्तिमा घोर निराशा उत्पन्न गरेको छ ।

‘छल’ गरेर ‘फल’ निकाल्ने :

केपी शर्मा ओली नवौं महाधिवेसनमा चुनिएका अध्यक्ष हुन । यसरी नै चुनिनेहरुमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र केन्द्रीय सदस्यहरु समेत हुन । तर, यतिखेर ओली बाहेकको पदीय हैसियत त्यहाँ छैन ।

जुन महाधिवेशनले उनलाई चुनेको त्यही महाधिवेशनबाट चुनिएर आएकाहरु अलगथलग भएपछि ओलीले आफ्नो गुटको राष्ट्रिय भेला, सम्मेलन गरेर अलग संगठन बनाएको भए त्यसले केही हदसम्म मान्यता पाउने थियो । तर, त्यसो नगरी फागुन २८ गते आफु र आफ्नो गुट बाहेककालाई पाँडे पजनी र माओवादीबाट गएका पाहुनालाई पाँडे नियुक्ति गरेपछि एमालेमा समस्या देखिएको हो । नत्र सर्बोच्चले फैसला गरेपछि गोटागन्ती एमाले कोही पनि नछुटी सोही संगठनको मातहत गइसक्ने थिए । तर, ओली प्रवृत्ति भनेकै ‘छल’ गरेर ‘फल’ निकाल्ने प्रवृत्ति हो । छलफल गरेर निर्णय गर्ने होइन । वर्षौंसम्म ओलीको संगत गरेर ओली प्रवृत्ति नचिन्नु एमाले एकताको अर्को बाधक प्रवृत्ति हो ।

दोस्रो पुस्ताको जिरह :

एमालेका दोस्रो पुस्ताको भनिएका केही ‘होनहार’ र ‘थिङ्क टेङ्क’हरु अहिले पनि एकताको घात लगाएर बसेका छन् । यति बैठकदेखि कति बैठक गरिसके तर कुनै सुखद (एमालेजनकै भाकामा) समाचार अहिलेसम्म आएको छैन ।

ओली ०७५ जेठ २ गते निशर्त फर्किए एमालेको पुनर्एकताको सम्भावना बोकेका दोस्रो पुस्ताका लगभग आधादर्जन नेताहरु आँखीझ्यालबाट नियाली रहेका छन् । ओली २ गते फर्किन सम्भव छ त ? ओली फर्की हाले भने पनि यो बगेर गएको पानी फर्केर आएको जस्तो आश्चर्यजनक घटना हुनेछ । यस्तो होला भनेर कल्पना गर्नुसम्म पनि गर्न सकिन्न । यस्तो आशा गर्नु ‘मुगेरीलालको हसिन सपना’ वा शोम शर्माको सातुको कथा भन्दा भिन्न कल्पना हुने छैन ।

कथमकदाचित यी कथाहरु नै सार्थक नै भए पनि एमालेको संगठन घोर निराशाको माखेसाङ्लोमा परिसकेको हुन्छ । फागुन २४ गतेदेखि दोस्रो पुस्ताको यो जिरह यतिको महिना वित्दा पनि एकताको छेउकुनो नभेटिनु ओली प्रवृत्तिको शिकार हुँदै जानु हो । कमलकोटीले माकुरो र साङ्लोलाई बसमा पार्दै शिकार गरेजस्तै हो । अर्को दोस्रो पुस्ताका नेताहरुको जिरह बाढी आइसकेपछि सल्लाह सुरु गरेजस्तै भएको छ ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस