Techie IT
×
गृहपृष्ठबिचारयोगेशको अरण्यरोदनमा छिपेको खिचडी

योगेशको अरण्यरोदनमा छिपेको खिचडी


नारानकुमार उपाध्याय

नीति कि नेता प्रधान :

कम्युनिष्ट पार्टी नीति प्रधान हुन्छ, नेता प्रधान होइन । यो कुरा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले उतिबेलै भनेका थिए । जब नेताको कदकाँटी अनुसार नेतृत्वको कुरा गरिन्छ त्यतिबेला कम्युनिष्ट पार्टी रहँदैन । व्यक्तिको पछाडि लागेर वामपन्थी पार्टीमात्र होइन, दक्षिणपन्थी पार्टी पनि बन्दैन । अझ आफू केन्द्रित नेतृत्वको कुरा गरिन्छ त्यहाँबाट त क्लबसम्म गठन होला, कुनै संगठन निर्माण हुन सक्तैन । उमेर र पुस्ताले राजनीतिको रथ हाँक्ने कसैले परिकल्पना गरेको छ भने त्यो भन्दा अराजनीतिक कुरा केही हुन्न । विचारविहीन भीड जुनसुकै उमेर समूहको भए पनि त्यो हटियाको भीडभन्दा फरक हुन्न ।

दिन विराएर राग :

नेकपा एमालेका ‘होनहार’ युवा नेता योगेश भट्टराई दिन विराएर एमाले एकताको यस्तै राग अलापी रहेका छन् । एकताको दोष एमालेका नेताहरु केपी ओली, झलनाथ खनाल र माधव नेपाललाई देखाएर पानीमाथिको ओभानो हुने नाजायज प्रयासमा लागेका छन् । आजैको उनको ट्वीट हेर्ने हो भने प्रतिगमन र अग्रगमनको मुद्दाबाट ध्यान अन्यत्र मोड्न एमालेका नेताहरु एमालेकै नेताहरुसँग सहकार्य तयार हुनुपर्ने अराजनैतिक तर्क गरिरहेका छन् । एमालेका नेताहरु राष्ट्रिय राजनैतिक मुद्दामा एक हुने हो भने सहकार्य गर्नु कुनै कठिनाई हुन्न । तर, ओली र खनाल–नेपालको राष्ट्रिय राजनैतिक मुद्दामा आकाश पातालको फरक छ । यतिमात्र होइन विधिगतरुपमा पार्टी संगठन सञ्चालन गर्ने विषयमा पनि विमति छ । बारम्बार प्रतिनिधिसभा विघटन गरेर ओलीले प्रतिगामी कित्तामा आफूलाई उभ्याएका छन् ।

एमालेको नवौं महाधिवेशनले अनुमोदन गरेको पार्टी संगठनलाई तहसनहस बनाएका छन् । राजनैतिक मुद्दा र संगठनकै विषयमा महान विवाद छ । यस्तो बेलामा एमाले नेताहरुबीचको निरपेक्ष सहकार्यको अर्थ के हुन्छ ? यसको उत्तर हुन्छ वेमौसमको धुन ।

ओली ठाकुर–महतो गठजोडको सार :

ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्नु रुपबाट हेर्दा अप्राकृतिक लाग्छ । तर, सारमा यो कुनै अप्राकृतिक साझेदारी होइन । ओली रुपमा अन्धराष्ट्रवादी हुन सारमा राष्ट्रघाती । महाकाली सन्धिताका ओलीको राष्ट्रघाती सार देखिएको थियो । संविधान घोषणाताका उनले रुपमा राष्ट्रवादी छविको नौटंकी गरेका थिए । सामन्तकुमार गोयलको आगमनसँगै उनको राष्ट्रवादी छवि उत्रिएको हो । अर्को ठाकुर–महतो रुपमा क्षेत्रीय अन्धवादी (मधेसी अन्धराष्ट्रवादी) हुन सारमा तिनीहरु पनि राष्ट्रघाती नै हुन । यी दुवैको सैद्धान्तिक राजनैतिक मुहान पनि एकै हो । पछिल्लो मधेस आन्दोलनमा ठाकुर–महतो गुटले भारतेली विस्तारवादलाई घुसाएर मधेस आन्दोलनको तेजोबध गरेका थिए । अनाहकमा मधेस आन्दोलन विसर्जन भयो । गोयलको नेपाल आगमनसँगै दुवैको मिलन बिन्दु भेटियो । सत्ता सहकार्यमात्र होइन सैद्धान्तिक सहकार्य पनि सम्भव भयो ।

वीरबलको खिचडी :

एमाले एकताको मूल जड कुनै दन्त्य कथामा राक्षसको काल कुनै अन्यत्र जीव खोलानाला वा ओडारमा भए जस्तो अमुर्त कुरा होइन । एकताको भँडास पोखेर मात्रै हुँदैन । एमालेको एकता राजनैतिक मुद्दाको सेरोफेरोमा छ । तपशीलमा नवौं महाधिवेशनले निर्वाचित गरेको संगठनको आधिकारिकतामा छ । यहाँभन्दा पर्तिर गएर एकता खोजियो भने वीरबलको खिचडी जस्तो हुनेछ कहिल्यै नपाक्ने । यस्ता होनहार नेताले पानीमा छारो उडाएको जस्तो गर्दा कसैले सामुद्रिक आँधी ल्याएको सम्झनु हुन्न । योगेश भट्टराईको अरण्य रोदनको राजनैतिक बजारमा कुनै मूल्य छैन ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कसले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मूल जड यहीं छ ।’
योगेश जस्ता युवा नेतृत्वहरुप्रति सामाजिक सञ्जालमा थुप्रै जिज्ञासाहरु छन् र अधिकांशको उनीप्रति नकारात्मक टिप्पणी नै आएका छन्, उनलाई अराजनीतिकको आरोप धेरैको छ । एमाले पार्टीभित्रका शिर्ष नेतृत्व तहका बहस आन्तरिक मात्र नभएर यतिवेला सिङ्गो राष्ट्र, राष्टियता, संविधानसँगै अन्तरसम्बन्धित भएकाले अन्य पार्टी, आमनागरिकको समेत सरोकारको विषय हो । सामाजिक सञ्जाल, मिडियाहरुमा उठेका मूलभूत कुराहरुलाई यहाँ समेटिएको छ ।

सामाजिक सञ्जालमा उठेका सवाल :

पार्टीभित्र केपी शर्मा ओली तथा झलनाथ खनाल र माधव नेपाललाई एउटै तुलोमा तौलिने गल्ती योगेश भट्टराईले गरेका छन् । यो दुवै पक्षको बराबरी गल्ती हो ? एउटा सापेक्षिक सही र अर्काे सापेक्षिक गलत छैन र ?

झलनाथ खनाल र माधव नेपालले केपीको प्रतिगमनको विरुद्ध झण्डा उठाएका हुन । त्यतिवेला योगेशले पनि केपीको प्रतिगमनको विरुद्धको अभियानमा आफूलाई जोडे । भएको मन्त्री पद गुमाए । अब के केपीको प्रतिगमन सच्चिएको निश्कर्षमा पुगेको हो ?

केही दिनअघिसम्म पनि केपीको प्रतिगमनको विरुद्ध देशव्यापी अभियानमा योगेश हिंडेकै हो ? के त्यस्तो परिस्थिति बदलियो र केपीसँग निरपेक्ष एकताका लागि मरिहत्ते गरेको ?

प्रचण्ड, शेरबहादुरसँग झलनाथ खनाल र माधव नेपालले गरेको गठबन्धन र केपी ओली र महन्थ–राजेन्द्रको गठबन्धन एउटै हो ? एउटाले वलिदानबाट प्राप्त उपलब्धि बचाउने र अर्काेले राष्ट्रिय स्वाधीनता र वर्तमान संविधानको खारेजीतिर लागेको होइन ?

हो, केपीसँग यतिवेला शक्ति छ, सरकार छ । सत्ताका धेरै अंगलाई उनी प्रभावित पार्न पनि सक्छन । पार्टी फुटाउनका लागि न्यायालयलाई समेत प्रभावमा पारे । उनी अहिले आश्वासन दिने ठाउँमा छन् । सत्यका अगाडि सत्ता अस्थायी हो भन्ने कुरा तपाईंहरु जस्ता युवा नेताहरुले नबुझेको हो या बुझेर बुझपचाएको हो ?

आज केपीको तरिकाले देश अगाडि बढ्दा राष्ट्रिय स्वाधीनता, संविधान सबै विघटन हुनसक्छ । केपी र विद्याकै गलत तरिकाले तपाईंहरुसहित लाखौंले लडेर प्राप्त गरेको जनअधिकार गुम्ने दिशामा गएको छ ।

तपाईंहरु जस्ता अकर्मण्यतावादी, सही र गलतलाई छ्यानविचार गर्न नसक्ने कारणले नै केपी–विद्या प्रवृत्ति पार्टी र राजकीय उच्च स्थानमा पुगेका हुन । आफूलाई केन्द्रमा राख्ने र क्षणिक स्वार्थमा जाने तपाईंहरु जस्ताको प्रवृत्तिले अबको देश र जनताको नेतृत्व सम्भव नै छैन । तपाईंहरुको चेतनाभन्दा जनताको चेतना धेरै अगाडि छ । अगाडि बढेका चेतनाका प्रतिक्रियाहरु तपाईंले आफ्नै फेसबुक स्टाटसमात्र पढ्नु त, तपाईंप्रतिको विश्वास धेरैको गुमेको स्पष्ट देखिन्छ । भावी नेतृत्वको अपेक्षा गरेको युवाप्रतिको वितृष्णाले राजनीतिप्रति नै जनतामा नकारात्मक धारणाको विकास हुन्छ ।

केपी ओली आफ्नै नेताहरुसँग सहकार्य नगर्ने तर जसपासँग सत्ता साझेदारी केका लागि ? : योगेश

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस