Techie IT
×
गृहपृष्ठबिचारओलीको तुरुप खारेज : कब्जियतमा एमाले एकता

ओलीको तुरुप खारेज : कब्जियतमा एमाले एकता


राणा प्रधानमन्त्री श्री ३ हरुले एकलौटी इस्तिहार जारी गरे जस्तो केपी ओलीले फर्मान गरेको ६ बुँदे तुरुप खनाल–नेपाल समूहले सोमबार खारेज गरेर खोस्टा सावित गरिदिएका छन् । ओलीले एकतर्फी फालेको कथित एकताको अपीलको बहस एमाले पङ्क्तिमा ४८ घण्टा पनि टिकेन । यसले ओली इतर समूहमा तरंग ल्याउने अड्कलका साथ गरिएको भए पनि यसले सामान्य भ्रमसम्म दिएन । ओलीको ६ बुँदे रोदन पत्रमाथि दफावार जवाफ लेखेर इतर समूहले ओली गुटको पर्दाफासमात्र गरेको छैन उल्टो ओलीको दम्भमाथि प्रहार गरेको छ ।

सरलबाट जटिलतर्फ :

फागुन २३ गतेको सर्वोच्चको फैसलाले नेपाली राजनीतिमा ल्याएको नकारात्मक असरले यतिखेर दलीय राजनीतिलाई मात्र होइन राज्यका अन्य अंगहरुमा पनि प्रश्न खडा गरेको छ । सर्वाेच्चको फैसला मुताविक नवौं महाधिवेशनको संस्थागत निर्णयलाई स्वीकारेको भए यतिखेर ओली गुटमा यो आपत आइलाग्ने सम्भावना कमै थियो । आफ्नो दुनो सोझ्याउने नाममा सरल रेखामा जाने राजनीतिलाई बक्र रेखामा हिडाउँदा ओली गुट राजनैतिक हाटबाट पतनको दिशातर्फ ओरालिएको छ । सरललाई जबर्जस्ती जटिल बनाउँदाको भुक्तान ओली गुटमा आइलागेको छ ।

खारेज पत्रको मर्म :

सोमबार जेठ १४ गते एमाले स्थायी समिति र पदाधिकारीको बैठकबाट ओली गुटको ६ बुँदामा नै जवाफ दिइएको छ । यसका अतिरिक्त प्रत्येक बुँदाको अक्षरशः भ्रम चिर्ने प्रयत्न गरिएको छ । विज्ञप्तिको महत्वपूर्ण सारमा लेखिएको छ, ‘कुनै पनि कुराहरुको सम्बोधन नगरी कुनै वार्ता नभइ एकताको लागि गरिएको उहाँको आह्वान साँच्चीकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

यसरी नै सिधै भाषामा ओलीको अपीललाई खारेज गर्दै लेखिएको छ, ‘ओलीद्वारा जारी वक्तव्यको बुँदा नं १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको तथा अल्मल्याउने भाषा प्रयोग भएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापी देखिन्न । यो अस्वीकार्य छ ।’

यस्तै रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिनु पर्ने शर्तलाई पनि अमान्य घोषित गरिएको छ । ‘प्रतिनिधिसभाको पुनः स्थापनाका लागि दायर रिट निवेदनमा आफूहरुले गरेको हस्ताक्षर नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो । प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ ।’ खनाल नेपाल समूहको पाँच पन्ने सार्वजनिक अवधारणामा प्रस्टयाइएको छ ।

एमाले एकताको गुत्थी :

नेकपा एमाले पुनर्एकताको गुत्थी सरल नै थियो । फागुन २३ गते सर्बोच्च अदालतको फैसलाले नेकपालाई फुटाइमात्र दिएको थिएन, पूर्व घटकहरुलाई ब्युँतिन बाध्य पनि बनाएको थियो । नेकपा माओवादी केन्द्र आफ्नो पूर्व रुपमा फर्किसकेको थियो । यता एमाले पनि फैसला मुताविक पूर्व रुपमा नवौं महाधिवेशनको आदेश बमोजिम फर्केको भए यी सब लफडा हुने नै थिएन । तर, ओलीले अतिरञ्जित फैसलाको आडमा र सत्ताको बलमा आफू र आसेपासे बाहेकलाई एमाले देखेनन् । र, यही निहुँमा ओली इतर समूहलाई तह लगाउने हतियारको रुपमा प्रयोग गरे । खनाल नेपाल समूह त २३ गतेको फैसलापछि मन, बचन र कर्मले एमाले भइसकेका थिए । तर, ओलीले फागुन २८ पछाडि उनीहरुलाई ढिम्किन पनि दिएनन् । एक से एक निर्णय गर्दै पाखा लगाए । ओलीलाई यही भष्मासुर प्रवृत्ति घाँटीमा अड्किएको हड्डी सरह भएको छ । ‘मरता क्या नही करता’ भने जसरी इतर समूहले कर्णाली, बागमती, लुम्बिनीबाट सबक सिकाउन खोजे । तर, ओलीलाई संसद विघटन गर्ने, राष्ट्रपतिसँग अनैतिक सेटिङ गरेर पुनः प्रधानमन्त्री हुने भुत सवार भयो । जसपाको राजपा गुटसँग अप्राकृतिक गठबन्धन गरेर राष्ट्रिय राजनीतिलाई ठगी धन्दाको रुपमा प्रस्तुत गर्न पछि परेनन् ।

एमालेको पुनर्एकतामा कुनै गम्भीर राजनैतिक मतभेद थिएन । सामान्य सांगठानिक बन्दोवस्त मात्र मिलाउनु पर्ने थियो । तर, त्यति पनि नगरेर अर्घेलो हालेपछि एमालेमा ओली गुटको पतन बिन्दु सुरु भएको हो । यतिखेर त ओली इतर समूहमा राष्ट्रिय राजनैतिक मुद्दा पनि प्राप्त भएको छ । ओलीले चाहेको भए खनाल–नेपाल समूहलाई सांगठानिक आधारमा बाँधेर मुद्दाविहीन बनाउन सक्थे । यसरी प्रत्येक घडी पत्राचार गर्नुपर्ने दरकार पर्दैन थियो । ओलीका पछिल्ला अपीलहरु पराजयको मानसिकता र विक्षिप्त मनस्थितिको मालश्री धुन हो । एमालेको एकतालाई खोला वारि खोला पारि पु¥याउने यिनै भष्मासुर हुन । भष्मासुरको धर्म नै आफूलाई सिध्याउने हो, आफूलाई बचाउने काम किन पो गर्थे र ? समयबद्ध साप्ताहिकबाट

 

 

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार