Techie IT
×
गृहपृष्ठबिचारओलीको सिद्धान्त र भ्रम

ओलीको सिद्धान्त र भ्रम


भवानी बराल

राजनीतिमा सत्ताभन्दा बाहेक सबै भ्रम हो भन्ने मान्यता स्थापित छ । राजनीतिक विज्ञानको सिद्धान्तको आधारमा यो वाक्यमा मतैक्यता छ । तर, जब यो सिद्धान्त भ्रष्टीकरण भएर कुनै व्यक्तिमा अन्तरनिहित हुन्छ । तब राजनीति नै भ्रम हुन पुग्दछ । नेपालको राष्ट्रिय राजनीतिमा केपी ओलीले यही भ्रम दिएका छन् । अर्थात्, नेपालको सन्दर्भमा ओली बाहेक सबै भ्रम हो । उनले भर्खरै मन्त्री परिषद पुनर्गठनमा पनि यस्तै भ्रम दिए । सम्भवतः ओली र लैनचौर बाहेक को को मन्त्री बन्दैछन भन्ने कसैलाई थाहा थिएन । सानो संकेत पनि बाहिर नआएको यसै कारणले हो । महन्थ–महतो गुटबाट को को मन्त्री बन्दैछन भन्ने त पहिले नै तय थियो । लैनचौरले बन्दोवस्त गरिदिएकोले सूचना वाहिरिनु स्वाभाविकै थियो । त्यो गुटबाट ठाकुर र एकाध बाहेक सबै मन्त्री हुने नै थिए, किनकि त्यो गुटमा करिव सांसद त्यति नै हुन । तर, ओली गुटको मन्त्रीबाट विदाइ पाउने र नयाँ मन्त्री बन्नेलाई कसैलाई थाहै थिएन । ‘बा’ को आशिर्वाद पाउने आशामा ‘आँ’ गरेका कत्तिलाई नसोचेको कुरा गुम्यो । कतिलाई आँखा चिट्ठा परे झैं भयो । ओली गुटमा भारदारमात्र रहेकाले यो भ्रमको पनि विरोध, समीक्षा केही हुन नसकेको हो । भारदारीसभामा भ्रमबाट बाँच्न विवस गराइन्छ । ओली गुटका भारदारहरु अलौकिक भाग्यवादमा बाँच्न अभिशप्त छन् ।

खड्गप्रसादको खड्ग :

खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री ओलीको दर्तावाला नाम हो । उनको चल्तीको नाम भने केपी शर्मा ओली हो । तर, ओली आफ्नो दर्तावाला नाम अनुसारकै काम गर्छन । आफू अनुकुल नहुँदा ‘खड्ग’ प्रहार गर्ने उनको पुरानो आदत बुढौलीमा पनि गएको छैन । उनको यो आदतले मुलुकको गन्तव्य कहाँ पुगेर अन्त्य हुन्छ उनलाई बाल मतलब । जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभामाथि दुई पटक खड्ग प्रहार गरिसके । यद्यपि उनको चित्त बुझेको छैन । दुईदुई पटक प्रतिगामी हर्कत मच्चाइ सकेका ओलीको जयजयकार गर्ने, उनलाई एसियाकै राजनेताको कथित पगरी गुथाउने धुपौरेहरु आजको शताब्दीमा पनि ज्युँदै छन ।

ओलीले एक से एक सेवकमार्फत लोकतन्त्रमाथि हमला बोल्दै गएका छन् । उनको एक नम्बर सहयोगी राष्ट्रपति विद्या भण्डारी हुन । दोस्रो सहयोग ‘सेटिङका न्यायधीशहरु’ रहेको खुलासा नै भइसकेको छ । नेपाली जनता ओलीले अर्को खड्ग कहाँ प्रहार गर्लान भनेर रमिता हेरेर बसेका छन् । ओली इतर दलको लोमुते पाराले ओलीको गोलीले शिकार गरेको हेर्नु पर्ने विडम्बना अझै तुरिएको छैन ।

उनले अब के गर्छन भ्रममै छ । ओलीले भ्रम सिद्धान्तमा जति दिन अल्मल्याउन सक्छन त्यति नै ओली सत्ताको आयु निश्चित हुन्छ । कुनै समयका वादशाह फारुख र क्यालिगुलाले नोकर र घोडालाई मन्त्री बनाएको प्रसंग इतिहासमा आउँछ । ओलीले पनि जो जसलाई जहाँ नियुक्त गरे पनि ओलीको भारदारी सभामा प्रश्न उठ्दैन । यो प्रश्न किन उठ्दैन भने त्यहाँ भ्रमको सिद्धान्त लागू छ । भारदारहरु भ्रममा बाँच्न विवस छन् ।

डाम्ने सिद्धान्त :

ओलीको चर्तिकलालाई सहयोग गर्ने अर्को डाम्ने सिद्धान्त हो । घर पालुवा गाईवस्तुमा भाले प्रजातिको बस्तुलाई साँढे (नन्दी) भनिन्छ । भाले प्रजातिमध्ये विउमा प्रयोग हुने बाहेकलाई नसबन्दी गरेर कृषि काममा जोत्ने वा गाडा चलाउने आदि काममा लगाइन्छ । पौराणिककालमा साँढे छोड्ने चलन थियो । साँढे छोड्दा शिवको प्रतिक चिह्न त्रिसुलले साँढेको शरीरमा डामेर खुल्ला छोडिन्थ्यो । भक्तपुरको गाईजात्राको प्रारम्भिककालमा मृतकको नाममा साँढेलाई डामेर छोड्ने चलन थियो । यस्ता साँढेहरु कसैको स्वामित्वमा हुँदैनथे । तर पछि यी साँढेले किसानको बाली नस्ट गरेकोले जिउँदो साँढेको साटो माटोको साँढेको मुर्ति बनाएर छोड्ने चलन बसाइयो । तर, नेपालको तराईमा भने यो प्रचलन अझै छ ।

ओलीले यस्तो डाम्ने सिद्धान्त पनि लागू गरेका छन् । केही समय अगाडि रामबहादुर थापा लगायतका माओवादीलाई आफ्नो खेमामा ल्याउन उनले एमाले छाप लगाएर डामी दिए । मन्त्री बनाए । जब उनीहरुको उपयोगिता सकियो अदालतको सेटिङमा फालिदिए । थापालाई त निर्वाचनमा उठाएर उठ्नै नसक्ने गरी हराइ दिए । महन्थ–महतो गुटलाई यतिखेर डामेका छन् । तिनको नियति पनि यस्तै हुने हो । काम चलेपछि कबाडीमा पु-याइन्छ भाँडो ।

यो कुनै नौलो सिद्धान्त भने होइन । पञ्चायतकालमा यसरी नै कांग्रेस कम्युनिष्टका नेता कार्यकर्ताहरुलाई पञ्चायतले डाम्ने गरेको थियो । तुलसी गिरी, विश्वबन्धु थापा, पर्शुनारायण चौधरी, कमलराज रेग्मी, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारीलगायतलाई डामेर पञ्चायतमा प्रवेश गराइयो । पञ्चायत व्यवस्थामा कार्यकर्ता उत्पादन गर्ने कुनै फिडर स्कूल थिएन । ओली गुटको पनि आफ्नो उत्पादन गर्ने कुनै फिडर स्कूल नहुनु अस्वाभाविक हैन । जसरी पञ्चायतलाई चलाउन इतर समूहको संगठनबाट कार्यकर्ता आयात गर्नु पर्दथ्यो । पञ्चायतले सिकाएको त्यो विरासतलाई ओलीले निरन्तरता दिएका हुन । ती आयातित कार्यकर्ताको जे हालत भयो डाम्ने सिद्धान्त अनुसार अहिले डामिएकाहरुको हालत पनि त्यही हुनेवाला छ । प्रयोग गर्ने र फ्याँकिदिने ।

षडयन्त्रको सिद्धान्त :

ओलीको अर्को अस्त्र षडयन्त्रको सिद्धान्त हो । उनले दुई धारको कम्युनिस्ट पार्टीको चुनावी गठबन्धनदेखि एकता हुँदै भारतीय सत्ताधारी शासकको इच्छा पूरा गर्न र आफ्नो आयु लम्ब्याउन यो सिद्धान्तको प्रयोग गर्दै आएका छन् । ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँगको कात्तिके भेटको गुप्त योजनालाई अन्जाम दिन यो सिद्धान्तको सहारा लिएका हुन । गएको पुष ५ र गएको जेठ ७ गतेको संसद विघटनको घटना यही सिद्धान्तको कार्ययोजना हो । ओलीको राजनैतिक सहारा यिनै सिद्धान्तमा निर्भर छ । जबसम्म यी सिद्धान्तको पटाक्षेप हुँदैन तबसम्म भ्रम परिरहन्छ । र, ओली महाराज र उनका अनुयायी अन्धभक्त भारदार भइरहनेछन, देशले पीडा भोगी रहनेछ ।

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार