Techie IT
×
गृहपृष्ठबिचारओली सरकारको सकारात्मक कदम

ओली सरकारको सकारात्मक कदम


सूचना प्रविधिमा आएको अद्भुत विकासले संसारलाई एउटा गाउँ बनाइ सकेको छ । र, हातका औंलाका चालमा संसार शयर गर्नसक्ने वर्तमान युगमा भारतीय संचार माद्यमलाई नेपालमा प्रतिवन्ध लगाउँदैमा नेपालमा भारतीय सञ्चार माद्यमको गलत सूचनाको खेतीमा पूर्णविराम लाग्छ भन्ने होइन । तर, देखाउनेलाई भन्दा देख्नेलाई लाज हुने गरी जुन स्तरमा भारतीय मिडियाहरु मिथ्या सञ्चार खेती नेपाल र नेपालीका विरुद्ध पछिल्ला दिनमा गरिरहेका छन्, त्यसलाई ‘ब्रेक’ लगाउन अहिले सरकार अग्रसर भएको छ । नेपालका केवल अपरेटरहरुको संगठनले भारतीय न्युज च्यानलहरुको प्रशारणमा लगाएको प्रतिवन्ध यसै मानेमा ढिलो भए पनि गरिएको एउटा राम्रो काम नै हो । यसमा सरकार र केवल अपरेटरहरु धन्यवादका पात्र छन् ।

एउटा झूटलाई सय चोटी सत्य भनी प्रचार गर्ने गोयवल्स शैलीको भारतीय मिडिया प्रचार नेपाल र नेपालीका विरुद्ध विषवमन गर्ने माद्यम बनेका छन् । अतिवादी, काल्पनिक र एकाङ्की भारतीय मिडियाको प्रचारले नेपालमा पारेको नकारात्मक प्रभावलाई कम गर्न यो प्रतिवन्धले केही न केही मद्दत नै गरेको छ । अझ त्यो भन्दा बढी जनतामा सरकारको सकारात्मक पहलको सञ्चार गरेको छ । यो राम्रो काम हो ।

भारतीय सिनेमा, टेलिभिजन र पत्रपत्रिका हेरेर हुर्केको नेपालको अघिल्लो पुस्ताको केही तप्काका लागि यो प्रतिवन्ध पाच्य नहुन सक्छ । तर, यो अनिवार्य र निर्विकल्प थियो । किनभने भारतीय मिडियाले नेपाल र नेपालीका बारेमा निरन्तर गर्दै आएका गलत प्रचारवाजी विरुद्ध केही न केही ‘एक्सन’ लिन ढिला हुँदै थियो । खासगरी नेपालका प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बारेमा भारतीय एक टेलिभिजनले गरेको दुस्प्रचार कुनै पनि मानेमा पाच्य र क्षम्य थिएन, हुने छैन ।

नेपालमा एउटा समूह छ, जसले सरकारले जे गरे पनि अण्टसण्ट आलोचना मात्रै गर्छ । त्यस्तो समूहलाई अपवाद मान्ने हो भने सरकारले भारतीय मिडियालाई लगाएको प्रतिवन्ध सोह्रै आना सही छ । यसले अब नेपालको नयाँ पुस्तालाई भारतीय गलत प्रचार खेतीविरुद्ध सरकारले चालेको प्रतिरोध कर्मका बारेमा पनि जानकारी हासिल हुनेछ ।

तर, सीमित सञ्चार माद्यमलाई प्रतिवन्ध लगाएर मात्रै भारतको नेपाल विरुद्धको राजनीतिक, साँस्कृतिक, भाषिक हमलालाई नियन्त्रण र निस्तेज पार्न सम्भव छैन । त्यसैले सरकारले अरु उपायहरुबाट पनि यस्ता भारतीय सञ्चार अतिक्रमणका गलत हर्कत विरुद्ध प्रतिवाद निरन्तर गरिरहनुपर्दछ । यो अहिले क्षणिक आवेग र प्रधानमन्त्रीको विरोधको प्रतिवादको रुपमा मात्र लिनु हुँदैन ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मोर्चा संयुक्त जनमोर्चा, नेपालले नेपालको राजनीतिक, सांस्कृतिक, आर्थिक क्षेत्रमा भारतको दवदवा स्थापित गर्ने भारतीय टेलिभिजन, हिन्दी फिल्म बन्द गर्ने अभियान नै चलायो । त्यतिवेलाको अभियानले जनजागरण ल्याउनमा धेरै महत्वपूर्ण भूमिका खेले पनि त्यसपछिका कुनै पनि सरकारले त्यसलाई बन्द गर्ने त कुरै छाडौं, नियमन गर्ने काम समेत गरेनन् । यतिसम्म कि भारतीय सामानलाई प्रोत्साहन गर्ने विज्ञापन पनि निर्वाध रुपमा सित्तैमा नेपालमा प्रसारण भइरहे । भारतीय सामानको प्रोत्साहन गर्न भारतीय कलाकारका ठाउँमा नेपाली कलाकार र भारतीय टेलिभिजनको ठाउँमा नेपाली टेलिभिजनमार्फत् प्रसारण गर्न त सकिन्थ्यो नि ! त्यति मात्र गर्न सकेको भए धेरैले रोजगारी पाउने थिए, हाम्रा देशका मिडिया थप सुदृढ हुन्थे । विज्ञापनबाट आउने करले राजश्व पनि थोरै भए पनि बढ्थ्यो ।

देशको सार्वभौमसत्ता जमिनमात्र होइन । जनता, मनोविज्ञान, भाषा/संस्कृति अझ मुख्य हो । जमिन वा भूगोललाई मात्र प्राथमिकता दिंदा र भाषा/संस्कृति, जनताको मनोविज्ञानलाई उपेक्षा गर्दा राष्ट्रियता सुदृढ हुँदैन, बच्दैन ।

ढोका, झ्याल बन्द गर्दा पनि हाम्रा घरभित्र दूषित राजनीति, संस्कृति छर्ने सीमित नै सही केपी ओलीको नेतृत्वको सरकारले भारतीय टेलिभिजन बन्द गर्ने कार्य गरेको छ । सांकेतिक भए पनि राम्रो काम भएको छ । नेपालीको स्वाभिमान बढाएको छ ।

सूचना/प्रविधिको विकासले हामीले चाहेर पनि दूषित हावा पूरै रोक्न नसकौंला तर मूल ढोकाबाट आउन भनै रोक्नैपर्छ । आँखी झ्लाल वा प्वालबाट आउने कुरालाई चेतनाको विकाससँगै जनताले नै प्रतिवाद गरेर रोक्छन ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार