Techie IT
×
गृहपृष्ठबिचारप्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई सधैं काखमा राख्नैपर्ने ?

प्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई सधैं काखमा राख्नैपर्ने ?


नारनकुमार उपाध्याय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच विवाद उत्कर्षमा पुग्दै गर्दा विवाद मिलाउन भन्दै दुई अध्यक्षले आफ्ना निकट दुई/दुई जना नेतालाई मिलन विन्दु खोज्नका लागि चार सदस्यीय अनौपचारिक टिम बनाए । केपी ओलीले आफ्ना पक्षका दुई जना वरिस्ठ सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेललाई सदस्य बनाउँदा अस्वाभाविक मानिएन । तर, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र वर्षमान पुन राखिएकोमा भने ठूलै तरङ्ग आयो ।

विगतको सहमतिमा साक्षी बनाइएका विष्णु पौडेल र जनार्दन शर्मा दुई अध्यक्ष निकट जाँदा धेरैले विरोध पनि गरेनन् तर वर्षमान पुन प्रचण्डको पक्षबाट राखिंदा प्रचण्डले केपी ओलीसँग पार्टीलाई संस्थागत गर्ने, समाजवादको यात्रामा जाने नभएर आफू, आफू निकट र अझ भनौं आफ्नै गुटको सुदृढीकरणका लागि मात्र रहेको भन्दै पार्टीमा तीब्र असन्तुस्टि आए ।

प्रचण्ड पक्षमा यतिवेला माधव नेपाल पक्षको मनोविज्ञानमात्र जोडिएको छैन, पूर्व माओवादीभित्रका पनि विभिन्न मनोविज्ञान रहेको छ । एकदमै छिट्टो लाभको पदमा पु-याएर काखमा राखिएका दुई जनाप्रति प्रचण्डले यति धेरै मरिहत्ते किन गरिरहेका छन् भन्ने प्रश्न नै बढी उठ्यो । यसबाट प्रचण्डले अन्य सबैलाई उपयोग मात्र गरिरहेको भन्दै सामाजिक सञ्जाल, अनलाइन मिडियामा समेत प्रतिक्रिया आयो ।

प्रचण्डले अनौपचारिक टोली बनाएको भोलिपल्ट नै वर्षमान पुनले प्रचण्डको प्रवक्ता बन्दै हामीले नभएर माधव नेपाल पक्षले केपी ओलीको दुवै पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए । पछिल्लो समयमा ओलीका विरुद्ध लामो सहकार्य गर्दै आएका झलनाथ खनाल, माधव नेपालको मात्र होइन किरण, डा. बाबुराम भट्टराईसँगको प्रचण्डको भीषण अन्तरसंघर्षमा पनि वैचारिक सहयोग गर्ने र अहिले पनि ओलीको विरोधमा वैचारिक हिसावले पूरै काँध थापेका नारायणकाजी श्रेष्ठको समेत मनमा चिसो पस्ने गरी वर्षमान पुनले किन यस्तो प्रतिक्रिया दिए त ?  जबकि उनलाई यसरी परिस्थिति उत्तेजक बनाउन होइन, साम्य पार्न सहयोगीका रूपमा मात्र भूमिका हुनुपथ्र्याे ।

वर्षमान सत्ताका सदावहार पुजारी

जनयुद्धकालको भीषण फौजी लडाईं चलिरहदा वर्षमान पुन युद्ध कौशलता देखाएर छिटछिटो पदमा उक्लिए । जनयुद्ध पूर्वको भीषण वैचारिक संघर्षमा उनी सामान्य कार्यकर्ता मात्र थिए ।

जनयुद्धकालमा सबै स्रोत, साधन सेनालाई भन्ने नीति अन्तर्गत उनले बैंक कब्जादेखि विभिन्न ठाउँमा भएका ‘आर्थिक कार्वाही’ को स्रोतलाई उनले ‘परिचालन’ गरे । फिल्डबाट जसले कमाण्ड गर्छ त्यसको हातमा स्रोत रहनु अनौठौ होइन । धेरैले ती स्रोत साधनलाई पार्टीमा संस्थागत गरे तर वर्षमानसहित केहीले त्यसो गरेनन् । वर्षमान सधैं मुख्य नेतृत्वको निकट रहेकाले उनले गरेका आर्थिक अपारदर्शिताका बारेमा युद्धकालभरि प्रश्न उठेन । तर, देवेन्द्र पौडेलले सुन र पैसा अपचलन गरेको एउटा मुद्धा पार्टीमा बेस्सरी उठ्यो । भलै उनलाई त्यतिबेला डा. बाबुराम भट्टराईले बचाए पनि उनी पोखरा क्षेत्रका नेता तथा कार्यकर्ताहरुबाट सदैव प्रश्नको घेरामा रहिरहेका छन् ।

जनयुद्धकालपछि शान्ति प्रक्रियामा आएपछिको उपत्यकाका स्रोत साधनमाथि वर्षमान पुनले बेस्सरी कब्जा जमाए । तत्कालीन वाईसीएल, ट्रेड युनियन महासंघसहित उपत्यका पार्टीले गरेको ठूलो आर्थिक उठौतीमा वर्षमान जोडिए । वर्षमानको प्रत्यक्ष नेतृत्वमा जोडिएका, त्यतिवेला आर्थिक उठौतीमा सक्रिय र पुनका एक समयका निकै विश्वासपात्र चन्द्रबहादुर थापा ‘सागर’ उठौती प्रकरणमा मुछिएकाले यतिवेला वदनाम भएर पार्टीबाट अलग्गिएका छन् । विभिन्न शक्ति केन्द्रसँग निकट रहन रुचाउने असाध्यै जातिवादी नेता वर्षमान पुन प्रस्तुतिमा नरम रुप अपनाउँदै पछाडिबाट छुरा हान्ने पात्रका रुपमा राप्तीतिर बढी चर्चा गर्ने गर्छन ।

प्रचण्डको सधैं विश्वासपात्र रहेर उनले सत्ता र पदको केन्द्रमा सदैव रहे । उनी कर्पोरेट मिडियाका सञ्चालक/सम्पादक/रिपोर्टरको निकट रहने, आफ्नो वैकल्पिक मिडिया सदैव चलाएर आफ्नो नकारात्मक छविलाई सधैं उजिल्याउने काम गरे ।

उनी आफू मात्र राजकीय सत्तामा पुगेका छैनन् उनले श्रीमतीलाई सभामुख जस्तो महत्वपूर्ण पदमा समेत पु-याए । वहिनी, भाइसहित धेरैलाई उनले लाभको पद, राजनीतिमा जोडिरहेका छन् ।

सत्ताको निकट सधैं रहेर आफ्नो हितमा लाग्ने भएकाले रातोपाटीले एकपटक उनलाई बिहारका नेता लालु यादवसँग तुलना गर्दै लेखेको विषय धेरैले रोमाञ्चकारी रुपमा स्मरण गर्ने गर्छन । भ्रष्टाचारको मुद्धामा आफू परेपछि लालुले आफ्नी श्रीमती रावडीदेवीलाई मुख्यमन्त्रीमा बनाएको विषयलाई सा-है रोचक रुपमा प्रस्तुत गर्दै रातोपाटीले वर्षमान पुनले ७० को निर्वाचन हारेपछि राजनीतिमा एकदमै कनिस्ठ आफ्नी श्रीमती ओनसरी घर्तीलाई प्रचण्डलाई विश्वासमा लिएर सभामुख बनाएकोमा लालुको सिको गर्दै श्रीमतीलाई माथिल्लो पदमा पु-याएको रातोपाटीको विश्लेषण थियो । रातोपाटीले ओनसरीलाई न्वारान गरेको राबडीदेवी नाम अहिले पनि अनौपचारिक र ब्यंग्य गर्दा धेरैले भन्ने गर्छन ।

अहिले पार्टीमा भइरहेको बहसको ब्यवस्थापनमा सक्रियता देखाएर वर्षमानले सके मन्त्रीमा टिकिरहने नसके फेरि श्रीमतीलाई मन्त्रीको भूमिकामा लैजान खोजेको राजनीतिक बजारमा चर्चा छ ।

प्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई एकछिन सत्ता वाहिर राख्नै नसक्ने ? अनि वर्षमान पुन पनि आफू नभए श्रीमतीलाई सत्तामा नपु-याइ बस्नै नसक्ने ?

अहिले नेकपामा देखिएको बिवाद यस्तै वर्षमान प्रवृत्तिहरूका कारण उव्जेको हो भन्ने तथ्य प्रचण्ड जत्तिका चलाख नेतालाई हेक्का छैन भन्न सकिन्न । प्रचण्डले अब वर्षमान प्रवृत्तिको नभई एकीकृत नेकपाको सर्वमान्य नेता हुनतिर ध्यान दिए यस्ता गलत पात्र र प्रवृत्तिको चंगुलबाट नेकपा मुक्त होला कि ?


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस