Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

नेपाललाई ‘डेडलक’ मा धकेल्ने अघोषित विदेशी गुरुयोजना


सतहमा स्वदेशी र त्यसमा पनि पार्टीभित्रको आन्तरिक जस्तो देखिए पनि नेपालमा राजनीतिक तथा सत्तामा संवैधानिक शून्यता खडा गरेर नेपालमाथि अमेरिकी हैकम जमाउने गरी अहिले सत्तारुढ नेकपाभित्र कलह मच्चाइएको छ । दुई तिहाई बहुमतको वाम सरकारलाई आन्तरिक कलहका कलेवरमा असफल तुल्याएर रणनीतिक रुपमा नेपाललाई ‘इण्डोप्यासिफिक स्ट्राटेजी’ को अङ्ग बनाउने र सोही अनुसार नेपालबाट चीन विरोधी गतिविधि गर्ने नियत अनुसार नेकपाको कलहलाई उत्तेजित र दुर्घटनाउन्मुख बनाउन खोजिदैं छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै तर्फबाट पार्टी फुटाउने गुप्त अभ्यास हुनु, पश्चिमा शक्तिका विश्वासपात्र नेता सुवास नेम्बाङ एमसीसीका कट्टर पक्षपाती काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग भावी सत्ता समिकरणका लागि समेत छलफलमा जुट्नु आदि यसैका उदाहरण हुन ।

अमेरिकाले आईपीएस मार्फत नै भारत र नेपाललाई मुख्य केन्द्र बनाएर चीन घेर्ने दीगो रणनीति अन्र्तगत नै अहिले भारतलाई पनि छिमेकीहरु चीन, नेपाल र पाकिस्तानसँग उत्तेजित सम्बन्धका लागि हौस्याइरहेको छ भने नेपालमा राजनीतिक अस्थिरता जन्माउन अन्तिम कसरत गरिरहको छ । यो अमेरिकी ‘ग्राण्ड डिजाइन’ मा नेकपाको शीर्ष नेतृत्व नै जानी नजानी मतियार बन्ने भुल नै सत्तारुढ नेकपाको समस्याको मूल हो । पार्टी शक्ति पक्षमा सीमा विहीन भएर विभाजित पारिनु, राष्ट्रपति तथा प्रधानमन्त्री जस्ता संस्थालाई विवादित पारिनु नेपाललाई ‘डेडलक’मा धकेल्ने अघोषित विदेशी पूर्व अभ्यासहरु नै हुन ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डबीचको ‘पावर शेयरिङ’ मा हुने नयाँ सहमति अथवा शीर्ष नेताहरुको ‘पोर्टफोलियो’ विवादको निकास निकालेर मात्र सत्तारुढ नेकपाको अहिलेको किचलो साम्य हुने लक्षण देखिदैंन । यो टालटुले प्राविधिक समाधान मात्रै हुनेछ । नीति र विधि प्रधान हुनुपर्ने नेकपाको बहस अहिले जुन रफ्तार र जुन स्तरमा व्यक्ति केन्द्रित र गुटहरुको स्वार्थसिद्धीमा केन्द्रित छ, अन्ततः त्यसले विदेशी शक्ति केन्द्रको चाहना पूरा गर्न मात्रै योगदान दिने अन्यथा त्यो आत्मघाती हुने निश्चित छ ।

कोरोना संक्रमणको तेस्रो स्थानको मुलुक बनिरहेको भारत अहिले छिमेकीहरु चीन, नेपाल र पाकिस्तानसँग बमौसमी र निरर्थक सीमा विवादमा उल्झन विवस हुनुको भित्री कारण त्यहाँ पनि अमेरिकी आईपीएस नीतिको प्रभाव र परिणाम हो भन्ने तथ्य भारतकै वुद्धिजीवी र विश्लेषकहरुले सार्वजनिक गरिरहेका छन् । भारतलाई समस्या खडा गर्न लगाउने र मध्यस्थता वा समाधानको सेतु बनेर आफ्नो आईपीस रणनीति पूरा गर्न हावी हुँदै जाने नियतका साथ अमेरिकीहरु भारतलाई पनि आन्तरिक रुपमा छिमेकीहरुप्रति निर्दयी बन्न निरन्तर उक्साइरहेका छन् ।

भारतको सत्ता नेतृत्वमा रहेका चलाख प्रधानमन्त्री नरेन्द्र मोदीले यो अमेरिकी षडयन्त्र बुझ्न ढिलाइ गरेकै कारण भारतले गलवान भ्यालीमा दुई साताअघि आफ्ना २० सुरक्षाफौजको निरर्थक बलिदानी चढाउन वाध्य हुनु परेको छ । काश्मिर निलेपछि भारत पाकिस्तान सम्बन्ध थप कटुुतापूर्ण हुँदै गएको छ भने नेपालको नयाँ नक्सालाई अस्वीकार गरेर भारतले नेपालसँगको सम्बन्धलाई पनि संकटमा धकेल्दै लगेको छ ।

यसप्रकारको विषय अन्तर्राष्ट्रिय परिस्थितिको ताजा आलोकमा सत्तारुढ नेकपाले नेपाललाई कसरी विदेशी र खासगरी अमेरिकीहरुले आफ्नो स्वार्थसिद्धिको रणमैदान बनाउँदैछन भन्ने सत्यतथ्य बुझन ढिलाइ गर्न हुँदैन । सरकारले कोरोना महामारीका बीच जनतालाई राहत दिन नसकेको, संक्रमणबाट जनता जोगाउन नसकेको, लोकतान्त्रिक मूल्य मान्यता र भावना अनुरुप सुशासन दिन नसकेको नाङ्गो सत्य हो । सरकारले राष्ट्रिय स्वाधीनतामाथि नै विदेशीको आँखा लागेको यो विशेष बेलामा घरेलु एकतालाई थप बलियो पारेर विदेशी षडयन्त्र विरुद्ध पूर्ण सुझबुझका साथ बृहत राष्ट्रिय एकताका साथ लडनुपर्नेमा आन्तरिक कलहमा शक्ति खर्च गर्नु पार्टी, देश, जनता सबैका लागि दुःखद बिडम्वना नै हो ।

नेतृत्वको शासकीय र व्यक्तिगत महत्वाकाङ्क्षा पूर्तिका लागि पार्टी र सरकारलाई दुरुपयोग गर्ने र पार्टी एकतालाई कमजोर वा विभाजनउन्मुख बनाउने दृश्य वा अदृश्य जे जस्ता हर्कतहरु भइरहेका छन, ती सबै आफ्नो घर खरानी बनाएर विदेशी प्रभुको सेवा गर्ने मुर्खतापूर्ण हर्कतहरु मात्र हुन ।

सरकार वा पार्टीले आन्तरिक एकतालाई बलियो पारेर विदेशी षडयन्त्रलाई परास्त गर्नुको विकल्प नै छैन । यसका लागि सरकारमा रहनेहरुदेखि दुबै अध्यक्ष र शीर्ष नेताहरुले पहिले आफूहरु नै विधि र नीतिमा फर्कने अनि मुद्धामा केन्द्रित रहेर निकासका लागि उदारताका साथ अग्रसर हुन आवश्यक छ ।

शीर्ष नेतृत्व र नेताहरुको निजी स्वार्थ र महत्वाकाङ्क्षा भन्दा ठूलो र महत्वपूर्ण कुरा राष्ट्रिय स्वाधीनताको रक्षा र विदेशी खेल मैदान हुनबाट नेपाललाई बचाउनु नै हो । यसका लागि नेकपाका विवादित दुवै पक्ष एक कदम पछाडि र दुई कदम सँगसँगै अगाडि बढ्न तत्पर हुनैपर्छ । नेतृत्वमाथिको जनआकाङ्क्षा र सदिच्छा पनि त्यही नै हो । जारी विवादको अन्त्यको सर्वस्वीकार्य उपाय पनि त्यही नै हो । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट