Techie IT
×
गृहपृष्ठबिचारनेकपाको बहस : गुटको सुदृढीकरण कि पार्टी निर्माण र समाजवाद गन्तव्य ?

नेकपाको बहस : गुटको सुदृढीकरण कि पार्टी निर्माण र समाजवाद गन्तव्य ?


झिल्को टिप्पणी

लक्ष्य समाजवादको, काम निरन्तर गुटवन्दी सदृढीकरणको । सरकार नेकपाको, तर सरकार संचालनमा दलाल नोकरशाही मुठ्ठीभर पुँजीपति वर्गको हालीमुहाली । पार्टीको नाम, आफू खुसी र आफ्नो स्वार्थ केन्द्रीत काम, व्यवहार र शैली शीर्ष नेतृत्वको । पार्टी विधान र पद्धति एकातिर, आफ्नो मनोगत निर्णय शैली अर्कोतिर । यस्तै, यस्तै हजार बिकृतिहरुको बिस्कुन बनेर सत्तारुढ नेकपा अहिले एकताको निरन्तरता कि विभाजनको उल्टो बाटो भन्ने तहमा आइपुगेको छ । निश्चय नै यो अवस्था नेकपाको समाजवादी यात्रा पार गर्न र जनादेशको सम्मानको लागि हानिकारक सिद्ध भएको छ । तर, पनि तीतो यथार्थ यही हो ।

तसर्थ, अब वर्तमान संकटको अवस्थालाई चिर्न र समाजवादउन्मुख सत्ता यात्रा कायम राख्न, पार्टी एकताको भविष्य निश्चित गन्तव्यमा पु-याउन र जनताले दिएको दुई तिहाईको बहुमतको सम्मान र कदर गर्न अहिले नेकपाको शीर्ष नेतृत्वले आफैमा आमूल सुधार र परिमार्जनको मूलबाटोमा हिड्न तत्पर हुनु नै निर्विकल्प उपाय हो ।

कमीकमजोरी र भुलहरु मुलतः शीर्ष नेतृत्वबाटै हुँदै आए । त्यसको अन्तिम प्रकटीकरण नै अहिलेको व्यक्तिप्रधान विवाद र आरोप प्रत्यारोपको घृणित श्रृङ्खला हो । अहिले पनि पार्टी एकताताको मूल सहमतिको जगमा उभिएर मूल नेतृत्वले आआफ्ना कमी कमजोरीहरलाई स्वीकार गरेर सुध्रिने प्रतिवद्धता गर्ने हो भने नेकपाले कुनै पनि दुर्घटनाबाट बचेर देश र जनताको सेवा गर्न सक्छ ।

मुलतः दुई पार्टी अध्यक्ष केपी ओली र प्रचण्डकै काँधमा छ, पार्टी एकता जोगाउने र सरकारलाई सफल बनाउने कार्य लक्ष्यमा सिंगो पार्टी र सरकारलाई मात्रै होइन, देशलाई नै डो-याउने जिम्मेवारी अहिले पनि । तर यसका लागि आआफ्ना तहबाट भएका हर कमजोरलाई आत्मसात गरेर आफै पहिले सुध्रिने इमान दुई अध्यक्षहरुमा हुनु नै पर्छ । नेकपा एमाले ब्युँताउने वा आआफ्नो शक्ति देखाइदिने अभ्यासले अन्ततः सबै कुरालाई, सबै पक्षलाई पतन गराउँछ भन्ने तथ्य दुई अध्यक्षलाई ख्याल भएकै हुनुपर्छ । दुई अध्यक्षको व्यवस्थापनमा नेकपाले एकतापछिको समय खर्चिनु नै नेकपा काम कुरो एकातिर, बिबाद झिकी बिघटनतिर जाने उल्टो गति र मति यस बीचमा देखियो । यसको अन्त्य नै अहिलेको ज्वलन्त आवश्यकता हो ।

अहिलेसम्म दुई अध्यक्षले पार्टीमा तेरो मेरो गरेकै परिणाम हो कि पार्टी विधि, पद्धति र नीति अनुसार चल्न सकेन भने सरकार पार्टीको घोषणा पत्र अनुसार अघि बढ्न सकेन । तर, यसको निकास फेरि पनि नयाँ परिस्थितिमा नयाँ सहमति र नयाँ एकता नै हो । पार्टी विधानको पालनमा पहिले दुई अध्यक्षहरुको उदाहरणीय भूमिका देखियो भने धेरै समस्याहरु आफै समाधान हुँदै जाने निश्चित छ ।

निश्चिय नै दुई अध्यक्षात्मक प्रणाली नेकपाको एकीकृत पार्टी जीवनमा पहिलो प्रयोग थियो । यो व्यावहारिक रुपमा सफल भएन । यसकारण अब पार्टीमा दुई अध्यक्षको या त विकल्प खोज्नु प-यो या यही व्यवस्थामा हालसम्म देखिएका कमीकमजोरीहरु सुधारेर नयाँ ढंगले जिम्मेवारी किटान र परिभाषित गरिनु प-यो । यसअघि प्रचण्डलाई कार्यकारी अध्यक्ष र ओलीलाई सरकार प्रमुखका रुपमा तोकिएका जिम्मेवारीहरु किन कार्यान्वयन भएन् ? कसका कारण ती सहमतिहरु तुहिए भन्ने मिहिन समीक्षा जारी स्थायी समिति वैठकबाटै खोजेर त्यसलाई आगामी केन्द्रीय समिति वैठकबाट अनुमोदन र कार्यान्वयन गरिनु प-यो ।

दुई अध्यक्ष वीचको आलोपालो सरकारको नेतृत्वमा प्रचण्डले ‘वाकओभर’ दिएपछि पनि पार्टीमा उनको कार्यकारी भूमिका उनले नै देखाउन नसकेका हुन कि उनलाई अर्का अध्यक्ष ओलीको सहयोग नभएको हो भन्ने कुरा खुल्ला रुपमा समीक्षा हुन आवश्यक छ । यसमा जसको दोष वा कमजोरी बढी छ, उसैले सुधार गर्न तयार हुनु प-यो ।

यसबीचमा पार्टी विधान संशोधन गरेर नेता वामदेव गौतमलाई वरिष्ठ उपाध्यक्ष बनाउनेदेखि संगठन बिभाग प्रमुख बनाउँदा पनि उनको महत्वाकाँक्षाको व्यवस्थापन र सम्वोधन हुन सकेन । न संगठन बलियो भयो, न त पार्टी काममा नयाँ गति आयो । झन राष्ट्रिय सभामा गएर प्रधानमन्त्री हुने दौडमा वामदेवको महत्वाकाँक्षा बढेर जादा शीर्ष नेतृत्वबीच शक्तिको होडबाजी बढेर गयो । दुई अध्यक्षपछि वामदेवको व्यवस्थापनमा नेकपाको शक्ति खर्च भइरहनु नै पार्टीको लागि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भयो ।

यसले के देखाउँछ भने नेकपाले अब व्यक्तिको महत्वाकांक्षाको व्यवस्थापन होइन, नीति र विधिको कडाइपूर्वक कार्यान्यनमा जानुपर्छ । नेकपाले नेताको व्यवस्थापनका नाममा अब पनि पार्टी विधान मिच्ने र शीर्ष नेतृत्वले मनमौजी गर्ने प्रवृत्तिलाई समुल अन्त्य गर्न सक्नुपर्छ । यसमा भोलि होइन, आज , आज हैन अहिल्यै अघि बढ्न नेकपा तयार हुनुपर्छ ।

नेकपामा एक पद एक जिम्मेवारीको विधि अब कार्यान्वयनमा जानैपर्छ । वरिष्ठ नेता माधव नेपालले उठाएको भनेर यो मागलाई दुई अध्यक्ष ओली र प्रचण्डले इन्कार गर्ने वा आफूलाई सजिलो हुने गरी मात्रै मौसमी व्याख्या गर्ने वर्तमान शैली र अभ्यासमा क्रमभंग र पूर्णबिराम लगाउनै पर्छ ।

अब ओली र प्रचण्डले नै एक पद एक जिम्मेवारीको उदाहरण देखाएर मातहतका नेता र कार्यकर्तालाई नयाँ सन्देश दिन सक्नुपर्छ । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक ओलीले रोज्नुपर्छ । प्रचण्डका हकमा पनि त्यही विधि लागू हुनुपर्छ । वामदेवलाई पार्टीले संगठन बिभाग र उपाध्यक्ष बनाइ सकेपछि उनले अब सरकार ताक्ने र सरकारमा जान मात्रै गुट बदल्ने र चलखेल गर्ने प्रवृति अन्त्य गर्नैपर्छ ।

सरकारमा पनि पार्टीमा पनि द्वैध कार्यकारी जिम्मेवारीमा रहेकाहरुलाई पार्टी कि सरकार भनेर एकातिर मात्र जिम्मेवारी दिनुपर्छ । केन्द्रदेखि वडा तहसम्म यो विधि कडाईका साथ लागू गर्नु पर्छ ।

अब पार्टी कमिटी र सत्ताका हरेक पदहरुमा सम्मानजनक सहभागिताका लागि जिम्मेवारी बाँडफाँडमा पनि नयाँ सहमति र प्रतिवद्धता आवश्यक छ । यसमा विधिप्रधान र क्षमताका आधारमा पुनर्समीक्षा र सुधार आवश्यक छ । आफू इतर गुटलाई पेल्ने र भित्तामा नै पु-याउने वर्तमान शैलीमा पनि व्रेक आवश्यक छ । केपी ओलीले मात्र होइन सकेको ठाउँमा अरुले पनि आफ्नो गुटको सुदृढीकरणका लागि गरेकै छन् । दुई अध्यक्ष लगायत सबै शीर्ष, वरिष्ठ नेताहरुदेखि केन्द्रीय, क्षेत्रीय, जिल्ला र गाउँ र वडा स्तरका नेताहरुलाई नेतृत्व क्षमता र उसको योगदानका आधारमा नयाँ जिम्मेवारीहरु दिनु पर्छ ।

दुई अध्यक्षले नैै गुटवन्दीको सुदृढीकरणमा शक्ति खर्च गर्न त्याग्ने हो भने पार्टी स्वतः विधिमा फर्कन्छ । विधि अनुसार दुई अध्यक्ष आफै एक एक जिम्मेवारीमा काविल र उदाहरणीय बन्ने हो भने अहिलेका धेरै समस्या आफै समाधान भएर जान्छन् । यसमा कमीकमजोरी तेरा धेरै, मेरा छैनन भन्ने सवाल हुँदैन । गुण दोषका आधारमा अब सबैले आफै सच्चिनु र अघि बढ्नुपर्छ ।

नेकपाको गठन दुई पार्टीको स्वेच्छाले, आम कार्यकर्ताको सदिच्छाले संभव भएको हो र त्यसलाई आम चुनाव मार्फत जनताले अनुमोदन गरेका हुन् । अहिले ओलीले सत्ताशक्तिको दुरुपयोग गरेर वा ओली इतर समूहले उग्र विरोध गरेर पार्टी एकता भंग गर्ने दुस्साहस देखाएमा त्यो उनीहरुकै लागि आत्मघाती हुने निश्चित छ । त्यसले नेकपामाथि जनताले गरेको विश्वासमाथि नै कुठाराघात हुनेछ । त्यसैले पार्टी एकताको मर्म र भावना तथा जनादेशको सम्मान गर्दै नयाँ परिस्थितिमा नयाँ जिम्मेवारी र भूमिकामा दुई अध्यक्षदेखि सबै शीर्ष नेता र नेकपा फर्कनु नै विद्यमान संकटको समाधान हो । अरु सबै प्रयत्नहरु घर जलाएर खरानीको न्यानो ताप्ने मुर्खता शिवाय केही हुने छैन ।

यो पनि पढ्नुहोस, पार्टी एकता जोगाउन सबैको अर्जुनदृष्टि पुगोस


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस