Techie IT
×
गृहपृष्ठबिचारजसपामा सत्तारोहणको हुटहुटी

जसपामा सत्तारोहणको हुटहुटी


वि.सं २००८ सालमा कुलानन्द झा, वेदानन्द झा, बाबा रामजनम तिवारीले तराई कांग्रेस पार्टी गठन गरेका थिए । मधेस मुलका समुदायमात्र संगठित भएको यो पहिलो पार्टी थियो । त्यसयता मधेससम्बद्ध वा मधेसकेन्द्रित कैयौं दल बने, भत्किए । अनेकौं पटक गठन, पुनर्गठन, विघटन, विभाजन भए । ०६३ पछि गठीत मधेससम्बद्ध दलको गठन विघटनको कथा त्यत्तिकै लामो हुन्छ । मधेससम्बद्ध शसस्त्र समूह गनेर साध्य थिएन । शसस्त्र समूह मध्ये यतिबेला जयकृष्ण गोइत समूहको मात्र यदाकदा उपस्थिति देखिन्छ ।

सद्भावनाले हिजो पनि भाषा र भेष कै कुरा गरेर मधेसलाइ मत भण्डारको रुपमामात्र दशकौं प्रयोग गर्यो । कांग्रेसले त त्यति पनि गरेन । यसर्थ कांग्रेस र सदभावनाको पाठशालामा दिक्षित मधेस मामिलाका कथित जिम्दार ‘ठाकुर’, गोठालो ‘महतो’ र खजाञ्ची कर्ण (कायस्थ)हरुले संसदको गणितमा सत्ताको मोलतोल गरिरहेका छन् । यसकालागि संविधान संशोधन र रेशम चौधरीको मुद्धा अगाडि सारेका छन् । समाधान गर्ने होइन सत्तामा चढ्ने भरेङ तयार गरेका छन् ।

गजेन्द्रनारायण सिंहले पञ्चायतकाल मै गठन गरेका सद्भावना परिषद पछि सद्भावना पार्टी पनि दर्जनौं पटक विभाजित भयो । पार्टीको नाम पछाडि लोकतान्त्रिक, प्रजातान्त्रिक फुर्कोले पनि नपुगेर नेता कै नाम जोडिएको टुक्राटुक्रामा मधेससम्बद्ध दल विभाजित भए । बहुदलीय व्यवस्थाको कालखण्डमा सद्भावनाले पदेन पाउने ‘आपूर्ति र वाणिज्य मन्त्रालय’ कै कारण पनि सद्भावनामा विभाजनको विउ छरिदियो । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सँग एकता गरेर राष्ट्रिय जनता पार्टी (राजपा) बन्नु अघिसम्म पनि यस्का टुक्राहरु छँदै थिए । राजेन्द्र महतो, अनिल झा, खुसीलाल यादव, आनन्ददेवी, सरिता गिरीका नाममा । अझैपनि एउटा समूहले सद्भावना पार्टी राजेन्द्रप्रसाद सिंहको नेतृत्वमा राजपाबाट असन्तुष्ट समूहले पुनर्गठन गरेका छन् । राजपा हुँदै जसै एकवर्ष अघि समाजवादी फोरमसँग एकीकरण गरेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर, जसपा संस्थागत नहुँदै यो पार्टी फेरी चर्केको छ । तर, विचार आदिको कारण होइन सत्ता साझेदारीको मोलतोलमा ।

तराई कांग्रेसको कार्यसूची :

तत्कालीन तराई कांग्रेसले राजनैतिक कार्यसूची तय गरेको थियो । तराई स्वायत्त राज्य, हिन्दी भाषा, क्षेत्रीय भाषा, सूरक्षा निकायमा मधेसी पहुँच आदि विषयलाई समेटेर । तराई कांग्रेसको यी कार्यसूचीले राजनैतिक माहोल नपाउँदै यसका नेता बेदानन्द झाले राजा महेन्द्रसँग सोलसुलह गरे । झा पञ्चायतमा प्रवेश गरे । यदाकदा यो पार्टीले तराइको स्वायत्तता संयुक्त राष्ट्र संघको रोहबरमा जनमतमार्फत संस्थागत गर्ने कुरा पनि उठाउने गरेको थियो । नागरिकताको सवाल भने त्यति उठाएको थिएन । सिके राउतको जनमत पार्टीले यसैको प्रतिलिपी उतार गरेको हुनसक्छ । तर, राउतको जनमत पार्टीलाई तराइको जनमतले स्वीकारेको छैन ।

तराई काँग्रेसको मधेसलाई संघीय संरचनामा लैजाने यो प्रारम्भिक प्रस्ताव थियो । आजभन्दा करिव ७० वर्ष अघिको यो प्रस्तावले अझै पूर्णता पाएको त छैन । तर, ०७२ को संविधानमा प्रदेश नं.२ को व्यवस्थाले तराई स्वायत्तताको क्षितिज भने देखाएको छ । त्यहाँ मधेससम्बद्ध दलको प्रदेश सरकार छ । देशको राजनैतिक समस्याको समाधान गर्न यसका राजनैतिक तथा प्रशासनिक इकाईको व्यवस्था गर्न यतिका दशक लाग्नु चैं बिडम्बना नै हो । अझ संघीय संरचनाकै विरोधमा गोयबल्स शैलीको प्रचार हुनु झनै दुःखलाग्दो हो ।

मधेस मामिला :

मधेसको मामिला जनाकारका लागि सम्बेदनशील विषय हो । समझदारलाई इसारा नै काफी छ भने जस्तै । मधेस सम्बन्धको पहिलो मामिला आन्तरिक राष्ट्रियतासंग सम्बन्धित छ । असमान सुगौली सन्धिदेखि नेपाल भारत शान्ति तथा मैत्री सन्धि सम्बन्धको पेटबोलीमा मधेस र मधेसीको राष्ट्रियता धरापमा परेको हो । पछिल्लो असमान मैत्री सन्धिले मधेसीसम्बन्धमा बोलेकै कारण समस्या आएको हो । दोस्रो मधेस मामिला आन्तरिक उत्पीडनको सिकारमा परेको हो । तेस्रो राजनैतिक प्रशासनिक इकाइको स्वायत्तताको प्रश्न हो । पञ्चायतकालीन स्थानीय निकायलाई बहुदलकालीन प्रजातान्त्रिक अभ्यासमा निरन्तरता दिइयो । कमसेकम राजनैतिक प्रशासनिक संरचनालाइसम्म पुनसंरचना गरेको भए स्थिति धेरै विकास भैसकेको हुने थियो ।

संघीयता : मधेसको सामुदायिक प्रतिबद्धता :

मधेसले ऐतिहासिक कालखण्डदेखि नै संघीयताको अभ्यास गरेको थियो । विदेह गणराज्यको शासक ‘कराल’ विरुद्ध जनविद्रोह भएपछि लिच्छवी गणराज्य स्थापना भयो । त्यसपछि लिच्छवीसहितको समायोजनमा बज्जी महासंघ बन्यो । मधेसको यो नै पहिलो संघीय राज्य हो । सम्भवतः विश्वकै पनि पहिलो संघीय संरचनासहीतको गणतन्त्र हुनुपर्छ । यसर्थ प्राग ऐतिहासिक कालखण्डदेखि नै मधेसले संघीयताको अभ्यास गरेको थियो । यो संघीय गणतन्त्रको विस्तार र विकास हुँदै जाँदा कालान्तरमा यसै राज्यलाई लिच्छवी नामले चिनियो । सम्भवतः बौद्ध इतिहासमा लिच्छबी गणराज्यलाई ‘महाजनपद गणराज्य’ यसै राज्यलाई भनेको हुनुपर्छ । लिच्छवी गणराज्यको विकास र समृद्धिमा मगध शासकले हमला गरिरहे । करिव १६ वर्ष लामो युद्धपछि बज्जी महासंघको पराजय भयो ।

नेपाललाई संघीय संरचनामा लैजाने विद्रोहहरुमा मधेस र मधेसीको प्रतिबद्धता त्यही ऐतिहासिक विरासतको निरन्तरता हो । पहिलो र दोस्रो मधेस विद्रोहले मधेसको स्वायत्ततालाई मात्रै स्थापित गरेन अपितु मुलुकलाई नै संघीय संरचनामा लैजाने मार्ग प्रशस्त गर्यो । भलै यो संघीय संरचनाको अपुर्णता त छँदैछ । यसर्थ संघीयताको विपक्षमा झुसिलो डकार निकाल्नेहरुले यो संवेदनशिलतालाई नकारेर जान सक्ने स्थिति छैन ।

तराई कांग्रेसको निरन्तरता

संघीय समाजवादी फोरम र राजपाको एकीकरण पछि बनेको जसपामा अहिले वेदानन्द भाइरसबाट संक्रमित भएको छ । जसपाको पूर्व घटक राजपा केही अमूर्त र ओली सरकार वा ओली गुटको एमालेले पुरा गर्न नसक्ने मुद्धाको सिरानी हालेर सत्तारोहणको प्रयासमा छ । पूर्व कांग्रेसी र सदभावना पृष्ठभूमि बोकेका राजपाले जसपालाई तराई काँग्रेस पथमै हिँडाउने सम्भावना त्यत्तिकै छ । सद्भावनाले हिजो पनि भाषा र भेष कै कुरा गरेर मधेसलाइ मत भण्डारको रुपमामात्र दशकौं प्रयोग गर्यो । कांग्रेसले त त्यति पनि गरेन । यसर्थ कांग्रेस र सदभावनाको पाठशालामा दिक्षित मधेस मामिलाका कथित जिम्दार ‘ठाकुर’, गोठालो ‘महतो’ र खजाञ्ची कर्ण (कायस्थ)हरुले संसदको गणितमा सत्ताको मोलतोल गरिरहेका छन् । यसकालागि संविधान संशोधन र रेशम चौधरीको मुद्धा अगाडि सारेका छन् । समाधान गर्ने होइन सत्तामा चढ्ने भरेङ तयार गरेका छन् ।

काकताली नै मान्नु पर्छ ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’का सिद्धान्तकार राजा महेन्द्र र केपी शर्मा ओलीको नश्लमात्र एउटै छैन सैद्धान्तिक भाष्य पनि मिल्छ । लोकतन्त्र, संघीयता, गणतन्त्रको आन्दोलनको विपक्षमा रहेका ओली राजा महेन्द्रको पछिल्लो अवतार हुन् । महेन्द्रीय राष्ट्रवाद र ओलीको राष्ट्रवादमा रत्तिभर फरक छैन । महेन्द्रले पनि पञ्चायतको राजनैतिक उत्पादन नहुँदा कांग्रेस, कम्युनिस्टबाट कार्यकर्ता आयात गर्दथे । ओलीको राष्ट्रवाद थेग्नलाई पनि यस्तै पार्टीका उत्पादनहरु आयात गर्न बाध्य छन् । आफ्नो पार्टीको उत्पादनलाई स्याहार नगर्दा यस्तै आयातमा भर पर्नु पर्ने हुन्छ ।

केही समय अगाडि सिके राउत र भर्खरै विप्लव नेतृत्वलाई शान्ति प्रक्रियामा ल्याएर लोकप्रिय हुन खोजे । तर यी दुई दलको संसदमा उपस्थिति छैन । यसर्थ संसदको कमजोर कडी जसपा भित्रको राजपालाई आयात गरेर काम चलाउने भगिरथ प्रयत्न ओलीले गरिरहेका छन । जसपाको राजपा पनि मधेस मामिलामा मुहार सुरक्षित गरेर सरकारमा जान खुट्टो उचालेर बसेको छ । बालुवाटारमा पानी पँधेरो धावा यसैको निम्ति हो । कुनै पनि बेला तराई कांग्रेस र बेदानन्द हुन आतुर छ । कथंकदाचित पूर्व राजपा सत्तारुढ भएन भने मधेस मामिलामा मुहार सुरक्षित गर्ने सहमति नभएको मान्नु पर्छ । त्यतिबेला नेपाली राजनीतिमा अर्को आश्चर्य हुनेछ ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)