Techie IT
×
गृहपृष्ठबिचारपार्टी एकता जोगाउन सबैको अर्जुनदृष्टि पुगोस

पार्टी एकता जोगाउन सबैको अर्जुनदृष्टि पुगोस


झिल्को टिप्पणी

शीर्ष नेतृत्वको व्यक्तिगत र प्रवृत्तिगत कमीकमजोरीका कारणहरुले सत्तारुढ नेकपाको वर्तमान विवाद सतहमा आइपुगेको भए पनि यसको समाधान अब राजनीतिक रुपमा नै गर्नुपर्छ । अहिले पार्टी एकता जोगाउने र सरकारलाई जनमुखी बनाउने बाहेक नेकपाका कुनै पनि नेता कार्यकर्ताको उद्देश्य हुनै सक्दैन । त्यसका लागि पार्टी एकताको जगमा उभिएर शीर्ष नेतृत्वले मुलतः दुई अध्यक्ष केपी ओली र प्रचण्डले विवेकसम्मत निर्णय क्षमता देखाउन सक्नुपर्छ ।

अहिले पार्टीको विधान वा बहुमत अल्पमतको निर्णय वा सत्ता शक्तिको दम्भ देखाउने तुजुकबाट निर्णय नगरी राजनीतिक समाधानका लागि कार्यकर्ता पङ्क्तिबाट दबाब र नेतृत्व पंक्तिबाट अग्रसरता हुनु आवश्यक छ । जारी स्थायी समिति वैठकले सबैलाई ‘विन विन’ हुने खालको समाधान निकाल्न सक्नुपर्छ । पार्टी एकता जोगाउने शर्तमा त्याग गर्न नेताहरु हदैसम्म लचक हुन सक्नुपर्छ ।

राजनीतिक समाधान खोज्ने क्रममा बिगतका सहमतिहरु कार्यान्वयन गर्ने वा नयाँ आधारमा नयाँ सहमति कायम गरेर पार्टीलाई एकतावद्ध बनाउने दिशातिर नै सबै नेताहरुको ध्यान केन्द्रित हुनुपर्छ । अहिले नीतिगत रुपमा नयाँ सहमति कायम गरेर जाँदा नै पार्टी एकता पनि बलियो हुनेछ भने जनादेशको पनि पार्टीले उच्च सम्मान गरेको ठहर्नेछ । यसका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्न तयार हुनुपर्छ ।

दुई पार्टीको एकता सहमतिमा भएको हो । एकता महाधिवशेनसम्म सहमतीय आधारमा नै अघि बढ्ने नै पूर्व सहमति हो । सरकार र पार्टी संचालनमा पनि दुई अध्यक्षहरुले सहमति गरेर नै अघि बढ्ने समझदारी भएकै हो । अब अहिले सहमति बेगर नै आआफ्नो ढंगले दुई अध्यक्षले अघि बढ्नु भनेको पार्टी विभाजन नै हो, जुन गलत हुनेछ । जनादेशको पनि अपमान हुनेछ । यो गल्ती अहिले कुनै पनि पक्षबाट हुनुहुन्न ।

सरकारको स्थायित्व र पार्टी एकताको मजबुतीकरणका लागि योगदान गर्ने नै काविल नेता र नेतृत्व साबित हुने हो । अहिले हतारमा पार्टी बिभाजन हुने कदम चालेर भोलि पछुताउने फुर्सद लिनेतिर कोही पनि अग्रसर हुनु त के सोच्न पनि हुँदैन । विगतका टुटफुटबाट सबैले सबक सिक्न सक्नुपर्छ ।

पार्टीको निर्देशनमा सरकार चल्ने र दुई अध्यक्षको कार्यबिभाजन तथा जिम्मेवारी उहाँहरुको आपसी समझदारी र पार्टीको निर्णय पद्धतिबाट स्थापित गरी अघि बढनुमा नै सबैको हित हुन्छ भनेर पार्टीका सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को अथक प्रयास रहेको छ । यतिवेला पार्टीका धेरै नेताको मत त्यही खालले विकास भएको छ । अहिले सरकारको नेतृत्व आलोपालो गर्ने कि नगर्ने भन्ने कुरा पनि दुई अध्यक्षले आपसी समझदारीबाटै टुंग्याउँदा हुन्छ ।

यतिवेला एक व्यक्ति एक पद आवश्यक छ र त्यसो गर्दा पार्टी र सरकारलाई नै सहज हुन्छ । यसमा कसैले फरक मत राख्न आवश्यक छैन । सरकार प्रमुख वा पार्टी अध्यक्ष एकमा सीमित हुँदा प्रधानमन्त्रीको पद र कद घट्दैन । यसमा उनी लचक र उदार बन्दै एकता जोगाउन र लक्ष्यमा सफल हुन तयार हुनुपर्छ ।

पार्टी एकतापछिका धेरै निर्णयहरु राजनीतिक निकासका लागि नै नेकपाले गर्दै आएको छ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय होस वा अन्य निर्णयहरु राजनीतिक समाधानका लागि खोजिएका विकल्पहरु थिए । पार्टी विधान अन्तरिम हो र त्यो महाधिवशेनसम्मका लागि हो । अहिले अन्तरिमकालमा पार्टी एकता समृद्ध बनाउने गरी मात्रै समस्याका समाधानहरु निकालिनु पर्छ ।

प्रधानमन्त्री ओलीले पनि पार्टी निर्णय मान्दिन भन्न पाउँदैनन् भने अन्य नेताहरुले पनि ‘मेरो गोरुको बा-है टक्का’ गर्न मिल्दैन । पार्टी बलियो हुने र सरकार प्रभावशाली हुने गरी नेकपाको निर्णय हुन सक्नुपर्छ । जारी स्थायी समिति वैठकले यही रोडम्यापमा समाधान खोज्नुपर्छ र आवश्यक परेमा केन्द्रीय समिति वैठक बोलाएर त्यसलाई संस्थागत र वैधानिक बनाउन सक्नुपर्छ । आफू खुशी अघि बढ्ने प्रवृत्तिमा अब रोक लाग्नुपर्छ । पार्टी संस्थागत निर्णय पद्धतिमा अघि बढनुपर्छ ।

प्रधानमन्त्रीले पार्टीलाई छल्ने, भाग्ने वा अवज्ञा गर्ने प्रवृत्तिले अन्ततः सरकारलाई कमजोर बनाउँछ । प्रधानमन्त्री विरुद्ध वा प्रधानमन्त्रीका पक्षमा हुने अतिवादी समर्थन वा विरोधले पनि पार्टी एकता सुदृढ हुँदैन । अहिले पक्ष विपक्षमा कित्ताबाट नगरी पार्टी एकता बलियो पार्नमा नै सबैको अर्जुनदृष्टि हुनुपर्छ । उल्टो बाटो हिंड्ने र शक्ति देखाइदिने हैसियत सबैको आआफ्नै स्तरको होला तर त्यो आत्मघाती हुनेछ । यसमा शीर्ष नेतृत्वको ध्यान जान सकोस भन्ने नै आम नेकपा कार्यकर्ता र शुभेच्छुक पंक्तिको कामना हो ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस