Techie IT
×
गृहपृष्ठबिचारजैविक विविधताका कथा र व्यथा

जैविक विविधताका कथा र व्यथा


(क) गाँऊको जैविक विविधताको कथा : 

खोला फर्काएपछि माछा लठ्ठ पार्न पिरपिरे झार कुटेर पानीमा मिलाउँदै कुरमा पसेका माछा समेत पर्लक्क पर्लक्क पल्टिदैं बाहिर निस्कँदा माछा खोस्न आउने गगँटाका चिम्टे नंग्रा निमोठदै बँुदुने–झिङ्गे–कत्ले–हिले माछा मारेको सम्झना छ । धागाभन्दा मसिना, गड्यौलजति लामा, मासुमात्र भएका साना साना सलबलाउने जीवहरु पनि पन्छाँउदै चिसो जरुवा पानी अँजुलीले पिएको अस्ति जस्तो लाग्छ ।

अशारको छुट्टीमा गोठालासँग गाई चराउन बनमा जाँदा पुरुनी–बिराली–टुनी–काँइयो–स्याँओली–गायो–गुँराश–सिँदुरे–अर्चल–सतिबयर–भलायो–भोर्ला–साल–लामपाते–सल्लाउ एवं धुपीसल्लाका स्याउला र डाले घाँसका मुठाहरु बाँधेको र ठूली पोखरिको चारसय बर्षभन्दा पुरानो पिपलको रुख पनि बिर्सिएको छैन । गिठ्ठा,भ्याकूर,बनकाँक्री–खँन्यू–फँडिर–बडर–कोइरालो खानपाउँदा वेग्लै मजा थियो । ढुकुर–कालिज–हुचिल–बिऊ कुह्यो तथा काफल पाक्यो भन्ने चरा–कोइली–मयुर–मलेवा–लुइँचेका स्वर चिरविर सुन्दै मलसाँप्रो–दुम्सी–व्वाँसो–मृग–स्याल–चितुवा–बनढाडे––राता सेता बाँदर–सिरीसे सर्प–बोहोरो लखेट्दा होस वा सुनकोशीको बाढीबाट भौतारिएर सुनकोशी दोभानमा मिसिने गाऊँको घोकशिला खोलामा उभौली लाग्दै आएर खोलाको वगरमा पछारिएको गूँज माछा बोक्न ऐन बहादुर घर्तीले डोकै खोज्नु परेको रोमाञ्चित घटनाहरु अझै आँखा अघिल्तिर नाँचिरहेका छन् ।

पैतालिस साल अघि विराटनगर बसाँइ जाँदा खन्ने खर्कमा जुकाले टोकेको र अल्लोले पोलेर चिच्याएको मात्रै होइन सोला भञ्ज्याङ्गमा भालुले लखेटेको कथा सुनीसकेको आफूलाई पनि भालु आएमा ओरालो दौडनुपर्छ भन्ने हेक्का भै तयारी अवस्थामा सर्तक भएर भद्रकालीबाट सोझै ओरालो झरेर चियाबारी मल्ल गाँऊ हूदै जीप चढन् सिन्धुली पुग्दा सवै डर दुख हराइसकेको क्षणको सम्झना ताजै छ । पुर्खाहरु कास्कीको पुम्दीबाट सिन्धुलीको घोकशिलामा बसाँई सरेर आउँदा मकवानपुर एवं हरिहरपुर गढी लगायत गडतिर र पहाडको बाटोमा जति थरिका जविजन्तु बनस्पति भेटे–देखे–धपाए लगभग आफुले पनि त्यती त भेटीयो देखियो र भोगीयो ।

गत चैत्र ८ गते ‘बन र जैविक विविधता’ नाराको साथ आन्तराष्ट्रिय बन दिवस ;जेठ ९ मा ‘प्रकृतिमा नै हाम्रो समाधान’नारासाथ विश्व जैविक विविधता दिवस सँगै संयुक्त राष्ट्रसङ्घ वातावरणीय कार्यक्रमद्वारा जैविक विवधताको सम्बन्धमा ‘टायम फर नेचर ’भन्ने दिवसको मूल नारा अनुसार नेपालमा पनि ‘सुरक्षित जिवनका लागि वैविक विविधता’ नारा कायम गरि जेठ २३ गते विश्व वातावरण दिवस मनाइएको लगत्तै जेठ २६ गते ‘समुद्रीक दिगोपनको लागि नविन खोज’–‘इन्नोभेशन फर सस्टेन्एबल ओशन’ नाराका साथ संसारभरी विश्व समुद्र दिवस जस्ता दिवसहरु मनाइए ।

पछि पुराना सम्झनाले समेटेको माथीका सवै घटना र कुराहरु त पृथ्विको हरेक क्षेत्र ,खण्ड र भागमा आखाँले देखीने वा नदेखिने सुक्ष्म जिव लगायत सवै जिव प्राणी बनस्पति सहितका विविध जीवजन्तुहरु र वनस्पतीय प्रजाति तथा जैविक स्वरुपहरुको बंशीय–अनुबांशिक,विभिन्न प्रजाति–परिस्थितीकीय प्रणाली आबद्ध परिस्थितिकीय शास्त्री ‘बैरी कमनर’ले भनेझैं “सवैचिज कुनै न कुनै चिजसँग जोडिएका”हरुको सामुहिक सम्बोधन ‘जैविक विविधता’ शव्दका नेपालका प्रतिनिधि पात्रहरु एवं पक्षहरु पो रहेछन् भन्ने चित्तबोध भयो ।

नेपालका सवै बर्ण जातजातीहरु समेत जैविक विविधताको सामाजिक महत्वका पात्रहरु रहेछन् भन्ने मात्र होइन् बल्की अनुसन्धान कर्ता कार्लोस सान्तानाले‘प्रकृतिक अस्तित्वमा भएका सवै बस्तुहरु मध्यबाट’सिङ्गो पृथ्विीलाई नै जैविक विविधता भएकाले अव जैविक को स्थानमा ‘प्राकृतिक विविधता’ हुनुपर्ने राय सहित सिफरिस गरे अनुसार सिङ्गो नेपाल नै ‘प्राकृतिक विविधता’ को वैश्विक प्रतिनिधि भएको महशुस गर्दै गर्वले छाति गमक्क भयो ।

(ख) जैविक विविधताको राष्ट्रिय व्यथा

अव गाऊँमा त्यो अवस्था छैन् । गाँऊ घरका खोला खहरे–खोल्सा भरि प्लासटिक झोला बोतल फ्यालिएका;खोलामा बाढी नआएर बनमाराले ढाकेको; पँधेराहरु,जरुवा दह र ठूलठूला ढुङ्गाहरु हराएका; बारीका पाटा, वन जङ्गल,बाँदर लडने भिरपाखामा डोजर अप्रेटरलाई नै लगत अनुमान,सर्वेक्षण,डिजाइन र नापजाँच र स्वयं विल तयार गरि पेश गर्ने सहितको एकमुष्ठ कार्यसम्पादन निमार्ण सम्झौता अनुरुप हरेक बर्ष पछि पुरै डाँडै खसेर पून निर्माण गर्नेपर्ने गरि सम्पन्न भएका भएका डोजरे सडक विकाश र खोला खहरेमा विकाश पसेर डोजर क्रसर गिट्टी बालुवाको समृद्धि उधमशिलता समेत तिब्रगतिमा फस्टाएको देखिन्छ ।

भकारोमा मल छैन । डोकोमा बोके कै मल ले सय मुरी धानफल्ने खेतमा रसायनिक मल र किटनाशक हालेर पनि ६० मुरी पुर्याउन धौ धौ पर्न थालेछ ।

उपचार गर्दापनि नबाँचेको लाहुरी भैंसिको पाडोको सिनो खाँदा गिद्ध र दवाई हालेको धान–मकै खाँदा दुम्सी,भँगेरा,सुँगा,बाँदरहरु मर्न थालेछन् । तीनकोष पर बास्ना आउने लसुन र सुपको विउ नै मासियो । व्याड राख्ने र रोपाई गर्ने बेलामा पानी नपरेर ढिलो चाँडो हुँदा खेती पातीगर्न अलमल भएर अन्नबाली राम्रो नभएको भन्दै गाँऊलेको गनगन शुरुभएछ । कुलोको डिलमा बाउ बाजेले पनि नदेखेको झार उम्रेर पानी नै थुनिन पो थालेछ ।

पाखाका १० जनाको हातले नभ्याउने फेद भएका लामपाते र सल्ला सालका बोटहरु ,खोला वगरका खयर,चर्न आउने थार र मृगलाई वुहानमा भन्दा बेग्लै ‘मानव जातको सर्वपक्षिय भाइरस’ बाहिरबाट राति राति पसेर संक्रमित बनाएर काठमाण्डौ,पटना वा कतै बाहिरको क्वारिंटन सेन्टरमा राख्न खोज्दा प्रतिबाद गर्ने गाउँलेले उल्टै कुटाई खाने गर्दारहेछन् । रुख सुकाउन जानाजान डढेलो लाइदिएर र चलखेल गर्ने धन्दा गर्न अहिलेसम्म कसैले आँट नगरेपनि सुनकोशिमा वम व्लासट गरेर अशला माछाका भूरा चाहिं सोत्तर भै सकेछन् । अव खन्ने खर्कमा भालु लाग्दैन,गाँऊका कालिजहरु र सिनो खाने गिद्ध पनि हराएछन ।

नेपालमा पहिचान भएका ११८ प्रकारका परिस्थितीकीय प्रणाली छन । धरातलीय एवं जलबायू विविधताले गर्दा नेपालमा पाइने करिव १२ हजार भन्दा बढीका संख्यामा हिमाल पहाड तराईका वनजङ्गल, नदी खोला,झरना ताल लगायतका क्षेत्रमा पहिचान भएका बालीनाली समेतका बनस्पति प्रजाति र सोही संख्याको हाराहारिमा पहिचान हुन गएका जीवजन्तु प्रजाति र जैविक स्वरुपहरुले नेपाल विश्वमै जैविक विविधताको भण्डार भएको स्वतः स्पष्टीकरण दिन्छन् ।
भौतिक प्रगतिको तामझाम भएपनि हावा,खाना,नेपानी,जडिबुटी,लुगा,इन्धन,आबाश,विजुली सवै प्रकृतिले दिएको छ । हरेक प्राण वायूको भरोसा भएको स्वस्थ्य परिस्थितकीय प्रणालीको लागि मानव लगायत सवै विविध जीवजन्तु र बनस्पतीय प्रजातीहरु हवाइजहाजको लागि पखेटाका किलानट जस्तै हुन ।

भैरहवा–विराटनगर–धरान या पाथीभरा जहाँका भएपनि मानवलाई स्वास बायू फेर्न कार्वन शोषण गर्ने,अक्शिजन उत्सर्जन गर्ने बनस्पतिहरु भएको जैविक विविधताले व्यवस्था गरिदिएको छ । ४० प्रतिशत अक्शिजन बनबाटै प्राप्त हुन्छ । समुद्र हावा शुद्धिकरणको लागि जैविक पम्प पनि हो । समुद्र लाखौं प्राणीहरुको घर हो । इन्धन उत्पादन गर्दा निस्कने कार्वनको २५ प्रतिशत उत्सर्जन समुद्रले सोच्ने र ७० प्रतिशत अक्शिजन उत्पादन गर्छ । जैविक विविधताको आर्थिक,वैज्ञानिक,धार्मिक संस्कृतिक,पर्यटकीय,प्राज्ञिक तथा शैक्षिक महत्व पनि छ ।

पृथ्विका १०लाख भन्दा बढी बन्य जीवजन्तुहरु र वनस्पतीय प्रजाति र जैविक स्वरुपहरुको अस्तित्व खतरामा छ । ४० बर्षभित्र पृथ्विका जीव प्रजातीहरुको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ । २५ प्रतिशत जीव–प्राणी तथा वनस्पती प्रजाति अहिले लोप हुने अवस्थामा छन् । अहिलेसम्म २०० जीवजन्तु र बनस्पतीय प्रजातीहरु मासिइसकेका छन् । मानवीय पाइलाहरुले स्वयं मानव नै लुप्त हुन सक्ने खतराको सामना गर्नुपर्ने हुन्छ भनेर संयुक्त राष्ट्रसङ्घले चेताबनी दिइसकेकोे छ ।
ओखिटोपहारको अवैध कारोबार हुन्छ । ठूला सपिङ्ग सेन्टरमा लाखौ रुपिँया पर्ने छालाका ज्याकेट र कोटहरु सभ्रान्तहरुले खुलेआम खरिद गर्छन ।

खाध आपूर्तिमा ३५ प्रतिशत अशर परिसकेको छ । यही स्थिति रहेमा अवको १० बर्षभित्र जैविक विविधता जोगाउन नसक्ने विषयहरु पनि उठेका छन् । मानवको निम्ती अहिलेसम्म रहनको पृथ्वि बाहेक अर्को ग्रह छैन । प्रकृति सङ्कटमा छ ।

खानी,ग्यास इन्धनका उत्खनन,उधोग स्थापना सार्वजनिक जमिनको मनलाग्दो प्रयोग ,शहरीकरणमा बृद्धिसँगैं जथाभावि–अव्यवस्थित–अनियोजित तवरले हिमाल पहाट समुद्री सतह किनारा जताततै घर,रिर्सोट,टापू निर्माण,नदी डाईभर्सन लगायतका अन्य पूर्वाधारको विकास, सँगै जमिनी तथा सामुन्द्रिक प्रदुषण समेत बढ्नुजस्ता कारणहरले परिस्थितिकीय प्रणाली एवं बासस्थान मासिएका छन् । गत जनवरी ३ का दिन काठमाडौँ स्थित फोहोरा दरबारको वायु को अवस्था ‘एक्यूआइथ्रीफोरवान’९ब्त्तक्ष् घद्धज्ञ० मा पुग्यो । मानव स्वास्थ्यको हिसाबले यो आपत्कालिन स्थिति हो । यस ले उपत्यका बासिन्दाको स्वास्थमा प्रत्येक्ष असर पारेकै छ ।

सारनाथको जङ्गल मासेर यूल्किप्टस लाउँदा पुराना जङ्गलका रुख त सकिए नै त्यसको साथसाथै त्यसका बासिन्दा जङ्गली प्राणीको पनि उठीबास भयो । अव निजगढको जङ्गलको मासिने पालो छ । विश्वकै जैविक विविधताको धनी मानीने मलाया बोर्नियोको जङ्गल मासेर पाम खेती गरिएको छ । विश्वलार्इृ खुवाउने निहुँमा प्रकृतिलाई दोहन गर्नेहरुको स्वार्थ हावी भएको छ । एकल प्रजातीका नयाँ रुखहरु रोप्दैमा पुरानो जैविक विविधता कायम हुन सक्दैन । जलबायुु परिवर्तन भएको छ । डढेलो आगलागि भै रहन्छ ।

पृथ्विको सवैतिर प्लासटिक प्रदुषण देखिएको छ । प्रत्येक बर्ष २ विलियन पत्तीहरु प्लासटिक झोलामा हालेर खाधको फोहरमा मिसाएको कारणले प्लासटिकमा बेरिएको खाना खान खोज्दा सिङ्गै प्लासटिक खाएर र खाना नै ठानेर खाइदिँदा विषाक्त भएर मर्ने गरेको तथ्य पनि प्रकाशमा आएको छ । खाध प्याकेजीङ्गमा प्रयोग हुने प्लाष्टिक–पोलिष्ट्रिन जस्ता पदार्थले जलथल आकाशमा उडने सवैतिरका प्राणीहरुको मृत्यु भएको छ । प्लासटिकले पीबीटी र अन्य वीषाक्त रसायन सिर्जना गर्छ । १० देखी २० मिलियन टन प्रत्येक बर्ष समुद्रमा पुगेर अत्यासलाग्दो तवरले बढ्दै गएको चिन्ता छ । कानूनी व्यवस्थाको प्रतिबद्धताको बावजुद प्रकृति तथा समुद्री दोहनमा कुनै कमि आएको छैन ।
भारतको नैनीताल जिल्लाकोे ‘जिम काँर्बेट नेशनल पाक भएर बग्ने नदीमा बाघले प्लासटिक खाने गरेको तथ्य पत्ता लागेको छ । वाइल्ड फोटोग्राफर त्रिकांस शर्मा ले ३० जनबरी २०२० मा खिचेको तस्वीर सहतिको प्रकाशित समाचारले सवैको ध्यानआकर्षण भएको थियो ।भारतीय बनसेवाका कर्मचारी परविन कशवानले जनवरि १० मा गोमनसर्पले प्लासटिक बोतललाई धक्कादिएर पन्छाइरहेको भिडियोलाई ‘जङ्गली प्राणीहरु कसरी प्लासटिकबाट आतङ्कित भै रहेका छन्’ भन्दै ट्वीटगरेपछि भाइरल भएको थियो ।

हिन्द महासागरको कोकोस–किलिङ्गद्वीपमा साधु–एकान्तबासी नामले परिचित दुर्लभ ‘हर्मिट’ गंगटाहरु प्प्लासटिककै कारणले धेरै मरेका पाइयो । यही स्थिति रहेमा अवको १० बर्षभित्र जैविक विविधता जोगाउन नसक्ने विषयहरु पनि उठेका छन् ।आफुलाई आधुनिक मान्ने मानवले कविला तथा आदिम जंगली यूगका मानव पुर्खाले पनि नखाएका चमेरा ,विच्छी, साङ्गला,सर्प,गोहोरो जस्ता जैविक विविधताका सदस्यहरुलाई खाध्यको रुपमा खान्छन र शरिरको क्षमता बृद्धि गर्ने नाममा यार्सागुम्बाको सुप र गैंडाको खाग घोटेर खान रमाउँछौं भने प्रकृतिले फेरिपनि सोसल डिस्टानसिङ्ग–लकडाउन भन्दा कठोर सजाए दिनेछ ।

पृथ्विमा रहेका विभिन्न जङ्गली जनावरले लाखौं भाइरस र वैक्टेरिया आफैं भित्र पालेका छन् । मान्छेले उनीहरुको बासस्थलको दोहन गर्ने–मास्ने ,तिनको मासुँ खान गर्व गर्ने लगायतका परिस्थितीकीय प्रणालीमा पुर्याइने हानीले जनाबरको भाइरसबाट नयाँ महामारीहरुको उदय हुन जान्छ । विज्ञ विश्लेषक जिम्मी टोबायस र क्रिस एन्जेलो त कोविड–१९पछि उनीहरुले नै नामाकरण गरेको अर्को झन खतरनाक ‘डिजिज–एक्स’नामको महामारी फैलन सक्छ भन्ने अनुमान गरेका छन् ।

(ग) भै रहेका प्रयत्नहरु :

अर्थ समिट लगायत विभिन्न अन्तराष्ट्रिय सन्धि सम्मेलनमा नेपालले प्रतिबद्धता जनाएको छ ।
मानिस एवं जनाबर समेतमा सर्ने रोग यो कोभिड–१९ को महामारीले समाज र प्रकृतिसँग अन्तरसम्बन्ध कायम गराएकोले जैविक विविधाकोे दृष्ठिकोणले यो समय अत्यन्त उपयुक्त मानिएको छ । अव सम्पत्ति जोडने –आर्जन गर्ने,हिडडुल–चहलपहल–दैनिक जीवन र बाँच्न वा जीवन यापन गर्न पुराना सोच र शैलिको सट्टा पूनर्विचार गर्दै प्राकृतिक दृष्टिले हेरेर अघि बढ्नु पर्छ । उर्जा र पानी कृषि लगायतमा हरित राहत प्याकेज शुरुगर्नु उपयुक्त हुने कुरा पनि उठेका छन् ।

प्रदुषण नियन्त्रणका लागि सापेक्षरुपमा बाताबरणीय मापदण्डहरु परिमार्जन तथा निर्माण गरी प्रभावकारी कायान्बयनका व्यवस्था मिलाइने र जलबायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण कार्यक्रमहरु राष्ट्रिय तथा स्थानीय स्तरमा सञ्चालन गर्ने वन तथा बाताबरण नीति चालु आवको बजेटमा तय भएको छ ।

संयुक्त राष्ट्रसङ्घको जैविक विविधता सम्बन्धी सम्मेलनले जैविक विविधता योजनाको मस्यौदा तर्जुमा गरेको छ । यसैगरि विश्व बाताबरण दिवस २०२० को सन्दर्भमा राष्ट्रसङ्घले प्रकृतिको संरक्षणको लागि दिगो विकाशका लक्ष्यहरुलाई ध्यानमा राख्दै हाम्रा व्यवहार, विकाश र पूर्वाधारको निर्माणका आधारहरुमा समेत हरितपन र प्रकृतिक रुपान्तरण लगायत कृषि जैविक विविधता सकारात्मक बनाउन समेत दिएको छ भने इयूले ३० प्रतिशत जमिनको संरक्षण गर्दै ‘कडा संरक्षण’ गर्न आफ्ना २७ सदस्य राष्ट्रमा ३ अरव रुख रोप्ने लक्ष्य राखेको छ ।

नेपालको संविधान ,२०७२ ले व्यवस्था गरेको राज्यको नीतिहरुमा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय विकाश परिषदको २०७५ चैत्र २१ को बैठकमा प्रधानमन्त्री केपी शर्माओलीले हिमश्रृङ्खलाहरुको बयान गर्दै वाताबरणको सम्बन्धमा आफुपनि क्याम्पियनमा लाग्ने बताउनु भएको थियो ।

अन्तराष्ट्रिय विकाश सहायता परिचालन नीति २०७६; आगामी आव २०७७ –७८को लागि पेश भएको बजेट; १५औं योजनाको आधारपत्र; संसदबाट पारित भै कायान्वयनमा आएका कानुनहरु लगायत नीतिगत,संरचनागत व्यवस्थामा मानव तथा प्लासटिक नियन्त्रण,जैविक विविधताको संरक्षण,पुनस्र्थापना र दिगो उपयोग वनको सुरक्षाको विषय समेत उल्लेख छ ।

प्रचलित राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०१४–२०२०) को कार्यान्वयनको समीक्षासहित जैविक विविधतासम्बन्धी छैटौं राष्ट्रिय प्रतिवेदन जैविक विविधता महासन्धिको सचिवालयमा प्रस्तुत भएको छ । सरकार, स्थानीय समुदाय र संरक्षण साझेदार संस्थाको साझा प्रयासले वन, वन्यजन्तु र जैविक विविधता संरक्षणको क्षेत्रमा कार्यहरु भै रहेका छन् । जसरी नेपालको जैविक विविधताको संरक्षण गर्न आवश्यक छ त्यसैगरि सम्पदाको रुपमा रहेको नेपालको जातीय लगायतका सम्पूर्ण सामाजिक विविधताको पनि जर्गेना गर्नुपर्छ । देशको प्राकृतिमा आफ्नो पनि हक छ भन्ने भावनाको विकाश रैथानेहरुमा भएन भने राष्ट्रिय एकता कमजोर भएर जैविक विविधताको संरक्षण चुनौतीपूर्ण हुन जान्छ ।

विश्वव्यापी रुपमा फैलीएको कोविड–१९ सम्बद्ध फोहरको व्यवस्थापनमा बढी सजगता अवलम्बन नगर्दा यदी मानव बाहेकका जनाबर र अन्य जीवमा फैलिएमा जैविक विविधतामा अर्को सङ्कट आइलाग्ने हुन्छ । र, १० अर्वको मानवप्रणाली त झन तहसनहस नै हुनेछ । समश्या मानव व्यवहार नै हो ।


क्याटेगोरी : बिचार, विज्ञान


तपाईको प्रतिक्रिया दिनुहोस