Techie IT
×
गृहपृष्ठबिचारआफ्नै भाकामा पत्रकारिता

आफ्नै भाकामा पत्रकारिता


राजनैतिक कार्यकर्ताले काम पाएन भने पत्रकारिता गर्छ कि वकालत गर्छ रे ! म जतिखेर राजनैतिकरुपमा बेरोजगार भएँ मैले चाहिं पत्रकारिता नै रोजेँ । कानुन विषयको पनि केही समय अध्ययन गरेँ तर पूरा गरिन । कानुन विषय पढ्दा पढ्दै किन छोडेँ त्यसको विषयमा छुट्टै चर्चा गरुँला । पत्रकारिताको रोजाइमा मेरो आफ्नै कर्मको निरन्तरता हो । म अलि साहित्यको विषयमा पनि रुची राख्थेँ । गीत गायन, नाटक मञ्चन मेरो रुचीको विषय थियो । हास्यव्यंग्य लेखनमा पनि मेरो रुची छ । मुखामुख शिर्षकमा लामै समय लेखापढी गरियो । राजनीति त भइहाल्यो । वाम विचारसँग सम्बद्ध पार्टी र त्यसको भातृ संगठनमा मेरो जवानी साटिएको छ । गीत गायन र नाटक मञ्चनमा गजपकै सहभागिता जनाइयो । भाषण आदि कलामा त मेरो रुची अझै पनि छ । साहित्य कलासँग मेरो गहिरो नाता सम्बन्ध भएकोले पत्रकारितामा आउन र रमाउन पनि कठीन भएन ।

पत्रकारिता र युद्ध :

उच्च शिक्षामा मेरो विषय अर्थशास्त्र थियो । पत्रकारिता विषय पढेर म पत्रकारितामा आएको हैन । पत्रकारिता गरेको धेरै वर्ष पछि मात्र मैले पत्रकारितामा स्नात्तकोत्तर गरेँ । यो पनि गजवकै संजोग लाग्दछ । पत्रकारिता विषयको अध्ययन बेगर पत्रकारिता कसरी गरेको होला भन्ने आजका पत्रकारलाई जिज्ञासा लाग्न सक्छ । तर, यो सब आवश्यकताले गर्दा हुने हो भन्ने मेरो धारणा छ । आज पनि थुप्रै अग्रज पत्रकारहरु जीवितै हुनु हुन्छ, जसले पत्रकारिताको औपचारिक शिक्षा नलिकन पनि सिद्धहस्त पत्रकारिता गरिरहेका छन् । यसर्थ पत्रकारितामा अनौपचारिक शिक्षाको महत्व हुन्छ । स्वअध्ययन र चिन्तनले पत्रकारितालाई उजिल्याउने हो । पत्रकारिता र युद्ध एकै प्रकृतिका हुन्छन । युद्धमा जानु अघि जतिनै तालिम दिए पनि एउटा सिपाही पूर्ण हुँदैन जबसम्म उ युद्धमा जाँदैन । सिपाहीको परख युद्धमा हुन्छ । व्यवहारको कसीमा खरो उत्रिएपछि मात्र सिपाहीँले युद्ध जितेर आउँछ । पत्रकारितामा पनि ठीक यही कुरा लागू हुन्छ ।

पत्रकारितामा निब :

मैले जानेर पत्रकारितामा प्रवेश गरेको चाहिं होइन । हाइस्कूलको वार्षिक मुखपत्र पीयुष (जसको अर्थ सुधा, अमृत वा विहाएको सात दिनभित्रको गाइको दूध, सात दिनभित्रको लैनो गाईको बिगौती दूध भन्ने हुन्छ) पत्रिकाको सम्पादनमा सहभागिता जनाएको थिएँ । त्यसपछि कलेजको छायाँ या प्रकाश नामको पत्रिकाको पनि सम्पादन गरेको पातलो सम्झना छ । यी वार्षिक मुखपत्रहरु मात्रै थिए । तर, मेरो पत्रकारिताको निब भने एसएलसी परिक्षा सकेर परिक्षाफल पर्खनु पर्ने समयमा अखबारमा समाचार लेखेको थिएँ । ती पत्रिकाहरु हुन नेपाल पोष्ट र एशियाली आवाज । यो विसं ०३२ साल जस्तो लाग्छ । मैले प्रारम्भिक समाचारहरु यिनैमा पठाएँ । त्यसैमा छापिएका थिए । तर, म व्यवसायिक रुपमा लागेको भने थिइन । त्यस बखतका साप्ताहिक समाचारपत्रहरुको पैसा दिने औकात पनि थिएन होला या मैले थाहा नपाएको पनि हुनसक्छ ।

यसपछि पनि मैले पत्रपत्रिकामा समाचार, पाठकपत्रमा खुबै लेख्थेँ । जनमत संग्रहताका पनि स्थानीय अखबारहरुमा विचारमुलक लेख लेख्थें । जतिबेला म अनेरास्ववियु पाँचौको संस्थापक सुनसरी जिल्ला अध्यक्ष थिएँ । अभिवादन, वर्तमान दैनिक, सिरेटो साप्ताहिक आदि पत्रिकाहरुको नाम आउँछ । मलाई पत्रकारितामा ल्याउन विशेष जोड गर्ने पात्र चाहिं स्व. कवि कृष्ण पाख्रिन, स्व कृष्णप्रसाद श्रेष्ठ र ऋतुवर्ण पराजुली हुन । बाम विचार प्रभाह गर्न अस्थायी रुपमा केही पत्रिकाहरु सम्पादन गर्ने काम त्यति बेलैदेखि गरेँ तर पेशागतरुपमा हैन ।

निरन्तरता :

मैले निरन्तर पत्रकारिता गरेको पहिलो जनान्दोलनको अगाडि देखिको हो । खासगरी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले ०४२ सालको बम विद्रोह गरेपछि मलाई पनि केही अप्ठ्यारो परेको थियो । बम विद्रोहको मैले समर्थन गरेको थिएँ । एकाध दिन भाग्दैफिर्दै हिँडे र बच्ने उपायको रुपमा पत्रकारितालाई आत्मसात गरेँ । त्यहीँदेखि आजपर्यन्त पत्रकारितामा छु । यसबीच धेरै पत्रिकामा जोडिन पुगेँ । ०४५ सालपछि गाण्डिब नामको पत्रिकामा जोडिएँ । पहिलो जनान्दोलनमा हुँदा पूरै पत्रकारितामा हेलिसकेको थिएँ । विभिन्न पत्रिकामा समाचारदाता/सम्बाददाताको रुपमा कार्यरत रहेँ । ०४६ सालको परिवर्तन पछि पेशागत निरन्तरतामा सक्रियता आयो ।

यसविच नेपालीपत्र, समकालीन, जनादेश, योजनासहीत थुप्रै पत्रिकामा जोडिएँ । यसबीच झापाबाट प्रकाशित हुने स्वाधीन सम्बाद पनि सम्झन चाहन्छु । स्व. जनार्दन आचार्यद्वारा सम्पादित समकालीन र डा. बाबुराम भट्टराईद्वारा सम्पादित जनादेश साप्ताहिक मेरो पत्रकारिताको पाठशालाहरु हुन । तिनै पाठशालाहरुमा मैले लेखनीको विकास गरेको हुँ । योजना साप्ताहिकमा रहँदा डा. ऋषिराज बरालसँग पनि संसर्ग भयो । सम्भवतः राजनैतिक लेखनको खरो विश्लेषणको टुँडो त्यहीदेखि तिखारिएको भन्ने मलाई लाग्छ । अहिले पनि म दैनिक जसो समाचारको उत्पादन र विश्लेषणमा हुन्छु । यताका वर्षहरुमा पनि निरन्तरता टुटेको छैन । विद्युतीय अखबार झिल्को डटकममा आफै सम्बद्ध छु । समयबद्ध साप्ताहिकमा पनि समाचार, लेख उत्पादनमा छँदैछु ।

विजयपुरको प्रकाशन :

विसं २०५१ सालमा मेरै सम्पादन/प्रकाशनमा विजयपुर साप्ताहिक दर्ता गरेर धरानबाट पत्रकारिता सुरु गरेँ । म यसको संस्थापक सम्पादक हुँ । हाल यो पत्रिका मेरै परिवारका गंगा पौडेल बरालको सम्पादन प्रकाशनमा निरन्तर छ । माओवादी जनयुद्धताका ०५९ सालमा खोजी सुचीमा परेपछि मैले हक हस्तान्तरण गरेको हुँ । ०५१ पछि भने पत्रकारितामा सक्रियता झनै बढ्यो । काठमाण्डौबाट प्रकाशित हुने समकालीन, जनादेशलगायतका अखबारहरुमा र विजयपुरमा त्यत्तिकै सक्रियतासाथ लागें। विजयपुर साप्ताहिकलाई माओवादी विद्रोहको पूर्वको ‘जनादेश’ नामाकरण समेत गरिएको थियो ।

विसं २०५२ सालमा विजयपुर साप्ताहिकलाई पहिलो पटक उच्च प्रविधि (अफसेट प्रेस) मा लगियो । पूर्वको जातीय, भाषिक आन्दोलनमा विजयपुर साप्ताहिकले खेलेको भूमिका उच्च मूल्याङ्कन गरिएको थियो । बेलायती गोर्खा भूपू सैनिकको पीडालाई विजयपुरले बोकेको थियो । त्यहाँदेखि यता मैले पत्रकारिता बाहेक अरु केही देखिन । काठमाण्डौमा दृश्य नेपाल नामक पत्रिकाको पनि सम्पादन गरेँ । सात दल माओवादीबीच सम्पन्न १२ बुँदे समझदारीलाई जस्ताको तस्तै प्रकाशित गरेर त्यो पत्रिकालाई पहिलो अंकमै लोकप्रिय बनाउने काम गरियो । यो ०६२/०६३ सालको कुरा हो । लोकतन्त्र स्थापित भएपछि अर्थअभावमा यो पत्रिका पनि बन्द भयो । यसबीच गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण, नागरिक, जनादेश, मूलप्रवाह, जनदिशा, दिशाबोधलगायत सयौं अखबारमा विचार दृष्टिकोणमा लेख लेखेँ । अनगिन्ती अनलाइन अखबारमा विचार प्रस्तुत गरेँ । लेखहरुको संगालो पुस्तक पनि प्रकाशित भएको छ ।

पत्रकारिता शिक्षाको प्रभाव :

पत्रकारिताको विद्यार्थी हुँदा नेपाली समाजको गम्भीर अध्ययन गर्ने मौका मिल्यो । नेपाली समाजको विविध अन्तरविरोधलाई नजिकबाट चियाउने मौका मिल्यो । फलस्वरुप ‘यस्तो हुनुपर्छ राज्यको संरचना’, ‘लिम्बुवानको राजनीति’, ‘राज्यको रचनामा माओ विचार’, ‘कसरी बनाउने संविधानसभा ?’, र ‘जान्नै पर्ने राजनीतिका केही कुरा’ जस्ता मेरा कृतिहरु जन्मिए । मैले जातीय (राष्ट्रिय) आन्दोलनबारे धेरै टेलिभिजनमा अन्तरंग कुराकानी पनि गरेको छु । जातीय (राष्ट्रिय) आन्दोलनमा बोलेका भाषणका संकलनहरु युट्युबमा हेर्न सकिन्छ । पत्रकारिता शिक्षाले मेरो जीवनमा चारचाँद लगाएको हो । यसैमा म गर्व गर्छु ।

पत्रकारिता र राजनीति :

पत्रकारिता र राजनीतिको अन्योन्यास्रित सम्बन्ध हुन्छ । राजनीतिको भेउ नपाइ पत्रकारिता गर्नु व्यर्थ हुन्छ । स्वतन्त्र पत्रकारिताको कुनै अर्थ हुन्न । स्वतन्त्रता पत्रकारिताको अवगुण हो । निश्पक्षता पत्रकारिताको गुण हो । निरपेक्ष स्वतन्त्रताको कुरा पत्रकारितामा लागु हुन्न । नेपालको पत्रकारिता दार्शनिक, राजनैतिकरुपमा हुन सकेकै छैन ।

विसं ००७ सालदेखि ०१७ सालसम्म नेपाली पत्रकारिताले राजनैतिक सचेतता नेपाली जनतामा पु-याउन नसक्ता ०१७ सालमा राजा महेन्द्रलाई संसदीय व्यवस्था ‘कु’ गर्न सहज भयो । ३० वर्षसम्म निरंकुश पञ्चायती व्यवस्थाले नेपाली जनताको टाउकोमा गिर खेल्यो । पहिलो जनान्दोलनपछि बहुदलीय व्यवस्थाको संस्थागत विकासमा नेपाली पत्रकारिताको भूमिका निश्पक्ष हुन सकेन । पत्रकारिता राजनैतिक दल, गुटका गोटी जस्तै भए । त्यसबखतको पत्रकारिताले परिवर्तनको निम्ति जनतालाई सहजीकरण गर्नु पर्दथ्यो । तर, पार्टीका मुखपत्र जस्ता भए । पत्रकारिता ‘पार्टीसन’ भयो । विचारगत भएनन् । माओवादी जनविद्रोहलाई हेर्ने दृष्टिकोण ठीक भएन । जनविद्रोहलाई राज्यले जस्तै मुलधारका नेपाली पत्रकारिताले आतंकवादी सूचीमा राखे । राज्यको चौथो अंगले त बाँकी तीन अंगले गरेको कामको समिक्षा गर्नु पर्दथ्यो र प्रतिपक्षको भूमिका निभाउनु पर्दथ्यो । पत्रकारिता सरकारको चौथो अंग होइन । राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अनुगमन गर्ने, खबरदारी गर्ने अंग पत्रकारिता हो ।

फराकिलो अर्थमा पो राज्यको चौथो अंग हो । राज्यको संकुचित अर्थमा सरकारको चौथो अंग होइन । वास्तविक अर्थमा चौथो अंगको भूमिका नबुझ्दा दूर्घटना निम्तिन सजिलो भयो । नेपाली पत्रकारिताले बेलैमा जनमत निर्माण गरेको भए लोकतन्त्रमा कालो बादल मडारिने थिएन । फलतः राजा ज्ञानेन्द्रले फेरी ‘कु’ गर्न सफल भए । ज्ञानेन्द्रले ‘कु’ गरेर स्वतन्त्रता खोसेपछि मात्र नेपाली पत्रकारिता सचेत भए । तर ढिलो भैसकेकोे थियो । सञ्चारगृहमा जंगी अड्डाका हवल्दारहरु सम्पादन कक्षमा छिरिसकेका थिए ।

ज्ञानेन्द्रको असोजतन्त्रलाई नबुझ्दा मकरतन्त्र आइलाग्यो । नेपाली जनताले ६० वर्ष लगाएर ल्याएको विचार अभिव्यक्तिको स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता मात्र खोसिएन पार्टी स्वतन्त्रतामा समेत ग्रहण लाग्यो । निर्वाचित जनप्रतिनिधिमुलक संस्थाहरु पतन हुँदै गए । टीके र मनोनित प्रथाले स्थानीय निकाय चलाउन खोजियो । मुख्य राजनैतिक दललाई वाइपास गर्न तथाकथित चुनावबाट नगरपालिका पुनर्गठन गर्ने कोशिश गरियो । तर, ज्ञानेन्द्रका सबै उपायहरु समयक्रममा नाकाम भए ।

तर, यतिवेलै सबै कुराको छिनोफानो भएको होइन । निरंकुशतालाई नै रोक्न सक्ने ताकत लिएर माओवादी जनविद्रोह बाहिर थियो । त्यही जनविद्रोहको जगमा भएको १२ बुँदे समझदारीले लोकतन्त्रलाई पुनस्र्थापित गरेको हो । १२ बुँदेकै जगमा संविधानसभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्यो ।

संघीयता खारेज अभियान :

ओली प्रवृत्तिको एकमात्र अभियान भनेको संघीयताको खारेजी हो । संघीयतामा लतारिएर आएका ओली, गणतन्त्रको पक्षपाती समेत होइनन । गणतन्त्रको विपक्षमा उनले बयलगाडे सिद्धान्त प्रतिपादन गरेको सर्वविदितै छ । ओलीले यो कुराको पुस्टि गर्न सरकारमा आउनासाथ संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने मन्त्रीपरिषदबाट निर्णय गराएका थिए । यतिमात्र होइन उनले ठाडै प्रदेशहरुलाई प्रशासनिक इकाइ हो भनेर संघीय संरचनाको तेजोबध गरिसकेका थिए । अर्को उदाहरण हालसालै प्रदेश नं १ र बागमती प्रदेशमा देखाएको ओली गुटको रबैयाले प्रस्ट पार्छ । संसद अधिवेशन नै नबोलाउने, स्थगित गर्ने गर्नाले संघीयतालाई संस्थागत गर्ने काम नै अड्किएको छ । ओलीले संघीय संरचना असफल बनाउने, जनतामा वितृष्णा जगाउने र अन्त्यमा खारेज गराउन सहज बनाउने मार्गप्रसस्त गरेको बुझ्न ढिलाइ गर्नु हुन्न । उनी धर्म निरपेक्षताको पक्षपाती होइनन भन्ने त पशुपतिको जलारी जात्रा, ठोरीमा राम मन्दिर बनाउन उनले उर्दी जारी गरेबाटै थाहा हुन्छ । उत्पीडित जनताले पाएको समाबेशी, समानुपातिक अधिकार त उनको जिब्रोमासम्म छैन । उनले मधेसी, आदिवासी जनजातिलाइ ‘माकाफुँई’ भनेबाटै ठाडै बुझन सकिन्छ ।

समसामयिक परिस्थितिमा आजको कार्यभार :

गएको पुष ५ गते संघीय संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेसँगै नेपाली पत्रकार र पत्रकारिताको भूमिका गम्भीर बनेको छ । यो गैरसंवैधानिक काममात्र उनले गरेका होइनन् । यो संविधानमाथि कै ‘कु’ हो । प्रतिनिधि सभाको विघटन सामान्य अर्थमा अर्को प्रतिनिधिसभा पुनस्र्थापित गर्ने उद्वेश्यले भएको मात्र मान्न सकिने ठाउँ छैन । उनी संसदीय बहुदलीय व्यवस्थाका पक्षपातीसम्म पनि होइनन् । उनी घोर अधिनायकवादी पश्चगामी कित्ताका पात्र हुन । यसको मुख्य कारण पछिल्लो परिवर्तनको योजनाकार ओली हुँदै होइनन । परिवर्तनको पछिल्लो शृङ्खलाको उनी घोर विरोधी हुन । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेसी व्यवस्थासँग उनको गोरु बेचेको साइनोसम्म छैन ।

नेपाली जनताले ७० वर्षदेखि लडाइँ लडेर ल्याएको परिवर्तनलाई मास्न ओलीले प्रतिगमनकारी अभियान थालेका हुन । यति सरल राजनीति नेपाली पत्रकारले बुझ्न जरुरी छ । तर, दुःखका कुरा आज पनि केही पत्रकारहरु प्रतिगमनका मतियार बनेका छन् । बुझ पचाएर जानेहरुलाई त ‘रामराम’ मात्र भन्न सकिन्छ तर नबुझेर त्यो कित्तामा पुग्नेहरुले राजनीतिको कखरा बुझ्न जरुरी छ । पत्रकारिताको पेशागत हकहितको लागि, आफ्नै हितका लागि र आमरुपमा जनताको सूचित हुने अधिकारकालागि पत्रकारहरुले आजको विकसित राजनैतिक घटनाक्रमलाई बुझ्न आवश्यक छ । नेपालको संविधानको धारा १७ मा स्वतन्त्रताको हक, धारा १९ मा सञ्चारको हक र धारा २७ ले सूचनाको हक व्यवस्था गरिएको छ । संविधानमाथिको ‘कु’ ले यी सबै अवधाराणाले खारेज गर्दछ ।

ओली सरकारले हालै सामाजिक सञ्जालमा प्रतिबन्धित गर्ने गरी ‘सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी निर्देशिका – २०७७’ ल्याउन लागेको छ । सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसहित नयाँ निर्देशिकाको मस्यौदा तयार पारिएको छ । फेसबुक, ट्विटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर, वी च्याट जस्ता सामाजिक सञ्जालहरु नयाँ निर्देशिका अनुसार स्वतः बन्द हुने छन् । यो निर्देशिका सरकारले ल्याए यसको झञ्झटिलो दर्ता प्रक्रिया बमोजिम सञ्चालन गर्नु असम्भव छ । यसको मतलब सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नै हो । यो निर्देशिका कथंकदाचित पारित भयो भने सम्भवतः ओली सरकारले पारित गर्दैन भन्ने कुनै प्रकारको आशा गर्नु पनि व्यर्थ छ । यसो भए नागरिकको विचार अभिव्यक्तिको स्वतन्त्रतामाथि नै कुठाराघात हुनेछ ।

यस्तो समयमा पत्रकार र पत्रकारिताले गम्भीर भूमिका गर्न गुरुगम्भीर हुनु पर्छ । लक्षमुखी पत्रकारिता गर्न जरुरी छ । यस्को लागि राजनीति बुझ्नु पर्छ । राजनैतिक आन्दोलनमा सहभागी बन्नु पर्छ । समाचारमा सत्यतथ्य दिएर मात्र पुग्दैन । विचारसहितको दृष्टिकोण पस्कन सक्नु पर्छ । ‘वाच डग’ भएरमात्र पुग्दैन ‘गाइड डग’ (निर्देशक) बन्नु पर्छ । ‘ल्याप डग’ (काखे) पत्रकारको काम छैन । समाचारमा कारण र परिणाम दिन सक्नु पर्छ । राजनीति बुझेर ‘सिभिक’ पत्रकारिता गर्न गम्भीर बन्नु पर्छ । आजको विद्युतीय माध्यमको सुविधाले हरेक कुरा बुझ्न कुनै कठीन छैन । हातहातमा ज्ञानका पुस्तक पुगेको छ । जाँगर र लतमात्र लगाउन सक्नु पर्छ । तबमात्र चौथो अंगको पगरी गुथ्न पाइन्छ । नत्र त काखे पत्रकार र तिनले चलाएको सञ्चार माध्यमको नाम काखे सञ्चारमाध्यम हुनेछ ।

bhawanibaral@gmail.com

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)