Techie IT
×
गृहपृष्ठबिचारओलीका सामु तीन विकल्प

ओलीका सामु तीन विकल्प


दुई तिहाई बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार सम्हालेको मध्यावधि चरणमा नै आन्तरिक खटपट तथा देशी विदेशी शक्ति केन्द्रको उक्साहट र चलखेलका कारण पूरा पाँच वर्ष सञ्चालन गर्न नसक्ने पो हो कि भन्ने आशङ्का बढेको छ । प्रधानमन्त्री केपी ओलीले आफूलाई भारतले हटाउन षडयन्त्र सुरु गरेको सार्वजनिक रुपमा नै दावी गरेका छन् । केपी ओलीको विपक्षमा रहेकाहरुले उनलाई अमेरिकी डिजाइनमा अगाडि बढ्न खोजेको बताइरहेका छन् ।

‘ओपन सेक्रेट’ के हो भने सत्तारुढ नेकपामा अहिले पनि मुलतः पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने आन्तरिक संघर्ष चरमोत्कर्षमा छ । र, अब त्यो संघर्ष वारपारको स्थितितर्फ उन्मुख भएका कारण सरकार दिनप्रतिदिन आफै थप संकटमा फस्दै गएको छ । अहिले नेकपाको आन्तरिक शक्ति संघर्ष केपी ओली भर्सेज प्रचण्ड, माधव नेपाल खेमामा विभक्त मात्रै छैन, विभाजन उन्मुख छ । यही आन्तरिक संघर्षलाई घरेलु सत्ता विरोधी तत्व र नेकपा विरोधी विदेशीहरुले उपयोग गर्ने भरमग्दुर कोशिस गरिरहेका छन् । र, त्यही गुदी कुरा बुझेर प्रधानमन्त्री ओली गुहार माग्ने शैलीमा सार्वजनिक मन्चबाट आफूलाई भारतले हटाउन खोजेको भन्दै राष्ट्रवादी कार्ड खेल्ने कोशिश गरिरहेका छन् ।

यस परिस्थितिमा अब नेकपाको सत्ता आयु वा केपी ओलीको शासकीय रवाफ दुई परस्परविरोधी खेमाको भावी रणनीति र कदममा नै निर्भर हुने देखिन्छ । के छन् त नेकपाको आन्तरिक शक्ति संघर्षमा अल्पविराम वा पूर्णविरामका विकल्प ?

प्रधानमन्त्रीका विकल्पहरु

१. ओली पुरानो सहमतिमा फर्कने

पार्टी र सरकारको मुख्य सत्ता बागडोर आफ्नै हातमा भएका कारण नेकपाको आन्तरिक खटपटलाई दुर्घटना अगावै निकास दिने पहिलो दायित्व र भूमिका प्रधानमन्त्री ओलीकै हो । यसका लागि उनीसँग विकल्पहरु पनि प्रशस्त छन् । त्यसका लागि पहिला प्रधानमन्त्री पार्टी एकताको सुरुवाती विन्दु र त्यसका सहमतिमा फर्कन तयार हुनुपर्छ । पुरानो सहमति अनुसार प्रधानमन्त्री ओली एक कदम पछाडि दुई कदम अगाडि गर्न तत्पर हुने हो भने नेकपामा नयाँ एकता बन्न सक्छ । तर, त्यसको पूर्व शर्त भनेको ओलीले आधा अवधि सरकारको नेतृत्व गरिसकेका कारण उनले अब बाँकी अवधि समकक्षी अर्का अध्यक्ष प्रचण्डलाई सरकारको बागडोर हस्तान्तरण गर्नुपर्छ । पार्टी अध्यक्षका रुपमा उनले आफूलाई राख्न तयार हुनुपर्छ ।

भारतमा मनमोहन सिंहलाई प्रधानमन्त्रीमा अघि सारेर आफूले पार्टी र सत्ताको लगाम खिचेर वास्तविक सत्ताशक्तिको केन्द्रमा जसरी भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी हावी भएकी थिइन, त्यही मोडलमा प्रधानमन्त्री ओली अघि बढ्न तयार हुनुपर्छ । आफू पक्षधर पार्टी नेता, कार्यकर्ताको संरक्षणदेखि जनताले नेकपालाई दिएको अत्याधिक बहुमतको कदर सम्मान तथा पार्टी एकताको ऐतिहासिक अभिभारा पूरा गर्न तयार हुने हो भने ओलीले यो स्तरको त्याग र उदारताको उदाहरण देखाउनैपर्छ ।

२. ओलीले पूर्व एमालेहरुको एकता ब्यँुताउने

यदि पहिलो विकल्पमा जान तयार नहुने हो भने ओलीले दोस्रो विकल्पमा सत्तामा नै रहेर पूर्व एमालेहरुलाई नयाँ शिराबाट पुनएकीकृत र एकताबद्ध गर्दै आफ्नो शक्ति मजवुत बनाउन सक्छन् । तर, सुन्दा जति गुलियो छ, व्यवहारमा उति नै तीतो र कठिन छ यो विकल्प । किनभने पूर्व एमालेमा माधव नेपालदेखि, वामदेव गौतम र झलनाथ खनालहरुसम्मलाई आफू वरपर गोलवन्ध गर्नै नसक्ने गरी ओलीलाई पूर्व एमालेमा पनि कित्ताकाट गरिसकेका छन् ।

माधव नेपाल खेमालाई वडास्तरदेखि नै किनारा लगाउँदै र वामदेव पक्षलाई ‘युज एण्ड थ्रो’ गर्दै आफ्नो खेमालाई मात्र पार्टी र सरकारको सत्तामा हावी गराउँदै आएका ओलीले अब पूर्व एमाले कित्ताको एकतालाई पुनः व्युताउनु फलामको चिउरा चपाउनु सरह कठिन देखिन्छ । गत माघको केन्द्रीय समिति वैठकसम्म आइपुग्दा नेकपामा पूर्व पार्टीको ह्याङओभर समाप्त प्रायः भएर नेताहरु मुद्धा र विचारका आधारमा नजिक र टाढा भएको स्पष्ट छ । त्यसैले पूर्वएमाले वा पूर्वमाओवादीको एकताको खेती अब नेकपामा फस्टाउनै नसक्ने गरी व्याड नै सुक्दै गएको देखिएको छ ।

३.एकलौटी अघि बढने अन्तिम कसरत

प्रधानमन्त्रीसँग रहेको अन्तिम विकल्प अहिलेकै शैलीले उनी झन आक्रामक रुपमा पेलेर, मनोमानी ढङ्गमा अघि बढ्न सक्छन्, नयाँ जंगबहादुरको शैलीमा । उनले पार्टी फुटाउने अध्यादेश पुनः ब्युँताएर समानान्तर पार्टी पनि बनाउन सक्छन् । पार्टीभित्र विभिन्न समूहमा रहेकाहरुलाई नयाँ रुपमा आफू निकट बनाएर आफ्नो सत्ता र शक्ति लम्ब्याउन सक्छन् । मन्त्रीमण्डल आफू खुशी पुनर्गठन गरेर तथा प्रदेश सरकारहरुमा पनि आफ्ना समर्थकहरुलाई पद पजनीको नयाँ कार्ड प्रयोग गरेर आफू झन बलियो बन्ने कसरत गर्न सक्छन् ।

राष्ट्रपति पनि आफू अनुकूल रहेको र भारतले आफूलाई हटाउन खोजे पनि एमसीसी लगायतका प्रकरणमा आफूलाई अमेरिकी तथा पश्चिमाहरुले साथ दिने विश्लेषणका आधारमा प्रधानमन्त्री झन कठोर र दम्भी रुपमा पार्टीलाई नै बाइपास गरेर वा आवश्यक परे पार्टी नै फोडेर पनि अघि बढ्न सक्छन । एमसीसी पक्षधरको नयाँ सत्तामोर्चा बनाएर आफ्नै नेतृत्वमा सरकार चलाउन सक्छन् । किनभने मुख्य विपक्षी दल काँग्रेसले एमसीसी पास गर्ने शर्तमा र नेकपामा विग्रह आउने निश्चित भएमा ओलीलाई साथ दिने सम्भावना मात्रै होइन लगभग निश्चित छ । जनता समाजवादी दलले पनि यहीबेला सत्तारोहणका लागि ओलीको पक्षमा उभिएमा त्यो अनौठो हुने छैन ।

यस्तो स्थिति आएमा नेकपामाथि भारत भर्सेज अमेरिकी पश्चिमाको सिधा स्वार्थ टकराउने र मौजुदा अवस्थामा एमसीसी आदिका कारण अमेरिकी र पश्चिमा शक्ति हावी हुने प्रचुर सम्भावना छ । किनकि अहिले भारतीय प्रभाव नेपालमा देखिने गरी नै कमजोर र रक्षात्मक बनेको यथार्थ हो ।

प्रचण्ड, माधव नेपाल खेमाका विकल्प

प्रचण्ड र माधव नेपाल खेमाका लागि पहिलो विकल्प कोभिड १९ को कहर र पार्टी एकताको युगीन कार्यभारलाई स्मरण गर्दै ओलीसँग आफ्नो समूहको फेस सेभ पनि हुने गरी नयाँ युद्धविराम घोषणा गरेर अघि जानुपर्छ । त्यसका लागि सरकारमाथि लगाम लगाउने र ओली विरोधी कित्ता संयम र कम प्रतिक्रियात्मक बन्न जरुरी छ । तर, यो युद्धविराम गर्न प्रधानमन्त्री ओली पनि तयार भएनन भने यो प्रयत्न पनि खेर जान सक्छ । प्रचण्ड नेपाल खेमाको एकतर्फी युद्धविरामले उनीहरुलाई नै रक्षात्मक वा विलयपथमा पनि धकेल्न सक्छ ।

दोस्रो विकल्पमा प्रचण्ड माधव नेपाल खेमाले जारी स्थायी समिति वैठकबाटै प्रधानमन्त्री उपर अभियोग पत्रको दस्तावेजीकरण गर्दै केन्द्रीय समिति वैठक मार्फत त्यसलाई वैधानिकता दिदै ओलीलाई संसदीय दलको नेताबाट हटाइ दिन सक्छन् । त्यसो हँुदा पार्टी एकता र सत्ता समीकरण हार जीतको अवस्थातिर आमनेसामने हुन सक्छ ।

सर्प पनि मार्ने, लाठी पनि नभाँच्ने गरी पहिलो विकल्पमा अन्तिमसम्म ओलीलाई लगाम लगाउने र सरकारलाई सच्याउने गरी प्रचण्ड माधव खेमाले गर्ने अन्तिम प्रयासलाई ओलीले पनि आत्मसात गरेमा पार्टी एकता बलियो हुने, जनादेश अनुसारको पार्टी सत्ता पनि जोगिने छ । तर, यो विकल्प कार्यान्वयनको पूर्वशर्त पनि ओलीको सच्चिने तत्परता र प्रतिवद्धता विना सार्थक हुन सक्दैन ।

नेकपाः अब कता ?

यी सबै धरातलीय यथार्थहरुका वीच नेकपा अब कुन बाटो जाने भन्ने दुई पक्षको रणनीतिले नै नेकपाको ऐतिहासिक एकता र दुर्लभ वाम सरकारको भविष्य तय गर्नेछ । प्रधानमन्त्रीको एकलौटी शैलीले नै पार्टी र सरकार कमजोर भई भारतीय र अमेरिकी शक्ति केन्द्र खुल्लमखुल्ला नेकपाभित्र खेल्ने मौका पाएका छन् । ओली अमेरिकी खेमामा उभिएको अवस्थामा भारतले चाहेर पनि उनको सत्तालाई ढाल्न सक्षम नहुन सक्छ । किनभने भारतविरोधी जनमतको सहानुभूति अझै पनि ओलीमाथि छ, भलै त्यो द्रूत्ततर रुपमा घट्दो नै किन नहोस । र, भारतीय प्रभुत्व नेपाली सत्ता राजनीतिमा अचेल कार्यकारी होइन, प्रतिक्रियात्मक हुन पुगेकै छ ।

यी सबै पृष्ठभूमिहरुमा नेपाल विदेशी शक्ति केन्द्रको खेल मैदान बन्न पुगेको छ । यसलाई रोक्न नेकपाको आन्तरिक एकता र सहकार्य नै निर्विकल्प बाटो हो । त्यसका लागि सत्तापक्ष हुनुको नाताले ओलीले त्यागको उदाहरण दिन सक्नुपर्छ भने प्रचण्ड माधव खेमाले पार्टी एकताको ओझ र बोझलाई आत्मसात गर्न सक्नुपर्छ । कुन कित्ता कुन रुपमा कसरी अघि बढ्छ, तदनुरुप नै नेकपाको सत्ता र पार्टीको भविष्य निर्दिष्ट हुने देखिन्छ । तर, जसको कारक भूमिकामा नेकपामा विभाजन वा बिग्रह आउनेछ, त्यो समूह इतिहासमा दण्डित हुने पक्का छ, किनकि नेकपाको यो वर्तमानमा सयौं शहीद, हजारौं नेता कार्यकर्ताको वलिदान र लाखौं जनताको विश्वास र आस्थाको अनेकन पूँजी सिञ्चित छ । त्यो वलिदानीपूर्ण संघर्षपूर्ण विगतको फ्ल्यासव्याकमा फर्केर दुवै समूह अघि बढ्न सक्लान, नसक्लान, समयले नै देखाउला । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार