Techie IT
×
गृहपृष्ठबिचारकोही पनि ओलीको भुलभुलैयामा फसेर जनताको शासनको विपक्षमा नउत्रौं !

कोही पनि ओलीको भुलभुलैयामा फसेर जनताको शासनको विपक्षमा नउत्रौं !


झिल्को टिप्पणी

एउटाले बिराउँछ, सारा पिराउँछ भने झैं अहिले केपी ओलीको संविधान असफल बनाई यो परिवर्तन नै उल्ट्याउने पटमुर्खताले सिङ्गै देशले अनावश्यक दुःख झेल्न वाध्य हुनु परेको छ । क्रान्तिकारी संघर्षको आलोकमा जनताको मतबाट चुनिएर लोकतन्त्रको गर्भबाटै उदाएका, नयाँ तानाशाहको स्वरुपमा देखापरेका केपी ओलीले खासमा जनताको संसद विघटन गरेका होइनन्, उनले संविधान विघटनको पहिलो तुरुप मात्र फ्याँकेका हुन । संविधान असफल पार्नु भनेको नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका युगीन परिवर्तनहरु उल्ट्याएर प्रतिगमनलाई निम्तो दिनु हो । अहिले ओलीको त्यही प्रतिगामी, प्रतिक्रान्तिकारी हर्कतको कारण देशको संविधान, कानुन, राजनीति, न्यायालय, नागरिक समाज र जनताको हर तह र तप्का आन्दोलित हुन विवश भएको छ ।

अब पनि ओलीको विरोधमा नउत्रनेहरु प्रतिगमनका मतियार साबित हुने छन । किनभने संविधानले कल्पनै नगरेको संसद विघटन ओलीले फेरि चुनाव गराउनका लागि होइन । आफै वा राष्ट्रपति सत्तामा निरन्तर हुनका लागि गरेका हुन । अब ओलीले संकटकाल लगाउने र राष्ट्रपति शासन लागू गरेर नागरिकका मौलिक हक, प्रेस स्वतन्त्रता हनन गर्न मात्रै बाँकी छ । सत्ताउन्मादमा उनले कुनै पनि दिन संविधानमाथि अर्को प्रहार गरेर संकटकालको घोषणा गर्ने नै छन् । उनका हर पागलपूर्ण प्रलाप र हर्कतहरुले त्यही कुरा संकेत गरिरहेको छ ।

समाजको कुनै तह र तप्का छैन, जसले ओलीको यो संविधान विरोधी कदमको आलोचना नगरेको होस । न्यायालय यसै विषयमा निरन्तर सुनुवाई गरिरहेको छ । पूर्व प्रधानन्याधीशहरु तथा न्यायधीशहरु यसै विषयमा संविधानको उल्लङ्घन भएकाले संसद पुनस्र्थापना हुनै पर्ने र संविधानको रक्षा हुनुपर्नेमा एकमत प्रकट गरिरहेका छन् । वकिलहरुको लगभग सबै हिस्साले संसद पुनस्र्थापनाको आवाज बुलन्द गरिरहेको छ । पत्रकार, लेखक, कलाकार, साहित्यकार, अधिकारकर्मी, पेशागत संघ संगठनकर्मी सबै संसद बिघटनको विपक्षमा नै आन्दोलित भइरहेका छन । तर पनि ओलीको चेत खुलेको दैखिदैन ।

आफूलाई जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादको स्वघोषित उत्तराधिकारी दाबा गर्ने केपी ओलीले पार्टीभित्रै बहुमतले शासन गर्ने गरी स्थापित गरेको मान्यतालाई अल्पमतले बहुमतमाथि शासन गर्ने उल्टो व्याख्या र प्रयोग गरिरहेका छन् । संसदीय लोकतन्त्रमा संसदको विशेषधिकार हनन गरेका छन् । संविधान नै कुल्चेका छन् । व्यवस्था नै धरापमा पर्ने गरी प्रतिगमनलाई रातो कार्पेट बिछ्याएका छन् । यसप्रति आमजनताको सबै पंक्ति विपक्षमा संविधानको रक्षाका लागि एकतावद्ध र आन्दोलित भइरहेका बेलामा अब सत्तारुढ नेकपाभित्रै केही पंक्ति एकताका नाममा कथित तटस्थ बस्नुको कुनै औचित्य छैन । यो बेलामा अलग्गै एकता अभियान बनाउनुको कुनै तुक छैन ।

ओलीले अधिकतम अब गर्न बाँकी संकटकालको घोषणा र राष्ट्रपति शासन लागू गर्ने मात्र हो । उनले आउँदो वैशाखमा चुनाव गराउने पनि हैनन, उनको नियत पनि त्यो होइन । त्यसैले शतप्रतिशत प्रतिगामी कदमका खलनायक ओलीलाई अब नेकपाभित्रका सच्चा नेता, कार्यकर्ता र समर्थकहरुले यो वा त्यो कुनै पनि बहानामा समर्थन गर्नु हुँदैन । ओलीले त संविधान भत्काए, संसद सिध्याए, व्यवस्था ढाल्न खोज्दैछन, अब उनको समर्थन गरेर कोही पनि इमान्दार, क्रान्तिकारी र जनता र देशको पक्षमा उभिने नेकपाको नेता, कार्यकर्ता र समर्थकले उनको यो कालो कर्तुतलाई सदर र समर्थन गर्नु हुँदैन। किनभने, अब पनि ओलीको समर्थन गर्नु भनेको अन्ततः प्रतिगमनको मतियार हुनु नै हो । प्रतिक्रान्तिलाई सघाउनु नै हो ।

नेकपा ओलीको पेवा होइन, दाइजो होईन । यो हजारौं शहीदहरुको बलिदानी र अग्रजहरुको संघर्षको उपज हो । नेकपा एउटा विचार हो, आन्दोलन हो र देश बनाउने महाअभियान हो । केपी ओली नयाँ प्रतिगामी/प्रतिक्रान्तिकारी बने भन्दैमा कोही पनि वाम विचार, क्रान्तिको सपना देख्ने नेकपा नेता, कार्यकर्ता उनको पछिपछि भेडा भएर लाग्नु हुँदैन । ओलीले त अब सिद्धिए, सिद्धिए, नेकपाको मूल बाटो, विचार र मुद्दा कहिल्यै सिध्याउन हुन्न, उनलाई साथ दिएर ।

नेकपाको आगामी यात्रा सरल र सहज छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको कुर्सीमा बसेर केपी ओली नै नयाँ संस्करणको केशरजंग रायमाझी बनेपछि अब नेकपाले जनता र देशका पक्षमा फेरि एकपटक अर्को संघर्ष, क्रान्ति र बलिदानका लागि तम्तयार हुनै पर्ने खाँचो परेको छ । यो युगको माग हो, केपी ओलीको अन्तर्घात र आत्मघाती कर्तुतको वाध्यता हो ।

त्यसैले जसरी सिंगै देश ओलीको हर्कतको विपक्षमा उत्रियो, त्यसैगरी कथित एकताको बहानामा, कथित भावना र समर्पणका नाममा देशभित्र र बाहिर रहेका सबै नेकपा नेता, कार्यकर्ता तथा समर्थकहरु ओलीको विपक्षमा, प्रतिगामी कदमको विरोधमा, संविधान र वर्तमान व्यवस्थाको पक्षमा एकीकृत र आन्दोलित हुन ढिलो गर्नु हुँदैन । शहीदहरुको वलिदानको जगमा उभिएर फेरि ओली प्रवृत्ति विरुद्ध शिरमा कफन बाँधेर उत्रिनु र प्रतिगमनलाई परास्त गर्न सच्चा नेकपा पंक्ति तयार हुनै पर्छ । जनादेशको सम्मान यसैमा हुने छ । अब कोही पनि ओलीको भुलभुलैयामा फसेर जनताको शासनको विपक्षमा नउत्रौं !


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस