Techie IT
×
गृहपृष्ठबिचारएमसीसी र नागरिकताबारे गगन थापाको मत के हो ?

एमसीसी र नागरिकताबारे गगन थापाको मत के हो ?


ब्यक्तिगत पद र स्वार्थ भन्दा माथि उठेर मुलुकको हितमा आफ्नै प्रधानमन्त्री विरुद्ध बोल्न सक्ने हिम्मत राख्छन् भीम रावल । सोही कुरा भीम रावलभन्दा ठूलो स्वरले संसदमा चिच्याउने गगन थापामा देख्न पाइएन । हजारौं गगन थापाका फ्यानहरु यी बिषयमा उनी बोल्छन् कि भनेर धेरै आशावादी भए तर ढुङ्गो बोल्ला एमसीसी र नागरिकता बिधेयकमा गगन थापा बोल्दैनन् ।

 

दुई बर्षदेखि राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकता बिधयेक आइतबार नेकपाले बहुमतले पारित ग-यो । नेपाली पुरुषसँग बिवाह गरेर आउने बिदेशी महिलालाई अंगिकृत नागरिकता दिने सन्दर्भमा के गर्ने भन्ने विषयमा नेपाली काङ्ग्रेससँग सहमति नजुट्दा राज्य व्यवस्था समितिमा मतदान हुन पुग्यो।

राज्य व्यवस्था समितिमा भएका नेकपाका सांसदहरुले बिदेशी बुहारीलाई सात बर्षपछि नागरिकता दिने प्रस्ताव राखेका थिए तर काङ्ग्रेसले त्यसको ठाडै बिरोध ग-यो र भन्यो पहिलाकै व्यवस्था कायम राख्नुपर्छ अर्थात् बिवाह हुने बित्तिकै नागरिकता दिनुपर्छ। पछि नेकपाको सचिवालय बैठकले पार्टीगत निर्णय गर्दै सात बर्षपछि नागरिकता दिने तर तत्काल सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र दिने भन्यो। र, सोही अनुसार नागरिकता बिधयेक राज्य व्यवस्था समितिबाट नेकपाले बहुमतले पारित ग-यो। यो निर्णयको अहिले देशभर प्रशंसा भइरहेको छ।

संसारमा कुनै पनि यस्तो देश छैन जहाँ बिवाह गरेको भोलिपल्टै बिदेशीलाई नागरिकता दिइन्छ। उदाहरणको लागि टाढा जानै पर्दैन छिमेकी राष्ट्र भारतमा हाम्रो चेलीहरु बिहे गरेर गए भने उनीहरुले त्यहाँ नागरिकताको लागि निवेदन दिन बिवाह भएको ७ बर्षपछि मात्र पाउँछन्। यसबाट के स्पष्ट देखिन्छ भने करीव एक सय ४० करोड जनसंख्या भएको भारतजस्तो देशले त बिदेशी बुहारीलाई नागरिकता दिन सात बर्ष रोक्छ भने हाम्रो भूगोल र जनसंख्या दुबै सानो र थोरै भएको देशले के नागरिकता जस्तो संवेदनशील बिषयमा गम्भीर हुनुपर्दैन ? अवश्य पनि पर्छ। राष्ट्र र राष्ट्रियताभन्दा ठूलो कुरा अर्को हुन सक्दैन त्यसैले अंगिकृत नागरिकतामा कडाइ गर्नु आवस्यक छ भन्ने कुरा केही दिनअघिको सरिता गिरी प्रवृत्तिले पनि हामीलाई झस्काएको थियो। तर नेपाली काङ्ग्रेसले अन्तिमसम्म यसको बिरोध गरी नै रह्यो र गर्दैछ। उसको भनाइ यति छ कि बिदेशी बुहारीलाई बिहे भएकै दिन सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिनुपर्छ।

सरकारले गरेको हरेक कामको झट्टै प्रतिक्रिया दिने नेपाली काङ्ग्रेसका युवा नेता तथा प्रखर वक्ता सांसद गगन थापा यतिबेला मौन छन् । सरकारले राम्रो काम गर्दा उनी प्रतिपक्षमै भए नि धन्यवाद दिएका केही उदाहरणहरु पनि छन् भने सरकारको बिबादास्पद काम र अनियमितता भएको कुरामा खरो आलोचना र बिरोध गर्न उनी माहिर छन् । कहिले संसदमै कविता भनेर त कहिले स्वस्थानी पढ्ने शैलीमा सरकारको आलोचना गर्ने गगन थापा अहिले आफ्नै पार्टीले बिदेशीलाई बिहेकै भोलिपल्ट नागरिकता दिनुपर्छ भन्दा कुन दुलोमा लुकेर बसेका छन् ? पत्तो छैन। हामी हजारौं युवाले मन पराउने र फलो गर्ने नेतामध्येका एक हुन यिनै गगन थापा तर पार्टी र स्वार्थको लागि यिनले पनि राष्ट्रियताको सन्दर्भमा बोल्ने आँट गरेनन्।

अहिले देश एमसीसीमय भएको छ। एमसीसी देशको लागि घातक छ भनेर अहिले चौतर्फी बिरोध भइरहेको छ। एमसिसीको रणनीति र नेपालको भविष्यका विषयमा क्यानडामा जन्मिएर अहिले अमेरिकाको विश्वविद्यालयमा प्राध्यापनरत डा मेरी डेशेनसँग पब्लिक डिस्कोर्स फाउन्डेसनको तर्फबाट डा तारालाल श्रेष्ठले गरेको कुराकानीलाई आधार मान्ने हो भने एमसीसी नेपालको लागि घातक छ र यो संशोधन गरेर पनि पारित गर्नु हुँदैन। उनी लामो समय नेपाल बसेर यहाँको विविध विषयमा गहन अध्ययन र अनुसन्धान गरेकी प्रोफेसर हुन् ।

यसरी अमेरिकी प्रोफेसरले नै एमसीसीको बिरोध गरिसक्दा गगन थापा भने मौन छ अर्थात् यो पारित हुनुपर्छ भन्ने पक्षमा छन् उनी नत्र तीन फिट माथि उफ्रेर बोलिसक्थे ।

गगन थापाले नागरिकता बिधेयकमा पार्टीको निर्णय बिपरीत नै बोल्दा पनि आकाशै खसिहाल्ने अवस्था थिएन। उनीले चुनाव काठमाडौंबाट जितेका थिए न कि तराई मधेसबाट। तराईबाट जितेको भए भोटर बिच्किने हुन कि भन्ने डर हुनसक्थ्यो त्यो पनि थिएन । प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले एमसीसी पारित गर्नुपर्छ भन्दै गर्दा नेकपाकै नेता डा भीम रावलले यसको चर्को बिरोध गर्दै आएका छन् । राष्ट्र र राष्ट्रियताको सन्दर्भमा कुनै पनि बिदेशी हस्तक्षेप र असमान सम्झौता स्वीकार्य हुँदैन भनेर उनले बारम्बार सार्वजनिक रुपमा भनिसकेका छन् । उनी सत्तारूढ दलकै सांसद हुन् । यसरी बोल्दा भोलि मन्त्री बन्न नपाइने हो कि भन्ने ठूलै डर हुनुपर्ने हो तर पनि ब्यक्तिगत पद र स्वार्थ भन्दा माथि उठेर मुलुकको हितमा आफ्नै प्रधानमन्त्री विरुद्ध बोल्न सक्ने हिम्मत राख्छन् भीम रावल । सोही कुरा भीम रावलभन्दा ठूलो स्वरले संसदमा चिच्याउने गगन थापामा देख्न पाइएन । हजारौं गगन थापाका फ्यानहरु यी बिषयमा उनी बोल्छन् कि भनेर धेरै आशावादी भए तर ढुङ्गो बोल्ला एमसीसी र नागरिकता बिधेयकमा गगन थापा बोल्दैनन् ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस