Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

बैकिङ कसुर मुद्दाको चाप बढ्दो


सामान्य अर्थमा बैंक वा वित्तीय संस्थालाई हानिनोक्सानी हुने कार्यका साथै समग्र वित्तीय प्रणालीमै नकारात्मक असर पार्ने कार्य बैंकिङ कसूर हो । यसका सम्बन्धमा बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को परिच्छेद २ ले विशेष व्यबस्था गरेको छ । बैंकिङ कसूरसम्बन्धी मुद्दा नेपाल सरकार वादी हुने र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ अन्तर्गतको मुद्दा हो ।

बैंकिङ कसुर तथा चेक बाउन्समा घट्ना पछिल्लो समय बढ्दै गइरहेको छ । त्यसमा पनि सबैभन्दा बढी चेकमार्फत कारोबार गरे पनि ठगिने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तीन वर्षयताको तथ्याङ्कले पनि दुई वर्षयता बैंकिङ कसुरमा दर्ता भएका उजुरीले ‘ग्राफ’ बढिरहेको देखाउँछ । देशभर सबैभन्दा बढी चेक बाउन्स तथा बैकिङ कसुरमा मुद्दा आउने जिल्ला प्रहरी परिसर काठमाडौंमा हो । यहाँ यस्ता मुद्दाको चाङ नै छ । परिसरमा चेक बाउन्सका दैनिक २०/२५ वटा उजुरी पर्छन् । ती उजुरी एक लाखदेखि दश करोडसम्मका चेक बाउन्ससम्बन्धी छन् । परिसरको तथ्याङ्कअनुसार बैंकिङ कारोबारअन्तर्गत चेकमार्फत ठगी गर्नेको सङ्ख्या बढेको छ । बैकिङ कसुरअन्तर्गत चेक बाउन्स, हुन्डी, सहकारी ठगी, नेपाल राष्ट्र बैङ्क बिरुद्धको ठगी, अनधिकृत रूपमा चेक, चेक बुक वा बैङ्क विवरण प्राप्त गर्न वा दिने कार्य, अनधिकृत रूपमा नगद निकाल्दा वा भुक्तान दिएकोलगायत कसुर पर्छन् । यी मुद्दाको प्रहरीका चाङ नै छ ।

तथ्याङ्कमा बैकिङ कसुर
आव २०७९/०८० मा बैकिङ कसुर सम्बन्धि सबै मुद्दामा ६९ अर्ब १५ करोड ८८ लाख २२ हजार ९४३ रूपैयाँ हिनामिना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ । यी घटनामा प्रहरीले दुई हजार ४७७ जनालाई पक्राउ गरेको छ । प्रहरीमा सबैभन्दा बढी चेक बाउन्सका घटना छन् । २०७९/०८० मा चार अर्व ७५ करोड २६ लाख ६८ हजार ७७९ रूपैयाँ ठगी भएको कसुरमा प्रहरीमा मुद्दा दर्ता भएको छ । चेक बाउन्सका घटनामा एक हजार ८७१ जना पुरुष र ४७० जना महिला संलग्न छन् भने १२ हजार ३० वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै हुन्डी सम्बन्धि अपराधका घटना पनि डरलाग्दो छ । २०७९/०८० मा दुई करोड ५२ लाख ३१ हजार ४२५ रूपैयाँ अवैध कारोबार भएको भन्दै प्रहरीले ३१ जना पुरुषलाई कारबाही प्रक्रिया अघि बढाएको छ । त्यस्तै प्रहरीमा सहकारी ठगीसम्बन्धि मुद्दाको पनि चाङ छ । १८ अर्व ८२ करोड ७५ लाख ९४ हजार ८५१ रूपैयाँ सहकारीमार्फत कारोबार भएको छ । सो घटनामा प्रहरीले ५१ जना पुरुष र १३ जना महिलालाई पक्राउ कारबाही प्रक्रिया अघि बढाएको छ । त्यस्तै नेपाल राष्ट्र बैङ्क बिरुद्धको कसुुरमा पनि पक्राउ पर्नेको सङ्ख्या धेरै छ । यस घटनामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ भने उनीहरूले नेपाल राष्ट्र बैङ्कको दुई अर्ब ४९ करोड ६८ लाख ४ हजार १६० रूपैयाँ हिनामिना तथा ठगी गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक प्रहरीमा बैकिङ कसुुर सम्बन्धि मुद्दाको सङ्ख्या धेरै छ ।

पछिल्लो मुलुकी संहिता २०७४ अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दा फौजदारीभित्र पर्छ । बैंकिङ कसुरसम्बन्धी कानुनअनुसार खातामा पैसा नभएको चेक दिएर झुक्याउनेलाई ६० दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई छ । त्यस्तै बिगोसहित जरिवाना तथा क्षतिपूर्ति र तीन महिनासम्म कैद हुने व्यवस्था छ ।

आव २०७८/०७९ मा बैकिङ कसुरमा १४ अर्ब २१ करोड ७५ लाख ७२ हजार रकम हिनाहिना भएको थियो । जसमा एक हजार ३५८ जना पुरुष र २१० जना महिला पक्राउ परेका छन् भने ५ हजार ४१६ वटा मुद्दा दर्ता भएका छन् । यसवर्ष चेक बाउन्समा ६ अर्ब ७१ करोड ९२ लाख ८५ हजार २२९ रूपैयाँ ठगी भएको छ । त्यस्तै सहकारी ठगीका घटना पनि बढेकोे थियो । यसवर्ष १५ वटा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएका थिए भने ७ अर्व ३९ करोड ३५ लाख २९ हजार रकम हिनामिना भएको थियो भने हुन्डीमार्फत कारोबारमा १५ वटा मुद्दा दर्ता भए । यस घटनामा १८ करोड ६४ लाख ३ हजार ६५३ रूपैयाँ अवैध कारोबार भएको नेपाल प्रहरीको तथ्याङ्क छ । 

त्यस्तै आव २०७७/०७८ मा पनि बैकिङ कसुर सम्बन्धि घटना उल्लेखीय भए । यसवर्ष बैकिङ कसुरका दुई हजार ३६५ वटा मुद्दा दर्ता भएका छन् भने ३ अर्ब ३७ करोेड ५८ लाख रूपैयाँ हिनामिना तथा ठगी भएको छ । यसवर्ष प्रहरीले ८५४ जना पुरुष र १५८ जना महिलालाई पक्राउ गरेको थियो । त्यस्तै हुण्डीमार्फत अवैध रकम कारोबार गर्ने २५ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने सहकारी ठगीमा पनि ६२ जना पुरुष र १५ जना महिला पक्राउ परेका थिए ।

बैंकिङ कसुर र विद्युतीय कारोबार ऐनअन्तर्गतका मुद्दा २०८० असार ११ गते राजपत्रमा कानून मन्त्रालयले सूचना प्रकाशन गरेसँगै अब जिल्ला अदालतहरूले  हेर्न पाउने व्यवस्था सरकारले गरिसकेको छ । यसअघि बैकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालतले हेर्ने गथ्र्यो । प्रहरीका अनुसार चेकमार्फत १० लाखभन्दा बढीको कारोबार गर्दा व्यक्तिले आवश्यक कागजातसहित सम्पत्ति विवरण खुलाउनुपर्छ । कोही व्यक्तिले नक्कली कागजात बनाएर नभएको सम्पत्ति देखाएको छ भने प्रहरीले सम्पत्ति शुद्धीकरण विभागसँग प्रमाण माग्छ । पुरानो तथ्याङ्कलाई हेर्दा दुई वर्षयता बैङ्क तथा वित्तीय क्षेत्रमा हुने अपराध बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार  अपराधीको निसानामा बैङ्क तथा वित्तीय क्षेत्र परेकाले बैंकिङ कसुरका उजुरी बढेको छ । 

पछिल्ला वर्षहरूमा यससम्बन्धि घटनाहरू बढ्नुमा मुख्य त वित्तीय संस्थाकै कमजोरी मानिएको छ । त्यस्तै नियामक निकायका नीति–निर्देशन प्रभावकारी रूपमा पालना नभएको कारणले पनि बैकिङ कसुरका घटना बढिरहेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार वित्तीय संस्था नाफाकेन्द्रित हुँदा सूचना–प्रविधिमा कम लगानी गर्दा पनि पनि बैकिङ कसुरका घटना बढेका छन् । 

के हो चेक बाउन्स ?

चेक काटिदिने व्यक्तिले, आफ्नो बैङ्क खातामा रकम छैन वा रकम भएपनि पर्याप्त छैन भनी जान्दा जान्दै चेक काटि दिएमा चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैङ्कबाट प्राप्त गर्न नसकेको अवस्था अर्थात् कुनैपनि बैङ्कले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था ‘चेक बाउन्स’ हो । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउने सम्मको सजाय हुन सक्छ । बैङ्कले पर्याप्त रकम नभएको जानकारी सहित अनादर गरेपछि कानुनी उपचार खोज्ने विधि बैकिङ कसुर तथा सजाय ऐन अनुसार २०६४ अन्तर्गत कानुनी प्रक्रियामा जान सकिन्छ ।

बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी दिने गर्छ । यसरी खातामा रकम अपर्याप्त भएका कारण फिर्ता भएको चेक पुनः बैङ्कमा भुक्तानीका लागि बैङ्कमा आयो र त्यस समयमा पनि अपर्याप्त रकमका कारण चेक फिर्ता गर्नुपर्यो भने कर्जा सूचना केन्द्रमा कारबाहीका लागि बैङ्क तथा वित्तीय संस्थाले उजुरी दिने गर्छ ।

हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैङ्कले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्ने गर्छ । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैङ्क आफैले जानकारी दिने गर्छ । तीनपटकसम्म चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी दिन सक्छ । सुरुमा चेक बाउन्स भएको एक साताभित्र बैंकलाई खबर गरेर चेक वाहकले चेक जारी गर्नेलाई कालोसूचीमा समेत राख्न पाउँछ । यसरी कालोूुचीमा भएपछि नहटेसम्म सो व्यक्तिले बैंकमा खाता खोल्न, ऋण लिन पाउँदैन । साथै सरकारी सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्छ ।

कानुनी पाटो

पछिल्लो मुलुकी संहिता २०७४ अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दा फौजदारीभित्र पर्छ । बैंकिङ कसुरसम्बन्धी कानुनअनुसार खातामा पैसा नभएको चेक दिएर झुक्याउनेलाई ६० दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई छ । त्यस्तै बिगोसहित जरिवाना तथा क्षतिपूर्ति र तीन महिनासम्म कैद हुने व्यवस्था छ ।

मिलापत्र हुने

चेक अनादरमा पीडित र पीडकबिच मिल्न चाहेमा मिल्न सक्ने कानुनी व्यवस्था नै छ । त्यही अनुसार महान्यायाधिवक्ता कार्यालयले मिति २०७७ चैत २६ गते एक परिपत्र जारी गर्दै चेक बाउन्सलाई मिलापत्रमा टुङ्ग्याउन परिपत्र जारी गरेको थियो । त्यसपछि केही चेक बाउनसका घटनाहरू मिलापत्रसमेत भैरहेका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट