कुकुरमा पनि वर्गीय अन्तरविरोध छ

एका देशमा एउटा बुढो पाङ्ग्रे कुकुर थियो । जीवनका धेरै हिँउद बर्खा विताएकाले अरु कुकुरभन्दा पाङ्ग्रे अनुभवी र लोकप्रिय थियो । एक दिनको कुरा हो, कोदो टिपेर नल काटिसकेको बारीको कान्लामा पारिलो घाममा पाङ्ग्रे मस्तसंग निदाइ रहेको थियो । यत्तिकैमा खिच्चा कुकुरका एक हुल छाउरा–छाउरी पनि त्यहीँ आइपुगे । बारीलाई भुतभुते खेलेर पाङ्ग्रेले धुलाम्मे पारेर सम्याएको थियो । छाउरा–छाउरीले उछलकुद गरेर पाङ्ग्रेको पातलो निद्रा भंग गरिदिए । पाङ्ग्रेको पुच्छर टोकेर खेलकुदमा सक्रिय बनाउने सांकेतिक निम्तो गरे । ससाना खिच्चा कुकुरसंग पाङ्ग्रेले खेल्ने उमेर त छँदै थिएन । छाउरा–छाउरी माथि बर्चस्व स्थापना गर्न खिच्चा कुकुरसम्बद्ध नसुल्झिएको ऐतिहासिक सन्दर्भ सुनाउने मेलो पाङ्ग्रेले सोच्यो । नभन्दै सबै छाउरा–छाउरी पाङ्ग्रेको प्रवचन सुन्न लालायित भए । र, पाङ्ग्रेले कथा यसरी सुरु गर्यो ः
हेर, संसारमा हामी सबैभन्दा बढी शोषण, दमन र उत्पीडनमा परेका प्राणी हौं । हुनलाई हामी घरपालुवा जनावर भनेर नै परिचित छौं । तर अन्य घरपालुवा जनावरको तुलनामा हामी धेरै उपेक्षित र उत्पीडित छौं । गाई, गोरु, भैंसी, भेडा, बाख्रा, हात्ती, घोडाको तुलनामा हाम्रो हैसियत छँदैछैन । गधासंग पनि हाम्रो तुलना हुन सक्तैन । सत्ययुग, त्रेतायुग, द्वापरयुग वितेर कलियुग लागि सक्यो हाम्रो कुनै थातथलो ठेगान छैन । हाम्रो काम भुक्ने र सडकमा सुत्ने बाहेक केहि हुन सकेको हैन । कहिलेकाँही त लाग्छ हामी पनि स्वाँठ पार्टीको ल्वाँठ कार्जेकर्ता हौं ।
कुकुरको परिचय:
प्राचिन इजिप्ट र पश्चिम एसियाबाट हाम्रो आधुनिक सभ्यता सुरु भएकोे हो । रोमन साम्राज्यको उदयसंगै हाम्रो सभ्यता सुरु भएको १२ हजार वर्ष पहिले देखिको हो । विश्वमा हामी विविध जातिका छौं । मान्छेहरु ‘होमोसेफियन’ नश्लबाट विकसित भए । हामी ‘ग्रे–ब्वाँसो’ नश्लीय परिवारबाट विकसित भयौं । यसरी उत्पत्तिको हिसावले हाम्रो पनि ऐतिहासिक मान्यता छ । आजभन्दा २७ हजार वर्षदेखि ४० हजार वर्ष पहिले ब्वाँसोको परिवारबाट विकसित प्राणी हौं ।

तर, हाम्रै सदस्यहरुबीच पनि अनेक नश्ल सुधार गरेर एक थरीलाई उपल्लो वर्गमा विराजमान गराइएको छ । कतिपय अपराधी पकड्ने पुलिस दर्जामा छन । ‘फुटाउ र राज गर’ भने जस्तै एकथरी नश्ल सुधार गरिएका हाम्रा दाजुभाइ अट्टालिका महलमा बस्छन । सोफा र गद्धामा सुत्छन । पौष्टिक खान्की खान पाउँछन । हामीलाई देखि सहँदैनन । उनीहरु बस्ने महलको पर्खालमा ‘कुकुरदेखि होसियार’, ‘टोक्ने कुकुरदेखि सावधान’ लेखेर तिनको हैसियत बढाइन्छ । तीनीहरु गाडीमा घुम्छन र मालिक मालिक्नीको गालामा चुम्माचाटी गर्न पाउँछन् । अर्थात, कुकुरमा पनि वर्गीय अन्तरविरोध छ ।
नैसर्गिक अधिकारमा उत्पीडन :
हामी माथि भएका उत्पीडनको कैरन गरेर साध्य छैन । हाम्रो भूमिका त मान्छेले नभने पनि गरेकै छौं । तर, तीनले हाम्रो भूमिकाको कुनै कदर गरेका छैनन् । समाजमा भएका नकारात्मक कुराको सबै भारी हामीले बोक्नै पर्छ । यति धेरै काममा तल्लिन हुँदासम्म गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता आधारभूत अधिकारबाट बेदखल भएका छौं । हामी सफाई कर्मचारी पनि हौं । सिनो खाएर सफा गर्छौ । मान्छेको मल (गु) खाने हाम्रो प्राकृतिक नैसर्गिक अधिकार हो । हाम्रो परम्परागत खान्की ‘गु’ खान नपाओस भनेर खुल्ला दिशामुक्त क्षेत्र अभियान चलाए । हाम्रो खान्की कंक्रिटको बक्साभित्र हालेका छन् । यसले गर्दा हामी घुमन्तु कुकुरमा अनिकाल छाएको सर्बविधितै छ ।
हुर्मत लिने उखान :
मीलाई हेलाहोचो देखाउन अनेक उखान रचिएका छन् । उहिले नै रचिएको र आजसम्म चलेको यी उखान संशोधन, परिमार्जनसम्म भएका छैनन् । यस्तै एउटा उखान हो, ‘सबै कुकुर काँशी गए ‘गु’ के ले खाने ?’ खुल्ला दिशामुक्त क्षेत्र अभियान अन्तर्गत पक्की पाइखाना बनेपछि यो उखानको के मतलब ? ‘कुकुरलाई घिऊ पच्दैन’, यो अर्को कुकुर विरोधी उखान हो । कुकुरलाई घिऊ नपच्ने थाहा हुँदाहुँदै घिऊ खुवाएर हामीलाई खुइल्याउँछन् । अनि भन्छन, कुकुरलाई घिऊ पच्दैन । हामीलाई धर्म–सांस्कृतिक मुन्धुमबाट अलग गर्न ‘काम छाडी कैफत, कुकुरलाई नैवेद’ रचित उखान पनि छ ।
हाम्रो जमाना कुकुर्नीलाई हुर्मत काढ्ने उखान छ । जस्तैः ‘कुकुर्नीका सातवटा पोइ मर्ने बेलामा कोही न कोही ।’ पशु जगतमा एकनिष्ठ विहे भन्ने नै हुँदैन । तर मान्छे जगतको एक पत्निक र एक पतिकको व्यवस्थालाई नमानेर बहु–पत्निक वा बहु–पतिक व्यवहार गर्नेलाई पनि कुकुर, कुकुर्नीको संज्ञा दिन्छन । अरु पशु जगतमा नश्ल सुधारका नाममा छानीछानी साँढे, बर, वीर, भाले लगाइन्छ । तिनीहरुको उदाहरण आउँदैन । तर कुरो चैं हाम्रै काडिन्छ । मान्छेहरु बाह्रैमास, बाह्रै महिना, चौविसै प्रहर कामसूत्रको ध्याउन्नमा हुन्छन् । समय कु–समय रासलीला मच्चाउँछन अनी तिनका स्वास्नी मान्छे ब्याइ भने भन्छन, ‘कस्ती कुकुर्नी जस्तो ब्याउन सकेकी ?’
मान्छेहरु आफ्नो आनीबानी सुधार्दैनन् अनि हाम्रै पुच्छरलाई मिथक बनाएर भन्छन, ‘बाह्र बर्ख कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बाङ्गाको बाङ्गै ।’ हामी दिनरात रखबारी गर्छौं । स्याल, ब्वाँसो, चिल खेद्छौं । त्यसको हेक्का नराखी हाम्रो विपक्षमा उखान बन्यो, ‘कुकुरको काम पनि छैन, फुर्सद पनि छैन ।’ हामीलाई डरछेरुवा, काँतरको रुपमा प्रस्तुत गर्दै उखान बनेको छ, ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ’, ‘भुक्ने कुकुरले टोक्दैन’, कुकुर भुक्दै गर्छ हात्ती लम्किरहन्छ’, ‘बोकेको कुकुरले मृग मार्दैन’ यस्तै यस्तै । सामाजिक रुपले होच्याउने उखानहरु रचिएका छन्, ‘कुकुर जस्तो भतुवा लाग्ने’, ‘कुकुरलाई मासु पैंचो’, ‘कुकुर बिरालो’, धोवीको कुकुर घरको न घाटको’, ‘घामपानी घामपानी स्यालको विहे कुकुर जन्ती बिरालो बाहुन आदि इत्यादी ।
शब्दकोषहरुमा कुकुर :
नेपाली शब्दकोषहरुमा हाम्रा बारेमा दिएका अर्थ र परिभाषा त्यत्तिकै दिक्दारलाग्दो छ । स्याल, फ्याउरोको रखबारी गर्नेमात्र उल्लेख छ । जबकी हामीहरु मान्छे जातका चोर, डाँका, हत्याराको पनि उत्तिकै रखबारी र खबरदारी सूचना सम्प्रेषण गरिरहेका हुन्छौं । हत्यारा, ज्यानमाराको खोजी गर्न पनि हाम्रो घ्राण शक्तिको भरपुर उपयोग गरिरहेका हुन्छौं । तर त्यही शब्दकोषमा हाम्रो नाम जोडेर अनेक बिखालु जिव, झारपातसंग हामीलाई दरिएको छ । ‘कुकुर झिँगो’, ‘कुकुर डाइनो’ (काँडे लहरो), ‘कुकुर मुत्ते’ (खान नहुने रुखमा हुने च्याउ), आदि हाम्रै नाम राखेर न्वारान गरिएको छ ।
हामीले हाम्रा कान पाक्ने गरी यस्ता तुच्छ बचन सुन्दै आएका छौं । हाम्रा अंग प्रत्यंग पनि खिसीट्युरी गर्ने नाम भएका छन्, जस्तो की ‘कुकुर दाँते’, ‘कुकुर पुच्छ्रे’ आदि । हाम्रा बानी बेहोरालाई पनि निको अर्थमा लिइन्न । ‘कुकुर डुलुवा’, ‘कुकुर भुकाइ’, ‘कुकुर मुखे’, ‘कुकुर मुत्ते’ भन्ने ननिको चलन छ । हाम्रो प्राकृतिक गुण अनुसार हामी वर्षमा एक पटक मैथुन क्रियाकर्म गर्छौं । मान्छे जस्तो बाह्रै महिना, बाह्रैमास, २४सै प्रहर हैन । कात्तिक महिनामा हामीले गर्ने मैथुन क्रियालाई ‘कुकुर गाँठो’ भनेर अश्लिल र गिज्याउने अर्थ दिइएको छ । कसै मनुवाले रतिराग, रासलीला मच्चाए उसलाई कात्तिके कुकुर भन्ने चलन छ । वर्ष दिन २४ सै प्रहर रासलीला गर्ने तिनको क्यारेक्टर चैं ढिला हुनु पर्ने हैन र ?
छनलाई हाम्रो पनि चाडपर्व छ जसलाई कुकुर तिहार भनिन्छ । तर हेपेर त्यसलाई ‘कालो कात्तिक’ भनेर नामै विगारिएको छ । भित्ता मुतुवा भन्छन् । तर भित्ता मुतेको रहस्य तिनलाई के थाहा ? हामीलाई कात्तिके नाम जुराएका छन् । चाडमा यसो माला लगाइदए जस्तो गरेर हड्डखुड्डी दिएर मन्साउँछन् । मान्छेहरु चाडबाडमा रसरंग पिउँछन् । धेरै पिएभने कुकुरको मुत घिचेको भनेर हाम्रै मुत्रको हुर्मत लिन्छन् ।
पत्रकारिता र साहित्यको नजरमा कुकुर :
साहित्य र पत्रकारिताको नजरमा भने हाम्रो मान–मनितो भए जस्तो लाग्छ । साहित्यकारले हाम्रा बारेमा अनेक साहित्य, शायरी रचेका छन् । एक जना शायरले त यतिसम्म लेखेका छन्, ‘मोहब्बत और बफादारी सीखनी है तो इन्सान से नही कुत्तौं से सिखो ।’ प्रेम र बफादारी भन्ने चिजबस्तु सिक्न त हामीलाई नै गुरु थाप्नु पर्ने रहेछ । इन्सानीयत अर्थात मानवीयता सिक्न कुकुरबाट गुरु दिक्षा लिनु पर्ने अवस्था आएपछि मानव भन्ने चिजबस्तु नै कहाँ रह्यो र ? साहित्य लेखनमा यो त प्रतिनिधि उदाहरण मात्रै हो ।
पत्रकारिता शिक्षाको परिभाषामा पनि ‘कुकुर दीक्षा’को मूल्याङ्कन पाइन्छ । समाचार उत्पादनकै परिभाषामा भनिएको छ, ‘कुकुरले मान्छेको खुट्टा टोक्यो भने समाचार हुँदैन, तर मान्छेले कुकुरको खुट्टा टोके समाचार हुन्छ ।’ रखबारी गर्ने क्रममा हामी मान्छेको मात्रै होइन अरु जिवजन्तुको पनि खुट्टा बाँकी राख्दैनौं । हाम्रो प्राकृतिक गुण नै टोक्ने चिथोर्ने भएपछि कसरी समाचार बन्छ त ? यसरी नै पत्रकारिता जगतमा ‘वाच डग’को भूमिकालाई सिरोधार्य र अनिवार्य गरिएको छ । यसले पनि कुकुर जगतको भूमिकालाई दीक्षाको रुपमा लिएको छ । यसबाहेकका क्षेत्र विधामा त हामीहरु भुस्याहा, खिच्चा, लावारिस र खाते कुकुर हौं । हाम्रो नामै पनि काले, पाङ्ग्रे, खैरे आदि एकलख भिरेको न छ ।
उता बेलायती उपनिवेश भारतमा कायम हुँदा कुइरेहरुले हामी कुकुरहरुलाई अलिकति मानिससंग दाँजेका थिए । कलकत्ताको धरमतल्लामा रहेको भिक्टोरिया मेमोरियल हल अगाडिको पर्खालमा ‘इण्डियन एण्ड डग्स आर नट अलाउड’ लेखेर भारतीयहरुसंग कमसेकम हाम्रो तुलना गरेका थिए ।
मृत्यु र मोक्ष :
मृत्यु भनेको जीवका जीवनको समापन वा अन्त्य हो । देहावसान, निधन र मरण हो । तर हाम्रो मरणको कुनै मूल्य छैन । मानिसको मृत्युमा स्वर्गवास, बैकुण्ठधाम अनेक नाम दिन्छन् । माक्र्सवादीहरुले मृत्युलाइ दुई चिराबाट व्याख्या गर्छन । पहिलो गर्व गर्न लायक मानिसको मृत्युलाई हिमाल भन्दा गरुङ्गो र नालायक मान्छेको मृत्युलाइ प्वाँखभन्दा हलुङ्गो भनेर वर्गीकरण गरिएको छ । तर, हाम्रो मृत्युलाई शब्दकोषहरुले ‘कुकुर मराइ’ उल्लेख गरेको छ । हाम्रो मृत्युलाई कष्टपूर्ण मृत्यु, सारै दुःखको मरण यस्तो परिभाषा गरिएको छ । हाम्रो मृत्युवरणको कुनै असल नाम छैन । कुकुर मराई भनिन्छ । यतिमात्र हैन हाम्रो बंश वृद्धि रोक्न र हामीलाई कालान्तरमा निसन्तान र अपुताली बनाउन परिवार नियोजन कार्यक्रम नगरपालिकाले चलाउन थालेका छन् । हाम्रो मृत्युको त कुनै ठेगान छैन । नगरपालिकाले बेला–कुबेला भुस्याहा कुकुर उन्मुलनको नाममा हाम्रो ‘जेनोसाइड’, ‘होलोकास्ट’ गर्छन । रेविज फैलाएको आरोपमा उपचारको साटो सिधै मृत्युदण्ड दिइन्छ ।
मोक्ष धार्मिक सिद्धान्तमा संसारिक संघटनबाट मुक्ति प्राप्त गर्ने प्रक्रिया हो । जसले आत्मा वा जीवात्माको सर्वोत्तम लक्षमा पुर्याउँछ । यसले दुःख, पीडा, र संसारिक संकटबाट मुक्ति प्रदान गर्दछ । संसारिक दुःखबाट मुक्ति वा स्वतन्त्रता पाउने विधि हो । तर, हाम्रो मोक्षको कुनै मूल्य छैन । हाम्रा बाउ, बाजे, बराजुबाट सुनेको एक पटक सायद द्वापर युग तीर होला युधिष्ठिरसंग एउटा कुकुर रहेछ । एक दिन यमराज युधिष्ठिरलाई स्वर्ग लैजान आएछन । युधिष्ठिरले आफूसंग भएको कुकुरलाई पनि लैजान अनुरोध गरेछन । तर, यमराजले कुकुरलाई स्वर्गमा प्रवेश निषेध भएको जनाउ दिए रे ।
कथाको रहलपहल :
यसरी हामीमाथि अनन्त उत्पीडनका सृङ्खलाबाट आजित भएपछि संसारभरका कुकुरहरुको एउटा अन्तराष्ट्रिय सम्मेलन भयो । सम्मेलनले मुक्ति र स्वतन्त्रताको लागि आन्दोलन गर्ने निर्णय गर्यो । ‘संसार भरका खिच्चा कुकुरहरु एक हौं’ यस्तो गगनभेदी नारा लाग्यो । यसैक्रममा शसस्त्र (टोक–टाक) र निशस्त्र (भुक–भाक) आन्दोलन उत्कर्षमा पुग्यो । संसार थर्कियो । ब्रम्हाण्डका रचनाकार ब्रम्हा, विश्णु, महेशको सिंहाशन हल्लियो । ब्रम्हा जी दूत बनेर वार्तामा आए । बाह्रबुँदे समझ्दारी भयो । समझदारीमा गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधानसभा, संविधानसभाबाट पहिचानसहितको संघीय गणतन्त्र स्थापना गर्ने समझ्दारी पत्रको प्रस्तावनामा उल्लेख भयो ।
सहमति पत्रको ‘चिर्कटो’ एकप्रति कुकुर नेताले राखे । ब्रम्हा जीले समझ्दारी अनुसारको व्यवस्था कार्यान्वयन गर्न सहमति पत्र बोकेर स्वर्गमा आउन आन्दोलनकारी कुकुर नेतालाई भने र अलप भए । यता कुकुरहरुले कसले सहमति पत्र के गरी बोक्ने भन्नेमा सकस भयो । एक अर्कामा शंका उपशंका बढ्यो ।
यसर्थ सबैले पालैपालो बोक्ने निधो भयो । तर, कुकुरहरुसंग बोक्ने कुनै झोला फाइल हुने कुरा भएन । सबैले पछाडि पट्टिको तिघ्रामा पालैपालो च्यापेर बोक्ने निर्णय भयो । यसरी असंख्य कुकुरहरुले पालैसंग बोक्दै लैजाँदा सहमति पत्र कहाँ हरायो पत्तै भएन । जब एकदिन ब्रम्हा जीकोमा जाने दिन आयो सहमति पत्रको खोजी गर्दा खुटखबर आएन । यसर्थ अहिले पनि हामीहरु मुक्ति र स्वतन्त्रताको खातिर त्यहि सहमति पत्र खोजी रहेका छौं । यसैले कुकुर कुकुर भेट हुँदा हामी कुकुरहरु पछिल्तिरको भाग हेर्ने र सुँघ्ने गर्छौ । कतै सहमतिको चिर्कटो भेटिन्छ की भन्ने हाम्रो आश मरेको छैन । हाम्रो उत्पीडनको मुक्तिको सूत्र त्यही चिर्कटोमा छ । जुन दिन हात लाग्छ हाम्रो मुक्ति र मोक्ष हुनेछ । हाम्रो कथाको ऐतिहासिक कैफियत यहि हो ।
यति कथा पाङ्ग्रेले हालिसक्दा बारीको पारिलो घाममा छाउरा–छाउरीहरु उत्तानो टाङ सूर्य नारायणतर्फ फर्काएर मस्तसंग निदाइ सकेका थिए ।
टिप्पणीका लागि : bhawanibaral@gmail.com
तपाईको प्रतिक्रिया दिनुहोस