Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारसत्तारुढ नेकपा अब कता ?

सत्तारुढ नेकपा अब कता ?


झिल्को टिप्पणी

सत्तारुढ नेकपा अब कता ? यो प्रश्न अब त्यस पार्टीको निजी आन्तरिक विवादमा मात्र सीमित रहेन, राजनीतिक रुपमा सचेत आम नागरिकका लागि पनि यो सरोकारको प्रश्न बनिसकेको छ । सात दशक लामो उतारचढाव पार गरेर आएको नेकपाले दुई तिहाई बहुमतको सरकार सञ्चालन गरिरहेका बखतमा, जनता अभूतपूर्व स्वास्थ्य संकटमा थलिएको बेलामा सत्तारुढ दलमा देखिएको विवाद अब धेरै कचल्ट्याएर राख्नु हुँदैन । यसलाई तत्काल पार्टी एकताको रक्षा पनि हुने, दुई पार्टी अध्यक्षबीच ‘विन विन’ पनि हुने र जनताले नेकपामाथि गरेको विश्वासको सम्मान पनि हुने गरी निकास निकाल्न अब नेकपाको सम्पूर्ण शक्ति र सामथ्र्य केन्द्रित हुनु आवश्यक छ । यसमा कार्यकर्तादेखि नेता पङ्क्ति सबैको गच्छे अनुसारको सकारात्मक भूमिका र योगदान हुनु आवश्यक छ ।

यसका लागि मेरा गोरुका बाह्रै टक्का गर्ने अतिवादी प्रवृत्तिबाट नेकपाका सबै खाले नेता, कार्यकर्ता मुक्त हुन सक्नैपर्छ । मुलतः कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रतिवेदनको विरोधका नाममा प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली पक्षधरले गरिरहेको अतिवादी विरोध र आलोचना पार्टी पद्धति र राजनीतिक मूल्य, मान्यता र संस्कार विरोधी हुन । ‘बाटो फोहर गर्नेलाई भन्दा देख्नेलाई लाज’ लाग्ने गरी भइरहेका यस्ता भक्तिवादी प्रवृत्तिले अन्ततः मूल नेतृत्वलाई, ओलीलाई नै थप नाङ्गेझार र कमजोर बनाउँछन र यही प्रवृत्ति प्रचण्ड पक्षधरमा पनि लागू हुन्छ । अहिले कसैको समर्थन र विरोधमा यति धेरै कोही नेकपाजन ननाङ्गियोस जसले भोलि उसलाई यही पार्टीमा रहन मुस्किलको अवस्था नबनोस !

प्रचण्ड र केपी ओली एक व्यक्ति मात्र होइनन् । अध्यक्षका रुपमा उनीहरु नेकपाका संस्थापन हुन, अध्यक्ष हुन । उनीहरुबीच सरकार र सत्ता सञ्चालनका मामलामा मतभिन्नताहरु जरुर छन् । र, ती सबैखाले मतभिन्नताहरु अब पार्टीको दस्तावेजका रुपमा दर्ज भइसकेका छन् । एउटा पार्टीमा विचारका तहमा, कार्यशैलीका सन्दर्भमा जनता र देशलाई केन्द्रमा राखेर औपचारिक बहस हुनुलाई कसैले पनि आकास खसेको वा खस्न लागेको अर्थमा लिनु हुँदैन । अहिलेको युगमा सत्यलाई केही समय छोप्न सकिएला तर लुकाउन सकिन्न ।

यस पृष्ठभूमिमा अब कुनै अमुक अध्यक्षलाई खुसी पार्ने गरी अतिवादी समर्थन र विरोधमा कुनै पनि नेकपा नेता तथा कार्यकत्र्ताहरु उत्रिनु हुँदैन । चितवनमा मंसिर ६ गते पूर्व अर्थमन्त्री समेत रहेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विचार राखेकै आधारमा उनीमाथि गरिएको अभद्र व्यवहारले अहिले नेकपाका कार्यकर्ता विवेकी होइन, आवेगी मात्रै हुँदै गएको प्रमाणित हुन्छ । केपी ओली पक्षधर भनिएकाहरुबाट जुनसुकै स्तरका कार्यकर्ताले प्रदर्शन गर्ने यस्ता उग्र क्रियाकलापले अन्ततः पार्टी र पार्टीको सत्तालाई नै कमजोर बनाउँछ । त्यसैले नेकपाको जुनसुकै तहको नेता, कार्यकर्ता वा शुभेच्छुक, समर्थकले अहिले नेकपाको हित चिताउने हो भने संयम, धैर्य र विवेकशील हुन सक्नुपर्छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई सच्चिनका लागि खबरदारी गरेका हुन् । प्रधानमन्त्रीसँग प्रचण्डको व्यक्तिगत न दुश्मनी छ न त पूर्वाग्रह नै । एउटा सत्तारुढ दलको कार्यकारी अध्यक्षले आमजनताको मनोभावनाको प्रतिनिधित्व गरेर नै सरकारलाई सचेत गराउने हो । अहिले प्रचण्डको प्रस्तावमा जनजनले घरघरबाट ओली सरकारमाथि उठाएका प्रश्नहरुकै प्रसङ्ग र मुद्दाहरु समावेश छन् । ओली समर्थकहरुले दावी गरे जस्तो त्यो झूटको पुलिन्दा वा आरोपपत्र मात्रै होइन । ओली सरकारले करीव पौने तीनवर्षे शासनकालमा जनताको मन जित्ने गरी वाहीवाही कमाउने गरी काम गर्न नसकेको धरातलीय यथार्थ हो । यसमा करेक्सन गर्न पार्टीले सरकारलाई सचेत गराउनु, पद्धतिसङ्गत आलोचना गर्नु स्वाभाविक प्रक्रिया नै हो ।

आजसम्म केपी ओलीले पार्टीको विधि, पद्धति र आदेशलाई शिरोधार्य गरेको भए पार्टी यो अवस्थामा आउने नै थिएन । आलोचना, आत्मालोचना र सुधार पार्टीमा हुनुपर्छ र केपी ओली पनि त्यसको अपवाद हुन सक्दैनन् । केपी ओलीको एकमना सरकार होइन यो, यो नेकपाले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएको सत्यवोध गर्न कसैले हिच्किचाउनु आवश्यक छैन ।

त्यसमाथि प्रचण्डले उठाएका मुद्दाहरुलाई अर्का अध्यक्ष ओलीले नै संस्थागत र औपचारिक रुपमा जवाफ दिने भनी सचिवालय वैठक मार्फत नै घोषणा गरिसकेको परिप्रेक्ष्यमा अब ओली वा प्रचण्डको दौराको फेर समातेर कुनै पनि नेता, कार्यकर्ताले नेताभक्ति वा नेताको बदख्वाइँ गर्ने अतिवादी प्रवृत्ति देखाउन आवश्यक नै छैन । पार्टी कमिटी, विधान र नेता, कार्यकर्ताको खबरदारी तथा जनताको दवावको सीमारेखा ख्याल गरेर सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीले यसबारेमा कसका कुरा ठीक भन्ने दूधको दूध, पानीको पानी पारिहाल्छन ।

आफूभन्दा माथि पार्टी छ भन्ने सत्यवोध ओली र प्रचण्डले गरेपछि समस्याका आधा जति समाधान त्यहीँबाट निस्कन्छ । अध्यक्षहरुका समर्थकहरुले अब जोशमा होस गुमाउने मुर्खता प्रदर्शन नगरुन । चितवनमा नेता पाण्डेमाथिको अभद्र व्यवहार अन्तिम सवक हुन सकोस, न कि सुरुवात । साथै यस्ता अराजक प्रवृत्तिहरुमाथि पार्टी नेतृत्वले कारवाही र दण्डको पनि नमूना दिन सकोस । पञ्चायतकालीन मण्डलेराज र प्रवृत्तिलाई बिर्साउने गरी कुनै पनि नेकपाका नेता र कार्यकर्ताले अब अतिवादी हर्कत गर्न हुँदैन ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!