Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारपार्टीको सर्वाेच्चतालाई मान्नु अध्यक्ष केपीको स-हानीय काम

पार्टीको सर्वाेच्चतालाई मान्नु अध्यक्ष केपीको स-हानीय काम


झिल्को टिप्पणी

विवाद उत्कर्षमा पुगेकै बेलामा नयाँ खाले समाधान र निकास भएको छ । औपचारिक रुपमा पार्टीलाई विधिमा हिंडाउन प्रयास भएको छ । अध्यक्ष केपी ओलीले पार्टीको सर्वाेच्चतालाई आत्मसात गर्दै पार्टीका सबै तहमा आफ्ना विचारहरुलाई प्रस्तुत गर्ने प्रतिबद्धता सचिवालयको वैठकमा गरेका छन् ।

नेकपाको सात दशकभन्दा लामो कम्युनिस्ट आन्दोलन ठूलो आरोह/अवरोहहरुका बीचबाट गुज्रिरहेको छ । धेरै संघर्ष गरेका, अनुभवी नेताहरुको ठूलो टिम छ नेकपामा । नेपाली जनताको अपार विश्वास पनि यही पार्टीलाई छ ।

एकता भएदेखि नै सत्तारुढ नेकपाको शीर्ष नेतृत्व तहको विवाद/बहसहरु एकता र सहकार्यमा रुपान्तरित हुँदै अघि बढ्दै आएको छ । मंसिर ३ गते बसेको सचिवालय वैठकले १० दिनपछि पुनः बस्ने गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक प्रतिवेदन पेश गर्ने थप समय सुविधा दिएको छ ।

रात रहे अग्राख पलाउँछ भन्छन बूढापाकाहरु । दश दिनमा नेकपाका अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावको खण्डन वा ओठे जवाफ मात्रै नफर्काइकन समग्रमा पार्टीका आगामी दशकहरुका लागि कालजयी रोडम्यापसहितको दस्तावेज प्रस्तुत गर्न सके भने त्यो निकै ऐतिहासिक हुनेछ । सत्तारुढ पार्टीको अध्यक्ष र कार्यकारी सरकार प्रमुखका रुपमा ओली मंसिर १३ सम्मका १० दिनलाई नेकपाले नयाँ युगको शङ्खघोष गर्ने स्वर्ण मार्ग निर्माणको युगीन अवधि बनाउन सक्लान ? सर्वत्र उत्सुकतापूर्ण चासो अब ओलीले ल्याउने भनिएको अर्को प्रतिवेदनको हुनेछ, छ ।

देशभरका नेकपाका नेता, कार्यकर्ता र समस्त समर्थकहरुको शुभेच्छा यही हो कि अब ओलीले पार्टी सत्ता र देशको शासकीय सत्ताको प्रमुख हुनुका नाताले उनले आफूमाथिको विरोधको सफाइ वा फुलबुट्टे शव्द खेल होइन यथार्थमा आधारित, धरातलीय सत्यमा आधारित पार्टी र सरकारको समस्याको चुरो समातेर निकासको स्वर्ण मार्ग प्रशस्त गर्न सक्नैपर्छ । आग्रहभन्दा माथि उठेर देश, जनता र शहीदको वलिदान अनि पार्टीको चुनावी घोषणापत्रलाई साक्षी राखेर अध्यक्ष ओलीले इमान्दारी र जिम्मेवारीपूर्वक अबका १० दिनलाई नेकपाको संकट र व्यवधान पार गराउने गरी निकास दिन सक्छन । त्यो सत्कर्ममा उनलाई नयाँ राजनेताको छवि बनाउने अर्को अवसर फेरि नेकपाको जारी आन्तरिक तनावका बीच पनि प्राप्त भएको छ ।

गुटभन्दा माथि, स्वार्थभन्दा अलग, विभाजनको विपक्षमा, एकाधिकारवादी र एकमनावादी चिन्तनभन्दा भिन्न, आवश्यक पर्दा पद त्याग गर्नसक्ने उच्च राजनेताको नयाँ छवि बनाउन अब ओलीले आगामी १० दिनलाई उपयोग गर्नसके भने उनले नेकपाको आन्तरिक पार्टी जीवनमा मात्रै होइन, देशकै राजनीतिमा पनि नयाँ योगदान दिएको ठहर्ने छ । त्यसैले अब १० दिन उनी प्रचण्डको भनाइको प्रतिरक्षामा मात्र नरुमल्लिउन भन्ने नै शुभेच्छुकहरुको कामना छ । तर, हुन्छ के भन्ने चाहिं यसै भन्न सकिन्न ।

तर, पछिल्लो विवादको लामो आरोह अवरोहका बीच ओलीले मंसिर ३ को सचिवालय वैठकमा भाग लिएर आफ्नो प्रतिवेदन तयार गर्न समय माग्नु पनि उनले पार्टीको विधि, पद्धति र वैधानिकतालाई स्वीकार गरेको प्रमाण र उदाहरण हो । अर्का अध्यक्ष प्रचण्डले यसअघि सचिवालय वैठकमा पेश गरेको १९ पन्ने राजनीतिक प्रस्तावलाई ओली विरुद्ध प्रचण्डको निजी आरोप पत्र भन्दै ओलीकै सहयोगीहरुले प्रचण्डले प्रस्ताव फिर्ता नगरेसम्म वार्तासम्म पनि हुन नसक्ने भन्दै निकै कोकोहोलो मच्चाएका थिए । तर, प्रचारवाजी जस्तो गरिए पनि अध्यक्ष ओली सचिवालय वैठकमा नै उपस्थित भएर आफूमाथिको लिखित आरोपको लिखित जवाफ दिन तयार भए । यो ओलीको एक हदसम्म बदलिने, सच्चिने प्रतिवद्धताको पूर्व छनक हो । यो अब अरु बढ्दै गएमा नेकपामा समस्याहरुको नयाँ समाधानको सूत्र फेला पर्न असम्भव हुने छैन भन्ने आँकलन गर्न सकिन्छ ।

नेकपामा एकताको रक्षाका लागि आम नेता तथा कार्यकर्ताहरुले व्यापक दवाव दिइरहेका बेला शीर्ष नेतृत्वले आआफना कमीकमजोरीहरु सुधार गरेर जाने इमान देखाउने, आत्मालोचना गर्ने वानी बसाल्ने र पार्टीको विधि, पद्धतिलाई आत्मसात गरी देश र जनताप्रतिको जिम्मेवारीवोधलाई नबिर्सने हो भने नेकपा साँच्चै सुधारिएर जान सक्छ । त्यसका लागि अबका १० दिनलाई शीर्ष नेताहरुले षडयन्त्र, दाउपेच गर्ने अवधि होइन, समाधानको कडी खोज्ने समय बनाउन सक्नुपर्छ ।

अध्यक्ष ओलीले पार्टी वैठकको औचित्यमाथि नै प्रश्न उठाइरहेका बेला आफ्ना कुरा राख्न थप समय माग्नुले उनले वैठक र कमिटी पद्धतिलाई मानेर जाने संकेत देखाएका छन् । सचिवालय वैठकले स्थायी समिति र केन्द्रीय कमिटी वैठकको पनि मिति तय गरिसकेको छ । यसकारण, अब विवाद नै विवादका वीच पनि मुख्यतः अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको त्याग, पार्टी एकताको रक्षामा नै नेकपाको सम्पूर्ण शक्ति खर्च भए सबैको भलो हुन्थ्यो कि ?

प्रधानमन्त्री केपी ओलीले त्याग गरेर पार्टी एकता बचाउनुपर्छ


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!