लालसलाम क. महेन्द्र श्रेष्ठ

२५ वर्षअघिको फासिष्ट सरकारले जनयुद्ध दमन गर्ने नाममा कमरेड महेन्द्र श्रेष्ठको नृशंस हत्या गरेको थियो । तर, तिनै महेन्द्र श्रेष्ठहरूको वलिदानले अन्ततः गणतान्त्रिक परिवर्तन सम्भव भयो । गणतन्त्रपछि जनयुद्धका सारथि र अगुवाहरू समेत पटकपटक सरकारमा भए । तर, सहिदको सपना पूरा गर्न तिनले के गरे ? सहिद परिवारको गारोसारोमा तिनले के योगदान दिए ? कतै सहिदलाई भजाएर तिनले आफ्नै दुनो त सोझ्याएनन् ? प्रश्नहरू जनताको तहबाट समेत टड्कारो रुपमा उठिरहेका छन् ।
‘जनतासँग माओवादी’ तीन महिने अभियानका क्रममा यस प्रश्नको समेत गम्भीर समीक्षा भएको छ । ‘सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनको आयोजनामा बिहीबार सिन्धुलीमा महान जनयुद्धका सहिद महेन्द्र श्रेष्ठको २५ औं स्मृति दिवस एक अन्तरक्रियात्मक सहभागितासहित सम्पन्न गरियो ।
नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीको प्रमुख आतिथ्यता रहेको त्यस अन्तरक्रियात्मक सभामा महेन्द्र श्रेष्ठका जेठा छोरा क्षितिज श्रेष्ठले सहिदहरूलाई सम्झनुको अर्थ केवल औपचारिकता मात्रै होइन भने । ‘केवल श्राद्ध गर्ने जस्तो प्रचलन स्वयं सहिदको अपमान हो ।’ उनले अगाडि भने– ‘सहिदको मुर्ति बनाउने, श्राद्ध गर्ने काम नगरौं ! सहिद सपनाका लागि लडेको थियो, त्यसलाई विपनामा फेर्ने अभियानमा इमान्दारितापूर्वक लागौं !’
अभिभावक सहिद भएका कारणले मात्रै सहिद परिवारलाई दया गर्न जरुरी नरहेको र सहिद परिवारले कुनै दयाको अपेक्षा पनि नराखेको बताउँदै उनले सहिदले अपनाएको बाटोमा अघि बढ्न पार्टी पङ्क्तिलाई आव्हान गरे ।
फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले हिजो त्यागको मानक निर्माण गर्ने अपेक्षा गरिएका कतिपय नेता र तिनका सन्ततिको चरित्र अहिले ह्वाङ्गै देखिएकाले आफूहरूमा लज्जावोध भएको बताए । ‘तर, हामी हाम्रा सहिद अभिभावकले सजाएको आदर्शप्रति विश्वासघात गर्ने छैनौं । आफ्नै पौरखमा हामी बाँच्छौ र जनताको सेवा गर्छाैं,’ उनले भने ।
सहिद परिवार तथा बागमती प्रदेश सांसद सुष्पा भुजेलले सहिदको सपना पूरा गर्न पार्टीले नै नेतृत्वकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन ।
सहिद परिवारका अर्का अगुवा जेविन सर्वहाराले आफूहरू देशभरिका सहिद सन्ततिलाई जोड्ने अभियानमा लागेको तर यो आर्थिक र राजनीतिक शक्ति आर्जन गर्न चलाइएको अभियान नभएको बताए । ‘हाम्रा निम्ति यो आन्दोलन एउटा साझा परिवार हो । साझा उद्देश्यप्रति विश्वासघात गर्नेलाई खबरदारी गर्न हामी संगठित हुनैपर्छ,’ उनले भने ।
फाउन्डेसनका महासचिव जटिल कार्कीले आफूहरू संगठित हुनुको आधारबारे प्रष्ट्याए । उनले भने– ‘एउटा सामान्य मान्छेले पनि आफूले पूरा गर्न नसकेका सपना सन्तानले पूरा गरुन भन्ने आकांक्षा राखेको पाइन्छ । सचेत र आधारभूत वर्गप्रति प्रतिबद्ध हाम्रा मातापिताले देखेको सपना पूरा गर्नु हाम्रा कर्तव्य हो भन्ने बोध हामीले गहिरो गरी गरेका छौं ।’
२०७६ सालमा गठन भएको फाउण्डेसनले सहिद तथा बेपत्ता र घाइते योद्धाका सन्ततिको लगत संकलन, अध्ययन, विश्लेषण र विभिन्न सार्वजनिक/आन्तरिक कार्यक्रम गरिरहेको छ । सहिद परिवारको शैक्षिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक समस्याको पहिचान गरी तत्कालीन एवं दीर्घकालीन समाधानको आवश्यक कार्य समेत गरिरहेको छ ।
अन्तरक्रियामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरिसकेका सामाजिक अगुवा कमल किरण कार्कीले यस्तो फाउण्डेसनले राजनीतिसँगै थुप्रै सिर्जनात्मक सामाजिक कामहरू गर्न सक्ने बताए । कतिपय देशका संघर्षकारीलाई राज्यले नै सुविधा दिने गरेको समेत उनले बताए ।
माओवादी केन्द्रका सचिव राम कार्कीले सहिदको चिहान खोज्दै हिंड्न जरुरी नभएको तर सूर्याेदयमा, शरदको स्निग्ध आकासमा, चराहरूको चिरबिरमा, साना नानीहरूको मुस्कानमा, बृद्धबृद्धाको अनुहारको मुजामा जताततै सहिद भएको र सहिद कहिल्यै नमर्ने बताए ।
‘नयाँ परिस्थितिमा आफूले संगालेको सिद्धान्तबाट नयाँ विचार शृंखला, राजनीतिक कार्यक्रम र विकास रणनीति तय गर्न सक्नुपर्छ’ उनले भने– ‘सहिद महेन्द्रमा सैन्य र राजनीतिक क्षमता त छँदै थियो, खासमा ऊ असल मान्छे थियो । असल ज्ञान र शक्ति प्राप्त गर्नु चुनावको मतभन्दा धेरै माथि हो ।’
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् अभियानका जिल्ला प्रमुख महेश्वर दाहालले सहिद श्रेष्ठसँग ४० को दशकमा भेट भएको र अखिलको जिल्ला कमिटीमा सँगै संगठित भएको स्मरण गरे । जनयुद्धमा भीषण दमन भइरहेको भूमिगतकालमा मजदुर नेता प्रकाश श्रेष्ठको पहलमा महेन्द्र श्रेष्ठ, शेरमान कुँवर, मोहनचन्द्र गौतम र कमल देवकोटासँगै भेट हुँदा उनले ‘फिकल साप्ताहिक’ निकाल्न भनेको समेत स्मरण गरे । महाभारतको सबैभन्दा अग्लो पहाड फिकल सिन्धुलीमा रहेकाले त्यो उँचाइलाई उनले प्रतिकात्मक रुपमा लिएको दाहालले बताए । तर, त्यो कार्यान्वयन हुनै पाएन । जनपरिचालनसहित सैन्य भूमिकामा अब्बल र सबैलाई समेट्ने उनको नेतृत्व चरित्र अनुकरणीय भएको उनले बताए ।
सहिद श्रेष्ठका नातेदार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डीके प्रजापतीले पहिलो भेटमा नै महेन्द्रबाट प्रभावित भएको स्मरण गरे ।
श्रेष्ठसँग लामो समय संगत गरेका र उनको शव समेत देखेका समाजसेवी एवम् कानुन व्यवसायी विश्वम्भर लामिछानेले उनको शालिक बनाउनु पर्ने मत राखे ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवम् वाग्मती प्रदेशका मन्त्री गंगा श्रेष्ठले भने, ‘महेन्द्र श्रेष्ठसँगको सहकार्यको स्मरण गर्दै मलाई माओवादीका मतदाताले नै यो ठाउँमा पु-याएको हो । आज म जे जति छु त्यही आन्दोलनको कारणले छु ।’
जनयुद्धमा सक्रिय विप्लवको नेतृत्वका नेकपाका केन्द्रीय सदस्य बर्ते राई ‘शशी’ले जनयुद्धकालमा समेत माओवादीमा गलत प्रवृत्ति देखिएको स्मरण गरे ।
सहिद परिवार विकास वाग्ले, युन्छोहाङ माबो लिम्बु, सहिद महेन्द्र श्रेष्ठका कान्छा छोरा महेश श्रेष्ठ, ज्ञानु खड्कासमेत सहभागी उक्त कार्यक्रम सहिद श्रेष्ठकी जीवनसंगिनी निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद राजन दाहाल, जिल्ला संयोजक पानीराज बम्जनले समेत सो कार्यक्रममा बोलेका थिए ।
सहभागीको निष्कर्ष के थियो भने सहिदका सपना पूरा गर्ने काममा प्रभावकारी पहल भएको छैन । श्रमजीवी जनता, राज्ययुद्ध पीडित, घाइते, अपाङ्ग, बेपत्ताका परिवार र सहिद परिवारसँग बैचारिक, सामाजिक र व्यावहारिक निकटता बढाएर मात्र शोषणमुक्तिको लक्ष्य भेट्टाउन सकिन्छ । त्यस निम्ति ठोस संकल्प गरौं, योजना बनाऔं र पार्टीलाई सुधारौं ! लालसलाम क. महेन्द्र श्रेष्ठ !
तपाईको प्रतिक्रिया दिनुहोस