Techie IT
  • २०८० मंसिर २५, सोमबार

१९ औँ एसियाली खेलकुद : बिगतदेखि बर्तमानसम्म


तस्बिर : राष्ट्रिय खेलकुद परिषद्

काठमाडौं, ७ असोज । १९ औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन भव्यरुपमा शनिबार भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी चिनफिङले १९ औँ एसियाडको औपचारिक उद्घाटन गर्नुभएको हो । कमलको फूल आकारको रङ्गशालामा भएको उद्घाटन समारोहमा एसियाली ओलम्पिक परिषद् पदाधिकारीदेखि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत एसियाका विभिन्न सरकार तथा राष्ट्र प्रमुखहरूको उपस्थिति रहेको थियो ।

चिनियाँ राष्ट्रपति सी र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन भने शनिबार भएको हो ।

के हो एसियाली खेलकुद ? 

एसियाली खेलहरुलाई एसियाडको नामले पनि जानिन्छ । यो प्रत्येक चार वर्षपछि आयोजित हुने बहु–खेल प्रतियोगिता हो, जसमा केवल एसियाका विभिन्न देशहरुका खेलाडीहरुले भाग लिन्छन् ।

यी खेलहरुको आयोजना एसियाली ओलम्पिक परिषद्द्वारा अन्तर्राष्ट्रिय ओलम्पिक परिषद्को पर्यवेक्षणमा गरिन्छ । प्रत्येक प्रतियोगितामा प्रथम स्थानको लागि स्वर्ण, दोस्रोका निम्ति रजत, र तेस्रोका लागि कांस्य पदक दिइन्छ । यस परम्पराको शुभारम्भ सन् १९५१मा भारतबाट भएको हो ।

कोभिड– १९ महामारीका कारण निर्धारित समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ । एसियाका लागि चीनको पूर्वी दक्षिण शहर हान्झाउमा आयोजना भएको १९औं एसियाडको नारा ‘हार्ट टु हाटर्’ अर्थात, मुटुदेखि मुटुसम्म भन्ने रहेको छ । एसियाडका लागि हान्झाउ सहर मज्जाले सिंगारिएको छ । हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन् ।

चीनले आयोजना गरेको यो तेस्रो एसियाली खेलकुद हो । यो भन्दा अगाडि बेइजिङ र क्वाङ्चौमा एसियाली खेलकुदहरु आयोजना भएका थिए । 

४५ देशका खेलाडी, ४० खेल 

चीनले सन् २०१० पछि प्रतियोगिता आयोजना गरेको हो । दक्षिण एसियाली राष्ट्र भारतले सन् १९५१ मा पहिलोपटक प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो । पहिलो संस्करणमा ६ खेलमा खेलाडीहरुले भाग लिएका थिए । यसपटक चीनको हाङ्झाउ सहरमा भएको १९ औँ एसियाडमा ४५ देशका खेलाडीले ४० खेलमा चार सय ८१ इभेन्टमा प्रतिस्पर्धा गर्दैछन् ।

तेस्रो पटक प्रतियोगिता आयोजना गर्ने अवसर पाएको चीनले अहिलेसम्म सर्वाधिक एक हजार चार सय ७३ स्वर्ण जितेको छ । नेपालले पहिलो संस्करणदेखि नै प्रतियोगितामा भाग लिएको छ । नेपालले सन् १९८६ को दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियाडमा पहिलोपटक पदक जितेको थियो ।

एसियाड कहाँ, कहिले भए ? 

पहिलो पटक एसियाड प्रतियोगिता सन् १९५१ नयाँदिल्ली (भारत) भएको थियो । त्यसपछि सन् १९५४ मनिला (फिलिपिन्स), १९५८ टोकियो (जापान), सन् १९६२ जाकार्ता (इन्डोनेसिया), सन् १९६६ बैंकक (थाइल्यान्ड), सन् १९७० बैंकक (थाइल्यान्ड), सन् १९७४ तेहरान (इरान), सन् १९७८ बैंकक (थाइल्यान्ड)मा प्रतियोगिता सम्पन्न भए ।

त्यसैगरी सन् १९८२ नयाँदिल्ली (भारत), सन् १९८६ सोल (दक्षिण कोरिया), १९९० बेइजिङ (चीन), सन् १९९४ हिरोसिमा (जापान), सन् १९९८ बैंकक (थाइल्यान्ड), सन् २००२ बुसान (दक्षिण कोरिया), सन् २००६ दोहा (कतार), सन् २०१० ग्वाङझाउ (चीन), सन् २०१४ इन्चोन (दक्षिण कोरिया) र सन् २०१८ जाकार्ता (इन्डोनेसिया) मा एसियाड सम्पन्न भए । 

नेपालको सहभागीता :

२९ खेलका २५३ जना नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना भएको १९ औँ एसियाडमा सहभागिता जनाउनु भएको छ । कोभिड महामारीका कारण एक वर्ष ढिला गरी भएको १९ औँ एसियाड निर्धारित समयमा नै हुने आशामा नेपाल लगायत एसियाली राष्ट्रका खेलाडीहरु तयारी गरिरहेका थिए । यसअघि सन् २०२२ को सेप्टेम्बरमा १० देखि २५ सम्म आयोजना हुने मिति तय भएको थियो । तर चीनमा कोभिड महामारी फैलिएपछि प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एसियाली खेलकुद प्रभावित हुन पुगेको थियो 

नेपालले खेल्ने २९ खेलहरु :

यसपटकको एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, साइक्लिङ, फुटबल, एथलेटिक्स, पौडी, गल्फ, जुडो, ट्रायथलन, उसु, कुस्ती, आर्चरी, बास्केटबल (थ्री अन थ्री), भारोत्तोलन, ब्याडमिन्टन, फेन्सिङ, कबड्डी, टेबल टेनिस, भलिबल, ह्याण्डबल , क्रिकेट, सुटिङ, रग्बी, स्क्वास, टेनिस, ई–स्पोर्ट्स्, डान्स स्पोर्टस् र क्यानोइङमा गरी २९ खेलमा सहभागिता जनाएको छ । 

यसरी तयारी गरेका थिए नेपाली खेलाडीहरुले :

एसियाडमा राष्ट्रका लागि पदक दिलाउन गल्फका खेलाडीहरुले वैदेशिक प्रशिक्षणअन्तर्गत भारतको बैंग्लोरमा प्रशिक्षण गरेका थिए । १९ औँ एसियाली खेलकुद सचिवालयका सचिव प्रचण्ड शर्माका अनुसार गत साउन १ देखि असोज ३ गतेसम्म खेलाडीहरुलाई बन्द प्रशिक्षण (क्लोज क्याम्प)मा राखिएको थियो । 

प्रदर्शन र नतिजाका आधारमा तीन खेलहरु तेक्वान्दो, कराते र बक्सिङलाई पहिलो प्राथमिकतामा राखेर तयारी गराइएको थियो । एसियाली खेलकुदमा यीनै तीन खेलले नै नेपाललाई पदक दिलाउँदै आइरहेका छन् । बक्सिङ टोलीले ढेड महिनादेखि राम्रो तयारी गरि भारतीय प्रशिक्षकको नेतृत्वमा खेलाडीहरूले प्रशिक्षण गरेका थिए । 

सुरुमा नेपालका २३ वटा खेलले एसियाडमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । यद्यपि, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ११६औँ बोर्ड बैठकले खेल थप गर्दै नेपालका २९ वटा खेलका खेलाडीको प्रतिस्पर्धा गराउने निर्णय गरेको थियो ।

भत्ता दिएर खेलाडीलाई प्रशिक्षण

गत असार एक गतेदेखि विशेष प्रशिक्षणमा सहभागी खेलाडीहरुलाई राखेपले दैनिक नौ सय रुपैयाँ र उपत्यकाबाहिरका खेलाडीहरुलाई दैनिक एक हजार ६ सय रुपैयाँका दरले भत्तासमेत प्रदान गरेर प्रशिक्षण प्रदान गरेको थियो । राखेप सदस्यसचिव टङ्कलाल घिसिङले खेलाडीहरुको तयारीबारे हरेक दिनजसो अनुगमन र निरीक्षण गर्नुभएको थियो । यस क्रममा उहाँले खेलाडीहरुको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र खेलाडीहरुको समस्यालगायतका विषयमा निरन्तर जानकारी लिनु भएको थियो ।

कुल ५० जना प्रशिक्षकहरु प्रशिक्षणमा सहभागी हुनुभएको थियो । 

अहिलेसम्मको नेपालको उपलब्धि : 

नेपालले अहिलेसम्म ७२ वर्षे एसियाली खेलकुदको इतिहासमा २ रजत र २२ कास्य पदकसहित कुल २४ पदक जितेको छ । सन् १९८६ मा दक्षिण कोरियाको सोलमा सम्पन्न १० औँ एसियाडबाट पदक जित्न थालेको नेपालले त्यसपछि भएका सबै एसियाडमा पदकविमुख हुनु परेको छैन ।

१६ औँ एसियाडदेखि १८ औँ एसियाडसम्म नेपालले लगातार एक–एक वटा पदक मात्र जितेको छ । इण्डोनेसियामा चार वर्ष अघि भएको एसियाडमा नेपालले एउटा रजत पदक मात्र जितेको थियो ।

नेपालले अहिलेसम्म बक्सिङ, तेक्वान्दो, कराँते र पाराग्लाइडिङ गरी जम्मा चार खेलबाट मात्र पदक ल्याएको छ ।  सबैभन्दा धेरै तेक्वान्दोबाट १ रजत र १३ कास्य जितेको नेपालले पाराग्लाइडिङमा १ रजत पदक जित्दा बक्सिङबाट मात्रै ७ वटा कास्य पदक प्राप्त गरेको छ । थप २ कास्य पदक कराँते खेलबाट नेपालले ल्याएको छ । 

सन् १९९८ मा थाइल्याण्डको बैंककमा भएको १३ औँ एशियाली खेलकुद प्रतियोगितामा १ रजत र ३ कास्य पदक जित्दा कास्य पदक कुर्न ३५ वर्ष लागेको नेपालका लागि रजत पदक भेट्टाउन ४७ वर्ष प्रतीक्षा सकिएको थियो । तेक्वान्दोको महिलातर्फ फेदरवेट बिधाको ५५ केजी तौल समूहमुनि सविता राजभण्डारीले कीर्तिमानी रजत पदक जित्नुभएको थियो । स्वर्णको भिडन्तमा उहाँ चाइनिज ताइपेईकी खेलाडीसँग हार्नु परेको थियो । 

सन् २०१८ मा इण्डोनेसियाको जार्कता र पालेम्वाङमा भएको १८ संस्करणमा आएर फेरि नेपालले रजत पदक जित्न सफल भएको थियो । 

सन् १९९८ को बैंकक एसियाडपछि नेपालले दोस्रो पटक रजत पदक जितेको हो । नेपालले प्याराग्लाइडिङको टिम क्रस कन्ट्रितर्फ रजत पदक जितेको हो । विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको टोलीले पाराग्लाइडिङको टिम क्रस कन्ट्रिमा नेपाललाई रजत पदक दिलाएका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट