Techie IT
×
गृहपृष्ठबिचारकोरोना कहर र उल्टो यात्रा

कोरोना कहर र उल्टो यात्रा


कृष्णबहादुर बुढाथोकी 

विश्व भयावह आतङ्कमा रुमलिएको छ । चीनको वुहान प्रान्तमा सन २०१९ डिसेम्बर २७ का दिन देखा परेको शक्तिशाली महामारी कोरोनाका मारे (कोभिड १९) संसारका मान्छेहरुले मृत्युपत्रमा हस्ताक्षर गरिरहेको परिप्रेक्ष्यमा नेपाल पनि चेपुवामा परेको छ । विश्वका महाशक्ति देशहरुमा समेत राईंदाईं गरिरहेको कोरोनाले नेपाली स्वाभिमानमा समेत ठेस लगाएको छ । एसियाको माटोमा जन्मिएर यूरोपको ममतामा मौलाएको महामारीले यो लेख तयार पारुन्जेलसम्म दुनियाँभरमा करिब चारलाख दुईहजार दुईसय सैतीस मनिसको बहिखाता बुझिसकेको छ, भने नेपालमा तेह्रजनालाई आहारा बनाइसकेको छ ।

सिन्धुपाल्चोकको  बाह्रविसे स्थायी घर भएकी २९ वर्षकी सुत्केरी महिला धुलीखेल अस्पतालमा जेठ ०१, २०७७ र बाँके नरैनापुरका २५ वर्षका एक युवकको क्वारिन्टिनमा जेठ ४ मा मृत्यु भयो । त्यसरी नै डोटी र बैतडीका पुरुषको मृत्यु भएर मर्नेको संख्या तेह्र पुगेको छ । विश्वमा ६९८१६५१ जना संक्रमित र ३४१३३४९ जना निको भएको देखिन्छ । मानव जगतमा अतिशय आतङ्क मच्चाएको कोरोनाको नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र विश्वका महाशक्ति मुलुकहरुको भगिरथ प्रयासका बाबाजुद पनि खासै उपलब्धि हात लाग्न सकेको छैन ।

विश्व त्राहिमाम बनेको परिप्रेक्ष्यमा कतिपय मुलुकहरुले यसलाई राजनीतिक आँखाले हेरेको देखियो भने कतिपय मुलुकमा हेलचेक्र्यार्इं गरेको पाइयो । खास औषधीको प्रादुर्भाव नभइरहेको अवस्थामा बन्दाबन्दी (लकडाउन), सामाजिक दुरी (सासियल डिस्टान) र रोग संक्रमितका लागि एकान्तबास (क्वारिन्टिन) मात्र अचुक उयपाय हुने कुरा सर्व स्वीकार्य मनिएको छ तथापि विश्व राजनीतिमा देखिएका अज्ञानता, अहमता, अन्धविशवास र यस्तै कतिपय मानवीय कमजोरीका कारणले निमुखा जनताले महामारीको सिकार हुन परेको तीतो सत्य छिपेको छैन । आजसम्म विकास भएका घटना परिघटनालाईm नियाल्दा केही यस्ता तथ्यहरु स्वयंसिद्ध पुष्टि भएका छन् ; जसलाई यहाँ उल्लेख गरिएको छ :

(क) चिनियाँ चतुर्याईँ र दिग्विजय :

शक्ति सन्तुलनका लागि आर्थिक, राजनीतिक र सामरिक पटाङ्गिनीमा परेड खेल्दै रहेको चीनको बुहान प्रान्तमा नयाँ वर्ष २०२० पूर्वसन्ध्या डिसेम्बरमा अनायाश उम्रिएको अज्ञात रोगले एक ६१ वर्षिय ब्यक्तिको अवशानले चीन उकुसमुकुस भयो । यस बेला नेपाललगायत विश्वका अन्य मुलुकहरु अनेक काल्पनिक कथनीमा रमाउँदै थिए । नानाभाँतिका काल्पनिक अडकलबाजीमा अल्मलिएका मुलुकहरु चीनले तेस्रो विश्वयुद्धको तयारीका लागि मानवघाती भाइरस परीक्षण गर्दा नियन्त्रण बाहिर गएको डेडअक्कली अभिव्यक्ति दिन चुकेनन् । तर चीनले कसैसँग प्रतिवाद गरे्र समय बर्बाद गर्न छोडेर चतु¥याईंपूर्ण नियन्त्रणको उपाय अवलम्वन गरी आफ्ना जनतालाई मृत्युको मुखबाट जोगायो । यथाशिघ्र परीक्षण गरेर कोरोना भएको पुष्टि भएपछि समग्र बुहानलाई सिल गरी जनताका लागि अत्यवश्यक दैनिक उपभोग्य सामग्री घरभित्र पु¥याईदियो भने जनतालाई घरभित्र नजरबन्द गरि सुरक्षित राखेको थियो । संक्रमित जनतालाई उपचार गर्न एक रातमा सुविधा सम्पन्न अस्पतालको निर्माण गरेर सघन उपचार गरिदियो ।

चीनको हविगतलाई रमिता मानेर अनेक अडकलबाजीमा रमाएका रमिते मुलुकहरुलाई चमत्कारिक खेल देखाउन सफल चीनमा यस रोगका कारण मृत्यु हुनेको संख्या अति न्यून रहेको छ । विश्वभरिमा आधा करोडभन्दा बढी संक्रमित र करिब चारलाख मानिसका मृत्यु हुँदा चीनमा करिब चारहजार मनिसमात्र गुमाएको यथार्थ लुकेको छैन । चीनको संग्रामी कदमले विश्वका भालेहरुलाई जनताप्रति बफादार राजनेता भए अति प्रतिकुल प्रा्रकृतिक प्रकोपको सामना पनि सहजरुपमा सामना गर्न सकिन्छ भन्ने नवीनतम सवक सिकायो । सिकायो मात्र होइन, सघायो पनि । चीनबाट युरोप पसेको महामारी कोरोनाले स्पेनलाई अँगालो मार्न पुग्यो । स्पेनका जनताको अस्वाभाविक मृत्युको पीडा साम्य बनाउन औषधी चिकित्सकहरुको टोली पठाएर मानवीय संवेदनामा सहयोग गर्न सफल भयो ।

आन्तरिक समस्याको सामना गरी विश्वका अन्य मुलुकहरुलाई सहयोग गर्नु चीनको मानवीय विशेषता भनौ चलाकीपूर्ण कार्य हो भन्न सकिन्छ । अकास्मात उब्जिएको महामारीको निदान र उपचारमा सफल हुनुमा चिनियाँ सरकारको जनता र देशप्रतिको सच्चा त्याग र सकारात्मक सोच भएको प्रमाणित हुन्छ । पछिल्लो चरणमा भूकम्पले झैं पृथ्वी हल्लाएको महाममारीलाई करिब सय दिनको संघर्षबाट पराजित गरेर प्राकृतिक प्रकोपमाथि दिग्विजय प्राप्त गरेको तथ्यलाई नकार्न सकिंदैन । विनाऔषधी यमराजसरहको कोभिडलाई काखमा राखेर फकाइफुल्याइ तह लगाउन सक्नु चीनको चतु¥याईं हो भने बन्दाबन्दी, एकान्तबास र सामाजिक दुरीलाई अनुशासितरुपमा कायम गर्न र गराउन सक्नु चीनको नवीन कौशल हो

(ख) अमेरिकी अहमता र अवसान  ः

महाशक्ति राष्ट्रको आसनमा आसिन धुरी राष्ट्रको शिखरमा सवार अमेरिकालाई यस महामारीले चिनेन भने सामरिक साजसज्जाबाट समेत डरेन । करिब सन २०२० को जनवरीसँगै पाहुनाको रुपमा युरोप प्रवेश गरेको कोरोनाले अमेरिकालाई पनि सतायो । अमेरिकी सरकारले सावधानी अपनाउनमाभन्दा चीनसँगको शक्ति सन्तुलनमा पैदा भएको शीत युद्धको हतियारको रुपमा विश्वलाई घिसार्ने चेष्टा बनायो । चीनबाट आएको सामान्य रुघा खोकीले अमेरिकालाई असर नपार्ने उद्घोष गरी यो भाइरसको उत्पादन चीनले गरेको आरोपमा उत्रियो । कतिपय मानिसले अमेरिकाले शंका गरेको विषयमा विश्वाससमेत गरे । संसारमा आफू अघि बढ्न चीनद्वारा गरिएको कूटखेल हो भन्ने कुरा खासखुस चलेको छ । चीनले अवलम्बन गरेका कुनै पनि उपाय ,अमेरिकाका लागि स्वीकार्य नहुने अवस्था देखा परेको थियो । प्राकृतिक विपत्तिले कोही कसैलाई पनि छोड्दैन । जात, धर्म, वर्ग वाद, लिङ्ग, भाषा, पेशा, पद र शक्तिलाई मान्दैन ।

मानिस प्रकृतिको नियन्त्रणमा हुन्छ, प्रकृति सर्वथा मानव र मानव निर्मित साजसज्जा र हातहतियारबाट अत्तालिंदैन, देश तथा महादेशलाई विभाजित आँखाले हेर्दैन भन्ने विषयमा ध्यान नपुग्दा अमेरिकाले ठूलो जनधनको खति सहन परेको तितो सत्य लुकेको छैन ।
विश्वभरि कोरोनाको ताण्डव मच्चिए पनि अमेरिकाले व्यवस्था होइन बेवास्ता गरेको देखियो । प्रकृतिलाई नै मात गर्ने दम्भले आफैलाई अधोगतितर्फ धकेल्दासम्म पनि जबरजस्त गर्दा धेरै निमुखा मनिसले चित्रगुप्तको बाटो समाउन विवश भए । करिब आधा लाख मानिसको प्राणपखेरु कब्जा गरेपछि बल्ल आँखा खुलेर मार्च १५ देखि बन्दाबन्दी गर्न थाल्यो करिब तीन महिनासम्म गरेको अहमता असिम क्षतिमा परिणत भयो भने हजारौ मानिसको अवसान भयो । अमेरिकामा भएको एक अनुसन्धानले रोगको सामान्य प्रकोप हुनासाथ बन्दाबन्दी, सामाजिक दुरी, एकान्तबास जस्ता उपायलाई मूल मन्त्रको रुपमा उपयोग गरेको भए ३६००० (छत्तीसहजार) भन्दा बढी मानिसको जीवन रक्षा गर्न सकिने तथ्य सार्वजनिक गरेको छ ।

शिशु अवस्थामा भएको बखत चिनियाँ सरकारले अपनाएको उपाय शिरोधार्य गरेको भए शायद यति भयावह मानवीय क्षती देख्न पर्ने थिएन । सर्वसाधारणको जीवनलाई दाउमा राखेर राजनीतिक असमझदारीको सौदाबाजी गर्न्ु अतिवादी दृष्टिकोण र अहमताको चरम स्वरुप हो । जीवन रक्षा र रोग नियन्त्रणको लागि संवेदनशील हुनुपर्ने समयमा अमेरिकी सरकार र त्यहाँको प्रशासनले विश्वस्वास्थ्य संघ माथि दोष थुपारेर पन्सिन खोजेको देखियो भने रोग नियन्त्रणका लागि उचित भुमिका निर्वाह गर्न नसकेको भनेर अनुदान रोक्का गर्ने निर्णयमा पुगेको देखियो भने डब्लुएचओ चीन परस्त भएको अभिव्यक्ति दिन लाज मानेन ।

यही दम्भ र अहमताका कारण कोरोना माहामारी (कोभिड १९) को संक्रमणले गाँजेका धुरी देशहरुमा बसोबास गर्ने संक्रमित तथा मर्ने मानिसहरुको तथ्याङ्क हेर्दा एक तिहाइ अमेरिकाले ओगटेको छ । यस्तो विषम परिस्थितिको संवेदनशील अवस्थालाई अर्जुन दृष्टि दिन सकेको भए अकाल मृत्युको आहारा हुनबाट धेरै मानिसको जीवन सु्रक्षा सम्भव थियो । शक्ति सन्तुलन र क्षेत्रीय द्वन्द्व तथा भू–राजनीतिक असहिष्णुताले सिर्जिएको अहमताले अमेरिकी साखमा खिया लगायो भने अवसानले उकालो उक्लिने अवसर पायो । विश्वमा करिब चारलाख दुईहजारको मृत्यु हुदा अमेरिकामा मात्र एकलाख बाह्रहजार छयानब्बे जनाले ज्यान गुमाउनु परेको छ ।

(ग) नेपाली अज्ञानता र लाचारीपन :

आर्थिक, सामरिक र भूगोलको हिसाबले विश्व रङ्गमञ्चमा बलवान मनिएका दाजु देशहरुको सामुन्ने नेपालको हालत पातलो छ तथापि यसले चालेको कदम कतिपय अवस्थामा प्रशंसनीय मानिन्छ । प्राकृतिकरुपमा सम्पन्न नेपाल र आर्गनिक वनस्पति तथा खाद्यान्नमा निर्भर नेपालीको सामन्य जीवनशैलीमाथि नजानिदो तरिकाले असर पार्ने काम गरेको प्रतीत हुन्छ । समग्र धरतीलाई लगलगाएर डुक्रिएको कोरोनाका सम्बन्धमा अनेक कल्पित अन्धविश्वासी विषयको खेती गरियो । समयमा सतर्कता अपनाउन नसक्दा मानवीय क्षतीको सम्भाव्य कुम्लो बोकेको देखिन्छ । यसका लागि मुख्यतः अज्ञानता र लाचारीपनले घर गरेको छ ।

१, अज्ञानता नेपालमा कोरोनाको साम्रज्यलाई शासकीय अज्ञानताले मलजल गरेको देखिन्छ । जनता तथा सरकार र सुझबुझ भएकैहरुको दीर्घसूत्री व्यवहारले महामारीलाई पुल्पुल्यायो, सुम्सुम्यायो र हुर्काउन भगिरथ प्रयास गरेको देखिन्छ । सत्यतालाई खोकिलामा नच्याप्ने हो भने निम्न अज्ञानताले कोरोनाको लालनपालन गरेको तथ्य नकार्न नमिल्ला :

देशबाहिरबाट आउने मानिसहरुको तथ्याङ्क अद्यावधिक नगर्नु र सावधन नहुनु, नेपाल भ्रमण वर्ष २०२० को तामझामलाई लक्ष्यमा पु¥याउने ध्याउन्नले निदहराम सरकारले महामारीको त्रासभन्दा कार्यक्रम असफल हुने चिन्ताले पिरोलेको हुनाले सकेसम्म धेरै मानिसलाई नेपाल भित्राउने असफल प्रयास गरेको थियो । विदेशमा रहेका नेपालीहरुसमेत देश फिर्ता हुँदा उनीहरुको तथ्याङ्क राख्न नसकेको पाइन्छ । फ्रान्सबाट नेपाल फर्किएकी युवतीमा पहिलो संक्रमण पाइएको भएतापनि उनीसँग कोको थिए र कति जना थिए ? कहाँका मानिस थिए भन्ने तथ्याङ्क नराख्नुले सरकारी कमजोरी देखिन्छ । को कहाँबाट आयो ? कति मानिस आए कहिले आए भन्ने लेखाजोखा नराख्नु अज्ञानताको द्योतक भन्न सकिन्छ ।

चार महिना पहिले पौष ११ मा (डिसेम्बर २७ ) कोभिड १९ (कोरोना) पत्ता लागेर दुनियाँको प्राण पखेरु लुटे पनि नेपालले  चैत्र ११, २०७६ (मार्च २४, २०२०) बाट बन्दाबन्दीको थालनी गरेको थियो । द्विविधाकाबीचमा गरेको बन्दबन्दी आज पर्यन्त कायम रहे पनि एघारजनाले ज्यान गुमाएका छन । महाकुम्भ मेलाको नामले वर्षको एकपटक चल्ने एसइइ परीक्षा र त्यसको तामझाम ६ गतेबाट गर्ने समय चैत्र ५ गते दिनको १२ बजे निर्णय गरी बेलुका ५ बजे अभिभावकको दबाब पछि स्थगितको निर्णय गर्नुले सरकारी असावधानीको आभास दिन्छ वा सरकार त्यसबेलातक द्विविधामा रहेको यथार्थ पुष्टि हुन्छ ।

तीनतहका सरकारले आफुखुसी जारी गर्ने प्रवेशाज्ञा कोरोना फैलनुको मूल कारण हो । बन्दाबन्दी ,एकान्तबास र सामाजिक दुरीको चिनियाँ काइदाको अनुसरण गरे तापनि सरकार र नेपालका राजनीतिक दलहरुको मनस्पटलबाट राजनीतिक धङधङी निस्कन सकेन । भनसुन पावर र पहुँचका भरमा चवन्नी सदस्यदेखि वडाध्यक्षहरुले दिने पास नामको कागजी खोस्टो र गोप्य रुपले नातागोता, आफन्त र दलीय डामका आधारमा रातारात सीमा वारपार गराउँदा नेपालमा यो भयावह अवस्था आएको कुरा नकार्न मिल्दैन । कुनै मानिसमा रोग भएनभएको कुरा कुनै जनप्रतिनिधी वा कर्मचारीलाई थाह हुदैन । कसैलाई निरोगिताको सिफारिस गर्ने अधिकार डाक्टरलाई मात्र हुने कुरा बिर्सिएको हो वा राजनीतिक पहुँच देखाउन खोजेको हो बुझ्न सकिएको छैन ।

मेडिकल अफिसरले स्वाथ्य जाँच गरी दिने सिफारिस कल, छल र बलका भरमा सत्तामा पुगेकाहरुले दिएको देखिन्छ भने कुनै रोग सिफारिसले रोकिंदैन, कसैलाई स्वस्थ भएनभएको प्रमाणित गर्ने अधिकार डाक्टरको हो भनेर देशको सिमानामा, जिल्ला तथा वडाहरुको सिमानामा आवश्यक सामग्रीसहितका स्वास्थ्यकर्मीको व्यवस्था नगरी प्रमुख जिल्ला अधिकारी, नगर तथा गाउँपालिका प्रमुख,वडाध्यक्ष तथा सदस्यहरुले सिफारिस दिदा यदि संक्रमित मानिस रहेछ भने रोग साथै जान्छ भनेर नबुझ्नु अज्ञानताको पराकाष्ठ हो । यहाँ मानिसले मात्र सिफारिस पायो, रोगले नपाएकोले रोग जाँदैन भनेको देखियो । यो बुझ्न जरुरी छ कि कोरोना आउन सिफारिस वा प्रवेशाज्ञा पर्खदैन । कुनै दल वा सरकारको आदेश खोज्दैन । सरकारको सिफारिस मानिसलाई मात्र हो मलाई होइन भनेर नपच्छ्याइ रहन सक्दैन तसर्थ कोरोना रोकथाम गर्ने सरकारी नीति सफल बनाउने हो भने राजनीतिक र निजामतीबाट सिमा वारपारको प्रवेशाज्ञा दिने काम बन्द गरी मेडिकल डाक्टरहरुबाट स्वास्थ्य जाँच गराई प्रवेशाज्ञा दिन कन्जुस्याईं गर्न हुदैन

अझ रमाइलो कुरा त के देखियो भने सर्वसाधारणका लागि एक टोलबाट अर्को टोल, गाउँ जानु पर्दा जनप्रतिनिधि नामका शासकहरुको अनुमति नामको कागजी खोस्टो लिनुपर्ने तर नेता नामधारी र जनप्रतिनिधिको लोगोधारीहरुले सैयौंको भीड जम्मा गर्दा, निर्वाधरुपमा आजवात गर्दा कुनै पास नचाहिने, होटल र रष्टुरेन्टहरुमा खुलमखुल्ला खानपिन गर्ने कार्यबाट राजनीतिक दम्भले ज्ञानको भाँडो बन्द गरेको र अज्ञानताको झ्याङलाई मलजल गरेको देखिन्छ । जनतताका लागि लकडाउन भएपनि राजनीतिकर्मी र तिनका मतियारका लागि रामरमिता देखाउने मौका भएको प्रतित हुन्छ ।

रोग परीक्षण र एकान्त बास (क्वारिन्टिन) निर्माण तथा औषधी खरिदमा गरिएको बेवास्ताबाट पनि महामारीप्रतिको अज्ञानता पुष्टि हुन्छ । महामारीले विश्व हल्लाएको दर्दनाक अवस्थामा अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा ओमनी ग्रुपसँग कमिशनको चक्ककर चलेको र पछि सेनालाई अधिकार दिएको खबरले सबैको मन कुढियो भने करोडौको औषधी खरिद हँुदा पनि आरडिटी र पिसिआर विधिको जाँच गर्ने कीटस्को अभावमा बिरामी तड्पिनु पर्ने, आरडिटी परीक्षण विश्वसनीय नभए पनि सो किटस् खरिदमा सरकारले जोडजबरजस्ती गर्नु सरकारले गरेका कमजोरीको रुपमा हेर्न सकिन्छ ।

हालसम्म ज्यान गुमाउने १३ जनामध्ये १० जनाको स्वाव परीक्षण मृत्यु पश्चात गरिनुले सरकारी विज्ञताको पहिचान दिन्छ । क्वारिन्टिनमा राख्नुभन्दा पहिले ऊ संक्रमित हो वा होइन भनी परीक्षण नगरी एकै कोठामा भेडाबाख्रा जस्तो थुनेर राखेका खबरहरु बाक्लै आए । हरेक स्थानीय सरकार नामधमरी समुहले बिना मापदण्डका क्वारिन्टिन निर्माण गरेर अपराधीलाई यातना गृहमा राखेसरि राख्ेन काम भयो । यता सरकारले एकान्तबास निर्माण लगायतका व्यवस्थापनमा दसअर्ब खर्च भएको बजेट सार्वजनिक गरेको छभने उता बाँकेको क्वारिन्टिनबाट मानिस  भागेर रुखमा बास बसेको घटनाले दुनियाँको मन रुवायो भने बाग्लुङमा खड्गबहादुर सार्कीको गोठलाई क्वारिन्टिन बनाएर मनिसलाई राखेको समाचार सार्वजनिक भएको छ । हालसम्म देशभरि एकान्त बास बस्नेहरुको संख्या १६६७६५ छ भने यिनका लागि १० अर्ब खर्च भएको छ ।

नेपाली शब्दकोशका शब्दहरुको चुनेर प्रयोग गर्न माहिर विभिन्न दलका नेताहरुले शब्द चयनमा पनि कतै भुल गरेको देखिन्छ । सामाजिक दुरी नभनेर भौतिक दुरी कायम गर्नुपर्छ भनिदिएको भए सुहाउँदो हुनेथियो । सामाजबाट अलग राख्ने वा समाजबाट बहिष्कृत भन्ने आशयको, शब्दले कतिपय मानिसमा नकारात्मक असर पारेको देखिन्छ । कारण कतिपय नगर तथा पालिकाहरुले एकान्तबास बनाउन बाध्य भएको पाइन्छ तर कतिपय नगर तथा पालिकाहरुले आफ्नो राजनीतिक पहुच देखाउन आआफ्ना कार्यक्षेत्रमा रहेका मानिसलाई जबरजस्ती उठाएर ल्याउने काम गरेको र सो सम्बन्धमा पालिका र वडाहरुको समन्य नभएको देखियो । केन्द्रीय, प्रदेश र स्थानीय सरकारहरुबीच समन्वय नभएको मात्र होइन पालिका र वडाहरुले समेत समन्वय नगरेको देखियो ।

कतिपय वडाहरुले पालिकाको सहमतिबिना बाहिरबाट आएको भनेर एकान्तबासमा राखेको र उनीहरु संक्रमित हुनहोइनन् भनी परीक्षण नगरी राखिनाले मानसिक रुपमा प्रताडित बनाइयो । एकान्त बासको नाममा बिना परीक्षण एकै थलोमा मानिसहरुलाई राखिदिनाले स्वस्थ मानिस पनि संक्रमित हुनसक्ने जोखिम बढिरहँदासमेत परीक्षण गरेर निरोगीलाई घर पठाउने तथा रोगीलाई व्यवस्थापन गर्न नसक्नु र संक्रमितको संख्या ज्यामितिय गतिमा बढ्नु सरकारी अहमता र अज्ञानतको नमूना हो । यही अज्ञानताले प्रति घण्टा १४ जनाका दरले (जेठ २४ मा ३१३ जना) संक्रमित बनेको पाइन्छ ।
यस्तै अज्ञानता र अहमताले गर्दा रात चारगुना, दिन दुईगुना संक्रमितको संख्ष्या उकालो लागेको छ । शासकीय असमझदारी र दलीय दाउपेचका चेपुवामा निर्दोष मानिसहरुले रोगको सिकार बननु परेको यथार्थ लुकेको छैन ।

२, लाचारीपनः मानव इतिहासमा भूतोनभविष्य देखा परेको काभिड रोगले मच्चाएको दबदबाले नेपाली जनमासमा आतङ्क मच्चाएको देखिन्छ । निडर र स्वावलम्बी नभई सरकार र दलहरु निम्नावस्थामा लाचार हुनाले देश दुखको भुमरीमा फसेको छ :

सर्वप्रथम त सरकारलाई निजी स्वास्थ्य संस्थाले घुँडा टेकायो । सरकारी संघसंस्थाहरुलाई रुग्ण बनाएर निजी क्षेत्रको लालनपालनमा ध्यान दिने दल र सरकारलाई यस महामारीको समयमा निजी अस्पतालले धुलो चटायो । उदयपुरबाट सुत्केरी गराउन नोवेल हस्पिटल बिराटनगरमा भर्ना भएकी महिलालाई कोरोना संक्रमित जिललाबाट आएकी महिला भनेर फर्काइदिंदा सरकारले कार्वाही गर्ने फर्मान जारी गरेपनि कार्वाही गर्न सकेन । यदि कसैको जाँच गर्न परे जनही १५००० हजार शुल्क तिर्न सूचना जारी गरेर निजी अस्पतालहरुले सरकारको उपहास गर्दासमेत सरकार र दलहरु निरिह र लाचार हुन विवश देखिए ।

लकडाउनको समयमा भिडभाड गर्न नपाइने भनेर जनतालाई प्रतिबन्ध लगाए पनि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहितको सैयौ नेता कार्यकर्ताको समूहले सांसद अपहरणको मुद्धा उठाएर काठमाडौ जिल्ला अदालत घेराउ गर्नेदेखि त्यसको प्रतिवादस्वरु सरकार निकट युवा संघको हजारौंको समूहले भट्टराईको विरुद्ध साइवर अपराधको आरोप लगाएर सडकमा भेलाजम्मा गर्दा सरकार लाचार र रमिते बनेको देखियो भने भारतले सीमा मिचेर बाटो बनाएको बिरोधमा काठमाडौका सडकमा गरिएको विशाल प्रदर्शले पनि सरकारी निरिहताको पुष्टि गरेको छ । राजनीतिक फाइदाकाका लागि राहत संकलन र वितरणको नौटङ्की गरेर नेताहरु गल्ली गल्ली दगुर्दा रोग सर्दछ भनेर विरोध प्रदर्शन गर्न भेला जम्मा हुन रोक लगाउन नसक्नु सरकार र दलहरुको लाचारपिनको उदाहरण हो ।

विप्रेषण (रेमिटान्स) बाट मुलुक चलाउन, सरकार र दलहरुलाई कर र लेवि तिर्न भारत लगायत् तेस्रो मुलुकमा चौकिदार, ढोके, बहादुर र कान्छाको रुपमा सकस खेपेर काम गर्ने नेपाली नागरिकले सिमानामा आएर मेरो आँगन टेक्न पाउँ भनेर याचना गर्दा घर फर्काउन नसक्ने तर विपे्रषणमा रजाईं गर्न नलजाउने प्रवृत्तिले राष्ट्रियता नै लाचार बनेको देखिन्छ । भारतका विभिन्न ठाउँमा रोजगारी गरेर परिवार पालेका नेपालीले घर फकर्न महिनौ सिमानामा कुर्नु परेको देखिन्छ । निरोगी हुन्जेल श्रमको उपयोग गर्ने तर रोगी भएपछि दसगजामा अर्धमृत अवस्थामा बेहाल बनाएर छोडिदिने भारतसँग कूटनीतिक वार्ता गरेर आफ्ना नागरिकलाई सुरक्षित बनाउन नसक्ने मात्र होइन, महाकाली नदीमा हाम फालेर मातृभूमिको ममता माग्न आउने नागरिकहरुलाई यातना दिनु अमानवीय करतुत मानिन्छ । देशले रोजगारी नदिंदा पनि प्रदेशमा बसेर जीवन चलाउने नागरिकका लागि राज्यले अभिभाकत्व प्रदान गर्न सिमानामा हेल्थडेस्क राखेर घर फर्कने वातावरण यथशिघ्र गर्न नसक्नु राज्यको लाचारीपन हो । निर्वाधरुपमा भारतीय नागरिक आउन पाउने तर नेपाली नागरिकले महिनौ अलपत्र पर्नुपर्ने परिस्थितिले सरकारी लाचारीको नाङ्गो रुपको प्रदर्शन गरेको छ ।

तीनै तहका सरकारकाबिच समन्वय नहुँदा एकान्तबासको भद्रगोल अवस्था मात्र भएको छैन सुरक्षाका लागि सेना परिचलन गर्नुपरेको छ । स्थानीय निकायका ६७४३ वडाहरु भिन्न स्वतन्त्र राज्य सरह भएको आभास पाइन्छ । स्तन्त्रताको बहनामा स्वच्छन्दताको सफर गरिरहेको अवस्थामा त्यसको नियन्त्रणमा ध्यान नदिंदा निर्दोष नागरिकले दुःख पाए, एकान्त बास यातनागृह वा बधशालामा परिणत भए, एउटा देशभित्र धेरै शासक भएको आभास गराए, सरकारले बनाएका एकान्तबासमा बसेका मानिसहरु भकाभक मर्दा मृत्युपश्चत मात्र स्वाव परीक्षण गरिन्छ र रोग पुष्टि गरिन्छ । कुनै परीक्षण्बिना एउटै कोठामा राखेका मानिसमा संक्रमण सर्न सक्छ भनी आकलन नै नगर्नू लाचारताको लक्षण हो ।

संक्रमित हुने र मर्नेको संख्या बढिरहेको अवस्थामा सरकार बन्दाबन्दी खुकुलो बनाउन तयार भएको छ । यो उसकै कदमको परिणाम हो । देशका उद्योग कलकारखाना बन्द गरेर जनतालाई कर तिर्न उर्दी जारी गर्छ सरकार । जवाफमा व्यवसायीले बन्दाबन्दीको अवज्ञा गर्न थालेपछि मोडालिटी फेर्न सरकार तयार भएको देख्दा सरकार अज्ञानताको भुमरीमा फसेको र लाचार बनेको आभास हुन्छ ।
समय र परिस्थितिले जन्माएका जटिल समस्यासँग जुध्न सक्ने चिनियाँ प्रत्युत्पन्न मतिबाट पाठ सिकेर समयमा अनागत विधाता बन्न आवश्यक छ नेपाल सरकार । रोग नियन्त्रणका चक्करमा अज्ञानता, अहमता र लाचारीपनले महामारीले विकराल रुप धारण गरेको यस परिस्थितिमा अनेकन उपाय अवलम्बन गर्न तयार हुनपर्छ ।

अधिकारको दुरुपयोग गरी अवैज्ञानिक कार्य गर्ने छुट्टै बादशाह बनेर समाजमा बदनामी कमाउने नेता कार्यकर्ता र जनप्रतिनिधिका उच्छृङखल व्यहारलाई नियन्त्रण गर्न विलम्ब गर्नु हुदैन । एकान्तबासमा राख्नु अछि आरडिटी परीक्षण गरी आइसोलेसनमा राख्ने वा होम क्वारिन्टिनमा राख्ने निश्चित गर्नु पर्दछ । यसबाट सामाजिक तनाव कम हुनुका साथै राज्यको लगानीमा बचत हुन्छ ।  रोग सर्ने सम्भावना कम हुन्छ । कोरोना कहरका नाममा आजसम्म गरिएको उल्टो यात्रलाई अब पनि सुधार नगरी यस्तै अज्ञानी, दम्भी र लाचारी भइरहने हो भने नेपाल पनि मसानघाटमा परिणत नहोला भन्न सकिंदैन । रोगले सरकार, सत्ता, पावर र पहुँच मान्दैन भनेर समयमै बुझ्नु आवश्यक छ । जनताको mजीवनलाई दाउमा राखेर गरिएको उल्टो यात्रा परिवर्तन नभए नेपालमा पनि मर्नेहरुको सूचि लामै हुने सम्भावना हामी सामु उभिएको छ ।


क्याटेगोरी : बिचार


Leave a Reply

Your email address will not be published. Required fields are marked *