Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारको हुन् ‘रअ’का एजेण्ट ?

को हुन् ‘रअ’का एजेण्ट ?


उहिले नै उहिले धेरै नै पहिलेको कुरा हो । स्वर्गीय राजा वीरेन्द्रले दशैंको शुभकामना दिन कक्टेल डिनरको बैठकको तयारीससहित बरिष्ठ पञ्चहरुलाई दरबारमा निम्तो गरेछन् । उसो त दरबारमा बर्षेनी दशैंको खाइ निम्तो पञ्चहरुलाई हुने नैं गर्दथ्यो । तर, यस पटकको निम्तो अलिक विशेष प्रकारको थियो । यसर्थ निम्तो छानिएका बरिष्ठ पञ्चहरुलाई गएको थियो र निम्तोमा भरसक अनिवार्य उपस्थितिको इस्तिहार जारी गरिएको थियो ।

बरिष्ठ पञ्चहरु लबेदा सुरुवालमा दरबारमा भेला भए । दरबारको पटाङ्गिनीमा आयोजित डिनर भेलामा पञ्चहरु बेलैमा उपस्थित भैसकेका थिए ।

यतिकैमा राजाले अनौपचारिक रुपमा भनेछन, ‘नेपालमा पुरै कार्यकाल प्रधानमन्त्री र मन्त्रीपरिषदले शासन चलाउन सकेनन् । कुनै न कुनै सुरतमा सरकार फेरिरहने नौबत आइलाग्छ । पुरै कार्यकाल सरकार कायम राख्न किन सकिन्न ? कसको कारणले प्रधानमन्त्री फेरिरहनु पर्ने नियति नेपालमा आएको हो ? यस बारेमा तिमीहरुको धारणा के छ ? कुनै उपाय सोचेका छौ की ?’
राजाको महानबाँणी पुरै खसिसकेको थिएन । राजाको प्रश्नका उपर एकजना बरिष्ठ पञ्चले खोकी हाले, ‘सरकार यो सब अस्थिरता ‘रअ’को कारणले भएको हो ।’
पञ्चको बयान ध्यानपूर्वक सुनेपछि राजाले टाउको हल्लाए ।

राजाको अगाडि साखुल्ले हुने पञ्चहरुको परम्परा नै थियो । राजाको अगाडि पहिचान बनाउन अर्का बरिष्ठ पञ्चले अझै अगाडि बढेर आफ्नो बोलबचन झारे, ‘सरकार, हाम्रो देशाँ माडीमैदान गर्ने ‘रअ’का एजेण्टलाइ खोजेर श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले झैं चारपाटा मुडेर चारभञ्याँङ कटाउनु पर्छ ।’ आफ्नो तर्कमा दम पु¥याउन उनले पृथ्वीनारायण शाहको समेत नाम लिन भ्याए ।
उनको कुरा सुने पछि राजाले पुनः टाउको हल्लाए ।

बरिष्ठ पञ्चहरुको मुखामुख भयो । उदारवादी नामका पञ्चहरु खासखुस गर्न थाले । अनुदारवादी पञ्चहरु भृकुटी खुम्च्याउन थाले । टिमटिममा बहस तैरिँदै गयो । दरबारमा तर्कतरङ्गको बाढी नै आयो ।

‘रअ’का एजेण्ट खोज्ने तिर कुरा मोडिन थाल्यो । ‘रअ’ कसरी खोज्ने ? कसरी पहिचान गर्ने ? कसरी समात्ने ? कसरी गोर्खेलौरी लगाउने ? कसरी पाता फर्काउने ? कसरी दामल गर्ने ? अनेक विषयमा ध्यानाकर्षण हुँदै थियो ।

यस्तैमा अघोरी देशभक्त झैं लाग्ने अर्का बरिष्ठ पञ्चले ‘रअ’ खोज्ने अनुसन्धान टिम बनाउने कुरा तोपे । फेरी कुरा अनुसन्धान समिति बनाउने तिर बटारियो । समिति बनाउने रुपरेखा तिर कुरो टुङ्गोमा पुग्नै लागेको थियो । तर, त्यतिनै बेला उदारपञ्चको खिताबले विभुषित अर्का बरिष्ठ पञ्चले मुखै फोडेर भने, ‘सरकार ‘रअ’ खोज्ने पाँच जनाको अनुसन्धान समिति बनाइयो भने समितिमा चारजना चैं ‘रअ’ कै एजेण्ट पर्नेछन् । बाँकी रहेका एकजना (जो ‘रअ’का एजेण्ट हुन्नन्) लाई ‘रअ’का एजेण्ट बनाइ चार भञ्ज्याङ कटाउन सिफारिस गर्नेछन् ।’
यतिकैमा महापञ्चहरुले मुखामुख गरे । ‘रअ’ खोज्ने अनुसन्धान समितिले औपचारिकता नपाउँदै ढिसमिस भयो । सबै कक्टेल डिनर तिर लागे । राजाले फेरी टाउको हल्लाए ।

(पञ्चमहात्म्यको सत्य घटनामा आधारित कथाबाट लिइएको सम्बाद)


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!