Techie IT
×
गृहपृष्ठबिचारजुङ्गे मन्त्रीको भ्रम

जुङ्गे मन्त्रीको भ्रम


धकुक
नेपाली निवन्धहरू मध्ये जुँगाको आफ्नै महत्व छ । जुँगा पढेर जुँगा पाल्न थालेका एक युवक पछिल्लो समय क्रान्तिकारी भए । झापाको मुर्कटा आन्दोलन देखि माओवादी जनयुद्धसम्मका क्रान्तिकारी गतिविधिमा सधैं जुटिरहे ।

विधि प्रक्रियाबाट सबथोक पूरा हुने बुझाइ राख्ने लोकतन्त्रवादीहरूले विस्थापित संसद पुनस्र्थापना गराए । विस्तृत शान्ति सम्झौता गराए ,संसदबाट राजा हटाए , अन्तरिम संविधान मार्फत माओवादीलाई संसद छिराए ।

ती क्रान्तिकारीको पनि “भिन्न धातुका बनेको हो माओवादी” भन्ने थेगो उनको जिब्रोमा झुण्डिनु स्वाभाविकै थियो । माओवादी भिन्न धातुको बनेको नारा यति घन्काए कि तिनले मन्त्री पद पडकाइ हाले ।

त्यतिखेर लोकतन्त्रवादीहरूले माओवादीलाई जंगली र पाखे भन्न किन पछि पर्थे । जंगलीहरूलाई हामीले मान्छे बनाइरहेका छौं भनिरहे । उनीहरू भनिरहेका थिए । तपाईहरू अब संसदमा आइ पुग्नु भयो । हिजो अस्तिको उदण्डता संसदमा सुहाउँदैन ?सुध्रिनु प-यो कमरेड । विधि प्रक्रियाबाट चल्नु प-यो ।

दिवंगत प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कै पालामा के भयो कुनि? सरकारमा छँदै आन्दोलनमा उत्रेका थिए । त्यतिखेर क्रान्तिकारीहरूले भन्न थाले “ माओवादी भिन्न धातुले बनेको हो । संसदमा आएर माओवादी सकियो भनेर हुन्छ ।” पछि लोकतन्त्रवादीले विधि प्रक्रिया मिलाए ।

उनीहरू फेरि सहज भए ।

सरकारमा पालो पालो क्रान्तिकारीहरूलाई मन्त्री बनाउने काम भइरहयो । त्यसै मेसोमा जुँगा पाल्ने ती क्रान्तिकारी पनि मन्त्री भइहाले ।

यो हुनुमा उनले सिको गरेर पटक पटक माइकमा गुञ्जायमान गराएका नारा “ माओवादी भिन्न धातुको बनेको हो ”ले धेरै ठूलो काम गरेको थियो ।मन्त्री भएपछि उनी संसदमा छिरे ।

मन्त्रीहरू संसदमा विधि प्रक्रिया आइपरेकै बेला छिर्छन सामान्य जसो । छिर्ने बित्तिकै सभामुखको सम्मुख संसद दीर्घामा खित्का छुटयो । खित्का छुटनुको कारण त्यस अघिको जुँगा गायब थियो सभामुखले रूलिंग गरे ।

शान्त माननीय ज्यू , शान्त । सदनको कारबाही शुरू गर्न सहयोग गर्नुस । सांसदहरूले एक आपसमा कानेखुसी गर्न थाले ।

क्रान्तिकारी कमरेडको जुँगा खोई ? हिजोअस्ति त थियो । आज के भो? कपाल पनि ज्यूँका त्यूँ छ । जुँगा किन?

सांसदहरू मध्येका एकले हात उठाएर प्रश्न तेस्र्याए । मन्त्री ज्यूको जुँगा खोइ? मन्त्री ज्यूलाई यो प्रश्नको अपेक्षा थिएन ।

परेन आपत् । मन्त्री बनेपछि मनकामनामा जुँगा फालेर आउने गरेको भाकल भनौ भने क्रान्तिकारीता चौपट ।

दशकौं क्रान्तिकारी पार्टीमा काम गरेर आएको मान्छे । लोकले के भन्ला? लोकलाज त जोगाउनै प-यो ?

क्रान्तिकारी मन्त्री बनिरहँदा पेजर र फिचर मोबाइल फोनको जमाना गइसकेको थियो ।स्मार्टफोनको जमाना थियो । झन् क्रृतिम बौद्धिकताको जमाना आउन थालिसकेको छ ।

आखिर गाउँ शहर चहारिसकेर पटक पटक “माओवादी भिन्न धातुको हो ” नारा घोकिसकेका थिए । लोकतन्त्रवादीहरूको संगतमा धेरथोर लोकतन्त्रवादीको लोकभाखा सिकिसकेका थिए ।

उनले विधि प्रक्रियाको सूत्रबद्ध ज्ञानलाई खोपडीमा गुफाबाट झिकेर चेतनाको माथिल्लो कोठमा ल्याइहाले । अनि नाक मुनिको सखाप जंगलमा हात फिराउँदै भनिहाले “ के भन्नु भएको माननीय ज्यूले ? कसले भन्यो तपाईलाई मेरो जँुगा छैन भनेर ? माननीय ज्यूले विधि प्रक्रिया बुझ्नु भएकै छ होला? कुनै पनि मन्त्रीको विरूद्धमा कुनै उजुरीको लागि निश्चित विधि प्रक्रिया हुन्छ । तपाईले संसदीय समितिमा उजुरी दिनुपर्छ । संसदीय समितिको कारबाही चल्छ । सवाल जवाफ चल्छ । मनासिब देखिए समितिले सिफारिश गर्छ । अनि मात्र मन्त्री उपर यो गरिमामय सदनमा कारबाहीका लागि परिपक्क्व हुन्छ । कि हैन माननीय ज्यू ?”

मन्त्री ज्यूले हाकाहाकी सदनमा उपस्थित सांसदहरू अगाडि झूठो बोलेको देखेर अर्का सांसदको कनचट तातिसकेको थियो । सभामुखको आदेश नलिइकनै आक्रोश पोखिहाले “ मन्त्री ज्यूँ तपाईको जुँगा छैन भन्दा भन्नु हुन्छ जुँगा छ , यो सफेद झूठ हो ।”

विधि प्रक्रियाको वकालत गर्दै सभामुखले सचेत गराउँदै भने “ माननीय ज्यू तपाईले अनुमति नलिएर बोलेकामा दण्डित गर्न सकिन्छ । दुई जनाको बीचमा तपाईँ किन? ”

लोकतान्त्रिक सदनको यो तमाशा देखिरहेका अर्का त झन उग्रहुन खोजेको देखेर नजिकका एक सांसदले पछाडिबाट कमिज तान्दै भने भो भो छोडनुस। यसबारे संसदीय समितिको माग गरे भइ हाल्यो नी ? आखिर हामी गरिमा बोकेका सांसदहरू हौं विधि प्रक्रिया मान्नै प-यो ।

आवश्यकताको सिद्धान्त अनुसार सभामुखले संसदीय समितिमा जुँगा छानबिन समिति बनाउने निर्णय गर्दै सभामुखले सदनको कारबाही बीचमै रोकेर गरेर एक महिनाका लागि सदन स्थगित गरे ।

एक महिनासम्म चलेका जुँगा समितिको कारबाही चल्यो ? मन्त्रीको उपस्थितिमा छलफल बहस भयो । समितिले मन्त्रीलाई जँुगा सखाप पारेको कारण सदनसमक्ष लुकाएकोमा दण्ड सजाय गर्नुपर्ने सिफारिश गरियो ।

एक महिना पछि सदनमा मन्त्री जी उपस्थित थिए ।

समितिका संयोजकलाई समय दिइयो । संयोजकले मन्त्री माथि कारबाहीको माग गरे । मन्त्रीजी सदनका समक्ष उपस्थित हुँदा उनको नाक मुनिको सखाप जंगल फेरि पलाइसकेको थियो । दायाँ बायाँ मिलाएर उनले जुँगालाई स्टालिनको जुँगाजस्तै सजाइआएका थिए ।

उनले भने “सभामुख महोदय, म विरूद्ध माननीय सांसदहरूको पूर्वाग्रह भएजस्तो छ । उहाँहरू भन्नु हुन्छ “जुँगा खोइ? ” म भन्छु जँुगा छ । त्यतिखेर पनि भनेको थिएँ “जुँगा छ । अहिले भन्छु जुँगा छ । पत्याउनु भएन् ।”

सांसदहरूले जुँगा देखेपछि छक्क परे ।

अक्क न बक्कको स्थितिमा चुपचाप सांसदहरूलाई सम्बोधन गर्दै क्रान्तिकारी मन्त्रीज्यूले भने “ माननीय सदस्य ज्यूले विधि र प्रक्रियाको सूत्र ठीकसँग घोक्नु भएको जस्तो छैन् । संसदको गरिमा र मर्यादालाई ध्यान दिनु भएको जस्तो छैन् । संसदको बहुमूल्य समयलाई ध्यान दिनु भएको जस्तो छैन् ।”

नयाँ बाबाजीले धेरै खरानी घसे जस्तै विधि प्रक्रियाको ज्ञानी भएको प्रदर्शन गर्दै भने “ तपाईहरूले जुँगा काटेको किन? सोध्नु भएको थिएन । माननीय ज्यूले जँुगा खोइ भन्नु भएको थियो । अब आइन्दा गरिमापूर्ण मन्त्रीपरिषद्का सदस्य उपर झूठो लाञ्छना लगाउन अघि सोच्नु होला । मैले तपाईहरूसँग पूर्वाग्रह राख्न पदमा बसेको छैन् । तपाईहरूले नै मन्त्री बनाएको हो । धन्यवाद।”

मन्त्री ज्यू माइक छोडेर कोठा बाहिर गइरहँदा एक जेष्ठ लोकतन्त्रवादीले फुसफुसाए “ जंगली क्रान्तिकारी त सभ्य भइसकेको रहेछ ।” उता मन्त्री ज्यू मनमनै लोकतन्त्रवादीहरूको विधि प्रक्रियालाई धन्यवाद दिरहेका थिए र जनतालाई विधि प्रक्रियाको पाठ पढाउन सफेद आवरण तयार पार्ने योजना बनाइरहेका थिए ।

जुँगा निबन्धको पाठलाई सिर्जनशील विकास गरेकोमा आफूमाथि गौरव गरिरहेका थिए ।

सदनमा आफूले पाएको सफलता उनको अनुहारमा धपक्क बलेको भएपनि उनको मन भित्रको एक अन्ध्यारो कुनामा एउटा सत्य तडपिरहेको थियो – त्यो के भने आवाज विहीन जनताका अधिकारको कार्यान्वयन यसरी नै विधिको शासनको जालोमा जेलिएर बसिरहेको हुन्छ । त्यसको विकल्पको आवश्यकता सबैका अगाडि हुँदाहुँदै पनि सबैको ओठ नखुल्ने गरी बन्द हुन्छ र पनि लोकतन्त्र जिन्दावाद । गणतन्त्र जिन्दावाद । समावेशी समानुपातिक जिन्दावाद जस्ता नारामा सबै जसो उफ्रिन बाध्य हुन्छन् ।”

आफू मर्न लागेको हो कि भने बोध भएपछि मनमनै फुसफुसाए “ किनभने सत्य त्यो नाङो सत्यसँग कोही पनि बस्न सक्दैन । बाँच्नलाई थोरै भए पनि भ्रम जो आवश्यक छ ।”


क्याटेगोरी : बिचार, साहित्य
ट्याग : #breaking