कांग्रेसमा विरासतको राजनीति
नेपाली कांग्रेसमा कोइराला परिवारको तेस्रो पुस्ता अहिले राजनीतिमा छ । पिताजी कृष्णप्रसाद कोइरालाले राणालाई गरिबले लगाएका कपडाको पार्सल पठाएर विद्रोह गरेर कोइराला परिवारले राजनीतिमा होमिएको हो । कोइराला परिवारको विरासतको राजनीतिले सो परिवारबाट चार जना प्रधानमन्त्री बनायो । नेपाली कांग्रेसको इतिहासमा चारै जना सभापति पनि बनायो कोइराला परिवारको विरासतको राजनीतिले । कोइराला परिवारमा यी सवै दोश्रो पुस्ताका नेता मात्र बने । पहिलो पुस्ताका पिताजी कृष्णप्रसाद कोइराला केबल स्वतन्त्रताको आन्दोलनमा मात्र होमिए । तर, दोश्रो पुस्ताका वीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला सवै कृष्णप्रसाद कोइरालाका छोराहरू कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बन्न सफल भए । वीपी र गिरिजाप्रसाद कोइरालाका सानीमा छोरा सुशील कोइराला पनि कोइराला परिवारको विरासत बोकेर कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री बने । अहिले कांग्रेसको राजनीतिमा कोइराला परिवारका तेस्रो पुस्ताका नेताहरू छन् ।
डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइराला । डा. शेखर कृष्णप्रसाद कोइरालाका छोरा केशवका कान्छा छोरा हुन् । सुजाता गिरिजाप्रसादकी एक्ली छोरी हुन भने शशांक वीपी कोइरालाका कान्छा छोरा हुन् । यीमध्ये शशांक अहिले कांग्रेसको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य छन् । शेखर १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी थिए । सभापतिका लागि दोश्रो चरणका भएको मतदानमा शेरबहादुर देउवासँग ४१ प्रतिशत मत पाएका डा. शेखर अहिले संस्थापन इतरसमूहका नेता छन् । सुजाता उपसभापतिको उमेदवार बनेकी थिइन् । उनी अहिले केन्द्रीय सदस्य मात्रै छन् । मोरङ २ बाट प्रतिनिधिसभाकी उमेदवार बनेको सुजाता पराजीत भइन ।
नेपाली कांग्रेसमा विरासतको राजनीति कोइराला परिवारमा मात्रैे छैन । विरासतको राजनीति धान्नेहरू कांग्रेसभित्र लामै सूची छ । अझ पछिल्लो समय श्रीमानको विरासत धान्नका लागि श्रीमतीलाई मौका दिने पराम्परा भएपछि त झन् विरासतको राजनीति अगाडि बढ्नेको सूची लामो भएको छ ।
नेपाली कांग्रेसमा विरासतको राजनीति कोइराला परिवारमा मात्रैे छैन । विरासतको राजनीति धान्नेहरू कांग्रेसभित्र लामै सूची छ । अझ पछिल्लो समय श्रीमानको विरासत धान्नका लागि श्रीमतीलाई मौका दिने पराम्परा भएपछि त झन् विरासतको राजनीति अगाडि बढ्नेको सूची लामो भएको छ । त्यो भन्दा पनि समावेशिता समेत मिलाउनुपर्ने अवस्थामा धेरै स्थानीय तहमा राजनीतिमा रहेका श्रीमानलाई मौका दिन नसकेपछि श्रीमतीलाई उपमेयरको उमेदवार बनाउने प्रचलन नै सुरु भएको छ । तर, कांग्रेसको राजनीतिमा साँच्चै पारिवारिक विरासत धानेका र कम्तीमा तीन पुस्ताले कांग्रेसको राजनीतिमा हात हालेकाहरूको विवरण यहाँ समावेश गरिएको छ ।
नेपाली कांग्रेसमा वीपी कोइराला र गणेशमान सिंहलाई झण्डै एकै स्थानमा राखेर सम्मान गरिन्छ । कोइराला परिवारको जस्तै गणेशमानको सन्तानले पनि राजनीति विरासत धानेका छन् । गणेशमान पत्नी मंगलादेवी नेपाल महिला संघको लामो समय अध्यक्ष भइन । उनलाई कांग्रेसमा ठूलै सम्मान दिने गरिएको छ । छोरा प्रकाशनमान नेपाली कांग्रेसको शीर्ष तहकै भूमिकामा छन् । उनी १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी थिए । अहिले केन्द्रीय सदस्य छन् । नेपाली कांग्रेसको महामन्त्री, उपसभापति र उपप्रधानमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । गणेशमानको विरासतको राजनीतिका प्रकाशमान पत्नीदेखि प्रकाशमानका छोरा पनि छन् । प्रकाशमान पत्नी सिर्जना सिंह गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिको प्रमुखको उमेदवार थिइन । उनी बालेन्द्र साहसँग पराजीत भइन । प्रकाशमान पुत्र प्रभासमान सिंह तरुण दलको केन्द्रीय सदस्य भएका छन् ।
डा रामबरण यादव नेपालको प्रथम राष्ट्रपति बने । उनी नेपाली कांग्रेसको महामन्त्री भए । उनका छोरा डा चन्द्रमोहन यादव अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन् । चन्द्रमोहन रामबरण राष्ट्रपतिमा निर्वाचित भएपछि भएको उपनिर्वाचनमा रामबरणकै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समेत निर्वाचित भएका थिए । त्यतिमात्र होइन रामबरणका दुईजना भतिजी पनि कांग्रेसको राजनीतिमा छन् । किरण यादव अहिले नेपाली काग्रेसको केन्द्रीय सदस्य छन् । उनी महोत्तरीबाट गत निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजीत भएकी छिन । किरणकी बहिनी रेखा यादव अहिले मधेश प्रदेशको प्रदेशसभा सदस्य छिन ।
नेपाली कांग्रेसको राजनीतिमा महेन्द्रनारायण निधीको स्थान उचो छ । महेन्द्रनारायण कांग्रेसको आठौं महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापति हुँदा महामन्त्री भएका थिए । निधिपुत्र बिमलेन्द्रले पनि कांग्रेसको राजनीतिमा उचो स्थान बनाएका छन् । उनी नेपाल विद्यार्थी संघको अध्यक्ष, नेपाली कांग्रेसको महामन्त्री, उपसभापति हुँदै १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी थिए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् । उनी विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेर उपप्रधानमन्त्री समेत बने ।
ओखलढुंगा जस्तो विकट जिल्लामा जन्मेर पनि बलबहादुर राईले नेपाली कांग्रेसको राजनीतिमा आफ्नो अलग्गै स्थान बनाएका थिए । बलबहादुरका पनि तीन पुस्ता कांग्रेसको राजनीतिमा देखिएका छन् । बलबहादुरका जेठा छोरा प्रेमराज राई नेपाली कांग्रेस ओखलढुंगाको सभापति भए । उनको पनि निधन भइसकेको छ । प्रेमराजका छोरा राजाबाबु किराती अहिले पनि ओखलढुंगा कांग्रेसको राजनीतिमा क्रियाशील छन् । गत जिल्ला अधिवेशनमा राजाबाबु पार्टीको जिल्ला सचिवको उमेदवार थिए ।
मुस्लिम समुदायबाट नेपाली कांग्रेसको राजनीतिमा उचो स्थान बनाएका शेख इद्रिसको विरासतको राजनीति रौतहटमा मोहमद अफताब अलामले धानेका थिए । आलम इद्रिसका भतिजा हुन् । रौतहटबाट लामो समय प्रतिनिधिसभा सदस्य बनेका आलम अहिले जेलमा छन् । आलम मन्त्री समेत भए । आलमको राजनीति उत्तराधिकारीका रुपमा उनका छोरा अगाडि आएका छन् । एउटा छोरा डा फिरदस आलम पिताजीको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उमेदवार बनेका थिए । त्यस्तै अर्का छोरा डा मोहम्द रजिक आलम रौतहटकै राजापुर नगरपालिकाको प्रमुख बनेका छन् ।
२००७ सालको क्रान्तिको पर्साका कमाण्डर तेजबहादुर अमात्यको छोरा राजेन्द्रबहादुर अमात्य अहिले पनि पर्सा कांग्रेसको राजनीतिमा छन् । एकपटक पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बनेका राजेन्द्र पछिल्लो समय गठबन्धनका कारण कांग्रेसबाट उमेदवार भएनन् । उनी पर्सा कांग्रेसको सभापति पनि बने ।
पछिल्लो पुस्ताका नेता खुमबहादुर खड्काको परिवारले पनि विरासतको राजनीतिमा हात हालेको छ । खुमबहादुर पत्नी शीलालाई नेपाली कांग्रेसले केन्द्रीय सदस्य बनाएको थियो । उनी १४ औं महाधिवेशनपछि पनि केन्द्रीय सदस्य छिन । उनका छोरा अनुराग अहिले लुम्बिनी प्रदेशसभा सदस्य छन् ।
विरासतको राजनीतिलाई अगाडि बढाउने पछिल्लो पुस्ताका नेतामा रोमी गौचन पछि पर्दछन् । रोमीले आफ्नो विरासत धान्न छोरा योगेश गौचनलाई मुस्ताङबाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनाएर सांसद बनाएका छन् । रोमी अहिले मुस्ताङ कांग्रेसको सभापति छन् । वीपीकालीन नेता योगेन्द्रमान शेरचनको पारिवारिक विरासत धानेका सुशीलमान शेरचनबाट मुस्ताङ कांग्रेसको राजनीति हत्याएका रोमीले आफ्ना छोरा योगेशलाई आफ्नो विरासत धान्न अगाडि बढाएका छन् । सुशीलमान भने अहिले नेपाली कांग्रेस छोडेर वीपी कांग्रेसमा छन् ।
कांग्रेसको राजनीतिमा श्रीमानको निधन भएपछि विरासत धान्नका लागि श्रीमतीलाई अगाडि बढाइएको छ । त्यही कोटीमा खुमबहादुर पत्नी शीला, नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी, हरि खड्काकी पत्नी चम्पा खड्का छन् । नवीन्द्रराज पत्नी सपना अहिले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन भने चम्पा अहिले केन्द्रीय सदस्य छिन । समयबद्ध साप्ताहिकबाट
तपाईको प्रतिक्रिया दिनुहोस