Techie IT
  • २०८० असोज १७, बुधबार

श्रमसँग नजोडिनेहरु कम्युनिस्ट हुन सक्दैनन



पुँजीवादले समाजवादी र कम्युनिस्टहरुमाथिको पछिल्लो हमला राजनीति पेशा वा सेवा के हो ? भन्नेमा केन्द्रीत गरेको छ । सामाजिक सन्जाल र युवालाई प्रयोग गरेर चौतर्फी हमला केन्द्रीत गरेको छ ।

हमला सामान्य खालको छैन । कम्युनिस्ट पार्टी र त्यस्को नेतृत्वलाई नै सिध्याउने योजनाका साथ आएको छ । हाम्रो आचरण, व्यवहार र सैद्वान्तिक धरातलमा देखिएको कमजोरीलाई टेकेर आएको छ । जनताबाट अलगथलग बनाउने षड्यन्त्रका साथ आएको छ ।

कुरा सर्वहारा र मजदुरको गर्ने । अनि व्यवहारमा तीन पुस्तालाई पुग्ने गरी अकुत सम्पत्ति जोड्नेहरु सर्वहारा र मजदुरको नेता हुन सक्दैनन् । सामूहिकता र संगठनलाई प्रयोग गरेर व्यक्तिगत लाभ लिन पल्केकाहरु अपराधी हुन भन्दा अतिशयोक्ति नहोला ।

सबैभन्दा पहिला हामीले हाम्रो जीवन शैली, आचरण र व्यवहारलाई सच्याउनु पर्छ । समाजवादी आचरण र व्यवहारमा उभ्याउन सक्नुपर्छ । राजनीतिमा लागेका राता मान्छेहरुले आफूलाई सार्वजनिक व्यक्तित्वका रुपमा प्रस्तुत हुन सक्नुपर्छ । जनताले मेरा हरेक कदमको निगरानी गर्छन् भन्ने मान्यता राखेर हाम्रो जीवन शैलीहरु पारदर्शी बनाउन जरुरी छ । हामीले राजनीतिलाई पेशा हैन जनताको सेवामा समर्पित गर्न जरुरी छ । हाम्रा सम्पत्तिको श्रोतहरु के हो, पेशा के हो ? खुलाउन जरुरी छ । हामीले आर्जन गरेको सम्पतिको राज्यलाई कर तिरेको छ छैन त्यो पनि नेतृत्वले पारदर्शी गर्न जरुरी छ ।

अरुलाई डण्डा लगाउने तर आफू चाहिँ अपारदर्शी ढंगले जीवन जिउने छुट अब कसैलाई पनि छैन । पेशा केही छैन तर राजनीतिमा लागेकै भरमा तीन पुस्तासम्मलाई पुग्ने गरी अकुत सम्पति थुपार्ने जुन खालको होडवाजी राजनीतिक नेतृत्वमा देखिँदै आएको छ, यसले राजनीतिक पार्टीप्रतिको समाजको धारणा नकारात्मक बन्दै गएको छ । पुँजीवादले हाम्रा बिरुद्व यही हतियार प्रयोग गरेर समाजमा फैलिएको नकारात्मक धारणालाई सामाजिक सन्जालमार्फत जनतासम्म पु¥याउन र भ्रम छर्न सफल भएको छ ।

हामी क्रान्तिकारी कम्युनिस्टहरु बिचारमा, सिद्धान्त र व्यवहारमा अडिन नसक्दा स्खलित हुँदै गयौं । कम्युनिस्टहरु सम्झौता गर्दै सकिँदै जाने अनि संसदीय पूँजीवादी व्यवस्थाले आफूलाई राम्रो भए जसरी प्रचार गर्दै लाने र हामी त्यसैमा रमाउने अवस्थामा कस्ले पुर्यायो ? पुँजीवादसँग घाँटी जोडेर समाजवादको बन्ध्याकरण गर्न कुन स्वार्थले काम गरिरहेको छ ?

अब कम्युनिस्ट पार्टी र उसको नेतृत्वले नीति, विधि, सिद्धान्त, आचरण र व्यवहारमा खरो उत्रन नसके जनताले पत्याउने वाला छैनन् । सुट बुटमा गएर धान रोप्ने नेतृत्वलाई किसानले पत्याउने वाला छैनन्, धान रोप्ने नै हो भने कछाड र कमिज नै लगाउनु पर्छ भन्ने मान्यता कम्युनिस्ट पार्टीले राख्नु पर्छ । 

कुरा सर्वहारा र मजदुरको गर्ने । अनि व्यवहारमा तीन पुस्तालाई पुग्ने गरी अकुत सम्पत्ति जोड्नेहरु सर्वहारा र मजदुरको नेता हुन सक्दैनन् । सामूहिकता र संगठनलाई प्रयोग गरेर व्यक्तिगत लाभ लिन पल्केकाहरु अपराधी हुन भन्दा अतिशयोक्ति नहोला ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट