Techie IT
×
गृहपृष्ठबिचारबन्दाबन्दी, भोक, विभेद र मृत्यु

बन्दाबन्दी, भोक, विभेद र मृत्यु


नेपाली जनताले आमूल परिवर्तनको निमित्त सबै क्षेत्रमा हुने सबैखाले विभेद अन्त्य गर्ने सपना बोकि विभेदरहित समाज निर्माणको लागि पटक पटक बलिदानीपुर्ण संघर्ष गर्दै आएका छन् । तर दुर्भाग्यवश, सबैखाले संघर्षहरु उही पुरानो संस्कारमा आत्मसमर्पण गर्दै विलीन भएका छन् ।  अहिले भएको कम्युनिस्ट नामधारी सरकारले जनताका अपेक्षा अनुरुप कुनै पनि कार्य गरेको छैन । उल्टो राष्ट्रहित र जनहित विपरीत राष्ट्रघाती र जनघाती कार्यहरु गर्दै सुखी नेपाली र समृद्ध नेपालको नारा दिएर यो वा त्यो बहानामा लुट मच्चाउदै अगाडी बडिरहेको अवस्था छ ।

जीवनस्तर उकास्न आत्मानिर्भर हुने खालका कुनैपनि कार्य गर्न सरकार आफैले नदिएको अवस्था छ । किनकी सरकार आफै विश्व बैंकको दाश बनेर आन्तरिक अर्थतन्त्र ध्वस्त बनाउन लागेको छ । जनजिविकाका कुरा गर्यो भने कहालीलाग्दो अवस्थामा समाज गुज्रिरहेको छ ।

२१औँ शताब्दीमा पनि जातीय अतिवादका कारण घट्ने दर्दनाक घटनाहरु समाजमा एक पछि अर्को घटिरहेका हामीले टेलिभिजन, पत्रपत्रिका, प्रत्यक्षरुपमा र सामाजिक सञ्जाल मार्फत थाहा पाइरहेका हुन्छौं । दलित भएकै कारण समाजमा अपहेलित भएर रुँदै बस्नुपर्ने, ज्यानै गुमाउनुपर्ने अवस्था यत्रतत्र देखिन्छ । आज पनि हाम्रो समाजमा दलित महिलाहरु उपल्लो जात भनिने पुरुषहरुको प्रेममा परेर बाबु बिनाका सन्तान हुर्काउन बाध्य छन् । र छोराछोरी नागरिकता बनाउन समेत नसकेको म को हुँ भन्ने आफ्नै पहिचान नपाएको पीडामा छट्पटीई रहेका छन् । यहाँ पीडितका लागि न त अदालत छ, न त सरकार छ । न त कानुन छ, न त समाजमा उनीहरुलाई साथ दिने मानिसहरु छन् । छ त केवल विभेद, अन्याय, अत्याचार र शोषण मात्र ।

त्यस्तै २०७७ साल जेठ १० गते कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्ला, चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गाउँमा जातीय भेदभावकै कारण जाजरकोट जिल्ला, भेरी नगरपालिका वडा नम्बर ४का नवराज बि.क. सहित ६ जना दलित युवाहरुको मानव नरसंहारकारी एक जघन्य हत्याकाण्ड घटाइयो । मध्युगीन सामन्तवादी संस्कार एवं जातीय अहंकारले उन्मत्त भएर १८ जना युवाहरुका बिरुद्ध सारा गाउँलेहरुले घेरा हालेर दलित भएकै कारणले अत्यन्तै क्रुरु र पाशवीक तरिकाले जुन ती विभेदी पर्खाल तोड्न साहस गर्ने युवाहरुको नरसंहार गरियो, यो हत्याकाण्ड विश्व मानव जाति र विश्व मानव सभ्यता माथीकै कलंक हो । यो एउटा जघन्य अपराध हो । दोषीलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ । यो हत्याकाण्डले मानवअधिकारका चर्का चर्का नारा लगाउने, समावेशी, समानतामूलक नयाँ समाज निर्माणको चर्को वकालत गर्ने, जातीय विभेदको अन्त्य गरिएको संविधान लेख्ने, कानुनी राज्यको वकालत गर्ने संसदवादी राजनीतिक पार्टी (दल) हरुको, तिनीहरुले अंगिकार गर्दै आएको संसदीय व्यवस्थाको धज्जी उडाएको छ ।

रुकुम हत्याकाण्ड अमानवीय जघन्य अपराध हो । यस्ता कहालीलाग्दा जातीय विभेदका कारण समाजमा दर्जनौँ दर्जन युवा युवतीले कहिले मन्दिर, कहिले पानीको धारा, कहिले चुलो छोएकै कारण ज्यान गुमाउनु परेको छ । केकी दिन अगाडी रुपन्देहीमा दलित किशोरी अंगिरा पासिको बलात्कार पछि हत्या भएको छ । जातीय विभेदका कारण हुने हत्याहिंसा, बलात्कार न्यूनीकरण हुनु भन्दा झन झन बढेको देखिन्छ ।

कानुनी रूपमा जातिय विभेद समाप्त भए पनि ब्यबहारिक रुपमा समाप्त हुन सकेको छैन । यसो हुनुमा जातीय अहंकार, उग्र राष्ट्रवाद, उग्र धार्मिक सोच, सामन्ती संस्कार, पुजीवादी सोच र राजनीति ढाकछोप अनि अपराधीहरुलाई बचाउने राज्य संयन्त्र यिनै गतिविधिका कारण संरचनागत बलात्कार हत्या हिंसालाई झन बलियो बनाएको देखिन्छ ।  यसका उदाहरण थुप्रै थुप्रै छन् ।  ती हाम्रो देशमा होस् या अमेरिकामा होस् प्रष्ट देख्न सकिन्छ ! जब सम्म कुनै न कुनै शक्तिको आड भरोसामा अपराधीहरुलाई संरक्षण गर्ने कार्य भहिरहन्छ तबसम्म जातीय विभेद, वर्गीय विभेद ब्यबहारिक रुपमा अन्त्य हुदैन । र यस्ता निर्दोष हजारौं नवराज र अंगिराहरु मारिएर फ्यालिन्छन्, झुन्ड्याइन्छन् ।

यतिबेला सिङ्गो मुलुक कोरोना भाइरसको महामारीबाट वच्न बन्दाबस्था रही यसको विकल्प खोजिरहेको छ  । सरकारले बन्दाबन्दिमा जनतालाई बस्न आदेश दिएको छ विकल्पमा केही दिएको छैन । उल्टो कोरोनाको नाममा अर्बौँ अरबको लुट मच्चाइरहेको छ । जनता रोगले भन्दा पनि भोकले आत्माहत्या गरिरहेका छन् । मरिरहेका छन् र कति मानसिक रोगी बनेका थुप्रै घटनाहरु छन् । त्यस्तै सप्तरीकी १७ बर्षिय राधादेवी सदा पेटभरी खाना खान मन छ सरकार भन्दै काखमा कुपोषणले लमतन्न परेको शिशु छन् । उहाँहरुको गाँस, वास र कपास जन्मशिद्ध अधिकार हो कि हैन सरकार ?

त्यस्तै बन्दाबन्दी भित्र जनताले असीम त्रास, भोक, प्यास, विभेद र मृत्यु भोगिरहेका छन् । भोककै कारण भरिया सुर्य बहादुर तामाङ रोटी रोटी भन्दै उनले जोडेको अमुल्य सम्पत्ति प्रिय नाम्लो हातमा लिएर यो संसार छोडेर गए । अर्का बर्दिया गोडियापुरका ५५ बर्षे अति विपन्न परिवारका एक सदस्य दुई छोरासहित मजदुरी गर्न आछाम पुगेका रहेछन् । महिनौँ लामो बन्दाबन्दिको अवस्थामा घरमा खाना हराएको, छाक टार्ने श्रोत साधन बन्द भएको अवस्था भोकै मर्ने देखिए पछि उनी बन्दाबन्दिको प्रवाह नगरी घर सम्झिएर ३, ४ दिन जंगल हिँडेर आफ्नो प्यारो भूमि आइपुग्छन् ।  भोको पेट, थकाइ र थोत्रो मैलो कपडा उनलाई कसैले पनि एक छाक खाना, एक गिलास पानी, एक ट्याव्लेट सिटामोल दिदैन । आखिर उनी भोलि त खान पाइएला भन्ने आशामा रातिनै बिदा हुन्छन् ।
यस्तो अवस्थामा पनि सरकार भौतिक सुख सुविधाका श्रोत साधन जुटाउन ब्यस्त देखिन्छ । यो अवस्था देख्दा मनका यस्ता अनेकाँै प्रश्नहरु उब्जिन थालेका छन्,

के यो भ्रष्टाचार होइन ?

के यो अत्याचार होइन ?

के यो गरिब, दुखी श्रमिकहरुको देश होइन ?

के जनताको जन्मसिद्ध अधिकार हनन गर्न पाइन्छ ?

के राष्ट्रघात मार्फत देश लुटिरहन पाइन्छ ?


क्याटेगोरी : बिचार


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार