Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारसैनिक परिप्रेक्ष्यमा पदक–अलङ्कार–विभुषण–२ : राष्ट्रिय सेनाको अवमूल्यन !

सैनिक परिप्रेक्ष्यमा पदक–अलङ्कार–विभुषण–२ : राष्ट्रिय सेनाको अवमूल्यन !


मोहन थापा

राष्ट्रले स्थापना गरेका मानपदवी–पदक–अलङ्कार–विभुषणबारे पहिलो भागमा नेपोलियनको सन्दर्भ, मानपदवी–पदक–अलङ्कार–विभुषण के हो ?, यसको सुरुवात, गोर्खा राज्य स्थापनापछि, शिरपाउ र शिरोपा, भारत र विश्वका अरु देशको सन्दर्भ, शासक आफैंले धारण गर्ने गरेकोबारेमा चर्चा गरियो । बाँकी यसप्रकार छ,

विदेशीलाई

मानपद्वी–विभुषण–अलङ्कार–पदक–दर्जा, समकालीन राजा वा शासकलाई पनि दिने गरिन्छ, अर्काे देशका उच्च सैनिक अधिकारीलाई पनि दिने गरिन्छ । विदेशी विशिष्ट नागरिकलाई पनि दिने गरिन्छ । यो संसारकै प्राचीन प्रचलन हो ।

सिंल्भा लेभी (हिन्दू अधिराज्यको इतिहास) का अनुसार सन् १३८७ (तदनुसार बि.सं.१४४४) ताका चीनका सम्राटले तत्कालीन नेपालका राजा (?) लाई लामा (लो–मो) दर्जा दिएका थिए । मध्यकालमा यसबारेमा त्यति धेरै र स्पष्ट विवरण पाइन्न । कोतपर्वबाट शक्तिमा आएका राणा शासनका प्रवर्तक श्री ३ जंगबहादुर कुँवर राणालाई तत्कालीन भारतस्थित बृटिस सरकारका तर्फबाट, फ्रान्सबाट र चीनका तर्फबाट बिभिन्न पदकहरु प्रदान गरिएको थियो । जंगबहादुर बि.सं. १९०६ मा बेलायत भ्रमणमा जाँदा फ्रान्स समेत गएका थिए । त्यसबेला फ्रान्सका राष्ट्रपति प्रिन्स लुई नेपोलीयन तृतीय थिए । उनले जंगबहादुरलाई म्यानसहितको तरवार, सुनको सानो बाटुलो तक्मा, मेडेलिना (Medallion) उपहारस्वरुप प्रदान गरेका थिए । भारतमा भएको सन् १८५७ को सिपाही बिद्रोह दमनमा सैनिक सहयोग दिएबापत जंगबहादुरलाई बेलायत सरकारको तर्फबाट मानको खातिर मिलिटरी जि.सि.वि. र ग्राण्ड–क्रस–अफ–दी–अर्डर–अफ–दि–वाथ नामक उच्च सम्मान÷पदक प्रदान गरेको थियो । बेलायत सरकारबाट मिलिटरी जिसिवि पाएपछि बि.सं. १९२९ मा जंगबहादुरलाई चीन सरकारले पनि थोंग लीन पिमपा कोकांग वांग स्यान नामक उच्च उपाधिबाट बिभुषित गरेको थियो । जुन पदकको अर्थ ‘उच्च प्रतिष्ठित, सर्वश्रेष्ठ, भद्र, सेनापति र अनुशासक, राष्ट्रको उन्नायक, राष्ट्रको राजश्व र सम्पन्नताको उच्च अभिबृद्धिकर्ता एवं न्यायदाता तथा स्वामिभक्ति र इमान्दारीको महान व्यक्तित्व’ भएको आदि…. थियो । यसलाई सिल्भा लेभीले आफ्नो पुस्तकमा ‘तोंग लिन–पिमपा–कोकांगवांगस्यांग’ उल्लेख गरेका छन् ।

पछि बिस्तारै बेलायतबाहेक अन्य राष्ट्रहरु इटाली, चीन, जर्मनी, नेदरल्याण्डस्, फ्रान्स, बेल्जियम लगायतका देशहरुका पदकहरु अरु नेपालीहरुले पनि प्राप्त गर्न थाले । विशेषगरी पहिलो र दोस्रो विश्वयुद्धमा भाग लिई बहादुरी प्रदर्शन गर्ने थुप्रै नेपालीले समुन्द्रपार देशका उच्चपदकहरु प्राप्त गर्ने क्रम बढ्न थाल्यो ।

नेपालमा पदक–विभुषण र पृथुलाधीस

प्राचीनकालका लिच्छवि राजाहरुले र मध्यकालका मल्ल राजाहरुले आफूलाई अनेकन विभुषणले विभुषित गर्दथे तर नागरिकलाई त्यस्ता विभुषण धारण गर्ने अधिकार थिएन न त कुनै अलङ्कार र पदक लगाउने छुट थियो । राजा राजेन्द्रबिक्रम शाहले प्रधानमन्त्री तथा प्रधानसेनापति माथवरसिंह थापालाई ‘कलाबहादुर’ भनी संवोधन गरेका थिए, भनिन्छ उनलाई त्यो ‘पद्वी’ दिइएको हो विशेष आभुषण, विभुषण अर्थात तक्मा, पदक केही दिइएको होइन । प्रधानमन्त्री वीरशमशेरले बि सं. १९५२ मा स्थापना गरेको ‘गोरखा राष्ट्रिय दक्षिणबाहु’ पदक नेपालमा स्थापना भएको पहिलो मानपद्वी हो । यसको स्थापनामा नाम ‘गोरखा राष्ट्रिय दक्षिणबाहु’ थियो । त्यसको संक्षिप्त नाम ‘गोरादवा’ हुने र त्यसबेला अंग्रेजहरुलाई गोरा भन्ने चलन थियो । ‘गोरादवा’ को अर्थबाट अंग्रेजसँगको सम्बन्ध बिग्रने डरले त्यो नाम परिवर्तन गरी ‘गोरखा दक्षिणबाहु’ राखिएको थियो । नेपालको यो सबैभन्दा पहिलो पदक हो । तर यो पद्वी श्री ३ बीरशमशेरले आफुले मात्र लगाए अरु कसैलाई प्रदान गरेनन् । यहि ‘गोदवा’ लाई पछि बि.सं. १९८९ मा श्रेणी बिभाजन गरी विभिन्न छुट्टाछुट्टै बर्गमा राखियो । त्यो पदक बि.सं. २०६२/०६३ को जनआन्दोलनसम्म प्रचलनमा रह्यो । श्री ३ वीरले स्थापना गरेको अर्काे पदक ‘प्रियदर्शिनी’ भने प्रचलनमा आएन ।

पछि राजा त्रिभुवनको पालामा बि.सं. १९७५ मा नेपाल तारा, (श्रेणीसहित) सिर्जना गरियो । बि.सं. १९९१ मा श्री ३ जुद्धशमशेरले ओजस्वीराजन्य, बि.सं. १९९४ मा उनैले त्रिशक्तिपट्ट र नेपालप्रतापबद्र्धक (श्रेणीसहित) स्थापना गरे । त्रिभुवनकै पालामा गद्दीआरोहण रजतजयन्ती समारोह स्मारक पदक, दीर्घ सेवापट्ट, महाभूकम्प पिडितोद्धार पदक, बि.सं. २००३ मा ओमरामपट्ट र बि.सं. २०११ मा त्रिभुवनप्रजातन्त्र श्रीपद स्थापना भयो ।

राजा महेन्द्रले बि.सं.२०१३ बैशाख २० गते आफ्नो शुभराज्याभिषेक समारोहमा सेनाको टुकडीबाट ‘फिल्डमार्शल’ को सलामी ग्रहण गर्नुका साथै नेपाली सेनाको ‘सर्वाेच्च कमाण्डर, परमसेनाधिपति’ को पद्वी ग्रहण गरे । त्यस दिनदेखि राजाहरुले नाम अगाडि थप प्रशस्तिस्वरुप ‘श्री गिरिराजचक्र……. र ‘परमाधिपतिअतिरथीपरमसेनाधिपति’ लेख्न थाले । राजा महेन्द्रले त्यसै दिन आफ्नी कान्छी महारानी रत्नराज्यलक्ष्मिदेवीलाई सेनाको तोपखानाको कर्णेल–इन–चीफ र नेपाली सेनाका पूर्वप्रधानसेनापति महारथी केशरशमशेर जबरालाई नेपाली सेनाको अतिरथी प्रदान गरे । उक्त समारोहमा राजा महेन्द्रले राज्याभिषेकको अवसरमा निम्त्याइएका स्वदेशी तथा विदेशी अतिथि, भाइभारदार, कर्मचारी, सैनिकका उच्च अधिकारी लगायत आफ्ना परिवारका सदस्यलाई थुप्रै मानपद्वीहरु प्रदान गरे । शासकमा मात्र निहित एवं राजा, श्री ३ वा शासकले मात्र धारण गर्दै आएका मानपद्वी, अलंकार र पदक राजा वा शासकबाहेक अन्यलाई त्यति ठूलो संख्यामा प्रदान गरिएको त्यो पहिलो अवसर थियो । त्यसैदिन राजा महेन्द्रले अतिरथी केशरशमशेर जबराको अध्यक्ष्यतामा प्रधानसेनापति र मन्त्रीपरिषदका सचिब तथा गृह सचिबलाई राखेर विभुषण समिति गठन गरेका थिए ।

विभुषण समितिबाहेक महेन्द्रले मानपद्वीहरुसँग सम्बन्धित पद ‘पृथुलाधिस’ महारानी रत्नलाई दिएका थिए । नेपालका सम्पूर्ण मानपद्वीहरुको ‘पृथुलाधिस’ पाउने रत्न प्रथम नारी हुन् । यो पृथुलाधिस पद राजाहरुले आफ्नी रानीलाई वा युवराजलाई मात्र प्रदान गरे । राजा त्रिभुवनले भने छट्टाछुट्टै मानपद्वीहरुको छुट्टाछुट्टैै व्यक्तिहरुलाई ‘पृथुलाधिस’ पद प्रदान गरेका थिए ।

बि.सं.२०१७ पछि राजा महेन्द्रले विभुषण समितिमा हेरफेर गरे । बि.सं. २०२२ मा अतिरथी बनाइएका पूर्वप्रधानसेनापति नीरशमशेर जबरालाई विभुषण समितिको अध्यक्ष बनाए । समितिको सदस्यहरुमा प्रधानसेनापति (तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाह, पछि अतिरथी), आफ्ना प्रमुखसचिव सरदार हंसमान सिंह, उपरथी मोहनबिक्रम राणा, मुख्य अन्चलाधीस सरदार बिष्णुमणि आचार्य थिए । यस समितिले विभुषणहरुको परिभाषा, विभुषण प्रदान गर्ने आधार, योग्यता, विभुषणका प्रतिकहरु लगाउने अवसर, मर्यादाक्रम, पाउनेहरुले उपभोग गर्न पाउने सुविधा, विभिन्न बर्ग र श्रेणीमा बिभिन्न ढाँचाका शैलीयुक्त नयाँ विभुषणहरुको व्यबस्था तथा प्रदान हुने निश्चित अवसर र विभुषण प्रदान गरिने सुशोभन समारोह लगायतका मिति निर्धारण र यस सम्बन्धी लगत संकलन गर्ने कार्य ग-यो । सो समितिले सबै मानपद्वी, अलंकार र पदकहरु श्री ५ को राजकीय सम्पत्ति कोषको जिम्मा दियो । त्यसपछि विभुषण कोष राजकीय सम्पत्ति कोष अन्तर्गत रह्यो । सम्पूर्ण मानपद्वी, अलंकार र पदकहरु नेपालमै नेपाली कलाकारहरुद्धारा बनाउन लगाइयो । यसपछि विभुषण समितिले कुन विभुषण कसलाई प्रदान गर्ने भनी पृथुलाधिस मार्फत परमाधिपति अर्थात राजामा नामावली पेश गर्नुपर्ने र राजाबाट सोही बमोजिम प्रदान गर्ने व्यबस्था ग¥यो ।

बि.सं.२०२१ असोज १ गते तत्कालीन युवराज तथा स्व.वीरेन्द्रवीरबिक्रमशाह उमेर पुगेको उपलक्ष्यमा हनमाढोका गद्दी बैठकमा बिशेष समारोहको आयोजना गरी वीरेन्द्रवीरबिक्रम शाहलाई नेपालका सबै मानपद्वीहरुको पृथुलाधिस दिइयो । सोही दिन महेन्द्रले अर्काे नयाँ पदक ‘महेन्द्रमाला’ को पनि सिर्जना गरेका थिए । (?) राजा वीरेन्द्र राजगद्दीमा बसेपछि पनि नयाँ पदकहरुको सिर्जना गरिए । यो क्रम राजा ज्ञानेन्द्रका कालमा पनि यथावत रह्यो । राजा ज्ञानेन्द्रले रानी कोमललाई पृथुलाधिस बनाएका थिए ।

गणतन्त्रमा

बि.सं.२०६३ मा पुनस्र्थापित संसदले पुराना सम्पूर्ण मानपद्वी, अलंकार र पदकहरु खारेज गरी नयाँ विभुषण ऐन–२०६४ को तर्जुमा गरेको छ । बि सं.२०६४ साउन ३२ गते प्रकाशित राजपत्रमा उल्लेख भएअनुसार नयाँ तर्जुमा गरिएका मानपद्वीहरुको प्रकार र मर्यादाक्रम निम्न अनुसार छन् :

मानपद्वीहरु 

क. नेपाल रत्न, ख. राष्ट्रगौरव, ग. राष्ट्रदीप र घ. जनसेवाश्री

अलंकारतर्फ 

क. राष्ट्रशोबद्र्धक, ख. नेपाल सेवा प्रवीण, ग. समाज सेवा रत्न

नेपाली सेनालाई मात्र प्रदान गरिने अलंकारतर्फ 

क. परम पौरख भाष्कर, ख. अति पौरख भाष्कर, ग. महापौरख भाष्कर

प्रहरीलाई मात्र दिइने अलंकार 

क. नेपाल प्रताप सुभुषण, ख. नेपाल प्रताप आभुषण, ग. नेपाल प्रताप भूषण

पदक : लोकश्री पदक, राष्ट्रसेवा पदक, सत्कार्य पदक, समाजसेवा पदक, शिक्षा ज्योति पदक, सगरमाथा पदक, सुकीर्ति पदक, वीरता पदक, शौर्य पदक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक, बिकास रत्न पदक, शान्ति पदक, बिज्ञान प्रवीण पदक ।

बिभुषण ऐन–२०६४ मा पृथुलाधीसको व्यबस्था गरिएको छैन । नयाँं तर्जुमा भएका मानपद्वी, अलंकार र पदकहरु मन्त्रीपरिषदसमक्ष सिफारिस गर्न एक विभुषण समितिको व्यबस्था गरिएको छ । समितिको अध्यक्षमा मन्त्रिपरिषदका वरिष्ठ मन्त्री वा वरिष्ठ उपप्रधानमन्त्री रहनेछन् भने गृहमन्त्री, राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुमध्येबाट समाबेशी सिद्धान्तका आधारमा मन्त्रीपरिषदले तोकेको महिलासहित छ जना सदस्य र गृहसचिब सदस्यसचिब रहने व्यबस्था गरिएको छ ।

राष्ट्रिय सेनाको अवमूल्यन

मानपद्वी, विभुषण, अलंकार र पदकहरुको पृष्ठभूमि नै सैनिक पेशा र उसको बहादुरीसँग गाँसिएको भएता पनि पहिलोपटक संसदले बनाएको विभुषण ऐनले नेपालको राष्ट्रिय सेनाको पूर्णतः अवमूल्यन गरेको छ । विभुषण समितिमा प्रधानसेनापति पदेन सदस्य हुनुपर्ने सामान्य सिद्धान्तलाई पन्छाएको छ, रक्षासचिब तथा रक्षामन्त्रालयको भूमिकालाई पनि वेवास्ता गरिएको छ । सेनालाई मात्र दिइने भनिएका अलंकारहरुलाई अरु जो कसैलाई दिन सकिने सामान्य अलंकारहरुभन्दा मर्यादाक्रममा तल राखिएको छ ।

जुनसुकै राष्ट्रको् निर्माणमा र सुरक्षामा राष्ट्रिय सेनाको भूमिका अतुलनीय हुन्छ । राष्ट्रिय सेनाको सुरक्षा कवचभित्र रहेर नै राष्ट्रभित्र यावत क्रियाकलापहरु संचालन हुन्छन् । सुरक्षित वातावरणमा मात्र राष्ट्र उन्नतिको पथतर्फ अग्रसर बन्नसक्छ । राष्ट्रको सुरक्षा अत्यन्त संवेदनशील मामिला हो, यो कार्यमा जुनसुकै र जतिसुकै बेला सैनिकले आफूलाई वलिदानी गर्नुपर्ने हुनसक्छ । यस्तो संवेदनशील पेशासँग आबद्ध राष्ट्रिय सेनाका व्यक्तिहरु केवल तलब, रासन, बर्दी र न्युन पेन्सनमा मात्र बहादुरी अर्थात् पराक्रम प्रदर्शन गर्न अग्रसर हुन्छन् भनी अपेक्षा गर्नु अदुरदर्शिता हो । यसर्थ विभुषण ऐन–२०६४ लाई एउटा अपूर्ण अर्थात अपर्याप्त कदमका रुपमा टिप्पणी गरिनु सान्दर्भिक हुनेछ ।

खस्केको गरिमा

मानपद्वी, अलंकार र पदकहरुबाट सुशोभित व्यक्तिको सार्वजनिक समारोहहरुमा उपस्थितिले समारोहको गौरव बढाउं“छ र त्यस्ता पदक तथा अलंकारहरु धारण गर्ने व्यक्ति राष्ट्रकै उन्नायक मानिन्छ । तर, राणाकालको कुरा छाडौं बि.सं.२००७ पछिका दिनमा राजपरिवार नजिकका व्यक्ति, उच्च पदाधिकारी र राजपरिवारका सेवक र चाकडीदारहरुले मात्र त्यस्ता मानपद्वी अलंकार र पदकहरु प्राप्त गर्ने तर राष्ट्रसेवामा समर्पित इमान्दार नागरिक र सैनिकले नपाउने हु“दा क्रमशः शिक्षित र सचेत नागरिकहरुबीच राज्यले प्रदान गर्ने मानपद्वी, अलंकार र पदकहरुप्रति खास चासो रहेन । फलतः पदक धारण गरेर सार्वजनिक समारोहमा जाने व्यक्ति हाँसोका पात्र बन्न थाले । नागरिकमा देशका लागि केही रचनात्मक वा अन्य कुनै प्रकारको योगदान गरौं भन्ने उत्साह र जाँगर भएन । निजामति, सेना, उद्योगी, व्यापारी, कलाकर्मी, समाजसेवीमात्र होइनन् राष्ट्रसेवक सैनिक र प्रहरी संगठनमा पनि दुर्गम क्षेत्रमा रहेर इमान्दारीपूर्वक समर्पित हुनेहरु पाखा परिरहे । तर, विशिष्ट पदाधिकारीहरुका बुट मोल्ने, भोजन गराउने र निजी सेवकले थुप्रै पदक पाए । यथार्थमा त्यस्ता मानपद्वी, अलंकार र पदक राष्ट्रको हितका खातिर साहसपूर्ण कार्य गर्ने व्यक्तिका लागि हो, न कि शासक र तिनका वरिपरि बस्नेका लागि । तर दुर्भाग्य ! त्यस्ता मानपद्वीहरुलाई शासकले आफ्नो पेवा बनाए र मनमौजी बाँडे । अन्ततः ती मानपद्वी, अलंकार र पदकको मर्यादा खस्कदैं गयो ।

वलिदानी र वीरतालाई गिज्याएझैं लाग्छ

पृथ्वीनारायण शाहको मृत्युपछिका दिनमा नेपालमा असल काम गर्ने नागरिक अपमानित हुनेक्रमले निरन्तरता पाएको छ । गणतन्त्रपछि पनि यो क्रम जारी छ । गणतन्त्रपछिका हरेक वर्ष सरकारले घोषणा गरेका मानपद्वी, पदक, विभुषण, अलंकारहरु विवादित बन्दै आएका छन् । राणाकाल, शाहकाल र बहुदलीयकालमा पदक, विभुषण वितरणमा हुने विकृतिलाई पनि माथ गर्ने गरी गत असोज ३ गते राष्ट्रपतिबाट विभुषण बाँंडिएको छ । जसले आम नागरिकमा राष्ट्रका पदक र विभुषणप्रति आकर्षण घटाइदिएको छ । नेपालका मानपद्वीहरुमा इतिहासदेखि नै शासकवर्गको र तिनकै वरिपरि बस्ने चाटुकारहरुको आधिपत्य कायम छ भन्ने सन्देश पछिल्लो गणतन्त्र दिवसले पनि दिएको छ ।

कुनै समय राष्ट्रको श्रीवृद्धिका खातिर आफैंलाइ वलिदानी गर्न तत्पर वीर सैनिकलाइ प्रदान गर्न स्थापना गरिएका यस खालका मानपदवी, पदक, अलङ्कार, विभुषणहरु आज शासकका सेवक, आफन्त र निकट रिझाउने साधन बन्न पुगेको छ । कुनैबेला राष्ट्रको राजश्व बृद्धिका लागि योगदान गर्ने राष्ट्रको उन्नायक, असल चरित्रयुक्त व्यक्तित्वलाई प्रदान गरिने यसप्रकारका मानपदवीहरु आज देशको ढुकुटी सबैभन्दा धेरै अनियमितता गर्न सक्षमलाई दिएको घोषणा गरिन्छ । एउटा समय राष्ट्रहितका लागि शत्रु देशबिरुद्ध लड्ने र वलिदानी गर्ने नागरिकलाई सम्मानका खातिर दिइने यसखालका मानपदवीहरु आज पराइदेशको हितमा काम गर्न तल्लीन विचौलियाहरुलाइ खुशी पार्न दिइन्छ ।

गणतन्त्रपछि घोषणा गरिएका केही वर्षअघिका पदक–अलंकार–विभुषणहरु केही सामाजिक अभियन्ता र कलाकारले बहिष्कार गरेको घोषणा गरेको समाचारहरु आए ।

लाग्छ, आजभोलि घोषणा गरिएका मानपदवी–पदक–अलङ्कार–विभुषणले वलिदानी र वीरतालाई गिज्याइरहेको छ । इमान्दार, नैतिकवान र असल नागरिकले हिजोआज राष्ट्रले प्रदान गर्ने मानपदवी, पदक, अलङ्कार, विभुषण स्वीकार गर्नु आफैंलाई स्खलित तुल्याउनु हो । नैतिकवान र इमान्दार नागरिक खेलौनाबाट शासित नहुन सक्छ । तसर्थ उनीहरुले बहिष्कार नै श्रेयष्कर हुने बाटो रोजे, जसलाई आफुभन्दा अयोग्यबाट शासित हुन नचाहेको संकेत हो भनी बुझ्न सकिन्छ ।

 विश्वको शक्तिशाली : संयुक्त राज्य अमेरिकी सेनाको सर्वाेच्च पदक  MEDAL OF HONOR

सन् १८६१ मा स्थापना भएको सयुक्त राज्य अमेरिकी सेनाको सर्वाेच्च सैनिक पदक हो यो । सन् १८६२ बाट रणक्षेत्रमा असाधारण वीरता प्रदर्शन गर्ने अमेरिकी सैनिकलाई यो पदक दिन थालिएको थियो । सन् २०१२ सम्ममा ३४०० सैनिकलाई यो पदक प्रदान गरिएको छ ।

 पुर्वसोभियत संघको सर्वाेच्च सैनिक पदक : ORDER OF THE RED STAR

सन् १९३० मा स्थापना भएको पूर्वसोभियत सेनाको यो सर्वाेच्च सैनिक पदक हो । युद्धमा असाधारण वीरता प्रदर्शन गर्ने वा सैन्य विज्ञान र अत्याधुनिक हतियारको आविष्कारमा असाधारण योगदान गर्नेलाइ यो पदक प्रदान गरिन्थ्यो । समयबद्ध साप्ताहिकबाट

 

समयबद्ध साप्ताहिकमा गतांकमा प्रकाशित

सैनिक दृष्टिकोणमा : मानपदवी–अलङ्कार–विभुषण : स्थापना, इतिहास र प्रचलन

मोहन थापा

नेपालमा गणतन्त्रस्थापनापछि हरेक वर्ष सम्विधान दिवसमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रका लागि विशेष योगदान गर्ने व्यक्तिलाई प्रदान गरिने मानपदवी–अलङ्कार–विभुषणहरु यही असोज ३ गते, राष्ट्रपति विद्यादेवी भण्डारीबाट पाँच सय ९४ जनालाई प्रदान गरिएको घोषणा भएको छ । पञ्चायतकालमा राजाको गुणगान गाउने कर्मचारी र पञ्चलाई पुरस्कृत र सम्मानित गरिएझैं यसवर्ष पनि पञ्चायतलाई उछिन्ने गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको विभुषण समितिले राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीको सेवा, सुरक्षा, स्तुतिगान र पक्षपोषण गर्नेलाई छानीछानी सम्मानित गरिएको भनी सार्वजनिक टीकाटिप्पणी भइरहेको छ ।

सरकारले सामाजिक सेवा र निजामति सरकारी सेवामा कार्यरत कर्मचारीबाहेक सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासहित ९७ जना नेपाली सेनाका विभिन्न दर्जाका सैनिकलाई पनि विभुषित गरिएको घोषणा गरेको छ ।

राष्ट्रले प्रदान गर्ने मानपदवी–अलङ्कार–विभुषण के हुन् ? कहिलेबाट सुरुवात भयो ? किन दिइन्छ ? कसलाई दिइन्छ ? यसबारेमा नेपाल र विश्वका अरु देशका सन्दर्भलाई सैनिक कोणबाट चर्चा गरिएको छ । यो चर्चा दुई अध्यायमा प्रस्तुत गरिनेछ । पहिलो यसप्रकार छ ।

मानपदवी–अलङ्कार–पदक–विभुषण के हो ?

मानपद्वी–अलङ्कार–पदक–बिभुषण/आभुषणहरु स्वतन्त्र सार्वभौमिक र स्वाधीन राष्ट्रका प्रतीक हुन् । जसका खातिर राष्ट्रका सपुतहरुले रगतको समेत वलिदानी गरेका हुन्छन् । त्यसैले यिनीहरुको परिचय नै यो हो कि राष्ट्रको हितमा विशेष सेवा गर्ने, योग्यता प्रदर्शन गर्ने, क्षमता देखाउने तथा सौर्य प्रदर्शन गर्ने व्यक्तिलाई कदरस्वरुप यो दिइन्छ । त्यस्तो कुनै प्रशंसनीय कार्य गर्नेलाई सिङ्गो राज्यका तर्फबाट प्रदान गरिन्छ । विदेशी सम्मानित नागरिकलाई पनि एकआपसमा सुसम्बन्ध बिकासको अभिप्रायले प्रदान गरिन्छ । यसको पहिलोपटक सुरुवात कहिले र कहांबाट भयो ? यो खोजीकै बिषय भएता पनि विश्वमा मानपद्वी, अलङ्कार, विभुषण र पदकहरुको स्थापना युद्धमा पराक्रम देखाउने वीर सैनिकको कदर गर्नकै खातिर गरिएको थियो । वास्तवमा राष्ट्रले स्थापना गरेका मानपद्वी, अलङ्कार, विभुषण, पदक र राष्ट्रको स्वतन्त्र अस्तित्व एक अर्काका पुरक हुन्छन् । शत्रुस“ग लडेर र आफैंलाई उत्सर्ग गरेर भए पनि वीर धरतीपुत्रहरुले राष्ट्रको स्वतन्त्र स्वअस्तित्व जोगाएका हुन्छन् भने राष्ट्रले पनि त्यस्ता वीरलाई यस्ता मानपद्वी, अलङ्कार र पदकहरुले सम्मान गर्ने गर्दछ, विभुषित गर्ने गर्दछ । तसर्थ राष्ट्रको स्वतन्त्रता वीरहरुको आर्जन हो भने मानपद्वी, अलङ्कार र पदकहरु त्यो स्वतन्त्रताको प्रतीक हो र ती आभुषण/बिभुषणहरु धारण गर्ने व्यक्ति त्यस राष्ट्रको उन्नायक हो । बहादुर र रक्षक हो । स्रष्टा हो । श्रीबृद्धिको स्रोत हो ।

तसर्थ सैनिक बलीदानी र पदक–अलङ्कार–विभुषणहरु एक–अर्काका प्रतीक हुन् ।

मानपदवी, पदक, अलङ्कार र बिभुषणको सुरुवात

प्रारम्भमा मानपद्वी, पदक, अलङ्कार र बिभुषणहरु राज्यको बिकास र विस्तारसं“गेै नागरिकलाई सैनिक सेवामा आकर्षित गर्न र सैनिकलाई युद्धमा उत्प्रेरित गर्ने उद्देश्यबाट सुरुवात गरिएको थियो ।

मानिस स्वभावतः जिज्ञासु र महत्वाकांक्षी हुन्छ । सुसुप्त वा प्रकट रुपमा ऊ सदैव मानव समाजमा प्रतिष्ठा चाहन्छ । शान, मान, इज्जत र सम्पन्नता चाहन्छ । साथसाथै ऊ आपूmलाई शक्तिशाली देखाउन पनि चाहन्छ । उसमा आफ्नो शक्तिको परीक्षण गर्ने चाहना हुन्छ । व्यक्तिमा निहित यसप्रकारको भावना राष्ट्रमार्फत संग्रहित भएर प्रकट भइरहेको हुन्छ । व्यक्तिमा निहित यही भावनालाई राज्यले आफ्नो लक्ष्य प्राप्तिका हेतु प्रयोग गर्दछ । नागरिकहरुमा देशप्रेमको भावना जगाएर राज्यका लागि लड्नु, वीरता प्रदर्शन गर्नु र त्याग गर्नु महान हो भन्ने भावना जगाएर राज्यले व्यक्तिहरुलाई प्राणोत्सर्ग गर्न समेत तत्पर गराउछ, गराउंदै आएको छ ।

आफ्नो जन्मभूमि अर्थात राष्ट्रका लागि कर्तव्यपालन गर्दागर्दै अर्थात वीरतापूर्वक लड्दालड्दै आफैंलाई वलिदानी दिइनु अमूल्य र अतुलनीय कार्य हो, जसको मूल्य न त धनले मापन गर्न सकिन्छ न भूमि तथा अन्य कुनै बस्तुले । युद्धभूमिमा वीरतापूर्वक लडेर जीवन उत्सर्ग गर्ने पराक्रमी वीर सपुतहरुको योगदानको कदर गर्न न त शव्द नै पर्याप्त छन् । तर पनि संसारमा जसरी एकपछि अर्काे युद्ध हु“दै आएको छ त्यसरी नै युद्धमा भाग लिने र बहादुरी देखाउने वीर सैनिकको कदर पनि राज्यले प्राचीनकालदेखि नै गर्दै आएको छ । जुन कदरमार्फत राज्यले पछिल्ला पुस्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युद्धमा सहभागी भएर वीरता प्रदर्शन गर्न प्रेरित गरिरहेको हुन्छ । यो नीति संसारका सबै राष्ट्रले अवलम्वन गर्दै आइरहेका छन् ।

प्रारम्भमा नै जो कोही मानिस बलीदानी गर्न सैनिक बन्दैन । सामान्यत  ऊ पारिवारिक समस्या, रोजीरोटी अर्थात गांस, वास र कपासको ग्यारेण्टीका लागि राज्यको आश्रयमा जान्छ । राज्यले र सेनाले प्रदान गर्ने वेतन, सुबिधा, सहुलियत र तालिमसंगै उसमा दृढता, राष्ट्रप्रेम, आत्मविश्वास र समर्पण जस्ता पक्षको विकास हुँदै जान्छ र परिपक्व बनेपछि मात्र उसले आवश्यक परेका बखत राष्ट्रका लागि वलिदानी गर्नसक्छ ।

गोर्खा राज्य स्थापनापछि

पृथ्वीनारायण शाहको समयताका लडाइमा वीरता प्रदर्शन गर्ने सैनिकलाई आधुनिककालमा झैं मानपदवी र विभुषणहरुको व्यवस्था थिएन । एकीकरण पूर्वका छिन्नभिन्न अवस्थाका राज्यहरुमा प्रशंसनीय कार्य गर्ने सैनिकलाई के कस्तो व्यवस्था थियो ? त्यसबारे प्रामाणिक तथ्यहरु पाइदैन । बि सं. १६१६ मा तत्कालीन लमजुगका राजकुमार द्रव्य शाहले छुट्टै गोर्खा राज्यको स्थापना गरेपछि प्रशंसनीय कार्य गर्नेलाई आपूmप्रति सदैव आस्थावान बनाइराख्न केही प्रयास गरे । द्रव्य शाहले गोर्खा विजय गर्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पाडे, पन्त, अज्र्याल, खनाल, राना र बोहरा समेत छ थरलाई राज्यमा विशेष मर्यादा प्रदान गरेका थिए । ती छ थरका मानिसहरु तत्कालीन गोर्खा राज्यमा विशिष्ट श्रेणीका मानिन्थे । द्रव्य शाहले झैं यी छ थरका सन्तानले राम्रो काम गरुन्जेल तिनीहरुलाई नफेर्नू भनी राजा राम शाहले पनि आफ्ना उत्तराधिकारीहरुलाई निर्देशन दिनुले सामान्य नागरिकहरु भन्दा भिन्दै सम्मान प्रदान गरेर आफ्ना विश्वासी र वीरहरुलाई अझै नजिकको मानिस बनाउने प्रयत्न गरिने रहेछ भन्ने बुझ्न सकिन्छ ।

शिरपाउ र शिरोपा

पृथ्वीनारायण शाहले लडाईंमा वीरता प्रदर्शन गर्ने र बहादुरी देखाउनेमध्ये केहीलाई सर्दार, बख्सी र काजी जस्ता पद्वी र बिजयपछि केहीलाई ‘शिरपाउ’ भनी विशेष बक्स (बक्स) उपहार दिने गरेको पाइन्छ । उनले भक्तपुर विजयको शिरपाउ काजी बंशराज पाडेलाई र पूर्व विजयको शिरपाउ सर्दार रामकृष्ण कुवरलाई दिएका थिए । ‘शिरपाउ’ दिने प्रचलन उहिल्यै मल्लकालमा पनि थियो । मल्लकालमा ‘शिरपाउ’ लाई ‘शिरोपा’ भनिन्थ्यो । ‘शिरोपा’ अर्थात ‘शिरपाउ’ को अर्थ शिरदेखि पाउसम्म ढाक्ने जस्तै : टाउकोमा पगरी, शरीरमा दौरासुरुवाल र खुट्टामा जुत्तासहितको ओढ्ने दोसल्ला र सुरुवालमाथि जामा हो । त्यस समयमा यस्तो सम्मान राजाबाट बिशेष मर्यादा प्राप्त गर्ने व्यक्तिले मात्र पाउने गर्दथे ।

वीर सैनिकहरुलाई जमीन दिने नीतिबाट पृथ्वीनारायण शाहले एकभन्दा बढी फाइदा लिएका थिए । प्रथमतः विजित प्रदेशमा आफ्ना विश्वासी भारदारहरुको समाज विस्तार हु“दै जान्थ्यो भने द्वितीयतः आफ्ना सिपाहीहरु अन्यत्रतर्फ मन डुलाउन जाने सम्भावना हु“दैन थियो । तेस्रो कुराः पृथ्वीनारायण शाहमा यसप्रकारको नीतिबाट प्रभावित भएर शत्रुराज्यका सैनिकहरु पनि आपूmसग मिल्न आउनेछन् भन्ने आशा थियो । यसरी पृथ्वीनारायण शाहले बहादुर योद्धाहरुको कदर गर्न धेरै नीतिहरु अंगीकार गरेको पाइन्छ । लड्दालड्दै वीरगति प्राप्त गर्ने वीर सैनिकका परिवारलाई ‘मरवट’ तथा बहादुरी प्रदर्शन गर्ने जीवित वीर सैनिकहरुको लागि उनले ‘शिरपाउ’ बाहेक अन्य उपहार र पुरस्कारहरु पनि दिने गरेका थिए । सैनिकहरुलाई पुरस्कार र प्रेरणास्वरुप जमीन दिने प्रचलन चाहिं विश्वमै पुरानो अर्थात प्राचीन नै हो । सैन्य सङ्गठनभित्र विभिन्न दर्जाहरु सिर्जना गरी ती दर्जा प्रदान गरेर उनीहरुको मनोबल बढाउने प्रयास धेरै पछिका दिनमा मात्र भएको हो ।

विश्वका अरु देशमा

युद्धमा वीरता प्रदर्शन गर्ने सैनिकलाई छिमेकी भारत लगायत अन्य राष्ट्रले पनि भूमि तथा स्वर्ण आभुषण, युद्धमा पराजीत पक्षस“ग लुटेका मूल्यवान सामान, हतियारका साथै खिताव एवम् अनेकौं उपाधिब्ाँट सम्मानित गर्ने गरेको पाइन्छ । संयुक्त अधिराज्य बेलायत सरकारले त्यस्ता वीर सैनिकलाई राष्ट्रको सर्वाेच्चपदक ‘भिक्टोरिया क्रस’ नामक वीरता पदकद्वारा विभुषित गर्ने गर्दछ । अर्काे छिमेकी मित्रराष्ट्र चीनमा पनि सन् १९४९ को क्रान्तिपूर्व वीर सैनिकलाई ‘लुलुयास्या¨–च्या¨’ नामक सर्वाेच्च सैनिक पदकले सम्मान गर्ने गरिन्थ्यो ।

बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि भारतीय सेनाका वीर सैनिकलाई प्रदान गर्नका खातिर गणतन्त्र भारतमा बिभिन्न ६० भन्दा बढी फरक नामका मानपद्वी, अलङ्कार र पदकहरुको व्यबस्था गरियो तीमध्ये ‘परमवीरचक्र’ भारतको सर्वाेच्च वीरता पदक हो । यस पुरस्कारको स्थापना २६ जनवरी १९५० मा भएको थियो । लेखक योगेश चन्द्र भार्गवका अनुसार यो चक्र ‘भूमि, समुन्द्र र आकासमध्ये कुनै पनि क्षेत्रमा शत्रुका सामु प्रदर्शित अति असाधारण वीरता अथवा साहस, उच्च कोटीको सौर्य वा आत्मवलिदान गर्नेका खातिर प्रदान गरिन्छ । यो पदवी मरणोपरान्त पनि प्रदान गरिन्छ ।’

शासक आफैं धारण गर्दथे

राष्ट्र रक्षार्थ वीरता र पराक्रम प्रदर्शन गर्ने व्यक्तिको कदर गर्न स्थापना गरिएका मानपद्वी, अलङ्कार र पदकहरु इतिहासमा कुनै समय शासक वा राजाहरु स्वयंम्ले ग्रहण गर्दथे । सैनिक, सेवक र जनतालाई दिदैंनथे ।

सर्वसाधारण जनता र शत्रु राष्ट्रका सामु शासकहरुले आपूmहरुलाई पराक्रमी, बहादुर, वीरका रुपमा प्रस्तुत गर्नु शासकका लागि त्यसबेला आवश्यक थियो । किनकि शासकहरु अधिकांशतः सैन्य बलबाट स्थापित भएका हुन्थे र सैन्य बलकै आधारमा टिक्दथे । तसर्थ त्यसबेलाका शासकले आपूmलाई शक्तिवानका रुपमा परिचित गराउन खोज्नुको मनोवैज्ञानिक अर्थ हुन्थ्यो । यसर्थ विस्तारै यसप्रकारका ठूला र विशिष्ट तथा महान मानपद्वीहरु कतिपय शासकहरु÷राजाहरु आपूm स्वयंले ग्रहण गरे र आपूmलाई साधारण जनताभन्दा शक्तिवान र पराक्रमीका रुपमा प्रस्तुत गरे भने युद्ध वा लडाईमा वीरता प्रदर्शन गर्ने साधारण मानिसलाई दर्जा अथवा केही भूमि र अन्य कुनै मूल्यवान वस्तुहरु उपहार वा पुरस्कारस्वरुप दिने गर्न थाले । साधारण मानिसको पहिलो आवश्यकता गां“स, वास र कपास हुन्थ्यो, त्यसपछि मात्र प्रतिष्ठा हुन्थ्यो । कतिपय अवस्थामा साधारण मानिसहरु न्यून वेतनका लागि युद्धमा जान बाध्य हुन्थे । जस्तै  प्रथम र द्वितीय विश्वयुद्धमा अधिकांस नेपाली सैनिकहरुले आफ्नो राष्ट्रको स्वार्थबिना ज्यान अर्पेर लडे भने न्युन वेतनका लागि अद्यापी गोर्खा सैनिकहरु भारतीय र बेलायती सेनामा रहेर लद्दाख, काश्मिर, अफगानिस्तान र इराक जस्ता जोखिमपूर्ण स्थानमा जीवन र मृत्युको खेल खेल्न बाध्य छन् । तर शासकहरुलाइ केवल गांस, बासकै समस्या हुन्न । उनीहरु प्रतिष्ठा, शक्ति र सत्ताका भोका हुन्छन् । त्यसैले शासकहरु आफैंले आफैंलाई वीर, पराक्रमी, साहसी र धर्मात्माका रुपमा चिनाउथे र अनेकन् विभुषण र अलङ्कारहरुबाट सजिएर रहने गर्दथे । नेपालको सन्दर्भमा यसप्रकारको उदाहरण लिच्छविकालदेखि पाइन्छ । फ्रान्सेली इतिहासकार प्रो. सिल्भां लेभीका अनुसार लिच्छवि राजा नरेन्द्रदेबका लुगाहरुमा मोति, हिरा, मुगा, तृणमणि जडिएका हुन्थे । कानमा सुनको गहना, घां“टीमा नीलमणिको माला, कम्मरपेटीमा बुद्धको मुर्ति इत्यादि आभुषणहरुद्धारा सजिएर उनी सिंहासनमा बस्दथे ।

लिच्छविकालका राजाहरुले विभुषणबाहेक नामका पछाडि विशेषणसमेत जोडेको पाइन्छ । लिच्छविकालको मीननारायणको अभिलेखमा उल्लेख भएअनुसार राजा शिवदेब (प्रथम) का छोरा ध्रुबदेबले आपूmलाई ‘लिच्छविकुलकेतुभट्टारकराज’ भनी उल्लेख गरेका छन् । यसप्रकारको चलनलाई पछिका शासकहरुले पनि अवलम्बन गरेका थिए । खासगरी प्राचीन नेपालमा शासन गर्ने शासकहरुले लेखाएर छाडेका शिलालेखहरुमा आफ्नो प्रशस्ती हुन्थ्यो र ती प्रशस्तीमा बिबिध प्रकारका मानपद्वीहरुको उल्लेख पाइन्छ । प्रशस्तीमार्फत त्यसबेलाका शासकहरुले आपूmहरुमा धेरै र विशिष्ट गुणहरु रहेको थियो भन्ने उल्लेख गर्ने गर्दथे । जस्तो कि लिच्छवि राजा शिबदेवको संवत ५२६ को शिलालेखमा ‘लिच्छविकुलकेतुभट्टारकमहाराजश्रीशिबदेव’ भनिएको पाइन्छ । राजा प्रताप मल्लले आफ्नो नामस“ग ‘महाराजाधिराजभुपकेशरीश्रीश्रीकबिन्द्रजयप्रतापमल्लदेब’ लेखाएका थिए । पृथ्वीनारायण शाहले आफ्नो नाम अगाडि ‘श्रीगिरीराजचक्रचुडामणिनरनारायणेत्यादिविविधबिरुदावली Ι बिराजमानमानोन्नतश्रीश्रीश्रीमन्महाराजाधिराजश्रीश्रीमन्नृपपृथ्वीनारायणशाह’ लेखाएका थिए । यो चलनलाई उनीपछिका अरु शाहबंशीय राजाले पनि निरन्तरता दिएका थिए ।

नक्कल

सत्ताबाहिर हुंदा राजा, सेना र अरु देशका पदक–अलङ्कार–विभुषणबारेमा निरपेक्ष रहेर टर्राे प्रतिक्रिया दिने कम्युनिष्ट नेताहरु सत्तामा पुगेपछिका दिनमा आपूm निकटकालाई सुशोभित तुल्याउन मरिहत्ते गरेको देखिदा आजका सत्तासीनमा राष्ट्रप्रेम र सिर्जनशीलता होइन तिनै राजा, सेना र बिदेशीको हुबहु नक्कल गर्ने प्रवृत्ति स्पष्ट देखिन्छ ।

 

‘ ….. यही खेलौनाबाट मानव जाति शासित हुन्छ ! ’

फ्रान्सका सैनिक योद्धा नेपोलियनको सिङ्गो जीवन युद्धमै बित्यो । तसर्थ उनले युद्धमा होमिएर राष्ट्रको हितमा बलिदानी गर्न नहिच्किचाउने सैन्य सङ्गठनको निर्माणका लागि हरप्रयत्न गरेका थिए । जसमध्ये सेनाको मनोबल बढाउनका लागि गरिएको प्रयास अन्तर्गत पदक, विभुषण र उपाधिहरुको स्थापना पनि हो ।

सम्राट पद लिएपछि नेपाेिलयन बोनापार्टले राष्ट्रका प्रतिभाशाली र वीर पुरुषहरुलाई सेनामा आकर्षित गर्न नयां उपाधि (Legion of Honour) को स्थापना गरेका थिए । राज्यको श्रीबृद्धिका निमित्त लडाईमा चमत्कारपूर्ण वीरता प्रदर्शन गर्ने वीर सैनिकका लागि जीवनभर यस्ता सम्मानसूचक उपाधिहरु प्रदान गर्ने राज्यको निर्णयले तत्कालीन फ्रान्सका युवाहरुमा उत्साह बढेको थियो । यसबाट कैयौं युवाहरुले अद्भुत योग्यता प्रदर्शन गर्नसके । राज्यका लागि प्रशंसनीय सेवा गर्न युवाहरु उत्सुक भए ।

नेपोलियनले स्थापना गरेका त्यस्ता उपाधिहरुको उनका बिरोधीहरुले आलोचना गरे, खिल्ली उडाए । सो कार्यलाई उनीहरुले ‘खेलौना’ भनी धज्जी उडाउने प्रयास गरे । प्रत्युत्तरमा नेपोलियनले भनेका थिए ‘तिमीहरु यसलाई खेलौना भन्छौ, तर यही खेलौनाबाट मानव जाति शासित हुन्छ !’

नेपाली सेनाको सर्वाेच्च अलङ्कार : सेना सौभाग्यभास्कर

तत्कालीन शाही नेपाली सेना, हाल नेपाली सेनाको सर्वाेच्च अलङ्कार ‘सेनासौभाग्यभास्कर’ थियो । यसको आदर्श वाक्य ‘मृत्युर्मामृतं गमय’ हो । यसको अर्थ ‘मृत्युबाट मलाई अमरतामा लैजाऊ’ हो ।

यो अलङ्कार बि.सं.२०२० पुष ११ गते स्थापना भएको थियो । यसको संक्षिप्तीकरण ‘से.सौ.भा.’ हुन्छ ।

‘सेनासौभाग्यभास्कर’ अलङ्कार – रणक्षेत्रमा वा नेपाल अधिराज्यको रक्षाको निमित्त दुश्मनसं“ग ज्यानको पर्वाह नराखी असाधारण बहादुरीका साथ कुनै शूरो काम गर्ने (शाही) नेपाली सेनाका अधिकृत वा जवानलाई प्रदान गर्नसक्ने प्रावधान थियो ।

पुनस्र्थापित संसदको बि.सं.२०६३ जेठ ४ कोे निर्णयबाट यो अलङ्कार खारेज गरियो ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार