Techie IT
×
गृहपृष्ठबिचारकोरोना भाइरस असली कम्युनिस्ट जस्तो रहेछ !

कोरोना भाइरस असली कम्युनिस्ट जस्तो रहेछ !


एउटा सचेत नागरिकको हिसाबले राज्लाई सुझाव र राज्यबाट भएका कमिकमजोरी औँल्याउँदा पक्कै अपराधी नठहर्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नु भएका दुई कुरा असाध्यै राम्रा थिए । पहिलो, दुई प्रतिशत नागरिकको पीसीआर बिधिबाट कोरोना परीक्षण र दोस्रो, इच्छुक नागरिकका लागि कोरोना बिमा ।

आज यी दुबै कुराबाट राज्य पन्छिएको छ । कोरोना बिमाबाट बिमा कम्पनीहरु जोखिम छ भनेर भागिरहेका छन् भने पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालय आनाकानी गर्दैछ । नागरिकले बिमा गर्ने भनेको आफ्नो र आफ्नो परिवारको जोखिम देखेर नै गर्ने हो । आफ्नो जोखिम नहुँदाको खण्डमा बिमा कम्पनीहरुलाई धनी बनाउन मात्रै बिमा गर्ने कुरा भएन । आफु र आफ्नो लगानी जोखिममा पर्छ भनेर बिमा नगर्ने र राज्यको योजना सफल पार्न नदिने बिमा कम्पनी नेपाली नागरिकलाई काम छैन । त्यस्ता गैरजिम्बेवार कम्पनी बन्द गरिदिँदा राज्यलाई पाप पक्कै नलाग्ला ।

भाइरस असली कम्युनिस्ट जस्तो रहेछ । जस्ले धनी, गरिब ,ठुलो, जात, सानोजात, कालो, गोरो, नेता, जनता  केही छुट्याउँन जान्दैन । सबैलाई समान व्यवहार गर्दछ । आम नागरिकलाई त्यो दिन हेर्न पक्कै पनि मन छ । नेताको टेस्ट हुने जनताको नहुने, धनीको टेस्ट हुने, गरिबको नहुने, बलियोको टेस्ट हुने, निर्धोको नहुने हो भने तपाईँ ख्यल गर्नुस, नेताको घरमा जनता पुग्न सक्छ रोग सारिदिन्छ । धनीको घरमा गरिव कामदार हुन्छ धनीलाई रोग सारिदिन्छ । बलियोलाई निर्धोले छाड्ने छैन किनकी जुन भाइरस छ त्यो समानुपातिक छ, समावेशी छ, विभेद बिहीन छ र केही रुपमा कम्युनिस्ट चरित्रको छ ।

 

नेपालमा कोरोना संक्रमित देखिन थालेदेखि नै स्वास्थ्यमन्त्रालय शिथिल देखिएको छ । हिजोको स्वास्थ्य मन्त्रालयको कोरोना टेस्टको कार्यबिधि हेर्दा स्वास्थ्य मन्त्रालयले घुमाउरो हिसाबमा प्रधानमन्त्रीबाट घोषणा भएको कोरोना टेस्टको दुई प्रतिशत लक्ष्य बिफल पार्न लागेको देखिन्छ  । साथै लक्ष्य पुरा गरिए पनि कोरोना टेस्ट लक्षित बर्गको हुनेछैन ।  हामी विश्व स्वास्थ्य सङ्गठनको मार्ग निर्देशन मान्ने मुलुक हौँ । कोरोना टेस्टको लागि विश्व स्वास्थ्य सङ्गठनले आरडीटी टेस्टलाई हालसम्म मान्यता दिएको छैन । तर हामी आरडीटी टेस्टलाई नै मुख्य प्राथमिकता दिइरहेका छौँ।

धेरै मुलुक हरुले यो टेस्टको बिश्वास नभएकाले बन्द गरिसकेको जनाएका छन् । एक त यो टेस्टले बैधानिकता पाएको छैन भने अर्को, यो विश्वभर बिश्वसनीय छैन । यो टेस्टको नतिजा बिहीन रिपोर्टको तथ्यांकहरुले फजुल खर्च र केही मानिसका लागि कमाई खाने भाँडो मात्रै भएको देखिन्छ । नेपालको पछिल्लो तथ्यांक अनुसार करिब १ लाख ६६ हजार ४ सय २३ नागरिक क्वारेन्टाइनमा छन् । र यो संख्या केही दिनमा दोब्बर हुने अनुमान गरिएको छ । संक्रमितमा लक्षणनै नदेखिएको अबस्थामा १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर नगरी घर फिर्ता हुन दिने निर्णयले भोलिका दिनमा संक्रमण कतिसम्म फैलिन्छ भन्ने कुरा अनुमान लगाउन निक्कै कठिन छ ।

हामी आजसम्म जोगिनु भनेको समयमै लकडाउन गर्नु, बिदेशबाट आउनेहरुको टेस्ट गर्नु र निको भए पछि मात्र घर पठाउनुले गर्दा नै हो । आजसम्म हाम्रो मुलुकमा कोरोनाले असर गर्ने सक्ने दीर्घ रोगी भएको बर्गसम्म संक्रमण नपुगेर मात्रै कम क्षति भएको हो । जब संक्रमित भएका हरुलाई बिना टेस्ट घर पठाइन्छ तब कोरोनाले पक्कै आफ्नो रुप देखाउनेछ ।

मेरो बुझाईमा कम्युनिस्ट राज्यको मुख्य चरित्र भनेको समानता हो । नागरिकहरुप्रति समान व्यवहार हो । जब ब्यवहारमा समानता हुँदैन त्यहाँ कम्युनिस्टको तत्व रहँदैन । म कम्युनिस्ट हुन सकिन नत मेरा गुरुहरु । मैले बुझेको कम्युनिस्ट भनेको शिद्धान्तमा आधारित आचरण र व्यवहार हो । आचरण र व्यवहार राम्रो भयो भने जुन सुकै पार्टीमा भएपनि त्यो कम्युनिस्ट बराबर  हुन्छ भन्ने मेरो बुधाई हो । सदस्यका रुपमा कम्युनिस्ट पार्टीको सदस्य भए पनि व्यवहार, आचरण र शिद्धान्तका हिसाबले कम्युनिस्ट हुन सकिएन । कम्युनिस्ट शब्द मन पराउन जति सजिलो छ कम्युनिस्ट हुन लाखौ माइल गुणा कठिन रहेछ । हाम्रा लागि कम्युनिस्ट भनेको चन्द्रमा जस्तै  रहेछ । टाढैबाट मन पराउन सकिने तर छुन नसकिने, हुन नसकिने । म बर्तमान सरकारको समर्थक । नागरिक र मतदाता ।

हिजो मात्रै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएका मुलुकबाट आउने सबै नागरिकको पीसीआर टेस्ट गर्न नसकिने कार्यबिधी पास गरेछ । उहान उद्धारको कार्यान्वयन र समयमै लकडाउन गरेर जनताप्रति उत्तरदायी देखिएको हाम्रो सरकार मुलुकमा कोरोना संक्रमणको मध्यबिन्दु पार गर्दै उच्चतम बिन्दुमा तिब्र बेगमा अघि बढि रहेको अबस्थामा राज्य यसरी भाग्न खोज्नु भनेको राज्य महामारी नियन्त्रणमा लिन इच्छुक छैन भन्नेनैं हो ।

एउटा राज्यले आफ्ना नागरिक, जो अर्बौंको रेमिटेन्स भित्र्याउँने गर्दथे उनीहरुको टेस्ट गर्न आर्थिक कारण असमर्थ देखिनु लाजमर्दो नै हो । आफु अनुकूलको कार्य गर्न विश्व बैंकबाट अर्बौंको ऋण लिन सक्छ सरकार, आफ्नो अनुकुलतामा खर्च गर्न संसारभरका दाता राष्ट्र गुहार्न सक्छ सरकार, आमनागरिकको अर्बौं रुपैया संसद बिकास कोषको नाममा बेमतलव खर्च गर्न दिन्छ सरकार । तर किन नागरिक सुरक्षामा चासो दिन सक्दैन ?

राज्यमा नागरिक नै भएनन् भने तिमी कसलाई शासन गर्छौ सरकार ? प्रत्येक राजनीतिक परिवर्तनहरुमा आफ्नो शरीर दाउमा राखेर अग्र भागमा जिन्दावाद र मुर्दावादको नारा घन्काउने यीनै नागरिक हुन् । भुइँचालोमा थिलथिलो हुँदा राज्यको अबस्था हेरेर आधापेट खाएर बर्षौँ बाँसको टाट्नुमा बिना ओढ्ने ओछ्याउने जीवन गुजार्ने नागरिक यीनै नागरिक हुन् । भारतीय बिस्तारवादको नाकाबन्दीमा स्वाभिमान गुमाउनु हुन्न भनेर राज्यको लागि महिनौँ कठिन जीवन गुजार्ने पनि यीनै नागरिक हुन् । नागरिकको भरोशाको केन्द्र भनेको राज्य हो । जब राज्यनै महामारीका  बेलामा  नागरिकले  पाउने न्यूनतम स्वास्थ्य सुबिधा दिनबाट भाग्छ भने पक्कै पनि हामी राज्य बिहीन नागरिक जस्ता हुनेछौँ । नागरिकको स्वास्थ्य जब पैसा सँग तुलना हुन्छ त्यो बेला आम नागरिकले कोसँग गुहार माग्ने ?
यदि सामान्य नागरिकको टेस्ट हुन सक्दैन भने सोचे हुन्छ, भाइरसले बर्ग छुट्याउँदैन ।

सायद प्राकृतीक न्याय भनेको यही हो । भाइरस असली कम्युनिस्ट जस्तो रहेछ । जस्ले धनी, गरिब ,ठुलो, जात, सानोजात, कालो, गोरो, नेता, जनता  केही छुट्याउँन जान्दैन । सबैलाई समान व्यवहार गर्दछ । आम नागरिकलाई त्यो दिन हेर्न पक्कै पनि मन छ । नेताको टेस्ट हुने जनताको नहुने, धनीको टेस्ट हुने, गरिबको नहुने, बलियोको टेस्ट हुने, निर्धोको नहुने हो भने तपाईँ ख्यल गर्नुस, नेताको घरमा जनता पुग्न सक्छ रोग सारिदिन्छ । धनीको घरमा गरिव कामदार हुन्छ धनीलाई रोग सारिदिन्छ । बलियोलाई निर्धोले छाड्ने छैन किनकी जुन भाइरस छ त्यो समानुपातिक छ, समावेशी छ, विभेद बिहीन छ र केही रुपमा कम्युनिस्ट चरित्रको छ ।

(लेखक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका उपाध्यक्ष हुन् )


क्याटेगोरी : बिचार


तपाईको प्रतिक्रिया दिनुहोस