बामपन्थी एकताको भाँजो 'अहंकार'को पाइलो !

नेपालका कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरुले पटक पटक बापन्थी एकताको कुरा गरेपनि त्यो औपचारिकतामा मात्र सिमित हुने गरेको छ । माओ जयन्ती, स्टालिन जयन्ती, कार्ल माक्र्स जयन्ती, मदन भण्डारी स्मृती दिवस हुँदै कम्युनिस्ट पार्टी स्थापना दिवस र पुष्पलाल श्रेष्ठलगायतका नेताहरुको स्मृति दिवसका अवसरमा नेतृत्व वर्गले कम्युनिस्टहरुबीच एकता आवश्यकता रहेको दोहोर्याउँदै आउँने गरेका छन् । यसै सन्दर्भमा यही साउन ७ गते आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा पनि बिभिन्न पार्टीमा बिभक्त भएका कम्युनिस्ट बापन्थी धारका नेताहरुले कम्युनिस्टहरु मिल्नु पर्ने बेला आएको उही पुरानो नारा दोहो¥याए । केही नेताहरु पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमै पुगे भने केही आफ्नो पार्टी कार्यालय, केही तारे होटल र केही सडकमा भेला भएर कम्युनिस्ट एकताको आवाज ओकले ।
कम्युनिस्टहरु आफैँ आरोप प्रत्यारोपमा उत्रिदै टुटफुटमा रुमलिइरहँदा आज जीवन्त क्रान्तिकारी मार्ग दर्शक कमरेड पुष्पलालको खोजी हुन थालेको छ । उनले देशमा आरम्भ गरेको आन्दोलनले जुन राष्ट्रियता, जनतन्त्र र जनजीबिकाको रक्षा र सुदृढीकरणको आधारभूत धेयका लागि अग्रता लिएको थियो त्यसको पुनः चर्चा हुन थालेको छ । अनि नयाँ जनवाद र बैज्ञानिक समाजवादको जुन धेय यो आन्दोलनले अघि सारेको थियो, त्यसको अझ गहिरो गरी चिन्तन मनन गरिनु पर्ने आवश्यकता औंल्याउन थालिएको छ । यी आदर्शवान नेताको स्मरणमा कम्युनिस्टहरु मिल्नु पर्ने कुरा पछिल्लो पटक फेरी बुलन्द बनेर बाहिरिएको छ ।
नेपालका बामपन्थीहरु मिल्न सक्ने कुरा काल्पनिक होइन । दृृढ इच्छाशक्ति, संकल्प र सबै बापन्थी नेताले पदभन्दा पनि सिद्धान्तलाई सिरोधार्य गर्दै अहंकारको एक पाइलो पछि धकेल्ने हो भने नेपालले यहाँका कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याएर विश्वलाई नयाँ सन्देश दिन सक्छ । तर यो कुरामा कुनै पनि नेता हरेस नखाई, इमान्दार तरिकाले अघि बढ्ने हिम्मत भने गर्नुपर्छ ।
संविधानमै उल्लेख भएको समाजवाद सबैले ल्याउने हो भने सबै कम्युनिस्टहरू एक ठाउँमा हुनैपर्छ, जुट्नैपर्छ । होइन भने ‘समाजवादउन्मुख’ शव्द संविधानमा आवेशमा आएर लेखिएछ, त्यो चाहिँदैन, हटाउनुपर्छ भनेर बोल्न सक्ने हिम्मत हुनुपर्छ, जनताको चित्त बुझाउने तर्क गर्नसक्नुपर्छ । जनता ढाँट्न पाइँदैन । जनताको आँखामा छारो हालेर भुलभुलैमा राख्न पाइँदैन ।
कम्युनिष्ट पार्टीहरू यतिबेला आ–फ्ना स–साना ‘किराना पसल’ थापेर बसेका छन् । यी सबैलाई एक ठाउँमा ल्याएर ठूलो ‘होलसेल’ बनाउने हो भने नेताका होइन, सम्पूर्ण नेपाली जनताका अधिकार एकै पटक एकै ठाउँबाट सम्बोधन हुन सक्छन् । सदन र सरकार बहुमतका आधारमा कम्युनिस्टहरुले चलाउने हो भने सर्वहाराबर्गको सत्ता स्थापना हुन्छ । भोका, नांगा, गरिव सबैले समान अधिकार र संरक्षण राज्यबाट पाउँछन् ।
संविधानमा उल्लेख गरिएको ‘समाजवादउन्मुख’ नेपाल निर्माणका लागि मिल्न सक्ने र सहकार्य गर्न सक्ने बापन्थीहरुबीच सहकार्य र एकता गरेर अघि बढ्न ढिलाई भइसकेको छ । कम्युनिष्टहरु जति मिल्न सक्यो त्यत्ति धेरै शक्ति आर्जन हुन्छ र कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्सान देश र जनताको व्यहोर्नु पर्छ । यो कुरा गत निर्वाचनमा प्रमाणित भइसकेको विषय पनि हो । कम्युनिस्टहरुको टुटफुटबाट आजित भएका जनताले सिद्धान्त, योजना, नीति, कार्यक्रम र दूरदृष्टिबिहीन तथा रछ्यानमा गाडिएको र राजतन्त्रको अजेण्डा बोकेका दलहरुलाई जवर्जस्त मत जाहेर गर्न बाध्य भए । यदि कम्युनिस्टहरु मिल्न सकेका भए यी नामले ‘नयाँ’ तर कामले पुरानै, उरन्ठेउला र पश्चगामी सोचाई बोकेका दलका सदस्यहरुले संघीय र प्रदेश सांसदमा त के वडा सदस्यमा समेत विजयी हुने हैसियत राख्दैनथे ।
आगामी निर्वाचनमा यस्ता सिद्धान्त बिहीन दलहरुलाई विजयी हुनबाट रोक्न पनि कम्युनिस्ट तथा बामपन्थी शक्तिहरुबीच एकता आवश्यक छ । केही दिन अघि राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि कम्युनिस्टहरुको एकताकै पक्षमा हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि कम्युनिस्टहरुको एकताकै पक्षमा देखिनु भएको छ । तर फेरी पनि सबै कम्युनिष्ट पार्टीहरू किन आफ्ना आफ्ना अडानका पसल थापेर बसेका छन्? यो गम्भीर प्रश्न आमजनताकासामू खडा भएको छ । किन एकताका मिठा रोटी सेक्ने नेताहरु आफ्ना आफ्नै पाराले चलिरहेका छन्? यसको उत्तर पनि जनतालाई थाहा छ, नेताहरु ‘मेरो गोरुको बार्है टक्का’ भने झैँ आफ्नो कुरामा एक पाइला पनि पछि हट्न तयार छैनन् । एकता र एकीकरण पछिको पार्टीको अध्यक्ष वा महासचिव म बन्छु कि बन्दिन? भन्ने उनीहरुमा चिन्ता छ । जतिसुकै ठूला सिद्धान्त, देश र जनताका कुरा गरेपनि कुरोको चुरो यहीँ व्यक्तिवादमा आएर अड्किन्छ । तर फेरी पनि यसका बाबजुद नेतृत्वले हरेस खानु हुँदैन । किनकि देशका अधिकाँश जनताको माग नै बामपथी (कम्युनिस्ट) एकताको छ । यदि बापन्थी जति सबै मिल्ने हो भने नेपालमा जम्मा दुईवटा मात्र पार्टी अस्थित्वमा आउँने आँकलन गर्न सकिन्छ । ती हुन्, कम्युनिस्ट र कांग्रेस ।
त्यही भएर मुखले एकताको मन्त्र जपेर मात्र हुँदैन । जो जो जति मिल्न सक्छन् ती मिल्दै जानु पर्छ, सहकार्य गर्दै जानु पर्छ । यस अर्थमा नेतृत्व तहले त झन हरेस खानै हुँदैन । मेहनत, प्रयत्न र प्रयास निरन्तर गरिरहनु पर्छ । जति शक्तिलाई मिलाउन सक्यो, जति शक्ति संचय गर्यो उति शक्ति आर्जन हुँदै जान्छ, ऊर्जा पैदा हुँदै जान्छ ।
बामपन्थी शक्तिलाई एकीकृत र गोलबद्ध गर्नकै लागि करिव दुई महिना अघि समाजवादी मोर्चासमेत बनेको छ । तर एक–दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा हुँदैन । यो मोर्चामा वामपन्थी शक्तिहरु सबै समेटिनु पर्छ । बाम एकताका कुरा गरिरहने वामदेव गौतम त झन पहिला नैं यसमा आउनु पथ्र्यो । उहाँ किन यसमा अटाउन सक्नु भएन? यसको चित्त बुझ्दो जवाफ जनताले उहाँबाट खोजिरहेका छन् । नभए फेरी पनि आगामी निर्वाचनमा सबै नेता र दललाई जनताले मतदानमार्फत उत्तर दिने नै छन् ।
नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाज र समृद्ध समाजवादको निर्माण कम्युनिस्ट मोर्चाहरू मिलेर मात्रै सम्भव छ । यदि यो मोर्चाको गरिमा, मर्म र महत्व बुझेर कोही गैर कम्युनिस्टहरु आउँन चाहन्छन् भने पनि उनीहरुलाई खुला हृदयले स्वागत गर्नुपर्छ । मोर्चाको उद्देश्यलाई नेपाली जनताको समृद्धिसँग जोड्दै अगाडि बढाउन जरुरी छ । लोकतान्त्रिक मूल्य, मान्यताको समाजवाद र समृद्ध समाजवाद राखेर एउटै मोर्चामा सबै कम्युनिस्टहरु आवद्ध हुनुपर्छ । प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादवहरु मिलेर राम्रो कामको सुरुआत त भएको छ तर यसमा अरु धेरै छुटेकाहरु पनि थपिनु पर्छ । सबै मिल्नुपर्छ, सबैलाई ल्याउन सक्नुपर्छ । संविधानमै उल्लेख भएको समाजवाद सबैले ल्याउने हो भने सबै कम्युनिस्टहरू एक ठाउँमा हुनैपर्छ, जुट्नैपर्छ । होइन भने ‘समाजवादउन्मुख’ शव्द संविधानमा आवेशमा आएर लेखिएछ, त्यो चाहिँदैन, हटाउनुपर्छ भनेर बोल्न सक्ने हिम्मत हुनुपर्छ, जनताको चित्त बुझाउने तर्क गर्नसक्नुपर्छ । जनता ढाँट्न पाइँदैन । जनताको आँखामा छारो हालेर भुलभुलैमा राख्न पाइँदैन ।
‘समाजवादउन्मुख’ संविधान अक्षरसः कार्यान्वयन गर्ने हो भने बामपन्थी शक्तिहरु मिल्नै पर्छ । पुष्पलाल, मदन भण्डारी लगायतका कम्युनिस्ट नेताहरुले देखेको सपना साकार पार्न कम्युनिस्ट पार्टीहरू एक भएर शक्ति आर्जन गर्नेतर्फ लाग्नुपर्छ । समयबद्ध सातहिकबाट
तपाईको प्रतिक्रिया दिनुहोस