असार पन्ध्र: राष्ट्रिय धान दिवस, दही चिउरा र असारे भाका

रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलीमा…
आज असार पन्ध्र अर्थात, राष्ट्रिय धान दिवस अनि मानो रोपेर मुरी फाउने महिना । माथिको गीतमा भनिएझैँ हली, बहुसे, रोपाहार, लाठ्ठे, गोरु, हलो, जुवा, फाली, अनौ, जोतारो अदि असार महिनामा धेरै प्रयोग हुन्छन् । वर्षमा नौ महिना बाँझो रहेका खेत, फगटा, आँठा र सुर्काहरु पनि असारमा जोतखन गरेर धान रोपिन्छ, चामलको भात खानका लागि अनि बस्तुभाउको खान्की पराल जोहो गर्नका खातिर । हुन त आजकल कृषिमा प्रविधि भित्रिएसँगै गाउँ घरमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ । हलो, जुवा, दाँदे हराउँदै गएका छन् । गोरुको सट्टा ट्याक्टर र हाते ट्याक्टरको चलन सुरु भएको छ । तराई–मधेशमा मात्र होइन, हिमाल पहाडमासमेत प्रविधिको प्रयोगबाट रोपाईँ तथा खेतिपाती हुन थालिसकेको छ ।
नेपालमा खासगरी असार महिनादेखि साउनको पहिलो हप्तासम्म धान रोप्ने गरिन्छ । रोपाईंका बेला कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन् । जसले थकाई, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका अझ खुल्दछन् ।
राष्ट्रिय धान दिवसः
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने परम्परा बसालेको छ । नेपालले वि. सं २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । यस दिनलाई रोपाईँ महोत्सवका रूपमासमेत मनाउँने गरिन्छ ।
मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा तराई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले धान तराई गरी यो दिवस मनाउँने गर्दछन् । खेतमा रोपाईँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमासमेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको कतिपय विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँने गरेको हो । यस दिन ललितपुरको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाईँ मेला आयोजना गरिन्छ ।
यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांश स्थानमा रोपाईँ शुरु गर्ने तयारी छ, कतिपय स्थानमा एक–डेढ हप्ता अघिदेखि नैं रोपाईँ सुरु भइसकेको छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । सरकारले आजको दिनलाई धान दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधि आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरू बताउँछन् ।
केही कथन र पौराणिक पक्ष
‘लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ’ भन्ने बुढापाकाको भनाइले पनि असारको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात, असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात, पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टी गर्छ ।
यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांश स्थानमा रोपाईँ शुरु गर्ने तयारी छ, कतिपय स्थानमा एक–डेढ हप्ता अघिदेखि नैं रोपाईँ सुरु भइसकेको छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । सरकारले आजको दिनलाई धान दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधि आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरू बताउँछन् ।
रोपाईँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईँको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यकता पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठुलो टेवा पुर्याउँदै आएको छ । कतैकतै ठुला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात, पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरुलाई मसला र रुमाल बाँड्ने पनि प्रचलन छ । तर धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउने गरिन्छ । तर वर्षे धान भन्दा यसको उत्पादन कम हुने कषि विज्ञहरु बताउँछन् ।
दही चिउरा र असारे भाका
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरुप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईँ गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी गाउँदै रोपाईँ गीतको रन्कोमा रोपाईँ गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरु भएपछि असार १५ सम्म खेत र गरामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईँमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरुलाई आली लगाउँने र मेलो बनाउन चटारो हुन्छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काढ्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।
छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…।
नेपालमा धान रोप्दा गाइने यस्ता गीतलाई असारे गीत पनि भनिन्छ । नेपालमा खासगरी असार महिनादेखि साउनको पहिलो हप्तासम्म धान रोप्ने गरिन्छ । रोपाईंका बेला कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन् । जसले थकाई, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ । खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका अझ खुल्दछन् ।
असारे भाकाले भौगोलिक विविधता पनि समेटेको पाइन्छ । असारे गीतलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भने पश्चिमतिर ‘काँठेभाका’ भनिन्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाकाका फाँकीहरू १६÷१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ । असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक समेत बनाइदिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस