Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारनेकपाको अब नयाँ अध्याय

नेकपाको अब नयाँ अध्याय


नारान कुमार उपाध्याय

टुटफुटको डिलडिलमा पुगेर पनि एकताको नयाँ सन्देश दिन सफल सत्तारुढ नेकपाको पछिल्लो कदमले पार्टी पङ्क्तिभित्र एकताको नयाँ सञ्चार त गराएकै छ । दुई अध्यक्ष केपी ओली र प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल र अन्य शीर्ष नेताहरुको एक कदम पछाडि, दुई कदम अगाडि गर्ने सुझबुझपूर्ण निर्णय क्षमता र अग्रसरता नै नेकपालाई नयाँ परिस्थितिमा नयाँ एकताको उचाइमा पु¥याएको हो । गुटगत अतिवादलाई परास्त गरेर पार्टीको समग्र रुपान्तरणका लागि मध्यमार्गी धारको वकालत गर्ने नेता बादल लगायतको धारको प्रभावले पनि नेकपालाई अहिलेको नयाँ एकतावद्ध चरणमा पु-याएको तथ्य जगजाहेर नै छ । पछिल्लो समयमा पार्टीका विभिन्न प्रवृत्ति बोकेका प्रभावशाली नेताहरुले बनाएको कार्यदलले साझा प्रतिवेदन ल्याएर एकताको खाका कोरे । तर अझै पनि अहिलेको अवस्थामा अब पनि पार्टीको समग्र रुपान्तरणका लागि सहमतिलाई बढावा गर्ने कि यसलाई अस्थायी युद्धविरामका रुपमा लिएर फेरि अर्को खतराका लागि तयार पर्ने भन्ने बहस पनि नेकपामा निमिट्यान्न भइसकेको भने छैन । आफ्नो स्वत्व देखाउने नाममा पार्टीभित्र सानाठूला ढिकुरा बनाउने क्रम रोकिएको छैन ।

लामो विवादका शृङ्खलामा क्रमभङ्ग गर्दै पछिल्लो कार्यदलमार्फत सचिवालय वैठकले अनुमोदन गरेको नयाँ एकताको जगमा सत्तारुढ नेकपाः अब कता ? भन्ने प्रश्नको जवाफ त मिलेको छ । तर, अब नेकपा जनताको कोभिड १९ को कहरमा हातमा हात, साथमा साथ र संकटमा सारथि बनेर सँगसँगै जान सक्ने कि नसक्ने भन्नेमा सबै तहका नेता तथा कार्यकर्ताहरुको मन मष्तिष्क एकाकार र सक्रिय हुन आवश्यक छ ।

किनभने जनता कोरोना कहरले हायलकायल भएर थला परेको सबैभन्दा संकटको बेला यही हो । जनतासँग पार्टी, सत्ता र सरकार एकाकार हुनुपर्ने र जनताको संकटमा नेकपा सफल सारथि हुनुपर्ने युगीन कार्यभार यहीबेलाको संकट हो । यो संकटलाई जनताको सेवा गर्ने स्वर्णिम मौका बनाउन सरकार र पार्टीको मोर्चाबाट उदाहरणीय युगान्तकारी नेतृत्वदायी भूमिका नै अहिले आमजनता र देशले नेकपाबाट अपेक्षा गरिरहेको छ ।

सत्तामा वा राजकीय पदमा हुनेलाई भ्याइ नभ्याइ, नेकपाका कमिटी रहेका वा नरहेकाहरु भने कहीँ न कहीँ हुनु परेको अवस्थाले जनताको संकटमा पार्टीलाई जनताका बीच स्थापित बनाउन सक्दैन । र, सीमित नेताहरुको मपाईत्वको कलाविहीन नाट्य शृङ्खलाले पनि जनताको बीचमा पार्टीलाई स्थापित गराउन सक्दैन । जनताको रोग, भोक र शोकको यो दुरुह अवस्थामा सत्तामा हुने वा नहुने, पार्टी कमिटीमा रहेका वा नरहेका, पार्टीभित्रका सक्रिय वा निस्क्रिय सबै नेता, कार्यकर्ता र सिङ्गै नेकपा शक्ति देशव्यापी रुपमा जनताको सेवामा सक्रिय र समर्पित हुनसक्नु नै आजको मुख्य आवश्यकता हो ।

अहिले कार्यदलको प्रतिवेदनलाई व्यक्ति हेरेर होइन, विधि पद्धतिका आधारमा कडाईका साथ कार्यान्वयनमा लैजाने अवसरलाई दुई अध्यक्षले दुरुपयोग होइन, अधिकतम सदुपयोग गर्न सकेमा मात्रै सिङ्गो नेकपाले जित्ने र जनताले राहत पाउने हुन् । सरकारमा फेरबदल गर्नेदेखि सबै काम अब विधि र पद्धतिमा आधारित भएर गर्ने गराउनेमा सबैको जोडबल हुनुपर्नेमा कसैको दुईमत नहोला । कमभन्दा कम क्षतिमा पार्टीभित्रको संकट टारेको नेकपाले अब कोरोनाको संकटबाट देश र जनतालाई राहत दिन एक नम्वरमा हुनैपर्छ । यसका लागि सरकारका मोर्चाबाट प्रधानमन्त्री ओली र पार्टीको मोर्चाबाट अध्यक्ष प्रचण्डले नयाँ नीति, कार्यक्रमका साथ जनताको आकाङ्क्षालाई सम्बोधन गर्न सक्नैपर्छ ।

वास्तवमा नयाँ अध्यायमा अब जानैपर्छ नेकपा । किनभने कोरोनापछिको बदलिएको विश्व परस्थिति र घरेलु अवस्थितिका बीच अब नेकपा नयाँ अध्यायबाट अघि बढ्न सकेन भने नेकपालाई प्राप्त यो सत्ता युग एकादेशको कथा नहोला भन्न सकिन्न ।

नारायणकाजीको फेरि अर्को नखरा

नेकपा स्थायी समितिको वैठकले पार्टी एकताको पक्षमा ऐतिहासिक निर्णय लिदै पार्टीको सामूहिक नेतृत्वमा लागि नयाँ रोडम्याप दिएको केही दिनमा नै पार्टीका प्रवक्ता तथा प्रत्यक्षमा चुनाव हारेर पनि पुनः राष्ट्रिय सभाका सदस्य बनेका नारायणकाजी श्रेष्ठले पार्टीपथ होइन, काजीपथको नयाँ फर्मुला बनाएका छन् । उनले आफ्नो सचिवालयका सदस्यहरुको नेतृत्वमा नयाँ स्वयंसेवी टिम तयार गरेको घोषणा गरेका छन् । कोभिड १९ को कहरमा समग्र विश्व जस्तै नेपाल पनि लपेटिएका बेला सत्तारुढ पार्टीका प्रवक्ता तथा नेता नारायणकाजीले पार्टी भन्दा एक कदम अघि बढेर स्वयंसेवा गर्न रहर गर्नुलाई पार्टी भन्दा नारायणकाजी माथि बनाउने खतरनाक प्रवृत्ति देखिएको छ ।

जनताको मतादेशमा हारेर पनि चोरबाटो हुदै राष्ट्रिय सभाको सदस्य बने लगत्तै मन्त्री हुने दौडमा रहेका तर मौका नपाएका प्रवक्ता श्रेष्ठले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको कोषमा आफ्नो एक वर्षको तलब भत्ता सबै जम्मा गर्ने घोषणा गरेका छन् । यसो गर्दा उनको दैनिकी कसरी चल्छ र के खाएर बाँच्छन भन्ने प्रश्न एकातिर बहसमा नै छ । अहिले उनी नेकपाका नेता र प्रवक्ता छन, मन्त्री तथा उपप्रधानमन्त्री धेरै पट्क भइसकेका हुन् । उनले सिङ्गै पार्टीलाई जनतासँग कोभिड १९ को कहरका बीचमा जोड्नुपर्ने कार्यभार छ, उनको पदीय कार्यभार र जिम्मेवारीका आधारमा । तर, उनी पार्टीको सचिवालय वैठकमा यस खालको प्रस्ताव लिएर गएनन् । आफूमात्र हिरो कहलिन खोज्ने गरी सस्तो प्रचारवाजीका लागि उनले आफ्नै सचिवालयको टिममा कोभिड १९ को स्वयंसेवक टिमको घोषणा गरेका छन् ।

उदेकलाग्दो कुरा उनको जीवन दैनिकी संचालनका लागि आम्दानीको स्रोत र आलिशान जीवन शैलीको स्रोतबारे पार्टी र जनता नै अनभिज्ञ छन् । त्यसमाथि झण्डै दुई दर्जन उनका सचिवालय अन्र्तगतका स्वयंसेवीहरु अब के खाएर कसरी जनताको कोरोना कहरमा स्वयंसेवामा जुट्छन त ? के उनीहरुको आम्दानीको स्रोत र खर्चको फाँटवारी आमजनताले थाहा पाउनु पर्दैन ? घरी माइक्रो बस चढेर, घरी घनघोर राष्ट्रवादी देखिन दौरा सुरुवाल लगाएर त घरी क्यामेराका सामु रोएरै भए पनि नारायणकाजीले आफूलाई गुमनाम होइन, चर्चाको शिखरमा नै राख्दै आएका हुन् । बदनामीको भार त उनले चुनाव हारेर पनि राष्ट्रिय सभा सदस्य बनेर बोकिसकेका हुन्, पार्टीलाई नै जनताका सामु निरुत्तर र निशव्द बनाइ सकेका छन् । पार्टीभित्र इमान र अडान उनको पिपलको पात जस्तै भनेर चर्चित छ, जता मल्खो उतै ढल्को गर्ने सदावहार प्रवृत्तिका कारण । अहिले उनले स्वयंसेवाको नयाँ मानक बनाउन खोजेका हुन भने पनि त्यसको औचित्य र पारदर्शिताका बारेमा भने उनले दूधको दूध पानीको पानी जनता सामु स्पष्ट राख्न सक्नै पर्छ ।

सर्वहारा कम्युनिष्ट पार्टीका प्रवक्ताको सुकिलो मुकिलो जीवनशैली, अर्पाटमेन्टको महंगो बसाइ र तडकभडकपूर्ण जीवनशैलीको स्रोत नखोलिएको पक्षले उनको आदर्श र मूल्य मान्यतालाई नै गिज्याइरहेको छ । कम्युनिष्ट नेताहरु भन्छन एकथोक गर्छन अर्कोथोक भन्ने मान्यताका पर्याय झै बनेका नारायणकाजीले चर्चामा आउन चढेको माइक्रो बसका चालक, सहचालक अहिले यो कोभिडको कहरमा कहाँ कुन हालतमा छन् होला ? नारायणकाजीका सचिवालयले यसको जानकारी राखेको छ, कुनै अपडेट छ ? समग्र यातायात व्यवसायी, श्रमिक र मजदुरका लागि नारायणकाजीले के के काम गरे वा गराए त सचिवालय मार्फत ? अनि पार्टी र सरकारलाई यस दिशामा अघि बढ्न उनले कति दिशानिर्देश गरे ? अहिले उनले चढ्ने सवारी, लगाउने पोशाक र बस्ने महलको पनि जानकारी उनले देश दुनियाँलाई दिन सक्नुपर्ने हो कि होइन ?

स्वयंसेवी वा जोगी बन्नु व्यक्तिको रहर र छनौटको विषय हो । तर, सत्तारुढ कम्युनिष्ट पार्टीको उपल्लो स्तरको नेताले भने यसरी सस्तो चर्चा र प्रचारको लागि पार्टीभन्दा माथि देखाउने, अगाडि देखाउने रहरमा पार्टी पद्धति र विधिलाई बाइपास गर्नु आफैमा शरमको विषय हो नि होइन र ? नेकपाका प्रवक्ता तथा माननीय नारायणकाजी श्रेष्ठज्यू ? हाँसको हुलमा बकुल्ला बन्न किन खोजेको हो ? लामो समयदेखि तपाईंलाई साथ र सहयोग दिनेहरुलाई समेत लाज लाग्ने गरी पटकपटक यस्ता उटपट्याङ नगरे हुँदैन ?

पुँजीवादको विकल्प समाजवाद

यो समय भनेको पुँजीवादका संकटहरूको अनुभवहरूबाट सिकेर विकल्प दिन सक्नुपर्छ । हाम्रा व्यक्तिगत प्रयासहरुले सामूहिक मुक्ति सम्भव छ र ? पुँजीवाद विरूद्धको अन्तर्राष्ट्रिय मुक्ति संघर्षले नै समानता, सामाजिक न्यायमा आधारित सामूहिक भविष्यको विकल्प दिनसक्छ भनेर विश्वमा यतिवेला नयाँ रुपमा बहस चलिरहेको छ । आज हामीले हाम्रो देशमा कार्यान्वयन गरिने भनेको समाजवाद पनि अन्तर्राष्ट्रियतावादसँग जोडेर जान सक्नुपर्छ । तीनै तहको सरकारमा कम्युनिस्टको बर्चस्व रहेको यो बेलामा कम्युनिस्ट पार्टीलाई बलियो बनाएर समाजवादको विकल्पका लागि तयार गर्न सबैले प्रयास गर्नुपर्ने खाँचो हो । अहिलेको एकताले त्यो सम्भावनाको ढोका उघारेको छ । यसमा कम्युनिस्ट पार्टीभित्र हाँसबाट पृथक देखिन बकुल्लाको नक्कली प्वाँख सिउरिनु भएन । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार