टिप्पणी
रवि लामिछानेले नागरिकता प्रकरणमा गम्भीर लापरबाही गरेकै हुन् । सर्वोच्च अदालत स्वयंले संविधान–कानुनको ब्याख्या गरेर यही फैसला गरेपछि उनले नागरिकता प्रमाणपत्रको पुनर्प्राप्ति गर्नु स्वतःसिद्द छ । उनले आजै सम्बन्धित जिल्ला प्रशासनमा गएर नागरिकताको प्रक्रिया अगाडि बढाउने भएका छन् ।
तर, रवि नेपाली नै होइनन् भन्ने आम मनोबिज्ञान जुन निर्माण गर्न खोजिएको छ, त्यो भने गलत छ । अमेरिकी नागरिक भएपछि स्वतः निष्क्रिय भएको नागरिकता उनी नेपालमै बस्छु भनेर अमेरिकाबाट फर्किएर पनि सक्रिय वा पुनर्प्राप्ति गर्ने प्रक्रियामा लाग्दा उनी नेपाली नहुने कुरै थिएन ।
तर यसबीच अध्यागमन विभाग, प्रेस काउन्सिल जस्ता निकायले उनलाई नेपाली नागरिक नभएकै रूपमा संस्थागत–कानुनी व्यवहार गरेर थिए । त्यसलाई संकेतका रूपमा बुझ्दै अमेरिकी नागरिकता त्याग्ने र नेपाली नागरिकता सक्रिय बनाउने काममा उनले किन चासो दिएनन्अ ? अनि निष्क्रिय नागरिकताकै आधारमा अध्यक्षका रुपमा पार्टी दर्ता गर्ने, चुनावमा उम्मेदवारी मनोनयन गर्ने, प्रमाणपत्र पाउने, उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रूपमा सपथ खाने कामले उनको चरम लापर्बाहीलाई नै उजागर गरेको छ।
उनको मात्र होइन, निर्वाचन आयोग र अन्य प्रशासनिक निकायको चरम लापरबाहीलाई समेत यसले उजागर गरेको छ।
त्यो लापरबाहीको नतिजा उनले भोगिसकेका छन् । सांसद र मन्त्री पद खुस्किसकेको छ भने पार्टी अध्यक्षबाट समेत स्वतस् बहिर्गमित भएका छन् । अब नागरिकता प्रक्रिया पूरा गरेर मात्र उनले नागरिक अधिकारका रूपमा राजनीतिक एवं सामाजिक गतिविधि गर्न पाउँछन् ।
उनी नेपाली नै होइनन्, उनको पार्टी पनि खारेजीमा पर्छ, उनलाई राज्यबिरुद्धको फौजदारी अभियोग लगाउनुपर्छ भन्ने सोचहरू भने अति र उरेण्ठेउला सोच हुन् । अहिलेलाई अदालतले जे फैसला गरेको छ, रविलाई त्यही रुपमा बुझ्नुपर्छ । उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट एकजना सांसद घटेको हो, पार्टी अध्यक्षबाट उनी हट्नुपरेको हो, पार्टी नै अबैध भएको होइन । र, जनअनुमोदन वा सरकार सहयात्रीका रूपमा उनको पार्टी एक महत्त्वपूर्ण पार्टीका रूपमा कानुनी हैसियतमा नै छ ।
रातारात उदाएका रवि रातारात बिलाए भन्ने तर्क पनि उनको पार्टीको जुन हैसियत छ, त्यस आधारबाट हेर्दा गलत हो । प्रक्रियागत रुपले यतिबेलाको ब्यक्ति रवि फेरि सबैतिरबाट परिक्षित भएर आउने बाध्यतामा छन्, यतिबेलाको उनको पार्टी होइन । हो, उनको बैचारिक अस्पष्टता र सस्ता आदर्शमा प्रश्न गर्न सकिन्छ, तर धरातलीय यथार्थ के पनि हो भने बैचारिक अस्पष्टता र सस्ता आदर्शलाई पनि जनताले एक निर्णायक महत्त्व दिएर चुनाव जिताएका छन् ।
क्याटेगोरी :
बिचार,
राजनीति
ट्याग : #breaking