Techie IT
×
गृहपृष्ठभिडियोवुहानबाट नेपाली विद्यार्थी स्वदेश फर्काउन १३ करोड ? (भिडियो पनि)

वुहानबाट नेपाली विद्यार्थी स्वदेश फर्काउन १३ करोड ? (भिडियो पनि)


वुहानबाट नेपाली विद्यार्थी स्वदेश फर्काउने खर्च १३ करोड । झट्ट सुुन्दा यो कुरा धेरैलाई अपत्यारिलो लाग्ला तर तथ्यले बोलेको सत्य यही हो । सरकारले वुहानबाट एक सय ७५ विद्यार्थीलाई १३ करोड खर्चेर स्वदेश ल्यायो, जो सम्पन्न परिवारका वा आफै आफ्नो खर्च धान्न सक्ने हैसियतका नागरिक थिए । तर, विश्व श्रमबजारमा वाध्यतावश पुगेका र अहिले स्वदेश फर्कने आर्थिक हैसियत पनि नभएका नागरिकका हकमा भने सरकार उद्धार वा राहतका नाममा सुको पनि खर्च गर्न तयार देखिदैन । अझ उल्टो उनीहरुलाई लाग्ने भाडाभन्दा धेरै महंगो भाडा भनिरहेको छ ।

हो, गत जनवरीको सुरुवातमा नै चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएपछि चीनमा पढ्न गएका नेपाली विद्यार्थीहरुलाई सरकारले विमान चार्टर गरेर सरकारी खर्चमा नै देश फर्कायो । जब कि चीनमा रहेका आफना सन्ततीलाई फर्कने अनुमति मात्रै सरकारले दिलाइ दिए, खर्च आफै व्यहोर्ने भनी सबैजसो विद्यार्थीका अविभावकहरुले सार्वजनकि रुपमा नै भनेका थिए ।

तर अचम्म, चीनको वुहानबाट एक सय ७५ जना नेपाली विद्यार्थीलाई उद्दार गरी ल्याउने नाममा राज्य कोषबाट १३ करोड जति रकम स्वाहा भएको सरकारी अभिलेखकै तथ्य पाइएको छ । जबकि, राज्यले कानुनी बन्दोबस्त मात्रै मिलाइ दिएको भए उक्त रकम खर्चै गर्न नपर्ने माग चीनमा रहेका विद्यार्थीहरुका अभिभावकले गरिरहेका थिए ।

मन्त्रीपरिषदको गत माघ २७ गतेको निर्णय अनुसार चीनबाट विद्यार्थीको उद्धारका लागि भनी पाँच मन्त्रालयले गरी १३ करोड रकम झ्वाम पारेका हुन् । सरकारले चार करोड २० लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई, एक करोड ३० लाख रक्षा मन्त्रालयलाई, नागरिक तथा पर्यटन उडडयन मन्त्रालयलाई छ करोड, शहरी विकास मन्त्रालयलाई एक करोड ४२ लाख र परराष्ट्र मन्त्रालयलाई छ लाख ५० हजार रुपैयाँ निकासा दिएको तथ्य भेटिएको छ ।

चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थीहरुलाई भक्तपुरको नगरकोटस्थित खानेपानी तालिम केन्द्रको भवनमा क्वारेन्टिनमा १५ दिन राखिएको थियो । कुनै नयाँ संरचना बनाइएको पनि होइन । स्वास्थ्य मन्त्रालय, नागरिक उडडयन मन्त्रालय, रक्षा र शहरी विकास मन्त्रालयले यसरी यति ठूलो रकम त्यति थोरै नागरिकको उद्दार र क्वारेन्टिनमा कसरी खर्च गरे रु कुन खर्च कुन मन्त्रालयले के के शीर्षकमा कसरी गरे रु करीब दुई सय नागरिकको सुरुवाती उद्दारमा नै यसरी मुख्यमुख्य मन्त्रालयहरुले ठूलो रकम अपचलन गरेको उदाहरण यही केसबाट देखिएको छ ।

फर्काइएका विद्यार्थीका अलावा जहाजका कर्मचारीहरुको नाक र घाँटीको स्वाब परीक्षण, आउँदा लाग्ने टिकट खर्च र बस्दाको खाना आदि खर्च मात्रै हो सरकारद्धारा गरिएको नागरिकले देख्ने खर्च ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५ औं दिनमा नै १३ करोड रकम कसरी स्वाहा भयो होला भन्ने अहिले आश्चर्य र खोजीको विषय भएको छ । एउटै प्रयोजनमा पाँच फरक मन्त्रालयले करोडभन्दा माथिको रकम किन भुक्तानी लगे रु खर्चमा किन एकद्वार नीति लागू गरिएन रु कागजी प्रक्रिया मिलाएर मात्रै रकम सकिएको नाटक गरिएको होइन भने त्यति थोरै नागरिकका लागि कसरी त्यत्रो रकम खर्च हुन सक्छ रु यसरी हेर्दा उक्त रकममा अनियमिमता भएको स्पष्टै देखिन्छ ।

फेरि हुने खानेलाई मान, सम्मान र सुविधा हुने, दीन दुःखी र श्रमिक वर्गलाई भने पीडामाथि झन पीडा दिने सरकारी शैली पनि उत्तिकै विभेदकारी र आलोच्य देखिएको छ । अहिले सरकार खाडी मुलुक तथा अन्य श्रम बजारका देशबाट स्वदेश फर्कन खर्च नपाएर बिचल्लीमा परेका छन् । भारतबाट फर्कने श्रमिकलाई त सरकारले नागरिकको दर्जामा राखेर नागरिक सरह व्यवहार नै गरेको छैन । तर, सरकारलाई ती महान परिश्रमी नागरिकको दुःख र हैरानी दुखिरहेको छैन, तर तिनकै नाममा धनीमानीका जहाजमा सवार हुने हैसियतका सन्तानका नाममा राज्यकोषको १३ करोड सकिएको छ ।

अहिले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका नाममा १० अर्ब बढी खर्च भएको सोलोडोलो हिसाव त चर्को नागरिक दबाबपछि बल्लतल्ल बाहिर ल्याएको छ । तर, यही वुहानको उद्दार प्रकरणलाई नै प्रतिनिधि उदाहरण मान्ने हो भने कोरोनाको नाममा राज्यकोषबाट धेरै रकम हिनामिना गरिएको स्पष्ट हुन्छ । सरकारी फाँटवारीप्रति जनविश्वास छैन भने वुहानको उद्दार प्रकरण हेर्दा सरकारी मान्छेलाई कोरोना महामारी कमाउने पर्व बनेको स्पष्ट देखिन्छ । कात्रोमा पनि गोजी खोजे झैं महामारीको बेलामा पनि यसरी राज्यकोषको रकम हिनमिना गर्ने सरकारी अधिकारीहरुलाई अख्तियारले समयमा नै छानबिन गर्नु आवश्यक देखिन्छ । होइन भने अहिले सडकमा पोखिदै गएको युवा आक्रोशले नै यस्ता नक्कली सरकारी खर्चको फाँटवारी लिन थाल्यो भने त्यो सरकारमा बस्नेहरुकै लागि महंगो पर्ने निश्चित छ ।




क्याटेगोरी : भिडियो
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस