Techie IT
×
गृहपृष्ठपर्यटनपर्यटन व्यवसाय सञ्चालनका लागि क्षेत्रगत कार्यविधि जारी

पर्यटन व्यवसाय सञ्चालनका लागि क्षेत्रगत कार्यविधि जारी


काठमाडौँ, ९ असार । कोभिड–१९ सङ्क्रमणका कारण सबैभन्दा धेरै पर्यटन व्यवसाय सञ्चालनका लागि सरकारले क्षेत्रगत कार्यविधि जारी गरेको छ ।

महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण नेपालको पर्यटन व्यवसाय धराशयी बन्न पुगेकोले भविष्यमा सुरक्षात्मक रूपमा सञ्चालन गर्ने उपयाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशनमा नेपाल पर्यटन बोर्डले कार्यविधि तयार गरेको हो । सोमबार आयोजित एक भर्चुअल मिटिङमा मन्त्री योगेश भट्टराईले उक्त कार्यविधि औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।

तत्काल बाह्य पर्यटन सम्भव नभए पनि आन्तरिक पर्यटन व्यवसाय सञ्चालनको उद्देश्यसहित कार्यविधि तयार गरिएको बोर्डले जनाएको छ । कार्यविधिमा होटल, रेस्टुराँ, पर्यटनसम्बन्धी कार्यालय व्यवस्थापन र पर्यटन सवारी सञ्चालनका लागि छुट्टाछुट्टै मापदण्ड तोकिएको छ । यी सबै क्षेत्रमा ज्वरो जाँच, निर्मलीकरण, मास्क र सामाजिक दूरी कायमलाई अनिवार्य गरिएको छ ।

होटलका लागि पाहुनाले ल्याउने सामान निर्मलीकरण गर्नुपर्ने, पाहुनाको पछिल्लो ३० दिनको यात्रा विवरण र सम्पर्क नम्बर राख्नुपर्ने, कोभिड–१९ को लक्षण देखिएका पाहुनालाई स्वास्थ्यकर्मीसँग जुनसुकै बेला सम्पर्क गराउने व्यवस्था गर्नुपर्ने, होटल लबी र कोठा तथा शौचालयको नियमित सरसफाइ हुनुपर्ने, स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, स्विमिङ पुल, जिम तथा हेल्थ क्लब सञ्चालन गर्न नहुने, हातले छुने वस्तुको प्रयोग कम गराउने, डिजिटल कारोबारलाई जोड दिनुपर्ने, फोहोरको उचित व्यवस्थापन गर्नुपर्नेजस्ता कार्यविधि तोकिएको छ । त्यस्तै होटल कर्मचारीको पनि स्वास्थ्य जाँच, बफेट (सामूहिक खाना) को प्रबन्ध हटाउनुपर्ने, होटलमा प्रयोग हुने सामानको नियमित सरसफाइ गर्नुपर्ने जस्ता मापदण्डमा यसमा समेटिएका छन् ।

रेस्टुराँमा प्रदान गरिने सुविधाको लग बुक राख्नुपर्ने, मेडिकल सामग्री प्रबन्ध गर्नुपर्ने, हरेक कर्मचारी तथा सेवाग्राहीको स्क्रिनिङ गर्नुपर्ने, सम्पर्कका लागि लग बुक राख्नुपर्ने, लक्षण ख्याल गर्नुपर्ने, निरन्तर छोइने वस्तुको सरसफाइ गर्नुपर्ने, सँगै बस्दा सामाजिक दूरी पालना हुनुपर्ने (कम्तीमा एक फिट), कपडाको प्रयोग नगर्ने, प्रावधान राखिएको छ ।

त्यस्तै पर्यटनसँग सम्बनिधत कार्यालयमा कर्मचारीलाई कोभिड–१९ बारे पर्याप्त जानकारी दिने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, कर्मचारीलाई सकेसम्म सामूहिकभन्दा व्यक्तिगत सवारी प्रयोगका लागि व्यवस्थापन गरिदिने, कर्मचारीको खानपिनको समय फरक राख्ने, कार्यालयमा कर्मचारीबीच पर्याप्त सामाजिक दूरी कायम राख्ने, बुकिङ गर्दा सेवाग्राहीको यात्रा विवरण, सम्पर्क सबै राख्ने र कार्यालयमा धूमपान निषेध गर्नेजस्ता मापदण्ड तोकिएको छ ।

पर्यटन सवारीका लागि क्षमताको आधा मात्रै राख्नुपर्ने, पर्याप्त सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइज प्रयोग गर्नुपर्ने, जीपीएस ट्र्याकिङ राख्नुपर्ने, यात्रुको स्क्रिनिङ गर्नुपर्ने प्रावधान राखिएको छ । त्यस्तै साहसिक पर्यटनका लागि पनि अनिपार्य सुरक्षात्मक उपाय अवलम्बन कडा गरिएको छ ।

कार्यविधि सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–१९ का कारण यसमा आश्रित लाखौँ व्यक्ति प्रभावित भएको, पर्यटन व्यवसायी त्रासको स्थितिमा रहेकोले भविष्यमा यसलाई सुरक्षात्मक बनाउन मापदण्ड सार्वजनिक गरिएको बताए ।

त्यस्तै मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कोरोनापछिको पर्यटन व्यवसाय सञ्चालनका लागि कार्यविधि ल्याइएको बताए । सरकारले यसअघि उडानसँग सम्बन्धित कार्यविधि जारी गरेको क्रमशः अन्य क्षेत्रका लागि पनि जारी गर्दै जाने उहाँले जानकारी दिए । पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले सुरक्षित रूपमा पर्यटन व्यवसाय सञ्चालनका लागि तीन महिना लगाएर प्रोटोकल तयार गरिएको जानकारी दिए ।

पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थाको सहभागितामा प्रोटोकल तयार गरिएकोले सम्बन्धित सबैलाई यसको पालना गर्न उनले आग्रह गरे। पर्यटन व्यवसायी कर्ण शाक्यले अबको पर्यटन सेवामूलक मात्र नभएर सुरक्षामूलक पनि हुने भएकाले सरकारले सही समयमा प्रोटोकल जारी गरेको बताए ।


क्याटेगोरी : पर्यटन
ट्याग : #hot


Leave a Reply

Your email address will not be published. Required fields are marked *