Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

राखेप सदस्य सचिवमा तीन जनाको नाम सिफारिस


काठमाण्डौ, ८ साउन । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवको लागि तीन जनाको नाम सिफारिस भएको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले दरखास्त हालेका २७ जनामध्ये बाट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

समितिले मङ्गलबार अञ्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापाको नाम सिफारिस गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । समितिले सिफारिस गरेकामध्ये अञ्जु श्रेष्ठ भलिबलकी पूर्वखेलाडी र भलिबलकी अभियन्ता हुन् । लिलबहादुर थापा पूर्वसांसद र अहिले नेकपाका केन्द्रीय सदस्य हुन् ।

रमेश सिलवाल भने राखेपकै पूर्वसदस्य सचिव हुन । कार्यकाल बाँकी रहे पनि नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि उनी स्वतः पदमुक्त भएका थिए ।

‘सिलवालको सम्भावना धेरै’

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि अब मन्त्रिपरिषद्को बैठकले एक जनाको नाम छनोट गर्नेछ । यसमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रधानमन्त्रीलाई दिने सल्लाहले ठूलो भूमिका खेल्नेछ ।

सिफारिस समितिका एक सदस्यका अनुसार तीन जनाको नाममा एक जना महिला हुनै पर्ने भएकाले अञ्जु श्रेष्ठको नाम सिफारिस भएको छ । ‘उहाँको त्यति धेरै दखल र सोर्स फोर्स नदेखिएकाले सम्भावना भने कम देखिएको छ’, एक सदस्यले भने ।

केन्द्रीय सदस्य भएकाले लिलबहादुर थापाको सदस्य सचिव हुने सम्भावना छ तर आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई नियुक्त गर्दा विवादित हुन सक्नेतर्फ पनि सरकार सचेत रहनेछ । त्यसमाथि लिलबहादुर थापाले खेलकुद क्षेत्रलाई धेरै चिनेका पनि छैनन् ।

सिफारिसमा परेका रमेश सिलवालको सम्भावना धेरै रहेको ती सदस्यले जानकारी दिएका छन् । ‘उहाँ दौडधुपमा पनि लाग्नुभएको छ भन्ने सुनेका छौँ, खेल क्षेत्र बुझेको पनि देखिन्छ, उहाँलाई नियुक्त गर्दा विवाद पनि कम हुने देखिन्छ, मन्त्रीको मनसाय पनि त्यस्तै बुझिन्छ’, सदस्यले भने ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट