खेलाडीहरुको आर्थिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति पुनको ध्यानाकर्षण

काठमाडौं, ९ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबार ओलम्पिक डे २०२१ को अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुनेगरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराए ।
उनले भने,‘खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो । खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहान्छु । र फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलहरु नियमित प्रशिक्षण पनि नभएको चर्चाहरु चल्ने गरेको छ । सबैखाले राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्न चाहान्छु ।’
उपराष्ट्रपति पुनले ओलम्पिक खेलको विकासका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा पनि जोड दिए । साथै दीर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न उनले आग्रह गरे ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #nanda bahadur pun
प्रतिक्रिया