Techie IT
×
गृहपृष्ठराजनीतिडा. युवराज खतिवडा प्रमको अर्थ सल्लाहकार बन्ने, को को मन्त्री बन्दैछन ?

डा. युवराज खतिवडा प्रमको अर्थ सल्लाहकार बन्ने, को को मन्त्री बन्दैछन ?


नारान कुमार उपाध्याय/

पार्टीमा आलोचनाको सर्वाधिक तारो बनेका डा. युवराज खतिवडा अर्थमन्त्रीबाट विदाइ हुने लगभग पक्का जस्तै भएको छ । राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने भएपछि उनले निरन्तरता नपाउने भएका हुन । छ महिनासम्म सांसद नभएकालाई पनि मन्त्री बनाउन मिल्ने संवैधानिक प्रावधान भए पनि अब उनको म्याद भदौ २० गतेबाट समाप्त हुँदैछ ।

उनको ठाउँमा वामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि अर्थमन्त्रीमा भने विष्णु पौडेलको सम्भावना बढी छ । डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले आर्थिक सल्लाहकारको रुपमा राख्ने चर्चा पनि चलेको छ ।

वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई यसपटकको पुनर्गठनमा मन्त्री बनाउने सम्भावना छैन । प्रतिनिधिसभामा पराजीत व्यक्तिले यो कार्यकालभरि मन्त्री हुन नपाउने प्रावधान भएकाले कम्तिमा उनीहरुले मन्त्री हुन यो प्रतिनिधिसभाको अवधिसम्म कुर्नैपर्ने संविधानविदहरु बताउँछन् ।

मन्त्रीमा को को विदाइ हुँदैछन् ?

यसपटक मन्त्रीमण्डल पुनर्गठन गर्न प्रधानमन्त्री लचिलो बनेका छन् । तर, मन्त्रीमण्डलको पुनर्गठनको मोडालिटीका बारेमा प्रधानमन्त्रीले अझैसम्म केही बताएका छैनन् । पूरै हटाएर नयाँ सेट लैजाने कि पर्फमेन्स हेरेर कतिपयलाई हटाउने र कतिपयलाई राख्ने भन्नेबारेमा छलफल चलिरहेको छ । प्रधानमन्त्रीको चाहना पर्फमेन्स हेरेर केहीलाई हटाउने र सिनियरलाई त्यहाँ राख्ने योजना रहेको उनी निकट स्रोतको भनाइ छ ।

हटाउनेको प्राथमिकतामा शिवमाया तुम्बाहाम्फे, पद्मा अर्याल, वीना मगर, जगतबहादुर सुनार, पार्वत गुरुङ, रामेश्वर यादव, हृदयेश त्रिपाठी लगायत रहेको बताइन्छ । उपसभामुख पद छाड्ने बेलामा बार्गेनिङ गरेर मन्त्री बनेकीले शिवमायालाई हटाउने पहिलो प्राथमिकतामा रहेको बताइन्छ ।

मन्त्री हुनेहरु

अब थपिने मन्त्रीमा विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्माको नाम बढी चर्चामा छ । आफू रहदा ठीकै छ, यदि हट्ने स्थितिमा वर्षमान पुनले आफ्नो जीवन संगिनी ओनसरी घर्तीलाई मन्त्री बनाउनुपर्छ भन्दै भित्रभित्र ठूलै लबिङ गरिरहेको दुई अध्यक्ष निकट स्रोतले बताएको छ । काठमाडौंको नेवार समुदायबाट यसपटक कृष्णगोपाल श्रेष्ठको पनि सम्भावना छ ।

भीम रावल परराष्ट्र, सुरेन्द्र पाण्डेको शहरी विकास मन्त्रालय, वर्षमानलाई सिंचाइमा राखेर ऊर्जामा जनार्दन शर्मा, सामान्य प्रशासन मन्त्रालयमा पम्फा भुसालको चर्चा छ । प्रदीप ज्ञवालीको परराष्ट्रबाट सरुवा भएर सूचना मन्त्रालयमा लैजाने चर्चा पनि छ ।

संवैधानिक व्यवस्थाअनुसार २५ वटा मन्त्रालयको व्यवस्था गरिने तयारी भइरहेको छ । ऊर्जा र सिंचाइ दुइटा बनाइने सम्भावना छ । त्यस्तै उद्योग र आपूर्तिलाई पनि दुइटा बनाइने चर्चा छ ।
शहरी विकास मन्त्रालय, सूचना तथा प्रविधि मन्त्रालय त खाली नै छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस