काठमाडौँ, १७ भदौ । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हामीले दुई देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौँ भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गरेका छन् । विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले रोहनपुर हुँदै बङ्गलादेश पुग्ने रेल्वे मार्ग विस्तार गर्न अनुमति दिएकोमा धन्यवाद व्यक्त गरे।
वार्ता फलदायी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिएको बताए । साथै यस विषयमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
नेपालमा भइरहेको कोरोना नियन्त्रणको प्रयास प्रभावकारी रहेको भन्दै बङ्गलादेशका प्रधानमन्त्री हसिनाले प्रशंसा गरिन् । उनले बङ्गलादेशको कृषि क्षेत्रको सफलताको कथाबाट फाइदा लिनसक्ने औँल्याए । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।
भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गरेका हुन् । यस सिजनमा हुर्कदै गरेको धान बालीका लागि मल अत्यावश्यक पोषण हो । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेशी समकक्षी, त्यहाँको सरकार र बङ्गलादेशका जनतालाई बधाईसमेत दिए ।
कोभिड–१९ महामारीविरुद्ध आफ्ना सरकारले गरेको प्रयासका अनुभव साटासाट गर्दै यो खतरा रोक्न सहयोग गर्ने विषयमा पनि दुई देशबीच सहमति भएको छ । सो क्रममा बङ्गलादेशले अपनाएको कदमको सराहना गर्दै कठिन घडीमा नेपाललाई औषधिसहित मेडिकल सामग्री सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले कृतज्ञता व्यक्त गरे ।
त्यस्तै नेपालमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनको स्मरण दुवै प्रधानमन्त्रीले गरे । त्यस्तै बङ्गलादेशका राष्ट्रपतिको भ्रमणपछि सम्बन्ध अझ प्रगाढ बनाउन, प्रवद्र्धन गर्न र सुखद बनाउन उच्च स्तरीय भ्रमणलाई महìव दिएको धारणा दुवै प्रधानमन्त्रीले व्यक्त गरे ।
नेपाल र बङ्गलादेशबीच सन् १९७२ देखि औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो । आपसी सहमति सहकार्य, अपनत्व र भाइचाराका रूपमा दुई देश बीचको सम्बन्ध अगाडि बढ्दै आएको छ ।
नेपाल र बङ्गलादेशबीच वाणिज्य र आर्थिक सम्बन्ध पछिल्लो समय फस्टाउँदै गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबीच व्यापार विस्तार र विविधीकरण गर्ने विशाल सम्भावना रहेकाले त्यस विषयमा दुई देशका सरकारबीच यस विषयमा सहकार्य गर्न पहलसमेत भइरहेको छ ।
नेपालबाट बङ्गलादेशमा पहेँलो दाल, तेल, अलैँची, गहुँ, तरकारीको बीउ, हस्तकलाका सामग्री, पस्मिना उत्पादन लगायतका वस्तु निर्यात हुन्छन् । बङ्गलादेशबाट औद्योगिक कच्चापदार्थ, रसायन, कपडा, जुट, विद्युतीय सामग्री नेपाल आउनेगर्छ । सन् १९९७ मा काँकरभिट्टा–फूलबारी–बङ्गलाबन्ध ट्रान्जिट मार्ग खोलिएपछि बङ्गलादेशले नेपाललाई मङ्गला बन्दरगाहको सुविधा उपभोग गर्न अनुमति दिएको थियो । त्यस्तै रोहनपुर–सिन्घवाद हुँदै नेपाललाई रेल्वे करिडोरको समेत सुविधा उपलब्ध गराएको छ ।
दुई देशबीच अर्थ मन्त्री स्तरमा सन् १९७८ मा संयुक्त आर्थिक आयोग गठन भएको थियो । बैङ्क, वित्तीय, बीमा जस्ता संयुक्त लगानीका क्षेत्र आपसी सहयोगका क्षेत्र हुन् । रेडिमेट गार्मेन्ट, छालाका सामान, फर्मास्युटिकल्स र पीभीसी पाइपको क्षेत्रमा नयाँ पहल भइरहेको छ ।
नेपाल बङ्गलादेश बीचको तेस्रो वाणिज्य सचिव स्तरको बैठक सन् २०१६ मा ढाकामा भएको थियो । त्यस्तै सचिव स्तरको प्राविधिक समितिको बैठक पनि २०१७ मा भएको थियो । गत वर्ष बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको पाँचदिने पर्यटकीय अवलोकन भ्रमण गरेका थिए । सो क्रममा विविध क्षेत्रमा दुई देशबीच सहकार्य गरेर जाने प्रतिबद्धता उनले जनाएका थिए। गोरखापत्रबाट
क्याटेगोरी :
राजनीति
ट्याग : #hot